कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जलवायु परिवर्तनका अनुसन्धाता

गोविन्द पोखरेल

काठमाडौँ — सूर्यविनायक भक्तपुरका सुदीप ठकुरी ‘जलवायु परिवर्तन र उच्च हिमाली हिमनदी तथा जलस्रोत प्रणाली’ का सम्बन्धमा विद्यावारिधि गर्ने नेपालका एक माक्र व्यत्ति हुन्  । उनको अनुसन्धानबारे गोविन्द पोखरेल लेख्छन्: 

जलवायु परिवर्तनका अनुसन्धाता

इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुदीप ठकुरीका करिब १ सय ५० रिसर्च वैज्ञानिक जर्नलमा प्रकाशित छन् । उच्च हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा सक्रिय ठकुरीका डेढ दर्जन बढी अनुसन्धान विश्वका उच्चकोटिका वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन् । साइटेसन ५ सय बढी । त्यसैले उनलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागमा ‘एसोसिएट प्रोफेसर’ नियुक्तिसम्म दिलायो । विद्याभूषण पदकबाट विभूषित ठकुरीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट फेलोसिप पाए । विश्व खाद्य संस्था, यूएनडीपीदेखि डब्लूडब्लूएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा विज्ञका रूपमा काम गरे ।


गत महिना ठकुरीसहित एक नेपाली विद्यार्थी र चिनियाँ वैज्ञानिकको समूहले नेपालमा बढ्दै गएको हिमतालको क्षेत्रफल बढेको अनुसन्धानमूलक रिपोर्ट निकाल्यो । यसबाट ३० वर्षको समयमा नेपालमा हिमतालको संख्या ५ सयको हाराहारीमा बढेको र करिब २५ प्रतिशतले हिमतालले ओगटेको क्षेत्रफल बढेको पत्ता लागेको थियो । हिमतालहरू जलवायु परिवर्तनको सूचक हुन् । ठकुरीले भने, ‘तापक्रम वृद्धिसँगै हिउँ पग्लन थाल्छन् । हिमनदीका बरफहरू पग्लन थालेपछि हिमतालको क्षेत्रफल बढ्छ ।’उनको भनाइलाई आधार मान्ने हो भने नेपाल उच्च हिमाली क्षेत्रको अध्ययन गर्नेका लागि एउटा उत्कृष्ट प्रयोगशाला हो । नेपालको हिमालयबाट उच्च हिमाली क्षेत्रहरूका बारेमा अपार तथ्यांक र खोज गर्ने ठाउँहरू रहेको उनले सुनाए । यस क्षेत्रमा थोरै नेपालीले मात्र अनुसन्धान गरेका छन् । नेपालको हिमालयमा विदेशी वैज्ञानिकहरूकै बाहुल्य छ ।उच्च हिमालय क्षेत्रहरूमै गएर अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरूलाई धेरै कठिनाइ हुने उनको अनुभव छ । अनुसन्धान स्थलमा जानका लागि समय लाग्ने, चिसो, बस्ने स्थान, स्रोतसाधनको अभाव र भौगोलिक अवस्थालगायतले असर गर्छ । त्यही भएर पछिल्लो समयमा उनले जीआईएस (जिओग्राफिक इन्फर्मेसन सिस्टम) बाट हिमालय क्षेत्रको हिमताल, हिउँ, हिमनदी, पानीको बहाव, ल्यान्ड टोपोग्राफीको अध्ययन भइरहेको छ ।


अचेल ‘जलवायु परिवर्तन’ जताततै प्रयोग हुने शब्द हो । कूटनीतिदेखि राजनीतिसम्म यसले प्राथमिकता पाएको छ । वैज्ञानिक तथ्यलाई टेकेर जलवायुलाई हेरिनुपर्ने उनले सुनाए । ‘पारिलो घाम लाग्दा, पानी पर्‍यो/परेन भने पनि जलवायु परिवर्तनका कारण भन्ने गरिएको छ,’ ठकुरीले भने, ‘हावापानी परिवर्तन भन्नेबित्तिकै जलवायु परिवर्तन भन्ने बुझेको पाएको छु । वास्तवमा जलवायु परिवर्तन भनेको लामो समयसम्म हावापानीको औसत अवस्था हो । हामी यही विषयमा अल्मलिएका छौं । हावापानी परिवर्तन जतिबेला पनि हुन सक्छ । लामो समयसम्म मौसम तथा हावापानीको औसत अवस्थालाई जलावायु भनिन्छ । जलवायुमा आएको परिवर्तन नै जलवायु परिवर्तन हो ।’ तापक्रम र वर्षाको अवस्था, नदीहरूको बहाव, हिमनदी र हिमतालको अध्ययन र त्यहाँ बगेको पानीको बहावबारे अनुसन्धान गर्दै आइरहेका ठकुरीले नेपालमा तापक्रम र वर्षात्को लामो समयसम्मको अभिलेख नरहेको बताए । त्यसैले हिमनदीको अनुसन्धान गरिएको हो । जलवायु परिवर्तनको प्रमुख सूचक हिमनदीको अवस्थालाई पनि लिइने गरेको उनले सुनाए । उनका अनुसार भू–उपग्रह प्रविधि प्रयोगबाट हिमतालहरूको अवस्थाबारे अनुसन्धान हुन्छ ।


