आक्रोशकी बिम्ब

कंगना पर्दामा जति बोल्ड देखिन्छिन्, पर्दाबाहिर त्योभन्दा बोल्ड अभिव्यक्ति दिन्छिन् । उनी तीन खान र करण जोहरसँग समेत पंगा लिन्छिन् । यो साहस कसरी आउँछ छ ?
कान्तिपुर संवाददाता

काठमाडौँ —  बलिउडमा उनको कोही गडफादर छैनन्  । न स्टार किड नै हुन् ।

सम्पन्न र शिक्षित परिवारकी पनि होइनन् । न मुम्बई, दिल्लीजस्ता ठूला सहरमा हुर्कनै पाइन् । बलिउडले रुचाउने हिरोइनको रूपरेखाभित्र खास अटाउँदिनन् पनि । एक खाँटी ‘आउटसाइडर’ हुन् । उनी अर्थात् कंगना रनावत ।


क्षमताको सामु कसको के लाग्छ ? अचेल बलिउडमा सबैभन्दा चर्चा कुनै हिरोइनको हुन्छ भने कंगनाकै हुन्छ । अभिनय मात्र होइन, खरा अभिव्यक्तिले पनि निरन्तर मिडियामा छाइरहन्छिन् । झन् ‘मर्णिकणर््िाका ः द क्वीन अफ झाँसी’ हिट भएपछि त उनको आँट र साहस ह्वातै बढेको छ । उनलाई नरुचाउनेले यसलाई चुरीफुरी र घमण्ड पनि भन्न सक्छन् । बलिउडमा यसो भन्न थालिएको छ, ‘कंगनालाई मन पराउ वा घृणा गर, त्यो आफ्नो रोजाइ । तर उनलाई बेवास्ताचाहिँ गर्नै सकिन्न ।’

Citizen


कलाकारका रूपमा पर्दामा पात्रलाई जीवन्तता दिन माहिर छिन् कंगना । उनलाई बलिउडको संस्थापनले किनारा लाउन नसकेकै त्यही अभिनय कुशलताले नै हो । पहिलो फिल्म ‘ग्याङस्टार’ बाटै उनलाई आमदर्शकले ‘मार्क’ गरेका थिए । त्यसपछि लड्दै–भिड्दै यहाँसम्म आइपुगेकी छन् । यहाँ अर्थात् चार फिल्म फेयर र तीन नेसनल अवार्ड चुमिसकेकी छन् । योभन्दा ठूलो कुराचाहिँ, उनी आफूलाई लागेको कुरा निर्धक्क भन्न सक्छिन् ।


बलिउडका धेरैले तीन खान (शाहरुख, सलमान र आमिर) सँग फिल्म खेल्न मरिहत्ते गर्छन्, करिअर चम्कने र प्रभुत्व बढ्ने लालसामा । तर कंगनाले सार्वजनिक रूपमै तीन खानसँग फिल्म नखेल्ने घोषणा गरिन् । कारण, ‘उनीहरूका फिल्ममा हिरोइन शो–पिस मात्र हुन्छन् । म त्यस्तो हुन चाहन्नँ ।’


वास्तवमै उनी हिरोको वरिपरि नाच्ने र रोमान्स गर्ने भूमिकामा सीमित छैनन् । फिल्ममा पुरुषभन्दा उनकै पात्र बलियो हुन्छ । मेरुदण्ड उनै हुन्छिन् । ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘तनु वेड्स मनु रिटर्न्स’, ‘सिमरन’ अनि अहिले ‘मर्णिकर्णिका’ । मर्णिकर्णिकामा त ठूलो लफडा पर्‍यो । सुरुमा यस फिल्ममा कलाकारका रूपमा मात्र जोडिएकी थिइन् उनी । सुटिङ आधाआधी भएपछि निर्देशक क्रिससँग मनमुटाव भयो । क्रिस निक्लिए, बाँकी निर्देशन कंगनाले आफैंले गरिन् । फिल्ममा निर्देशकको नाममा सुरुमा कंगनाको आउँछ, त्यसपछि माक्र त्रिसको । पटकथाकारलाई पनि हटाइन् । उनकै कारण सोनु सुद पनि फिल्मबाट बाहिरिए । त्यति बेला कंगनाको खुबै आलोचना भयो । अहिले फिल्म चल्यो, सबै चुप छन् ।


