पर्यटक तान्दै प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटकीय आकर्षणको थलो पोखरामा पछिल्ला समय खेलकुदका गतिविधि निकै बढेको छ  । फुटबल, क्रिकेट, टेनिस, गल्फ, भलिबललगायत थुप्रै खेलका राष्ट्रिय—अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेका छन्, जसले पोखरालाई खेल पर्यटनको केन्द्रका रुपमा पनि स्थापित गरिरहेको छ  । यसबारे दीपक परियार लेख्छन्:

पर्यटक तान्दै प्रतिस्पर्धा

बुल्गेरियाकी टेनिस खेलाडी भिक्टोरियाले नेपालबारे खासै सुनेकी थिइनन् । एसियाली देश उनले टेकेकै थिइनन् । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले वर्ल्ड टेनिस टुरअन्तर्गत पोखरामा वर्ल्ड र्‍यांकिङ यू–१८ च्याम्पियनसिप आयोजना गर्ने सूचना निकाल्यो । पोखराको नाम सुनेर उनी उत्साहित भइन् । इन्टरनेटमा खोजिन् । हिमाल, तालको बारेमा पढेपछि उनी पोखरा आउन लोभिइन् ।उनी आफ्नी आमा इभगेनिया र ठूलीआमा एन्टोआनेटासँग टेनिस खेल्न पोखरा आइन् । उनी ग्रेड ५ स्तरीय प्रतियोगिताको सर्किट वानमा महिला सिंगल्सतर्फ दोस्रो भएकी थिइन् । खेलले उनलाई खुसी दियो नै, सँगसँगै यहाँको प्राकृतिक दृश्य, खाना र आतिथ्यताले फुरुंग बनाएको उनले बताइन् । यसअघि युरोपका विभिन्न देशमा टेनिस खेल्दा पोखराको जस्तो आत्मीयता नपाएको अनुभव उनले सुनाइन् ।


‘युरोपका मानिस यहाँको जस्तो दयालु छैनन्,’ भिक्टोरियाले भनिन्, ‘खेल्नकै लागि अर्कोपल्ट फेरि पोखरा आउँछु ।’ पोखरामा रहँदा उनले टेनिसमात्रै खेलिनन्, अन्य साहसिक गतिविधिमा पनि संलग्न भइन् । जिप फ्लाएर चढिन् । फेवातालमा बोटिङ गरिन् । हाइकिङ गरेर शान्ति स्तूपा पनि पुगिन् । बुल्गेरियामा ट्राभल एजेन्टका रूपमा काम गर्ने उनकी ठूलीआमा एन्टोआनेटा पोखराको आतिथ्यतादेखि प्रभावित छिन् । ‘यहाँका हिमालय पर्वतहरूका बारेमा सुनेको थिएँ,’ उनले भनिन्, ‘ताल, मन्दिर, खाना र यहाँका स्थानीयको व्यवहारले झनै लोभ्यायो ।’ आफ्नो देश फर्किएपछि अन्यलाई पनि पोखरा घुम्न सिफारिस गर्ने उनी बताउँछिन् । हङकङका यू–१८ टेनिस खेलाडी काइल ट्याङ आफ्ना स्पेनी प्रशिक्षक एगेलससँग पोखरा आएका छन् । उनीहरू सर्किट वान र टुमा गरी दुई हप्ता पोखरा बस्छन् । खेलबाहेकको समय उनीहरू घुमघाममा बिताउँछन् ।


फेवाताल, सराङकोट, शान्ति स्तूपलगायत स्थानले उनीहरूको मन जित्यो । प्रशिक्षक एगेलसले काठमाडौंमा आफ्नो साथीको सिफारिसमा टेनिस खेल्न पोखरा रोजेको बताए । उनलाई पोखराको टेनिस कोर्ट पनि मन पर्‍यो । ‘दुई दिन पानी पर्दा पनि कोर्ट बिग्रिएन,’ क्ले कोर्टतर्फ देखाउँदै उनले भने, ‘पानी पर्न रोकिएको दुई घण्टामै खेल्न मिल्नु यहाँको विशेषता हो ।’ हिमालको अघि टेनिस खेल्न पाउनु विश्वभरका खेलाडीलाई अवसर भएको उनी थप्छन् ।माघ १९ देखि आईटीएफ यू–१८ टेनिस च्याम्पियनसिप फागुन ४ सम्म चल्यो । यसमा सर्किट १ र २ गरी चीन, नेपाल, इन्डिया, ताइवान, श्रीलंका, अमेरिका, बुल्गेरिया, फिलिपिन्स, मलेसिया, थाइल्यान्ड, हङकङ, जर्मनी, दक्षिण कोरिया, अस्ट्रिया, सिंगापुर र नेदरल्यान्ड्सलगायत १८ देशका दुई सय बढी खेलाडी पोखरा आएका थिए । उनीहरूका परिवार र प्रशिक्षकसमेत गर्दा टेनिससँग सम्बन्धित झन्डै ५ सय विदेशी पाहुना पोखरा ओर्लिए ।


