कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हिप हप नै प्रिय

आफू र आफ्नो समुदायविरूद्ध भइरहेको विभेदको विरोधमा सन् सत्तरीको अन्त्यतिर अफ्रो—अमेरिकीले सुरू गरेको हिप हप संगीत अहिले खुबै लोकप्रिय भएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — एक थरी के विश्वास गर्छन् भने पश्चिमेली संगीत भनेपछि प्रायः ‘रक’ खालकै हुने गर्छ  । हुन पनि पश्चिमतिर जति पनि चर्चित गायक/गायिका अथवा ब्यान्ड छन्, धेरैले रक संगीतमै आफूलाई स्थापित गरेका छन्  ।

हिप हप नै प्रिय

एक थरी के विश्वास गर्छन् भने पश्चिमेली संगीत भनेपछि प्रायः ‘रक’ खालकै हुने गर्छ । हुन पनि पश्चिमतिर जति पनि चर्चित गायक/गायिका अथवा ब्यान्ड छन्, धेरैले रक संगीतमै आफूलाई स्थापित गरेका छन् । तर केही समय भयो, रक संगीतले आफ्नो उस्तै लोकप्रियता गुमाउन थालेको, जस्तो यसअघि उसकै नाममा थियो । भनिन्छ, सन् १९९० पछि रक संगीतको लोकप्रियतामा ओरालो लाग्न थाल्यो । अथवा, रक मात्र होइन, अरूखाले गीत मन पराउने पनि बढे ।


भर्खर सकिएको ग्रायमी अवार्डकै कुरा गरौं न । यसमा कि त महिलाको वर्चस्व रह्यो होइन भने हिप हप संगीतको । मनोनयनकै बेला भनिएको थियो, यसपल्ट हिप हप संगीतको वर्चस्व हुन सक्नेछ । यस्तै भयो, आखिरमा । त्यसको सिधा–सिधा सन्देश हो, अब सबथोक रक संगीत मात्र रहेन । अरू विधा मन पराउने पनि उत्तिकै बढे । र, यसमा सबैभन्दा अगाडि भनेको उही हिप हप नै हो । अर्थात् र्‍याप संगीत । यसको धेरै पुरानो इतिहास पनि छैन । सन् सत्तरीको अन्त्यतिर त हो, अमेरिकामा हिप हप संगीत सुरु भएको । अफ्रो—अमेरिकीले यसलाई सुरु गरे, आफू र आफ्नो समुदायविरुद्ध भइरहेको विभेदको विरोधमा । आफ्ना मनका कुरा त्यति बेलाका गायक गायिकाले सररर भन्थे, ‘च्यान्ट’ को भाकामा । यो संगीतमय त हुनै पर्‍यो । अहिले आएर यसकै परिस्कृत स्वरूप निकै लोकप्रिय सावित हुन थालेको छ । फेरि हिप हपले पछिल्लो समय आफ्नो भौगोलिक सीमा पनि तोडेर निकै अगाडि बढिसकेको छ ।


भाषा पनि अंग्रेजी मात्र रहेन् । सन् २००० सम्म पुग्दा रक जति मन पराइएको थियो, त्यतिकै लोकप्रिय अल्टरनेटिभ, कन्ट्री, आर एन्ड बी र हिप हप पनि हुन थालेका थिए । यसलाई यसो भन्दा पनि हुन्छ, जति रक संगीत मन पराउने थिए, उत्तिकै संख्यामा यिनै अल्टरनेटिभ, कन्ट्री, आर एन्ड बी र हिप हप मन पराउने पनि हुन थालेको थियो । निर्वाणा र पर्ल जाम त सफलतम वैकल्पिक ब्यान्ड नै भए । अहिले यस्तै वैकल्पिक संगीत हिप हपको हुन थालेको छ । निर्वाणा र पर्ल जामकै सेरोफेरोमा आर एन्ड बी र आर एन्ड बी प्रभावित पप संगीत खुबै लोकप्रिय रह्यो । सन् २००२ को अन्त्यसम्ममा अमेरिकामा सबैभन्दा बढी सुनिने संगीत नै हिप हप भइसकेको थियो । त्यसयताको समय हिप हप संगीतका लागि स्वर्णिम हो भन्ने पनि छन् । त्यसपछि त कि त हिप हप नै बढी सुनिए, होइन भने त्यसै प्रकारले गाउने आर्टिस्ट । बीचमा केही ओरालो लागेको हिप हप अहिले फेरि उस्तै लयमा फर्केको छ ।


चार्ट्समा हेर्नुपर्छ, अहिले हिप हप संगीतकै वर्चस्व हुन थालेको छ । त्यसैले त अहिले सबैभन्दा लोकप्रिय को छ भन्दा त्यसको उत्तर हुने गर्छ, ड्रेक र केन्ड्रिक लमार जस्ता कलाकार । प्रविधिले पनि हिप हिपलाई मद्दत नै गरेको छ । सुरुमा अमेरिकातिर गीत सुन्ने सबैभन्दा ठूलो माध्यम रेडियो नै हुने गर्थ्यो । त्यति बेला रेडियोले हिप हपलाई महत्त्व नै दिएन । अहिले माध्यम फेरिएको छ, यु ट्युबदेखि स्पोटिफाईजस्ता स्ट्रिमिङ चल्छ, अचेल । यसमा त्यही सुन्ने हो, जुन आफूलाई मन पर्छ । अहिले धेरैलाई हिप हप नै प्यारो भएको छ ।
–हिमेश

प्रकाशित : फाल्गुन १०, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?