ठकुरीले हिमरेखासम्बन्धी पनि अनुसन्धान गरेका छन् । हिमरेखालाई उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको सूचकका रूपमा लिइन्छ । हिमरेखा स्थिर हुनुपर्छ भनिन्छ । उनको एक अनुसन्धानले हिमरेखा १ सय २५ मिटरमाथि सरेको देखाउँछ । स–साना हिमनदीहरू पनि हिमालय क्षेत्रमा परिवर्तर्न भइरहेको पाइएको छ ।विदेशी वैज्ञानिकसँग एक दशकको अनुसन्धान अनुभव रहेका ठकुरीलाई इटालियनहरूसँग काम गर्न रमाइलो लाग्ने रहेछ । ‘उनीहरू ज्यादै सचेत र कामप्रति लगनशील हुन्छन्,’ उनले भने, ‘जर्मनी, चिनियाँ, जापानिज, अमेरिकी वैज्ञानिकहरू पनि लगनशील नै हुन्छन् ।’अनुसन्धानमा मुख्य स्रोत, साधन र प्रयोगशाला भएको उल्लेख गर्दै उनले भने, ‘नेपालमा गरेको अनुसन्धानको निष्कर्षले प्राथमिकता पाउँदैन । विदेशमा अनुसन्धानको निष्कर्षलाई गम्भीर रूपमा लिइन्छ ।’ सगरमाथा क्षेत्रका हिमनदीहरूको अवस्थाबारे उनको अनुसन्धानलाई नेसनल जोग्राफी, डेली मेल, वासिङ्टन पोस्टजस्ता विश्वकै चर्चित सञ्चारमाध्यमहरूले प्रकाशित गरेका थिए तर नेपालमा भने गौण नै थियो ।


उनका केही अनुसन्धान ‘रिमोट सेन्सिङ’ मा आधारित छन् । ‘फिल्ड’ मा पुग्न समस्या हुने ठाउँमा उनी यही विधिबाट हिमतालको अवस्थाबारे जानकारी लिन्छन् । ‘सगरमाथा बेसक्याम्प पुग्न सात दिन लाग्छ तर स्याटलाइट डाटाबाट त्यहाँको अवस्थाबारे तत्कालै थाहा पाइन्छ,’ उनले उदाहरण दिए ।नेपालमा हिमनदी र हिमतालको अनुसन्धान त भयो तर कारक के हुन् त भन्ने विषयमा अझै गहन अनुसन्धान नभएको उनले सुनाए । ‘तापक्रम बढेको देखिन्छ तर त्यसको अझ वास्तविक कारकहरू के–के हुन् भन्ने विषयमा वैज्ञानिक अनुसन्धान नै भएको छैन । सबै सामाजिक–आर्थिक कुरासँग जोडिएर मात्र भन्ने गरिएको छ । सम्भावित असरबारे अनुसन्धान आवश्यक छ ।’ उत्पादकत्व, प्राकृतिक प्रकोपसम्बन्धी ठोस असरबारे कमै अनुसन्धान भएको उनले बताए । ‘मान्छेको विचार बुझेर मात्र नतिजा देखाइएको छ, तथ्यांकमा आधरित छैन,’ उनले भने । युवाहरूमा जलवायु परिवर्तनसम्बन्धी आकर्षण रहे पनि आर्थिक स्रोतका लागि मात्र अनुसन्धान गर्ने परिपाटी रहेको उनले बताए । सिन्धुपाल्चोकमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन मुख्य वैज्ञानिक रहेका ठकुरी अहिले त्यसको कार्यान्वयन पक्ष फितलो बन्दै गएकामा दुःख व्यक्त गर्छन् । सुरुमा उत्साहित भएर कार्यक्रम गरिए पनि विज्ञहरूको कुरालाई बेवास्ता गरिएको उनले सुनाए । नेपालमा तथ्यांक संकलन प्रणाली अत्यन्त कमजोर भएको उल्लेख गर्दै उनले हिमनदी र हिमतालसम्बन्धी अध्यापन स्वदेशकै विश्वविद्यालयहरूमा गराउनुपर्ने सुझाव दिए ।

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?