सेलेब्रिटी सन्तान

विमल खतिवडा

काठमाडौँ —  
नेपाली फिल्म निर्देशनमा होस् वा अभिनयमा, जो लागेका छन्, उनीहरूको सिको सन्तानले पनि गरे  ।

सेलेब्रिटी सन्तान

बुवाआमाले पहिल्याएकै बाटोमा अहिले सन्तानले भविष्य खोजिरहेका छन् । कोही स्टार बने त कोही संघर्षरत छन् । कोही आफ्नै इच्छाले कोही भने करबलले नै लागेका हुन् ।


अभिनय वा निर्देशनबाट टाढिएकाहरूका सन्तानले उनीहरू धान्न थालेका छन् । विशेष गरेर अभिनयमार्फत । उनीहरूले पढाइ र अभिनयलाई सँगसँगै अगाडि बढाएका छन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा नायक भुवन केसीको जगजगी नै थियो । प्रायः फिल्ममा उनलाई देख्न पाइन्थ्यो । दर्शकमाझ उनको क्रेज राम्रो थियो । तर अहिले उनी अभिनयभन्दा फिल्म निर्माणमा बढी सक्रिय छन् । उनको अभिनयको विरासतलाई छोरा अनमोलले धानिरहेका छन् । युवा पुस्तामाझ अनमोलको छुट्टै क्रेज छ ।


‘प्रत्येक बाबुआमाको इच्छा सन्तान आफ्नो प्रोफेसनमै लागोस् भन्ने हुन्छ,’ भुवन भन्छन्, ‘तर, मेरो मात्र इच्छा होइन, फिल्म क्षेत्रमा आउने अनमोल आफ्नै इच्छा पनि हो ।’ अनमोलको क्रेज देखेर बाबु भुवन केसी पनि दंग छन् । उनको अभिनयबारे राम्रो रेस्पोन्स आउने गरेको छ । जहाँ उनको उपस्थिति हुन्छ, त्यहाँ दर्शकको भीड जमिहाल्छ । फोटो र भिडियो खिच्न दर्शकबीच प्रतिस्पर्धा नै चल्छ । ‘सबैले माया गर्नुभएको छ,’ उनी छोराको तारिफ गर्दै भन्छन्, ‘फिल्म उद्योगले राम्रो कलाकार पाएको छ ।’ ‘क्याप्टेन’ फिल्म प्रदर्शनमा आउनासाथ अनमोल ‘ए मेरो हजुर ३’ को सुटिङमा व्यस्त छन् । यो फिल्मबाट नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनीलकुमार थापाकी छोरी सुहाना नायिकाका रूपमा डेब्यु गर्दैछिन् । झरनाको निर्देशनमा निर्माण भइरहेको फिल्ममा सुहाना र अनमोल मुख्य भूमिकामा देखा पर्दैछन् ।


अमेरिकामा अध्ययन गरीरहेकी सुहाना केही समययता नेपालमै छिन् । उता नायिका करिश्मा मानन्धर र निर्माता विनोद मानन्धरकी छोरी कविता पनि फिल्ममा देखा पर्दैछिन् । कुनै समय नेपाली फिल्म क्षेत्रमा नायिकामा करिश्माको एकछत्र राज थियो । अधिकांश फिल्ममा उनी र राजेश हमाल जोडी बनेर देखा पर्थे ।‘कलाकार बन्नुभन्दा पनि ऊ बढी क्रिएटिभ छ,’ करिश्मा भन्छिन्, ‘अमेरिकामा बसेर साइकोलोजी पढे पनि अहिले उसको चाहना सिनेमासम्बन्धी पढ्ने छ ।’ उनका अनुसार नायक शिव श्रेष्ठले निर्माण गरिरहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत कविताले डेब्यु गर्न लागेकी हुन् ।


‘अभिभावकको पनि चाहना सन्तानले आफूले काम गरिरहेको क्षेत्रमा लागोस् भन्ने हुँदो रैछ,’ उनी भन्छिन्, ‘मलाई पनि त्यो चाहना थियो । शिव दाइले उसलाई ब्रेक दिनुभयो ।’ करिश्माको चाहना भने होम प्रोडक्सनबाटै छोरीलाई डेब्यु गराउने थियो । कविता डेढ वर्षयता नेपालमै छिन् । करिश्माका अनुसार छोरीले स्नातक तह उत्तीर्ण गरिसकेकी छन् ।