हिमाञ्चल प्रदेशबाट दिल्ली हुँदै मुम्बई पुग्दा कंगनाले अनेक हन्डर खानुपर्‍यो । पटक–पटक यौन दुर्व्यवहारको सिकार भइन् । उनले अभिनेता आदित्य पञ्चोलीलाई त खुलेरै आफूमाथि हिंसा गरेको आरोप नै लगाइन् । सुरुका दिनमा बलिउडले उनलाई खुब हेप्यो, पेल्यो । कारण यत्ति, उनको बलिउडमा आफ्नो भन्नु कोही थिएन । यी सब पन्छाउँदै आएकीले हुनुपर्छ, उनमा अथाह आक्रोश देखिन्छ । बलिउडमा चम्किरहेका सेलेब्रिटीका सन्तान उनको मुख्य तारोमा पर्छन् ।


उनले हिरोइन आलिया भट्टलाई ठाडै ‘करण जोहरको कठपुतली’ भनिदिइन् । करण जोहर ‘नेपोटिज्म’ का मुख्य मतियार भएको आरोप लगाउँछिन् । ऋतिक रोशन आफ्नो पूर्वप्रेमी भएको दाबी गरिनन् मात्र, यो विवाद अदालतसम्मै पुग्यो । अझै सल्टिएको छैन । मीटू अभियानमा उनले आफूलाई चम्काउने ‘क्वीन’ का निर्देशक विकास बहललाई समेत मुछिन् । आलिया, रणवीर कपुर र रनभीर सिंहलाई
‘गैरजिम्मेवार नागरिक’ को आरोप लगाइन् । पुलवामा आक्रमणपछि पाकिस्तानमा हिन्दी फिल्म प्रदर्शन गर्न नहुने तर्क गरिरहेकी छन् ।


उनी बलिउडभित्र मात्र होइन, सामाजिक र राजनीतिक विषयमा पनि कटाक्ष गरिरहेकी हुन्छिन् । खासगरी महिलामाथिको विभेद र पितृसत्तात्मक सोचलाई प्रहार गर्छिन् । ‘आक्रोशको बिम्ब’ मान्न थालिएको छ उनलाई । तर उनको यो रवैयालाई ‘कुण्ठा’ मान्ने पनि उत्तिकै छन् । ‘चाहिनेभन्दा ज्यादा बोल्ने’ भन्दै उनको आलोचना गर्नेको पनि कमी छैन । बलिउडमा उनको आफ्नै समूह छैन । समकक्षी हिरोइनसँग राम्रो उठबस छैन । अझै पनि उनलाई पाखा लगाउन खोज्नेको जमात् ठूलै छ । तर, कंगनामा डर देखिँदैन । आफूलाई लागेको कुरा निर्धक्क बोल्छिन्, जोसँग पंगा लिनपरे पनि । उनी पटक्कै हच्किन्नन् । उनको अब आउने फिल्मको नामै छ, ‘पंगा’ । क्या संयोग १
– एजेन्सीहरूबाट

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ब्याड ब्वाइजलाई गाह्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘ब्याड ब्वाइज’ का रुपमा चर्चित एरोस्मिथका सदस्यहरु पहिले–पहिले जति फूर्तिला हुने गर्थे, अचेल त्यति छैनन्  । त्यसैले शारीरिक अस्वस्थाकै कारण टुरका कार्यक्रम समय–समयमा रद्द गर्नुपर्नेसमेत भइसकेको छ  ।

रोस्मिथको सबैभन्दा लोकप्रिय गीतमा पर्छ, ‘ड्रिम अन’ । गीतले लगभग यस्तै भन्छ, तिमीले राम्रो गर्छौ भने त्यसको नतिजा पनि राम्रै हुन्छ । सायद एरोस्मिथ ब्यान्डले पनि पश्चिमेली संगीतमा राम्रै गरेको थियो, त्यसैले अचेल त्यसलाई राम्रै कामका लागि सम्झिने गरिन्छ । रक संगीतका ठूल्ठूला ब्यान्ड प्रायः इंग्ल्यान्डतिरकै छन् । कम्तीमा हाम्रोतिर सुनिने प्रायः ठूला ब्यान्ड इंग्ल्यान्डतिरकै छन् । सन् सत्तरी अघि–पछिका जति ठूला ब्यान्ड छन्, धेरै उताकै छन् ।