प्रतियोगिता संयोजक सूर्य भुजेलले भने, ‘पोखराको खेल पर्यटनमा टेनिसको महत्त्व छुट्टै छ । यस च्याम्पियनसिपले पोखरालाई विदेशी खेलाडीको गन्तव्यका रूपमा विकास गर्ने ढोका खुलेको छ ।’ उनका अनुसार खेल अवधिभर एकजना भारतीय खेलाडीको सरदर खर्च ५ लाख रुपैयाँसम्म हुन्छ । चिनियाँ खेलाडीले ८ लाख र अन्य देशका खेलाडीले १० लाख रुपैयाँसम्म खर्च गर्छन् । महँगो खेलमध्ये टेनिस पनि एक हो । ‘पोखराका तारे होटलका सय बढी कोठमा टेनिस खेलाडीले भरिएका थिए,’ उनी भन्छन्, ‘रेस्टुरेन्ट, ट्याक्सी, टुरिस्ट बस, डुंगालगायतमा उनीहरूले खर्च गरे ।’ आईटीएफले नै आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन कास्की जिल्ला टेनिस संघले गरेको हो । संघका अध्यक्ष दोर्जे लामा अन्तर्राष्ट्रियस्तरको खेल भित्र्याउन सक्नुले पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गरेको बताउँछन् । ‘यत्तिका विदेशी खेलाडी आउँदा फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरूबाट प्रचारप्रसार भइरहेको छ,’ उनले भने, ‘सरकारको साथ हुने हो भने अर्को वर्ष अझै धेरै विदेशी खेलाडी ल्याउन सक्छौं ।’


त्यसो त अहिले पोखरा रंगशालामा दिनदिनै कुनै न कुनै खेलका प्रतियोगिता हुन्छन् । बाह्यमात्र नभई आन्तरिक खेल पर्यटन प्रवर्द्धनमा ती प्रतियोगिताले सघाउ पुर्‍याउँछन् । अघिल्ले सातामात्रै छैटौं मनकामना केबुलकार पोखरा कप फुटबल भयो । गत कात्तिकमा पोखरा प्रिमियर लिग (पीपीएल) ले फोखराको क्रिकेट त्रेजलाई जुरुक्क उचाल्यो । पोखरेली क्रिकेट मैदानले निकै चर्चा पायो । फुटबल होस् वा क्रिकेट, पोखरेली दर्शक रंगशाला पुगिहाल्छन् । बिहीबारदेखि १७ औं आहा रारा गोल्डकप भइरहेको छ । यो प्रतियोगिता पोखराको एउटा ठूलै ब्रान्डका रूपमा स्थापित भइसकेको छ । यस अवसरमा पोखरामा धेरै सहरबाट खेल हेर्न दर्शक आउने गर्छन् । राष्ट्रियस्तरका भलिबल प्रतियोगिता बर्सेनि पोखरामा भइरहेको छ । मझेरीपाटनको हिमालयन गल्फ क्लब एउटा पर्यटकीय आकर्षणको केन्द्र हो । यहाँ दुई दशकयता सूर्य नेपाल वेस्टर्न ओपन च्याम्पियनसिप भइरहेको छ । दक्षिण एसियाली स्तरको ट्रायथलन च्याम्पियनसिप छैटौंपल्ट यहाँ भइसक्यो । म्याराथन र फेवातालको पौडी पनि यहाँको आकर्षण हो ।


साहसिक खेलका लागि त पोखरालाई स्वर्गजस्तै मानिन्छ । एसियाली खेलकुद २०१८ मा नेपाललाई रजत पदक दिलाउने खेलाडीहरू यहीँबाटै तयार भएका थिए । पोखरा नजिकका मोदी खोला र सेतीमा कायाकिङ, र्‍याफ्टिङ, क्यानोनिङमा प्रतिस्पर्धा गर्ने विदेशी नै धेरै हुन्छन् । सराङकोटबाट गरिने जिप फ्लायर र हेम्जाको बन्जीजम्पमा पनि पर्यटक झुम्मिरहेका छन् । पोखरा पर्वतीय संग्रहालयमा रहेको कृत्रिम चट्टानमा पर्यटकले रक क्लाइम्बिङको मज्जा लिन सक्छन् । ह्यान्डबल, साइक्लिङ, घोडचढी, ट्रेल रेस, आर्चरीलगायत खेलले पनि आन्तरिक तथा बाह्य खेलाडीलाई पोखरा भित्र्याइरहेका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?