टिकटकको छलाङ

सेलेब्रिटी हुन् वा सामान्य प्रयोगकर्ता आफ्नो भिडियो अपलोड गर्न र अरुको भिडियो हेर्नमै रमाइरहेका छन् ।
हेलो शुक्रबार

काठमाडौँ — आफ्ना प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसकेकामा फेसबुक आलोचित भइरहेको छ  । युट्युबमा भ्रम फैलाउने र बालबालिकालाई हानि गर्ने भिडियो अपलोड भएकामा आलोचना भइरहेको छ  ।

टिकटकको छलाङ

ट्वीटरको अवस्था उस्तै छ, अतिवादी र राजनीतिक रङ दिइएका एकाउन्टको विश्लेषण गर्नमा उसको समय खर्च भइरहेको छ । तर, यी सबै तनावबाट मुक्त अर्को एउटा कम्पनी भने आरामदायी यात्रा गरिरहेको छ । चिनियाँ कम्पनी वाइटडान्सको स्वामित्वमा रहेको टिकटकले नसोचेको सफलता हासिल गरेको छ त्यो पनि पछिल्लो एक वर्षभित्र । छोटो भिडियो सेयर गर्ने सामान्य एपको रूपमा सुरु भएको टिकटकमा अहिले करिब ८ करोड प्रयोगकर्ता पुगेका छन् । यो २०१८ को डिसेम्बरसम्मको तथ्यांक हो । सन् २०१७ मा टिकटकको प्रयोगकर्ता जम्मा २ करोड हाराहारीमा मात्रै थिए । एक वर्षमा उसले आफ्नो प्रयोगकर्ताको संख्या करिब ३ सय प्रतिशतले वृद्धि गरेको छ ।


टिकटक के हो र कसरी प्रयोग गर्ने भन्नेबारे धेरै मानिसलाई अझै थाहा छैन तर जतिलाई थाहा छ उनीहरू यसैमा रमाइरहेका झैं देखिन्छन् । सेलेब्रिटी हुन् वा सामान्य प्रयोगकर्ता आफ्नो भिडियो अपलोड गर्न र अरूको भिडियो हेर्नमै रमाइरहेका छन् । टिकटकमा भिडियोबाहेक अरू केही हुन्न त्यो पनि प्रयोगकर्ता आफैंले बनाएको हो । अरूले बनाएको छोटो तर रमाइलो भिडियो हेर्नुबाहेक यसमा गर्नुपर्ने केही छैन । चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकको अहिले प्रतिस्पर्धी पनि कोही छैन । चल्तीमा रहेका सामाजिक सञ्जाल यसका प्रतिस्पर्धी होइनन् किनकि यसको प्रकृति नै फरक छ । टिकटकले सन् २०१७ को नोभेम्बरमा नै आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धीलाई आफूमा समाहित गरेको थियो । म्युजिकल्ली नामक एपलाई किनेर टिकटकले उसका प्रयोगकर्तालाई समेत आफ्नोमा गाभेको थियो । करिब ८० करोड अमेरिकी डलरमा म्युजिकल्ली बिक्री भएको थियो ।


उक्त अवधिमा म्युजिकल्ली र टिकटकको प्रयोगकर्ता करिब उत्तिकै संख्यामा थिए । टिकटकको लोकप्रियता ह्वात्तै बढ्नुमा चिनियाँ प्रयोगकर्तामाझ उसको लोकप्रियताको मुख्य देन छ तर चीनमा मात्रै नभई एसिया र युरोपमा पनि टिकटकले उत्तिकै प्रयोगकर्ता कमाउन थालेको छ ।अहिले टिकटकमा धेरै सेलेब्रिटीहरू प्रयोगकर्ता बनिसकेका छैनन् । तर, ठूला युट्युबर र अमेरिकी सेलेब्रिटी जिम्मी फलोन र टोनी हकको आगमनले पश्चिमा बजारमा यसका लोकप्रियताको ग्राफ बढ्ने अनुमान छ । ठूलो संख्यामा प्रयोगकर्ता भएको भारतमा पनि यसको लोकप्रियता लगातार बढिरहेको छ । टिकटकको कुल डाउनलोडमध्ये करिब तीन करोड गत वर्ष भारतमै भएको थियो ।
भिडियो इडिटिङ गर्ने सामान्य तरिका, आफ्नो मनपर्ने संगीत छान्न पाइने कारण पनि टिकटकले सजिलै प्रयोगकर्ता आकर्षित गरेको छ । यसमा भिडियो हाल्नका लागि कुनै विज्ञता आवश्यक पर्दैन । सन् २०१८ मा ओभरअल डाउनलोडमा टिकटक चौथो नम्बरमा छ । ह्वाट्सएप, म्यासेन्जर, फेसबुकपछि टिकटक सबैभन्दा बढी डाउनलोड भएको थियो ।


आईओएस स्टोरमा गत वर्ष सबैभन्दा बढी डाउनलोड भएको एप बनेको थियो टिकटक । गुगल प्ले स्टोरमा भने यसको स्थान चौथोमा रहेको छ । डाउनलोडका हिसाबले यसले इन्स्टाग्रामलाई पनि पछि छाडेको छ । केही विश्लेषक यसलाई नयाँ इन्स्टाग्राम पनि भन्न रुचाउँछन् किनकि फोटो सेयरिङका लागि लोकप्रिय इन्स्टाग्रामको स्थान अब भिडियो सेयरिङ गर्ने टिकटकले लिन सक्नेछ ।

[email protected]

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?