टेलिफिल्म र फिल्मको निर्देशन गरेर चर्चा पाएका निर्देशक बद्री अधिकारीकी छोरी हुन् नायिका केकी अधिकारी ।
‘बाल्यकालमा टीभीमा आउने सेलेब्रिटीहरूको अन्तर्वार्ता ध्यान दिएर हेर्थें,’ उनी भन्छिन्, ‘सानैदेखि ममा यो फिल्डका बारेमा धेरै जानकारी थियो, बाबा (बद्री) ले पनि सानैदेखि स्ट्रगल स्टोरीहरू सुनाउनु हुन्थ्यो । त्यसले पनि मलाई यो फिल्डमा आउन उत्साहित बनायो ।’ केकी अहिलेकी चर्चित र व्यस्त नायिकामध्येकी एक हुन् ।


बाल्यकालमा उनी फिल्मको सुटिङ हेर्न जान्थिन् । उनलाई त्यो रमाइलो लाग्थ्यो । ‘अरूलाई सुटिङमा जाँदा बोरिङ लाग्थ्यो । म भने जति लामो समयसम्म बसेर पनि सुटिङ हेर्न सक्थें,’ उनी भन्छिन्, ‘सेट राम्रो लाग्थ्यो । सानैदेखि ममा फिल्मप्रतिको लगाव थियो ।’


उनले करिअरको सुरुआत भने विज्ञापनबाट गरिन् । ‘पहिलो कामबाटै धेरै तारिफ पाएँ । काम गर्न सक्ने रैछु भन्ने आत्मबल बढ्यो,’ उनी भन्छिन्, ‘सुरुमा मलाई बद्री अधिकारीको छोरी भनेर चिन्नु हुन्न थियो । पछि काम गर्दै गएपछि खोजी हुन थाल्यो । बाबाको नामसँग मेरो नाम जोडिन थाल्यो । यसले सजिलो बनायो ।’ उनको पहिलो फिल्म ‘स्वर’ हो । २५ औं फिल्म ‘रातो गलबन्दी’ को केही समय अघि सुटिङ सकिएको छ ।


‘यो क्षेत्रमा फ्युचर सेक्योर हुँदैन भन्ने थियो, सधैंभरि राम्रो भइराख्ने फिल्ड पनि होइन,’ उनी भन्छिन्, ‘सधैं ताली मात्र बज्दैन । गाली र आलोचनाका लागि पनि आफू तयार हुनुपर्छ । यो कुराका लागि सन्तान तयार छ कि छैन भन्ने एक किसिमको डर बाबुआमालाई हुन्छ । त्यही डर भएर पढाइमा ध्यान नदेली भन्ने डर मेरो परिवारमा पनि थियो । तर मैले पछि कन्भिन्स गरें । बाबाममीले पनि मेरो इन्ट्रेस्टअनुसार सपोर्ट गर्दै जानुभयो । उहाँहरूको साथले गर्दा नै म यहाँ छु ।’


उनी आफू फिल्म क्षेत्रमा लागेपछि थप सशक्त भएको तर्क गर्छिन् । केकीले ह्युमन रिसोर्समा एमबीए गरेकी छन् ।
‘मैले करिअर स्टार्ट गर्दाको समय र अहिले धेरै नै फरक भइसकेको छ,’ उनी भन्छिन्, ‘कलेजमा पढ्दै गरेका विद्यार्थीलाई सोध्दा राम्रो पढेलेखेका व्यक्ति, राम्रो पारिवारिक पृष्ठभूमि भएकाहरू यो क्षेत्रमा आउन इच्छुक छन्, धेरै आएका पनि छन् । प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा हामीले दिएको कन्टिन्युटीको एक किसिमको देन हो जस्तो लाग्छ ।’ उनी आफ्नो पेसाबाट सन्तुष्ट छिन् । ‘सायद योबाहेक कुनै फिल्डमा हुन्थे भने म यति खुसी जिन्दगीमा कहिल्यै हुन्न थिएँ होला,’ उनी भन्छिन् ।

