कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रेकअपमा विश्वास

‘ग्याङस्टार ब्लुज’ ले अपेक्षाकृत व्यापार नगरे पनि निर्देशक हेमराज बीसी र अभिनेता आशिरमान देशराजले ‘द ब्र्रेकअप’ मा सहकार्य गरेका छन् । त्यसैले पनि ‘ब्रेकअप’ दुवैको करिअर र व्यावसायिक सम्बन्धका लागि अर्थपूर्ण छ ।
हेलो शुक्रबार

काठमाडौँ —  ग्याङस्टार ब्लुज’ मा अनमोल केसी खेल्ने पक्कापक्की भएको थियो  । पछि अनमोलले हात झिके  ।

ब्रेकअपमा विश्वास

त्यही फिल्मबाट निर्देशक हेमराज बीसीले आशिरमान देशराज जोशीलाई डेब्यु गराए । आशिरमानको दोस्रो फिल्म ‘द ब्रेकअप’ शुक्रबार प्रदर्शन हुँदै छ, अनमोलको ‘क्याप्टेन’ सँगै ।‘द ब्रेकअप’ को निर्देशक पनि अरू होइन, हेमराज नै । हेमराज उनै निर्देशक हुन्, जसले अनमोललाई डेब्यु गराएका थिए, ‘होस्टेल’ बाट । त्यसपछि ‘जेरी’ र ‘गाजलु’ मा सँगै काम गरे । तर समयसँगै सम्बन्ध बदलियो । यो जुधाईलाई फिल्म वृत्तमा ‘इगो’ को परिणाम मानिएको छ ।

हेमराजचाहिँ अस्वीकार गर्छन् । निर्मातासमेत रहेका उनी भन्छन्, ‘हरेक साता कम्तीमा दुई फिल्म रिलिज हुन्छन् । यसपटक द ब्रेकअप र क्याप्टेनसँगै आए । यो संयोग हो । प्रतिशोध होइन ।’
‘ग्याङस्टार ब्लुज’ बाट आशिरमानको अभिनयको तारिफ भयो तर फिल्मले अपेक्षाकृत व्यापार गरेन । त्यसैले ‘द ब्रेकअप’ उनको करिअरका लागि ज्यादै अर्थपूर्ण छ । उनी स्वयंले महसुस गरेको तथ्य हो यो । तर सर्वाधिक क्रेज भएको भनिएका अनमोलको फिल्मसँग भिड्नुपरेको छ । उनलाई कस्तो लागेको होला ? ‘सुरुमा क्याप्टेनसँगै आउने भन्दा म फिल्म युनिटसँग रिसाएको थिएँ । चित्त बुझेको थिएन,’ आशिरमान भन्छन्, ‘तर फिल्म हेरेपछि आत्मविश्वास आएको छ । अरूसँग किन दाँज्नु ? मचाहिँ द ब्रेकअपबाट आशावादी छु ।’


अनमोलको स्टारडम हेमराज पनि नकार्दैनन् । तर भन्छन्, ‘स्टारपावरले शुक्रबार र शनिबार दर्शकलाई हलसम्म तान्छ तर आइतबारदेखि चल्न फिल्म नै राम्रो हुनुपर्छ ।’ निर्देशकले यसो भनिरहँदा छेवैमा रहेका आशिरमानको मुहारमा मुस्कान नाचिरहेको थियो ।धेरैले भन्छन्, अनमोल स्टार हुनुमा हेमराजको हात छ । अब के आशिरमानलाई पनि हेमराजले स्टार बनाउलान् ? ‘ग्याङस्टार ब्लुज’ प्रदर्शनसँगै चासो बढेको थियो । यसमा हेमराजको तर्क अलग छ, ‘स्टार निर्देशकले बनाउने होइन । कलाकारको कर्म र दर्शकको प्रेमले बनाउने हो । त्यसैले न हिजो अनमोललाई स्टार बनाएको हुँ, न आशिरमानलाई स्टार बनाउँछु भन्ने दम्भ छ ।’ तर आशिरमानको अभिनयप्रतिको लगावबाट प्रभावित छन् उनी । त्यसैले आशिरमान लामो समयसम्म फिल्ममा टिक्नेमा ढुक्क छन् । ‘ग्याङस्टार ब्लुज’ पछि आशिरमानको ‘मेन्टर’ भएका छन्, हेमराज । दोस्ती पनि उत्तिकै प्रगाढ छ ।


