१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टिकटकका क्विन

सजना बराल

काठमाडौँ —  यी जुम्ल्याहा दिदीबहिनीका लागि टिकटक यस्तो अवसर बनिदियो जसले उनीहरु रातारात सेलेब्रिटी बने  । टिकटकबाटै चर्चित उनीहरुलाई अहिले म्युजिक भिडियो र फिल्म खेल्न अफर आएको छ  ।

टिकटकका क्विन

यी जुम्ल्याहा दिदीबहिनीका लागि टिकटक यस्तो अवसर बनिदियो जसले उनीहरु रातारात सेलेब्रिटी बने । टिकटकबाटै चर्चित उनीहरुलाई अहिले म्युजिक भिडियो र फिल्म खेल्न अफर आएको छ । टिकटकमा लोकप्रिय जुम्ल्याहा दिदीबहिनीको कथा:

टिकटक, टिन्स र ट्वीन्स एकै परिवारजस्ता भइसके । छोटा भिडियो बनाएर सेयर गर्न मिल्ने एप हो टिकटक । यसमा टिनएज पुस्ता बढी आकर्षित छ भने ट्वीन्स अर्थात् जुम्ल्याहाहरूको भिडियो असाध्यै लोकप्रिय हुने गरेको छ । नेपाली टिकटक म्युजर्समा प्रिस्मा र प्रिन्सी खतिवडा अर्थात् ट्वीनी गर्ल, ड्याजलिङ ट्वीन्स, निकी–निकिताजस्ता ट्वीन्स चर्चित छन् ।


नेपाली म्युजर्समध्ये अञ्जु भण्डारीको फलोअर संख्या सबैभन्दा धेरै अर्थात् ४७ लाख छ । जुम्ल्याहा जोडीमा ट्वीनी गर्ल सर्वाधिक लोकप्रिय छन् । उनीहरूलाई ४४ लाख प्रयोगकर्ताले फलो गर्छन् । यत्तिको फलोअर्स संख्या उनीहरूले ६ महिनाभित्र आर्जन गरेका हुन् । ‘पहिला त एक्टिङमा रुचि नै थिएन,’ प्रिस्मा भन्छिन्, ‘आयशा दिदीले भिडियो बनाउनु भनेपछि हामीले ट्राई गरिम् ।’ पहिलो भिडियोमै रातारात १५ हजार भ्युज आएपछि आफूहरू गदगद भएको प्रिस्माले सुनाइन् । उनीहरूलाई टिकटक क्विन भन्ने गरिएको छ ।


त्यो बेला उनीहरूले ‘बाटैमा भेट भयो रैछौ काले काले...’ गीतमा एक्स्प्रेसन दिएका थिए । त्यसपछि ‘मेरे सरकार...’ लगायत गीतमा भिडियो बनाए । भ्युजसँगै फलोअर बढ्न थाले । फलोअर बढेपछि उत्साह थपिएको प्रिन्सी सम्झन्छिन् । ‘सात सय फलोअर हुँदा १ लाख पुगोस् जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘एक लाख पुगेपछि २ लाख, २ पुगेपछि ५ हुँदै १० लाखसम्म पुगोस् भन्ठानियो ।’ अब भने फलोअर्स बढाउन भन्दा पनि आफ्नै लागि भिडियो बनाउन रहर लाग्ने ट्वीनी गर्लले बताए ।


प्रिस्मा पाँच मिनेटले प्रिन्सीभन्दा जेठी हुन् तर उनी प्रिन्सीभन्दा फुच्ची देखिन्छिन् । भिडियोमा दुरुस्त अनुहार आए पनि प्रत्यक्ष भेट्नेले आफूहरूलाई छुट्याउन सक्ने प्रिस्माको भनाइ छ । ‘हामी एउटै देखिन्छौं जस्तो लाग्दैन,’ उनले भनिन्, ‘फरक अनुहार छ जस्तो लाग्छ । भिडियोमा एउटै देखिओस् भनेर के–के आइडिया लगाउँछौं ।’ प्रिस्मा मेधावी कलेजमा होटल म्यानेजमेन्टमा स्नातक अध्ययनरत छिन् भने प्रिन्सीले एयरपोर्ट ग्राउन्ड अपरेसनमा डिप्लोमा सकिन् । उनी अचेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टर्नसिप गर्दैछिन् ।


ट्वीनी गर्ललाई भारतीय र पाकिस्तानी फलोअर्सले निकै पछ्याउँछन् । उनीहरूकै लागि हिन्दी गीतमा भिडियो बनाइदिने गरेको बताए । नेपाली प्रशंसकले भने यसमा बेलाबखत चित्त दुखाउने गरेका छन् । आफ्नै गीतमा भिडियो बनाऊ भन्दै इन्स्टाग्रामतिर कमेन्ट छोडिरहेका हुने प्रिन्सीले बताइन् । ‘हाम्रो टाइमिङ, कोअर्डिनेसन र एक्सप्रेसन मिल्छ,’ उनले भनिन्, ‘मिल्ने मात्रै होइन सुहाउँछ रे । यही भएर धेरैले रुचाएका होलान् ।’ दुई जना अलग क्याम्पसमा पढ्ने भएकाले टिकटकलाई राम्रो समय दिन नसकेको भन्दै एकछिन चुकचुकाए ।


