२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपालले सक्छ त ?

अरुको प्रविधि कपी गरेर काम गर्नेले प्रगति गर्न सक्दैनन्, आफू सफल हुन सक्ने र मौलिक पहिचान हुने कम्पनी स्थापना गरे सफल भइन्छ ।
हेलो शुक्रबार

काठमाडौँ —  
भारतले गत वर्ष वैदेशिक लगानीबाट ३८ अर्ब अमेरिकी डलर भित्र्यायो  । सस्तो श्रम र व्यवसाय गर्न सहजताका हिसाबले आकर्षक मानिएको चीन भए पनि भारतमा भित्रिएको वैदेशिक लगानी आश्चर्यजनक थियो  ।

नेपालले सक्छ त ?

भारतले गत वर्ष वैदेशिक लगानीबाट ३८ अर्ब अमेरिकी डलर भित्र्यायो । सस्तो श्रम र व्यवसाय गर्न सहजताका हिसाबले आकर्षक मानिएको चीन भए पनि भारतमा भित्रिएको वैदेशिक लगानी आश्चर्यजनक थियो । भारत भित्रिएको कुल वैदेशिक लगानीमध्ये २० अर्ब डलर स्टार्टअप र साना खालका आईटी कम्पनीमा लगानीस्वरूप आएका थिए । आखिर भारतले त्यस्तो के गर्‍यो र त्यहाँका साना उद्यममा विदेशीले आफ्नो लगानी खन्याए ? भारतमा स्टार्टअपका लागि बीउ पुँजी जोहो गर्ने कम्पनी रेनफरेस्ट भेन्चर नेटवर्कका म्यानेजिङ पार्टनर अभिषेक कुमारसँग यसको जवाफ छ । रेनफरेस्टले स्टार्टअपका लागि बीउ पुँजी जोहो गर्न सहजीकरण गर्दै आएको छ । अभिषेक कुमारका अनुसार भारतमा वैदेशिक लगानी बढी भित्रिनु र अझ विशेषगरी स्टार्टअप र साना खालका आईटी कम्पनीमा केन्द्रित हुनुको प्रमुख कारण सन् १९८० दशकमा खुलेका आईटी कम्पनीहरू हुन् ।


करिब दुई दशकदेखि आईटी क्षेत्रमा काम गरिरहेका अभिषेक कुमारका अनुसार त्यो बेला खुलेका भारतीय आईटी कम्पनीले धेरै देशमा त्यहाँका आवश्यकताअनुसार सफ्टवेयर निर्माणको काम गरे । विदेशीहरूमा भारतीय आईटी कम्पनीहरू काम गर्नका लागि सक्षम छन् भन्ने धारणा पैदा गर्‍यो । त्यही विश्वासको प्रभावस्वरूप विदेशी लगानीकर्ताले भारतमा खुल्ने आईटी कम्पनी र स्टार्टअपमा लगानी गर्न सहजता पाए । नेपालको अवस्था भने ठीक उल्टो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको तीन महिनामा नेपाल भित्रिएका वैदेशिक लगानी करिब ६ अर्बको हाराहारीमा छ । गत वर्ष यही अवधिमा ११ अर्ब लगानी भित्रिएको थियो । नेपाल भित्रिने अधिकांश लगानी जलविद्युत्, पर्यटन र अन्य क्षेत्रमा हो, आईटीमा होइनन् । नेपालको सबैभन्दा प्रभावशाली क्षेत्र आईटी पनि हो । यहाँ दर्जनौं बीपीओहरू विदेशी कम्पनीका लागि काम गर्न सक्रिय छन् । यहाँ टेलिकम र इन्टरनेट सेवा प्रदायकको व्यवसाय डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।


राइड सेयरिङ एप पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतको विचारमा नेपालले विश्वका अन्य देशसँग आईटीबाहेक अरू कुनै क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्न सक्दैन । उनको विचारमा एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको पनि एकमत छ । उनलाई लाग्छ, अबको केही वर्षमा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान पुर्‍याउने क्षेत्र आईटी नै हो । नेपालमा कुनै सर्वेक्षण नभए पनि भारतलगायतका देशमा भएको अध्ययनअनुसार इन्टरनेट प्रयोगकर्तामा हुने १० प्रतिशतको वृद्धिदरले समग्र अर्थतन्त्रमा करिब १ प्रतिशतको योगदान गर्छ । इन्टरनेट प्रयोगकर्ता बढ्नु भनेको उत्पादकत्व बढ्नु पनि हो । नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । यहाँ बर्सेनि ४ हजार बढी आईटीका दक्ष जनशक्ति उत्पादन हुन्छन् । नेपालले आईटीमा ठूलो फड्को मार्न सक्छ त ? कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको एक सत्रमा आइतबार ढकाल र बस्नेतसहित भारतबाट आएकी सोसल फ्रेन्ड्लीकी संस्थापक आकांक्षा त्यागीले यसै विषयमा छलफल गरेका थिए । त्यागीको विचार प्रस्ट थियो, यदि नेपालले आईटी क्षेत्रमा प्रगति गर्ने हो भने यसको आफ्नै पहिचान चाहिन्छ । जसरी भारतले सफ्टवेयरमा आफ्नो पहिचान स्थापित गरेको छ ।


कन्क्लेभको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यागीको जस्तै धारणा राखेका थिए । उनले नेपालमा अमेरिकाको एप्पल, कोरियाको सामसुङ, भारतको इन्फोसिस, चीनको अलिबाबा, फिनल्यान्डको नोकियाजस्तै देशको पहिचान राख्न सक्ने कम्पनी स्थापना होस् भन्ने चाहेको बताए । यसमा पनि त्यागीकै तर्कले काम गर्छ । उनी भन्छिन्, ‘नेपालले आईटीमा आफ्नो पहिचान बनाउनु छ भने आफ्नै क्षेत्र रोज्नुपर्छ ।’ उनको विचारमा आईटी कम्पनीले आफ्नो मौलिक समस्या समाधानमा सघाउनुपर्छ । हरेक देशमा हुने आईटी कम्पनीले आफ्नो विशेषज्ञताको क्षेत्र रोज्नुपर्छ र त्यसैलाई अघि बढाउनुपर्छ । ‘अरूको प्रविधि कपी गरेर काम गर्नेले प्रगति गर्न सक्दैनन्,’ त्यागी भन्छिन्, ‘आफू सफल हुन सक्ने र मौलिक पहिचान हुने कम्पनी स्थापना गरे सफल भइन्छ ।’

[email protected]

प्रकाशित : फाल्गुन १०, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?