पहिले ‘सायद २’ मा अनुबन्ध भएका थिए, आशिरमान । वर्कसपमा भाग लिए, पछि कुरा मिलेन, बाहिरिए । त्यही बेला ‘ग्याङस्टार ब्लुज’ मा मौका पाएका हुन् । अर्को रोचक कुरा, धेरै सहरिया तन्नेरीझैं आशिरमान पनि नेपाली फिल्म हेर्दैनथे । १२ कक्षा पढ्दै गर्दा ‘जेरी’ हेरे । मनपर्‍यो । उनी हाँस्दै भन्छन्, ‘त्यही फिल्मको निर्देशकसँग काम गर्न पाउँदा म त दंग । मैले अभिनयको कखरा उहाँबाटै सिकें ।’ पहिलो फिल्ममा उनको चरित्र ‘डार्क’ थियो, कहिल्यै नदेखेको/नभोगेको । त्यसैले पात्रलाई जीवन्त बनाउन बडो मुस्किल भयो । ‘द ब्रेकअप’ मा चाहिँ उनले अहिलेकै युवालाई प्रतिनिधित्व गर्न पाएका छन् । त्यसैले सहज भएको हुन सक्छ । द ब्रेकअपले यो समयका केटाकेटीको प्रेम सम्बन्धप्रतिको मनोविज्ञानलाई उतार्ने प्रयास गरेको छ, उनीहरूकै भाषा, शैली र व्यवहारमा ।


हेमराज सकार्छन्, ‘द ब्रेकअप’ को कथा कुनै नौलो होइन । अंग्रेजी फिल्म ‘फ्रेन्ड्स विथ बेनिफिट’ यस्तै प्लटमा बनेको थियो । संसारमा यसकै सेरोफेरोमा अरू फिल्म पनि बनेका छन् । हेमराज भन्छन्, ‘कथा उस्तै भए पनि फरक ढंगले भन्ने प्रयास गरेको छु । ‘ट्रिटमेन्ट’ पनि रोचक छ । युवायुवतीले कहीं न कहीं आफूलाई पाउनेछन् ।’ ‘सम्बोधन’ र ‘ग्याङस्टार ब्लुज’ जस्तो केही संवेदनशील विषयमा फिल्म बनाए पनि हेमराजलाई चिनाएको लभस्टोरीले नै हो । ‘द ब्रेकअप’ यही जनराको हो ।
फिल्ममा डेब्यु गर्नुअगावै लोभलाग्दो फ्यान फलोइङ थियो, आशिरमानको । यसमा उनको चकलेटी मुहारको भूमिका थियो । कद पनि अग्लो । गोरो । अर्थात्, देख्दै हिरो लाग्ने । तर उनी आफैंचाहिँ ‘हिरो’ होइन, अभिनेता बन्न फिल्म क्षेत्रमा आएको बताउँछन् ।


‘अनुहार होइन, अभिनय देखाउन आएको हुँ,’ उनी मुस्कुराए, ‘प्रायः ले मलाई ‘गुड लुकिङ’ छ भन्नुहुन्छ, यसो हुँदा राम्रै अभिनय गर्दा पनि छायामा पर्दोरहेछ । त्यसैले अझ मेहनत गर्नुपर्छ ।’ लगातार दुई फिल्ममा काम गरेकाले हुनुपर्छ, उनी हेमराजसँग मात्र फिल्म खेल्छन् भन्ने चर्चा सुनिन्छ । त्यो घेराबाट बाहिर निस्कँदैनन् भनेर ठोकुवा गर्ने पनि नभएका होइनन् तर आशिरमानको विमति छ । भन्छन्, ‘मलाई हेमराज दाइले च्यापेर राख्नुभएको छैन । चित्तबुझ्दो स्क्रिप्ट र टिम भयो भने मलाई जोसुकैसँग काम गर्न समस्या छैन ।’ हेमराज थप्छन्, ‘चरित्र सुहाउँदो र अभिनय गराउन सहज भएकाले मात्र आशिरमानलाई दोहोर्‍याएको हुँ । मलाई अरू हिरोसँग काम गर्न आपत्ति छैन । उनले पनि अरू निर्देशकसँग काम गर्नुपर्छ ।’
[email protected]

प्रकाशित : फाल्गुन १७, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?