‘यसले हामीलाई प्लेटफर्म दिएको छ,’ पिस्माले भनिन्, ‘हामीलाई चिनाइदियो ।’ यहाँ धेरैले भिडियोहरू बनाउने भएकाले आफू पृथक् देखिन सक्नु प्रमुख चुनौती रहेको उनीहरूको बुझाइ छ । टिकटकका कारण दिदी–बहिनीको घनिष्ठता बढेको प्रिन्सीले सुनाइन् । ‘हामीले एकअर्कालाई समय दिन थाल्यौं,’ उनले भनिन्, ‘मान्छेहरूले दुवै जनालाई कार्यक्रममा बोलाउने भएकाले एक–अर्कासँग अझै नजिक हुन पायौं । हामी कामको कुरा गर्ने र निर्णय लिन सक्ने भएका छौं ।’


बीसौं वसन्तमा हिँड्दै गरेका यी जोडी टिकटकका माध्यमले म्युजिक भिडियो मोडलिङ, प्रिन्ट मिडियाका लागि फोटोसुट, ब्रान्ड इन्डोर्समेन्ट आदिमा संलघ्न हुन थालेका छन् । पछिल्लो पटक सामसुङ मोबाइलको एम सेरिजको प्रचारका लागि उनीहरूलाई मोडलिङ गराइएको थियो । शुक्रबार नै सार्वजनिक हुने ‘हाम्रो माया जिन्दावाद...’ बोलको गीतको भिडियोमा यिनलाई देख्न सकिन्छ । ‘टिकटक त १५ सेकेन्डको मात्रै भिडियो हो,’ प्रिस्माले भनिन्, ‘दुई टेकमै ओके हुन्छ । म्युजिक भिडियोमा बिहानदेखि मध्यरातसम्म सुटिङ गर्दा थाकिँदो रहेछ ।’


डान्सिङ शैलीका गीतमा मोडलिङ गर्न मनपर्ने प्रिन्सीले बताइन् । सेन्टिमेन्टल गीतमा आफूहरूलाई नसुहाउने उनको मूल्यांकन छ । टिकटिकमै पनि उनीहरूलाई डान्सिङ भिडियो बनाउन खूब आग्रह आउने गरेको छ । फ्यानहरूकै अनुरोधमा उनीहरूले केही अघि ‘मेरी बिन्दिया इसारा करे...’ लगायत गीतमा डान्सिङ भिडियो बनाएका थिए । त्यसमा २७ लाख लाइक्स र ६७.४ मिलियन भ्युअ आएको उनीहरूको भनाइ छ । ट्वीनी गर्लको सर्वाधिक लोकप्रिय भिडियो ‘मे तो ठुम्का लगा रही थि...’ मा हालसम्म ३५ लाख लाइक्स छ ।


यो लोकप्रियतापछि उनीहरूले टिकटकबाटै आम्दानी गर्न थालेका छन् । फिल्म प्रमोसनका लागि उनीहरूलाई अफर आउन थालेका छन् । पछिल्लो पटक ‘ब्रेकअप’ र ‘गोधूलि’ फिल्मको प्रमोसनबापत राम्रै पारिश्रमिक पाएको बताए । द नेक्स एडुकेसन फेयरको टिकटक भिडियो प्रतियोगिता जितेर पुरस्कार पाएको प्रिस्माले बताइन् । ‘ओ हो त्यो बेला हामीलाई कस्तो सेलेब्रिटी जस्तो व्यवहार गरियो,’ उनी सम्झन्छिन्, ‘हामी कत्ति धेरै खुसी भएका थियौं ।’


फिल्म खेल्न र मिडियालाई अन्तर्वार्ता दिन भने उनीहरू अनकनाउने गरेका छन् । फिल्मका लागि योग्य भइनसकेको प्रिन्सीको भनाइ थियो । ‘भिडियो मात्रै बनाएर के इन्टरभ्यु दिइराख्नु जस्तो लाग्यो,’ उनले भनिन्, ‘एक/दुई वटालाई दिएर आफ्नाबारे सबै भनिसकेका थियौं । त्यही भएर अरूलाई नो भनियो तर सिधै नो भन्न नहुने रहेछ । अबदेखि कूटनीतिक पारामा रिजेक्ट गर्ने सल्लाह गरेका छौं ।’ आफूहरूको चर्चालाई लिएर अभिभावक, आफन्त र साथीभाइले राम्रै मानेका उनीहरूको बुझmाइ छ ।

प्रकाशित : चैत्र १, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?