कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

युवा सनसनी

अल्बानियाली मूलकी डुवा लिपाले ग्रयामी अवार्ड २०१९ मा ‘बेस्ट न्यु आर्टिस्ट’ को अवार्ड हात पारिन् । युट्युबमा कभर सङ गाएर करिअर सुरू गरेकी उनको जन्म भलै लन्डनमै भए पनि उनी इंग्लिस पाराकी छैनन् ।
हिमेश

काठमाडौँ — प्रत्येक ग्रायमी अवार्डले कोही न कोही युवा स्टारलाई जन्माउने गर्छ । अझ भनौं, कोही अवार्ड अगाडि नै स्टार भइसकेका छन् भने ग्रायमीले त्यसको चमकलाई अझ तेजिलो बनाउने गर्छ ।

युवा सनसनी

विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड कार्यक्रमको २०१९ संस्कर आइतबार सकियो । यसपल्ट धेरैको मन चोर्न सफल गायिका रहिन्, डुवा लिपा । यिनलाई ‘युवा सनसनी’ भने पनि हुन्छ । उनले यसपल्ट ‘बेस्ट न्यु आर्टिस्ट’ को अवार्ड जितिन् ।


र, भन्न कर लाग्छ, डुवा अबदेखि निकै चम्किला स्टार हुनेछिन्, ग्रायमी विजेताको मीठो तारिफ जोडिएकी । ग्रायमी २०१९ को सबैभन्दा ठूलो विशेषता रह्यो, यसमा महिला कलाकारको वर्चस्व । अवार्ड जित्नेमध्ये धेरै महिला नै रहे । यसकै एउटा कडीका रूपमा रहिन्, डुवा लिपा । यी इंग्लिस गायिका तथा गीतकार भर्खर २३ वर्षकी भइन् । यिनको नाम नै केही अनौठो लाग्छ, धेरैका लागि उनको नाम ठीक रूपमा उच्चारण गर्न पनि गाह्रो हुन सक्छ ।


त्यसैले त उनी सबैको आकर्षण पनि भएकी छिन् किनभने उनीसँग केही न केही कौतुहलता पनि जोडिएको छ । आफ्नो नाम बताइसकेपछि धेरैपल्ट डुवालाई आफू साँच्चै को हो भनेर पनि भनिरहनुपर्छ । त्यसैले सबैभन्दा पहिले उनको पृष्ठभूमि नै । त्यसो त उनको जन्म भलै लन्डनमै भएको थियो तर पनि उनी इंग्लिस पाराकी छैनन् । खासमा उनी अल्बानियाली मूलकी हुन् । अल्बानियाली मूलका कोहीले यसअघि पश्चिमेली संगीतमा धुम मच्चाएको कसलाई थाहा छ र ?


उनका बुबा डुका लिपा कुनै समय एउटा रक समूहको सदस्य थिए । डुका र उनकी श्रीमती एनेसा कोसोभोका हुन् र उनीहरूले सन् नब्बेतिर इंग्ल्यान्डको बाटो लिए । केही वर्ष अगाडिसम्म एमटीभी पुस्ता भन्ने चलन थियो । अहिले त्यो हराएको छ र अहिलेको समय हो, यु ट्युब पुस्ताको । डुवा भर्खर १४ वर्षकी मात्र थिइन्, उनले गाउन थालिसकेकी थिइन् । अब गायकी कसैलाई सुनाउनु पनि त पर्‍यो, त्यसका लागि माध्यम भयो, त्यही यु ट्युब ।


उनले आफूलाई मन परेका धेरै गीत ‘कभर सङ’ का रूपमा यु ट्युबमा राखिन् । धेरैबाट राम्रो प्रतिक्रिया आउन थालेपछि ‘अब म गायिका नै बन्छु’ भनेर उनले आफूलाई लन्डनमै स्थापित गर्ने प्रयास गरिन् । यसरी युट्युबमा कभर सङ राखेर यात्रा सुरु गर्ने पुस्ताकी हुन्, डुवा । तिनै गीत सुनेर प्रभावित भएकामध्ये एक वार्नर म्युजिक ग्रुपले उनलाई अनुबन्ध गरिहाल्यो र केही समयमै उनले आफ्नो पहिलो गीत पनि रेकर्ड गरिन् ।


सन् २०१७ मा उनले आफ्नो पहिलो एल्बम निकालिन्, आफ्नै नामको । त्यसका अधिकांश गीत लोकप्रिय सावित भए र त्यसमध्ये पनि ‘बि द वन’ त यूके नम्बर १ नै भयो । सन् २०१८ मा उनको अर्को गीत ‘न्यु रुल्स’ पनि नम्बर १ भयो, यूके चार्ट्समा । अहिले यिनै डुवाले ग्रायमी अवार्ड जितिन्, सबैभन्दा प्रभावशाली युवा कलाकारका रूपमा । अवार्ड थापेयता उनको प्रतिक्रिया पनि उत्तिकै दमदार रह्यो र उनलाई धेरैले यसै कारण मन पराउन पनि थालेका छन् ।


उनको ‘अवार्ड एसेप्टेन्स स्पिच’ को आसय थियो, महिला अगाडि बढ्नुपर्छ, पछाडि रहिरहनु हुन्न । ‘यसपल्ट अवार्ड जित्ने धेरैभन्दा धेरै महिला लिए । त्यो मेरा लागि निकै खुसीको उपलब्धि हो । त्यसपछि म आपैंmले पनि जितें, त्यो दोब्बर खुसीको उपलब्धि भयो । महिलाको यो प्रभुत्वले आउने केही वर्षको संगीत प्रभावित रहने छ,’ उनले भनिन् । यति भनेपछि ताली त बज्ने नै भयो । र, उनले यो पनि भनिन्, ‘म चाँडै नयाँ–नयाँ गीत लिएर आउनेछु ।’

प्रकाशित : फाल्गुन ३, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?