कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ कप्तान

‘नीर शाहलाई जति गरे पनि गरिब देखाउन सकिन्नथ्यो । ‘क्याप्टेन’ मा अनमोललाई देखाउन त्यस्तै सास्ती भयो ।’
सुशील पौडेल

काठमाडौँ — ड्याड, यो लभर ब्वाई मात्रै भएर कति फिल्म खेल्ने ? वाक्कै लागिसक्यो  । अलि केही फरक गरौं न  ।

नयाँ कप्तान

ड्याड, यो लभर ब्वाई मात्रै भएर कति फिल्म खेल्ने ? वाक्कै लागिसक्यो । अलि केही फरक गरौं न । बफिल्म ‘ड्रिम्स’ को सफलतापछि अर्को फिल्म बनाउने तयारीमा जुटिरहेका निर्माता बुबा भुवन केसीलाई छोरा अनमोलले मनको कुरा राखेका थिए । त्यसो त अनमोलले ‘कृ’ मा धेरथोर भए पनि आफ्नो चरित्र बदल्न खोजेका थिए, एक्सन अवतारमा । तैपनि अनमोललाई त्यतिले मात्रै पुगेको रहेनछ ।


‘हरेक पटक फिल्म हेर्दा दर्शकलाई एउटै स्टाइलको अनमोल नदेखियोस्, भिन्न चरित्रमा देखियोस् भन्ने मलाई लाग्छ,’ हालैको एक भेटमा अनमोलले भने, ‘मलाई अचेल अनमोल देखिनु भन्दा पनि चरित्र देखिनु जरुरी छ भन्ने लाग्न थालेको छ ।’ त्यसैले उनले बुबालाई फुटबलमा आधारित फिल्म बनाउन सुझाए । ‘आइडिया त राम्रै हो,’ भुवनले सोचेछन्, ‘तर सम्भव होला त ?’ उनले तत्काल छोरा अनमोललाई ‘हुन्छ’ भनेनन् । बरु ‘ड्रिम्स’ निर्देशक दिवाकर भट्टराईसमक्ष अनमोलको प्रस्ताव राखे ।


फुटबलका बारेमा न दिवाकरलाई ज्ञान थियो न त भुवनलाई नै । रहर मान्ने अनमोलले पनि कहिल्यै मैदानमा उत्रेर फुटबल खेलेका थिएनन् । अनुभव थियो त केवल मोबाइलमा खेलेको फुटबलको मात्र । अन्ततः फिल्म बन्ने भयो, ‘क्याप्टेन’ नाममा । अनमोल नेपाली टिमका पूर्वकप्तान हरि खड्कासँग फुटबल सिक्न गए, अरू पटकथा लेख्न लागे ।


‘गाह्रो मात्रै होला भन्ने ठानेको त महागाह्रो नै भयो,’ भुवनले पटकथा लेखनदेखि फिल्म बन्दासम्मको अनुभव सँगालेर भने, ‘स्क्रिप्टलाई स्क्रिनमा उतार्न यसपटक भयंकर सास्ती भयो ।’ निर्देशक दिवाकरले त भन्दिइहाले, ‘फिल्मको क्लाइमेक्ससम्म आइपुग्दा त भुवन दाइ र म यति आत्तियौं कि लगभग प्रोजेक्ट नै ड्रप हुन्छ कि भन्नेसम्म सोच आयो । स्क्रिप्टको कुरा स्क्रिनमा नउत्रेला कि भन्ने चिन्ता भयो ।’ यतिबेला भने फिल्मले फागुन १७ सम्मको रिलिजको बाटो तय गरिसकेको छ ।


