चेलीको दम

राजु घिसिङ

काठमाडौँ — साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण विराटनगरमा मंगलबार सुरू हुँदै छ  । यो प्रतियोगिता पहिलोपल्ट नेपालमा हुन लागेको हो  ।

चेलीको दम

संविधानमै उल्लेख भए पनि प्रशासनले आमाको नामबाट नागरिकता जारी नगर्दा धेरैले दुःख पाइरहेका छन् । अहिले पनि लैंगिक समानताका लागि महिलाले अभियान नै गर्नुपरेको अवस्था छ । त्यसो त नेपाल पुरुषप्रधान देश नै हो र यहाँ धेरै हिसाबले महिला पछाडि परेका/पारिएका छन् ।राष्ट्रिय फुटबल टिमलाई हेर्ने हो भने दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) मा नेपाली महिला टिमको प्रदर्शन पुरुष टोलीलाई पनि माथ दिने खालको छ । साफ च्याम्पियनसिप मात्रै हेरौं ः महिला टिमले सुरुका तीनै संस्करणको फाइनल खेल्यो । उपाधि जितेन, त्यो बेग्लै कुरा हो । कम्तीमा उपविजेता त भयो । महिला साफको नौ वर्षे इतिहासमा चौथो संस्करणमा आएर मात्रै नेपाल सेमिफाइनलमा अड्किएको थियो । तुलनात्मक रूपमा हेर्ने हो भने नेपाली पुरुष टिमले २६ वर्षयता निरन्तर साफ (सार्क गोल्डकपसहित) मा सहभागी भएर पनि कहिल्यै फाइनल खेल्न सकेको छैन ।


पुरुष टिमका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल (१३) कर्ता हुन्, हरि खड्का र निराजन रायमाझी । खड्का अहिले महिला टिमको ‘हट–सिट’ मा छन् । अर्थात् मुख्य प्रशिक्षक । उनी आफ्नो पुस्ताका उत्कृष्ट फरवार्ड थिए । गत जेठमा उनी नियुक्त भएयता महिला टिममा जोस भरिएको छ । विशेषगरी नोभेम्बर, २०१८ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा म्यान्मार र भारतलाई बराबरीमा रोक्नु उनको सुरुआती फड्को थियो । तर, त्यही बंगलादेशविरुद्ध जित्न नसक्नु उनको कमजोरी ।तीन साताअघि भुवनेश्वरमा भएको हिरो महिला गोल्डकपमा थप उपलब्धि हात लाग्यो । नेपालले भारतलाई, त्यो पनि उसकै भूमिमा पहिलोपल्ट हरायो । ‘आफैं खेलाडी हुँदासम्म भारतलाई हराउने सपना पूरा गर्न सकेको थिएन,’ कालिंगा रंगशालामा हात पारेको २–१ को ऐतिहासिक सफलतामा प्रशिक्षक खड्काले भनेका थिए, ‘मेरो त्यो सपना चेलीहरूले पूरा गरिदिए ।’ त्यहाँ नेपालले इरानलाई पनि हरायो । फाइनलमा भने म्यान्मारलाई रोक्न सकेन । चार देश सहभागी गोल्डकपमा सबभन्दा तल्लो वरीयताको टिम भएर पनि फाइनल पुग्नु नेपालका लागि नसोचिएको उपलब्धि थियो ।


झापाका खड्काले आफ्नो १५ वर्षे करिअरमा जति गोल गरेका थिए, त्यसको तथ्यांक सावित्रा भण्डारीसँग तुलना गर्न मिल्दैन भलै महिला र पुरुष फुटबललाई एकै ठाउँ राखेर तुलना गर्नु उपयुक्त नहोला । खड्का टिमका मुख्य हतियार हुन्, सावित्रा । उनले राष्ट्रिय टिमको जर्सी लगाएको बल्ल पाँच वर्ष टेकेको छ र यसबीच उनले २२ गोल गर्न भ्याइसकेकी छन् । उनलाई दक्षिण एसियाकै सबभन्दा राम्रो फरवार्ड मान्छन्, खड्का । हरेक पोजिसनका खेलाडीमा निकै सुधार आएको पनि उनले बताए । त्यसैले उनीसामु २८ फागुनदेखि ८ चैतसम्म विराटनगरमा हुने पाँचौं महिला साफमा च्याम्पियन बनाउने चुनौती आएको छ ।