त्यति बेला इंग्लिस ब्यान्डहरूले अमेरिकामा धावा नै बोलेका थिए पनि भनिन्छ । एक प्रकारले एरोस्मिथ त्यसमा अपवाद जस्तै हो । त्यसैले संगीत मन पराउने अमेरिकीहरू भन्ने गर्छन्, एरोस्मिथ अमेरिकाको सबैभन्दा ठूलो रक एन्ड रोल ब्यान्ड हो । खासमा एरोस्मिथ भनेको ‘द ब्याड ब्वाइज फ्रम बोस्टन’ हुन् । तिनीहरू अमेरिकामा जति लोकप्रिय छन्, त्यहाँबाट बाहिर पनि उत्तिकै मन पराइन्छ, उनीहरूलाई । ब्यान्डको एउटा ठूलो विशेषता यही हो ।


यति बेला ब्यान्डको चर्चा किन भन्दा गायक स्टेभन टेलरको एरोस्मिथले चाँडै स्थापनाको ५० वर्ष छुँदैछ । टेलर आफैं ७० वर्षका भइसके । त्यसो त एरोस्मिथको स्थापना ठ्याक्कै सन् १९७० मा भएको मानिन्छ । तर त्यसभन्दा अगाडि नै ब्यान्ड केही न केही रूपमा सक्रिय भइसकेको थियो । जे होस्, ब्यान्डको ५० वर्ष नजिकिँदै छ, त्यसैले टेलर र उनका साथीहरू टुरमा निस्कँदै छन् । ब्यान्डले टुरमा आफ्नो आधा दशकलाई नै जोड दिइरहेका छन् ।


‘ओहो, समय कति चाँडै बित्छ, थाहै हुन्न,’ टेलरले भन्ने गरेका छन्, ‘हामीले यसबीचमा संगीतमा जे जति गर्न सक्यौं, त्यसमा खुसी नै छ ।’ यो ब्यान्डले अहिलेसम्म चार ग्रायमी अवार्ड्स जितेको छ भने सन् २००१ मा यसलाई ‘रक एन्ड रोल हल अफ फेम’ मा पनि समावेश गरिएको थियो । अहिले भर्खरै एरोस्मिथलाई ‘हलिउड वक अफ फेम’ मा समावेश गरिएको छ । अमेरिकी संगीतमा यसलाई राम्रै मानिन्छ । एरोस्मिथको यो अर्को उपलब्धि रह्यो ।


‘हलिउड वक अफ फेम’ मा समावेश हुनुको अर्थ एरोस्मिथले अमेरिकी ब्यान्ड भएर गरेको योगदान न हो । यो सबैले यति बेला किन पनि अर्थ राख्छ भने ब्यान्डका सदस्यहरू साँच्चै बूढा देखिन थाले । यी ‘ब्याड ब्वाइज’ पहिले–पहिले जति फूर्तिला हुने गर्थे, अचेल त्यति छैनन् । त्यसैले शारीरिक अस्वस्थकै कारण टुरका कार्यक्रम समय–समयमा रद्द गर्नुपर्नेसमेत भइसकेको छ । हुन पनि कि त टेलर नै बिरामी पर्छन्, होइन भने अर्का ब्यान्डका फ्रन्टम्यान जोए पेरीलाई सन्चो हुन्न ।


यी व्यवधानलाई पार गरेर पनि एरोस्मिथ अबको टुरलाई सम्झनालायक बनाउन चाहन्छन् । यति बेला के पनि सम्झनायोग्य छ भने सुरुका दिनमा पेरी र बास गितारिस्ट टम ह्यामिल्टन एउटा ब्यान्ड बनाउन चाहन्थे, त्यसैले उनीहरूले टेलर, ड्रमर जोए क्रामर र गितारिस्ट रे टबानोलाई भेटे । र, बन्यो एरोस्मिथ । टबानाको स्थानपछि ब्रायड ह्वाइटफोर्डले लिए । त्यसयता ब्यान्डमा भएका केही परिवर्तन छाडेर ‘लाइन अप’ उस्तै छ ।


ब्यान्डका खास परिचय ब्लुज र हार्ड रक नै हो । त्यसमा उनीहरू पप रक, हेभिमेटल, रिदम एन्ड ब्लुज मिसाउने गर्छन् । अमेरिकामा त्यसपछि धेरै रक ब्यान्ड बने र तिनीहरूका लागि एरोस्मिथ आदर्श रहने गरेको छ । यो ब्यान्ड कति धेरै मन पराइन्छ भने यसका १५ करोड एल्बम बिक्री भएका छन् । त्यसमा आधा त अमेरिकामा नै बिक्री भए । अमेरिकामा एरोस्मिथको नाममा धेरै कीर्तिमान छ किनभने अमेरिकीहरू यो ब्यान्डलाई लिएर साँच्चै गर्व गर्छन् ।
–हिमेश

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT