रोबोटिक्स: क्लबदेखि देशसम्म

विजय तिमल्सिना

काठमाडौँ — काठमाडौंमा बर्सेनि आयोजना भइरहेको रोबोटिक्स प्रतिस्पर्धा पहिला कलेज र यहाँका क्लबमा मात्रै सीमित हुने गर्थे  । अब नेपालमा आयोजना हुने प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय समूह सहभागी हुने र नेपालका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने चलन बढ्न थालेको छ  ।

रोबोटिक्स: क्लबदेखि देशसम्म

काठमाडौंमा बर्सेनि आयोजना भइरहेको रोबोटिक्स प्रतिस्पर्धा पहिला कलेज र यहाँका क्लबमा मात्रै सीमित हुने गर्थे । अब नेपालमा आयोजना हुने प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय समूह सहभागी हुने र नेपालका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने चलन बढ्न थालेको छ । नेपालमा आयोजना हुने रोबोटिक्स प्रतिस्पर्धामा सहभागी रोबोटहरु दैनिक जीवनमा उपयोगी हुन सक्लान् ? यसका लागि के भइरहेको छ त ?

केही वर्षअघिसम्म नेपालमा हुने रोबोटिक्स प्रतियोगिता राजधानीका सीमित कलेजबीच हुने प्रतियोगितामा सीमित थियो । विस्तारै हरेकजसो इन्जिनियरिङ कलेजमा रोबोटिक्समा रुची राख्ने विद्यार्थी सम्मिलित रोबोटिक्स क्लब खुल्ने क्रम बढ्यो । तर, अब नेपालमा हुने रोबोटिक्स प्रतियोगिता क्लबमा मात्रै सीमित नभएर अन्तर्राष्ट्रिय स्तरकै प्रतिस्पर्धा बन्ने क्रममा छ ।


काठमाडौंमा गत साता आयोजना गरिएको यन्त्रको सातौं संस्करणमा भारत र भुटानबाट पनि सहभागीहरू प्रतिस्पर्धाका लागि आइपुगेका थिए । यन्त्रको अघिल्लो वर्षका विजेता भारतमा हुने इन्टरनेसनल रोबोटिक्स प्रतियोगितामा सहभागी हुन पुगेको थियो भने अर्को टोलीले अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा प्रतिस्पर्धा गर्न मेक्सिको पुगेको थियो । रोबोटिक्स इभेन्ट अब मनोरञ्जनमा मात्रै सीमित नबनेर यहाँको समस्या समाधान गर्नमा पनि केन्द्रित हुन थालेको रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) का अध्यक्ष विकास गुरुङ बताउँछन् ।
‘प्रतियोगिता कलेजस्तरीय प्रतिस्पर्धाबाट विस्तारै माथि उठ्ने क्रम जारी छ,’ र्‍यानका अध्यक्ष गुरुङ भन्छन्, ‘अब सहभागी हुने रोबोटहरू दैनिक जीवनमा काम लाग्ने बनाउनको लागि प्रतिस्पर्धा गर्न थालेका छन् ।’ र्‍यानले सात वर्षयता बर्सेनि यन्त्र नाम दिएर रोबोटिक्स प्रतियोगिताका आयोजना गरिरहेको छ । अघिल्लो वर्षसम्म राजधानीका कलेजबाट हुने सहभागितामा निर्भर प्रतियोगिताले अब अन्य देशबाट पनि प्रतिस्पर्धी पाएको गुरुङ बताउँछन् । यस वर्ष राजधानीका सबै इन्जिनिरिङ कलेजले सहभागिता जनाएको उनले बताए । ‘अब रोबोटिक्स प्रतियोगिता रमाइलोमा मात्र केन्द्रित नभएर यहाँकै समाधानमा केन्द्रित हुन थालेका छन्,’ उनी भन्छन्, ‘यो वर्षको यन्त्रमा समावेश गरिएको रोबो बिजनेस कप यसैको उदाहरण हो ।’ उनका अनुसार यन्त्रमा यसपालि १० समूहले रोबो बिजनेस कपमा सहभागिता जनाए थिए ।


भुइँ सफा गर्ने, टनेलमा लगाइएको टमाटर टिप्ने र विषादी छर्ने, अंग्रेजी अनुवाद गर्न सक्ने, अपांगता भएकाहरूको हाउभाउ पछ्याएर उनीहरूलाई सेवा गर्न सक्ने, ब्लाइन्ड स्टिकका रूपमा काम गर्ने, सोलार सफा गर्नेजस्ता रोबोटहरू बिजनेस कपमा सहभागी भएका थिए । यीमध्ये दुई वटा रोबोटलाई ‘सिड मनी’ का रूपमा एक–एक लाख रूपैयाँ उपलब्ध गराइने र्‍यान अध्यक्ष गुरुङले बताए । रोबो बिजनेस कपका दुई विजेताले आफ्नो आइडियालाई उद्यममा बदल्न तीन महिनासम्म तालिम पनि पाउनेछन् । रोबोटिक्स प्रतियोगितामा आउने यस्ता आइडियालाई उद्यमको रूप दिन यूएनडीपी तथा सरकारी निकाय नास्ट र काठमाडौं महानगरपालिका, उद्यमशीलताको क्षेत्रमा काम गर्ने गैरसरकारी निकायसँग पनि सहकार्य गरिएको उनले बताए ।र्‍यानले रोबोट मात्रै नभएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा पनि प्रतिस्पर्धा गराइरहेको गुरुङ बताउँछन् । यसमा सहभागी हुनका लागि १० वटा टिमले आफ्नो आइडिया पिच गरेका छन् । उनीहरूले तयार पार्ने एआईलाई रोबोटसँग जोडेर स्थानीय समस्या समाधानको काममा उपयोग गर्ने चाहना भएको उनले बताए । ‘रोबोट र एआई दुवैलाई एकीकृत गर्न सकियो भने यो निकै उपयोगी हुनेछ,’ उनी भन्छन्, ‘उपयोगी चीज बनाउन सके अरूले लाभ लिन सक्छन् ।’यस वर्ष प्रतियोगितामा सहभागी हुन ल्याइएका रोबोट पनि अघिल्ला वर्षका तुलनामा सुधारिएका छन् । नेसनल लिग नाम दिइएको रोबोटको फुटबल, म्यानुअल र अटोमेटिक अखडामा सहभागी रोबोटहरू पनि पहिलाभन्दा फरक भएको गुरुङ बताउँछन् । भारतको मध्य प्रदेश र गुजरातमा आफ्नो प्रान्तीय स्तरका प्रतियोगिताको उपाधि जितेको टोली पनि यसपालिको यन्त्रमा सहभागी थिए । मंगलबार सम्पन्न म्यानुअल अखडामा गुजरातको टोलीले उपाधि जित्यो । मध्यप्रदेशबाट आएका टिम लिडर नितिन बर्मा भारत र नेपालमा हुने रोबोटिक्स प्रतिस्पर्धा उस्तै भएको बताउँछन् । ‘हाम्रो ह्वाट्सएप ग्रुपमा कतिपय नेपालीहरू पनि छन्,’ उनले भने, ‘हामी धेरै आइडियाहरू सेयर गरिरहेका हुन्छौं ।’


यन्त्रमा अन्तर्राष्ट्रियस्तरको रोबोटिक्स प्रतियोगिताहरूले ‘ब्याटल बट’ कै मापदण्ड पछ्याउन खोजेको गुरुङले बताए । यस वर्ष अटोमेटिक अखडाको निर्णायकका रूपमा ब्याटल बटमा सहभागी भइसकेकालाई भारतबाट बोलाइएको थियो ।अटोमेटिक अखडाको उपाधि ओरियन स्पेसको टिमले जित्यो । उनीहरू अघिल्लो वर्षको यन्त्रमा उपविजेता भएका थिए । अटोमेटिक अखडामा प्रयोग भएका रोबोटहरू इमेज प्रोसेजिङ गर्न सक्ने खालका भएको गुरुङ बताउँछन् । यन्त्र नेसनल लिग नाम दिइएको रोबोट फुटबल प्रतियोगितामा भने युनाइटेड एकेडेमी रोबोटिक्स क्लबले सफलता हात पार्‍यो ।यन्त्रको पहिलो, दोस्रो र तेस्रो संस्करणमा विधागत पुरस्कार जितेका गणेश विक्रम आले रोबोटमा लाग्नेहरूलाई प्रोत्साहित गर्न यस्ता प्रतियोगिता उपयोगी हुने बताउँछन् । रोबोटिक्स प्रतियोगिता आयोजनाको लागि सहयोग गर्नेहरूको सूची बढ्दो हुनु र प्रतियोगितामा सहभागीलाई दिइने पुरस्कारको राशि पनि बढ्दै जानुले सहभागीहरूलाई एक्सपोजर बढेको उनले बताए । तर, यतिले मात्रै रोबोटलाई दैनिक जीवनमा प्रयोग हुने गरी विकास गर्न नपुग्ने उनको अनुभव छ ।‘प्रतिस्पर्धामा आएका रोबोट र आइडियालाई व्यावहारिक बनाउनका लागि सरकार र अन्य क्षेत्रले लगानी गर्नुपर्छ,’ आले भन्छन्, ‘सरकारले धेरै लगानी गर्न नसके पनि अनुसन्धानमा सहयोग गरेर वा प्रयोगशाला बनाएर सहयोग गर्न सक्छ ।’

twitter : @bjtimalsina

प्रकाशित : फाल्गुन १०, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?