फिल्ममा अनमोल नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको ईशानले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा के–कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने नै ‘क्याप्टेन’ को मूल कथा हो । ‘यो फुटबल टिमको कथा हैन । केवल कप्तान ईशानको संघर्षको कथा हो,’ निर्देशक भट्टराईले थपे । अनमोलका अनुसार फिल्ममा फुटबलले ४० प्रतिशत हिस्सा ओगटेको भए पनि २० प्रतिशत चरित्रको खेल यात्रा र बाँकी पारिवारिक र प्रेमकथा समेटिएको छ ।
‘यसपटक हिरो हैन, नेसनल हिरोको क्यारेक्टरमा फिल्म खेल्ने इच्छा थियो । फुटबल संसारमा सबैभन्दा रुचाइने र फ्यान फलोअर्स भएको गेम पनि हो,’ अनमोलले भने । ‘क्याप्टेन’ फुटबल प्रेमीका लागि मात्रै नभई पारिवारिक कथा र प्रेमकथा रुचाउनेका लागि पनि उपयुक्त भएको निर्देशकको दावा छ । भने, ‘साँच्चै भन्ने हो भने त अनमोलको ‘क्याप्टेन’ भए जत्तिको मीठो लभस्टोरी सायदै अरू फिल्ममा देखिएको थियो होला ।’ अनमोल स्वयंले पनि चरित्रमा रहेर देखिएको प्रेमकथा भएकाले बढी स्वादिलो बनेकोमा सही थापे ।


अनमोल आफैं पछिल्लो समय ‘स्टारडम’ बाट हटेर चरित्रमा आधारित हुन थालेका हुन् ? उनले जवाफ दिए, ‘अचेल अभिनय के हो ? चरित्र के हो भन्ने विस्तारै बुझ्न थालेको छु । त्यसैले पनि आफूलाई कसरी भिन्न गरुँ भन्ने थियो । फरक–फरक चरित्रमा काम गर्ने भोक छ । लभर ब्वाईको एउटै चरित्रमा खेल्दाखेल्दा थाकें । अनमोल केसी नै देखिएर कति फिल्म खेल्नु ?’


सुरुमा त भुवनलाई छोराको धारणा जोखिमपूर्ण लागेको रहेछ । ‘लभर ब्वाईकै रूपमा खेल्दा राम्रो भइरहेकै थियो । मैले २/४ वर्ष अझै यसैमा फोकस हौ भनेकै हो,’ भुवनले उमेर अनुसार पनि अहिल्यै चरित्र बदलेर खेल्न हतारिनु नहुने सल्लाह दिएका रहेछन् । तर अनमोलको भोकको अघि भुवनको पनि केही लागेन रे । अनमोलले पनि प्रशिक्षणका क्रममा खुट्टा मर्काए तर सपना त्यागेनन् । छोराको मिहिनेतका अघि भुवनको पनि केही लागेन ।


अनमोललाई अनमोल नदेखाउनु र चरित्रमा पस्कनु ठूलै चुनौती हो । निर्देशकले पनि यही भोगे । ‘अनमोललाई ईशान बनाउनु नै मेरो लागि सबैभन्दा गाह्रो काम थियो ।’ गरिब युवक, फुटबलर र मजदुरीसमेत गर्ने ईशानमा बदल्नु मात्रै ठूलो कुरा थिएन, विश्वस्त बनाउनु पनि पर्ने थियो । भुवनले हाँसो गरे, ‘हाम्रो पालामा नीर शाहलाई जति गरे पनि गरिब देखाउन सकिन्नथ्यो । ‘क्याप्टेन’ मा अनमोललाई देखाउन त्यस्तै सास्ती भयो ।’


गरिब भन्दैमा फोहोरी र च्यातिएकै कपडा लगाउनुपर्छ भन्ने मान्यता फिल्मी भइसकेको टिप्पणी गर्दै भुवनले अनमोललाई सफाचटमा नै गरिब देखाएको बताए । बरु अनमोलले थपे, ‘फिल्ममा मैले लगाएका जति पनि कपडा छन्, ती सबै म आफैंले किनेको हुँ । कुनै पनि कपडा एक हजार रुपैयाँभन्दा माथिका छैनन् ।’ निर्देशक भट्टराईले कुरा टुंग्याउँदै भने, ‘फिल्मभर एक दृश्यमा बाहेक सबैमा ईशान नै देखिन्छ ।’ आखिर अनमोल नै लाग्ने त्यो एक दृश्य कुन हो भन्ने थाहा पाउनचाहिँ फिल्म नै हेर्न उनले सुझाव दिए ।

[email protected]

प्रकाशित : फाल्गुन १०, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?