‘यो साफमा सबैले उपाधि आशा गरेका छन्,’ प्रशिक्षक खड्काले भने, ‘मेरा लागि ठूलो चुनौती छ । कोसिस गर्नेछु ।’ सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट घरेलु मैदानमा प्रतियोगिता खेल्न लागेको हो । त्यसैले घरेलु मैदान र समर्थकमाझ उपाधि जित्ने अभियानमा खेल्दा चेलीहरूलाई दबाब बढ्न सक्छ । ‘यस्तो दबाबलाई सकारात्मक रूपमा लाने प्रयास गर्दैछु,’ खड्काले भने । जोसिली सावित्राले थपिन्, ‘घरेलु मैदान र दर्शकको साथले हामीलाई सजिलो हुन सक्छ । हामीले यसलाई दबाबभन्दा पनि थप ऊर्जाका रूपमा लिएका छौं ।’नेपालको महिला फुटबल तीन विभागीय टिम (सशस्त्र प्रहरीको एपीएफ, आर्मी र पुलिस) मा निर्भर छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थित तरिकाले लिग पनि सञ्चालन गर्न सकेको छैन । तैपनि महिला टिमले साफ च्याम्पियन बन्न सक्ने आशा देखाइरहेको छ ।गत नोभेम्बरमा प्रारम्भिक चरणको ओलम्पिक छनोट खेल्न जानुअघि त्यसको तयारीमा नेपाली टिमले बेइजिङमा तीन खेलेको थियो । बेइजिङ बीजी फोनिक्सविरुद्ध दुई र बेइजिङ स्पोर्ट युनिभर्सिटीविरुद्ध एक खेल । फोनिक्सविरुद्ध दुवै खेल हारेको थियो तर चिनियाँ सुपरलिगको क्लबविरुद्ध नेपालले धेरै राम्रो खेलेको प्रशिक्षक खड्का दाबी गर्छन् । ‘त्यस खेलबाट हामीले आफ्नो कमजोरी पत्ता लगायौं र सुधारको बाटोमा लाग्यौं,’ उनले भने, ‘त्यसैले बेइजिङ यात्रा हाम्रा लागि ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने आधार बन्यो ।’


खेलाडीहरूले म्यान्मार र भारतविरुद्ध बराबरी नतिजापछि आफ्नै क्षमतामा विश्वास गर्न थाले । उत्साहित र आत्मविश्वासी भए । पहिला भारत भनेपछि हाम्रा चेलीहरू मैदानमा ओर्लनुअघि नै मानसिक रूपमा पराजित भइसकेका हुन्थे । त्यसलाई परिवर्तन गर्नु नै खड्काको अहिलेसम्मको सबभन्दा ठूलो सफलता हो । बिनाडर र भिडेर खेल्ने भएका छन् ।डिफेन्डर गीता रानाले भनिन्, ‘पहिला हामी भारतविरुद्ध मैदानमा ओर्लनुअघि नै डराइसकेका हुन्थ्यौं । हे भगवान् गोल खानु नपरोस् भनेर खेल्थ्यौं । उसका खेलाडी अहिले पनि राम्रै छन् । तर, भुवनेश्वरको जितपछि कन्फिडेन्स आएको छ । हाम्रो टिम पनि राम्रो भएको छ ।’ गोलकिपर एन्जिला तुम्बापो सुब्बा थप्छिन्, ‘पहिला एउटा गल्ती गर्नेबित्तिकै मनोबल खस्किन्थ्यो र राम्रो खेल्नै सकिँदैनथ्यो । अहिले गल्ती गरे पनि प्रशिक्षक र खेलाडीहरूले राम्रो गर्न उत्साहित गर्छन् । त्यसैले अत्तालिन छाडेका छौं । गल्ती पनि कम भएको छ । आत्मविश्वास बढेको छ ।’


नेपाली डिफेन्समा बल आयो कि उडाउने चलन थियो । अब पास दिन थालेका छन् । सहजै ५–६ पास खेल्दै अवसर सिर्जना गर्ने खुबी थपिएको छ । त्यसैले नेपालले यसपालि उपविजेताको छविलाई बदल्ने आशा गरिएको छ । नेपाल ६ पल्ट फाइनल (३ साफ, २ साग र १ हिरो गोल्डकप) खेले पनि अझै पहिलो उपाधिको प्रतीक्षामै छ । प्रशिक्षक हरि खड्काको ध्यान भने सिधा उपाधिमै छैन । नेपालले समूह ‘ए’ मा पछिल्लोपल्टको उपविजेता बंगलादेश र भुटानविरुद्ध खेल्दै छ । अर्को समूहमा चारपल्टको विजेता भारत, माल्दिभ्स र श्रीलंका छन् । दक्षिण एसियाली अर्को देश पाकिस्तान आउने छैन ।‘बलियो भएकाले सबैले भारततिर नजर लाएका छन् तर अरूले पनि निकै सुधार गरिरहेका छन् । विशेषगरी बंगलादेशले,’ प्रशिक्षक खड्काले भने, ‘फुटबलमा जे पनि हुन सक्छ । त्यसैले पहिला समूहमा पहिलो हुनेमा केन्द्रित छौं । त्यसपछि मात्रै सेमिफाइनल र फाइनल आउनेछन् ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?