ब्याड ब्वाइजलाई गाह्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘ब्याड ब्वाइज’ का रुपमा चर्चित एरोस्मिथका सदस्यहरु पहिले–पहिले जति फूर्तिला हुने गर्थे, अचेल त्यति छैनन्  । त्यसैले शारीरिक अस्वस्थाकै कारण टुरका कार्यक्रम समय–समयमा रद्द गर्नुपर्नेसमेत भइसकेको छ  ।

ब्याड ब्वाइजलाई गाह्रो

रोस्मिथको सबैभन्दा लोकप्रिय गीतमा पर्छ, ‘ड्रिम अन’ । गीतले लगभग यस्तै भन्छ, तिमीले राम्रो गर्छौ भने त्यसको नतिजा पनि राम्रै हुन्छ । सायद एरोस्मिथ ब्यान्डले पनि पश्चिमेली संगीतमा राम्रै गरेको थियो, त्यसैले अचेल त्यसलाई राम्रै कामका लागि सम्झिने गरिन्छ । रक संगीतका ठूल्ठूला ब्यान्ड प्रायः इंग्ल्यान्डतिरकै छन् । कम्तीमा हाम्रोतिर सुनिने प्रायः ठूला ब्यान्ड इंग्ल्यान्डतिरकै छन् । सन् सत्तरी अघि–पछिका जति ठूला ब्यान्ड छन्, धेरै उताकै छन् ।


त्यति बेला इंग्लिस ब्यान्डहरूले अमेरिकामा धावा नै बोलेका थिए पनि भनिन्छ । एक प्रकारले एरोस्मिथ त्यसमा अपवाद जस्तै हो । त्यसैले संगीत मन पराउने अमेरिकीहरू भन्ने गर्छन्, एरोस्मिथ अमेरिकाको सबैभन्दा ठूलो रक एन्ड रोल ब्यान्ड हो । खासमा एरोस्मिथ भनेको ‘द ब्याड ब्वाइज फ्रम बोस्टन’ हुन् । तिनीहरू अमेरिकामा जति लोकप्रिय छन्, त्यहाँबाट बाहिर पनि उत्तिकै मन पराइन्छ, उनीहरूलाई । ब्यान्डको एउटा ठूलो विशेषता यही हो ।


यति बेला ब्यान्डको चर्चा किन भन्दा गायक स्टेभन टेलरको एरोस्मिथले चाँडै स्थापनाको ५० वर्ष छुँदैछ । टेलर आफैं ७० वर्षका भइसके । त्यसो त एरोस्मिथको स्थापना ठ्याक्कै सन् १९७० मा भएको मानिन्छ । तर त्यसभन्दा अगाडि नै ब्यान्ड केही न केही रूपमा सक्रिय भइसकेको थियो । जे होस्, ब्यान्डको ५० वर्ष नजिकिँदै छ, त्यसैले टेलर र उनका साथीहरू टुरमा निस्कँदै छन् । ब्यान्डले टुरमा आफ्नो आधा दशकलाई नै जोड दिइरहेका छन् ।


‘ओहो, समय कति चाँडै बित्छ, थाहै हुन्न,’ टेलरले भन्ने गरेका छन्, ‘हामीले यसबीचमा संगीतमा जे जति गर्न सक्यौं, त्यसमा खुसी नै छ ।’ यो ब्यान्डले अहिलेसम्म चार ग्रायमी अवार्ड्स जितेको छ भने सन् २००१ मा यसलाई ‘रक एन्ड रोल हल अफ फेम’ मा पनि समावेश गरिएको थियो । अहिले भर्खरै एरोस्मिथलाई ‘हलिउड वक अफ फेम’ मा समावेश गरिएको छ । अमेरिकी संगीतमा यसलाई राम्रै मानिन्छ । एरोस्मिथको यो अर्को उपलब्धि रह्यो ।


‘हलिउड वक अफ फेम’ मा समावेश हुनुको अर्थ एरोस्मिथले अमेरिकी ब्यान्ड भएर गरेको योगदान न हो । यो सबैले यति बेला किन पनि अर्थ राख्छ भने ब्यान्डका सदस्यहरू साँच्चै बूढा देखिन थाले । यी ‘ब्याड ब्वाइज’ पहिले–पहिले जति फूर्तिला हुने गर्थे, अचेल त्यति छैनन् । त्यसैले शारीरिक अस्वस्थकै कारण टुरका कार्यक्रम समय–समयमा रद्द गर्नुपर्नेसमेत भइसकेको छ । हुन पनि कि त टेलर नै बिरामी पर्छन्, होइन भने अर्का ब्यान्डका फ्रन्टम्यान जोए पेरीलाई सन्चो हुन्न ।


यी व्यवधानलाई पार गरेर पनि एरोस्मिथ अबको टुरलाई सम्झनालायक बनाउन चाहन्छन् । यति बेला के पनि सम्झनायोग्य छ भने सुरुका दिनमा पेरी र बास गितारिस्ट टम ह्यामिल्टन एउटा ब्यान्ड बनाउन चाहन्थे, त्यसैले उनीहरूले टेलर, ड्रमर जोए क्रामर र गितारिस्ट रे टबानोलाई भेटे । र, बन्यो एरोस्मिथ । टबानाको स्थानपछि ब्रायड ह्वाइटफोर्डले लिए । त्यसयता ब्यान्डमा भएका केही परिवर्तन छाडेर ‘लाइन अप’ उस्तै छ ।


ब्यान्डका खास परिचय ब्लुज र हार्ड रक नै हो । त्यसमा उनीहरू पप रक, हेभिमेटल, रिदम एन्ड ब्लुज मिसाउने गर्छन् । अमेरिकामा त्यसपछि धेरै रक ब्यान्ड बने र तिनीहरूका लागि एरोस्मिथ आदर्श रहने गरेको छ । यो ब्यान्ड कति धेरै मन पराइन्छ भने यसका १५ करोड एल्बम बिक्री भएका छन् । त्यसमा आधा त अमेरिकामा नै बिक्री भए । अमेरिकामा एरोस्मिथको नाममा धेरै कीर्तिमान छ किनभने अमेरिकीहरू यो ब्यान्डलाई लिएर साँच्चै गर्व गर्छन् ।
–हिमेश

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?