पारिवारिक विरासतलाई नै निरन्तरता दिने कोसिस गरिरहेका अर्को नायक हुन् सलोन बस्नेत । उनी निर्देशक सोभित बस्नेतका छोरा हुन् । उनले फिल्मलाई नै आफ्नो करिअर बनाउनुभन्दा अगाडि धेरैमा बालकलाकारका रूपमा अभिनय गरेका छन् । ‘ड्याडी नभएको भए यो क्षेत्रमा हुन्न थिएँ होला,’ उनी भन्छन्, ‘सुरुमा ड्याडीको नामले चिनिए पनि अहिले मेरो आफ्नै कामले चिनिएको छु ।’ उनी बालकलाकारका रूपमा पहिलोपटक ‘नेपाली बाबु’ फिल्ममा देखा परे । बालकलाकार भएरै करिब ३५ वटा फिल्म खेले । ‘होस्टेल’ मा नायकका रूपमा देखा परे । ‘बाल्यकालदेखि नै सेलेब्रिटी थिएँ, अहिले पनि फिल्म क्षेत्रलाई छाडेको छैन,’ उनी भन्छन्, ‘यो क्षेत्रमा लागेपछि जीवनशैलीमा नै परिवर्तन आएको छ । एकदमै सन्तुष्ट छु । मलाई मनपरेको काम गर्न पाएको छु ।’ बीबीएस उत्तीर्ण उनी व्यस्तताले गर्दा पढाइ अगाडि बढाउन नसकेको बताउँछन् । उनले अभिनय गरेको फिल्म ‘यात्रा’ चैत २९ बाट प्रदर्शनमा आउँदै छ ।

जाहान्वी बस्नेत नायक तथा निर्देशक जयकिसन बस्नेतकी छोरी हुन् । म्युजिक भिडियो हुँदै उनी फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको पहिलो फिल्म ‘सुब्बा साब’ हो । ‘बच्चैदेखि सुटिङको सेटमा जान्थें । त्यहाँ देख्ने मेकअप आर्टिस्ट, क्यामराले मेरो ध्यान खिच्थ्यो । त्यहीँबाट हिरोइन हुने रहर लागेको हो,’ उनी भन्छिन्, ‘परिवारको रगतमै फिल्म छ भने जस्तै थियो । हुर्किंदै गएपछि कहिले यो क्षेत्रमा लाग्न पाइन्छ भनेर हतारो भयो ।’ उनको अभिनय रहेको ‘पञ्चायत’ ले राम्रै चर्चा कमायो । उनकै अभिनय रहेको ‘यात्रा’ प्रदर्शनको तयारीमा छ । म्युजिक भिडियो मात्र १६ वटा पुगिसके । परिवारको राम्रो साथ छ । एडमार्क एकेडेमी, कलंकीमा पत्रकारितामा स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहेकी उनी, आफूले रोजेको क्षेत्रबाट सन्तुष्ट रहेको सुनाउँछिन् ।

नायक गौरव पहारी अभिनेता टीका पहारीका छोरा हुन् । उनी मोडलिङ र अभिनयमा व्यस्त छन् ।‘बुबाको प्रेरणाले भन्दा पनि रगतमै फिल्म थियो होला जस्तो लाग्छ,’ गौरव भन्छन्, ‘बच्चामा खासै फिल्मी माहोलमा हुर्किएन । होस्टेलमा बसेर पढियो । तर, हलमा गएर फिल्म हेर्दा म पनि पर्दामा आउँदा मान्छेहरूले हुटिङ गरुन्, ताली बजाउन् भन्नेचाहिँ सधैं लाग्थ्यो ।’ चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको ११ औं फिल्म ‘साइँली’ को प्रमोसनमा व्यस्त रहेका पहारी बुबाले बुबाका रूपमा सपोर्ट गरेको सुनाउँछन् । ‘यो क्षेत्रमा लागेर दर्शक कमाएको छु, सबैले चिन्ने भएको छु,’ उनी भन्छन्, ‘त्यसैले आफ्नो कामबाट सन्तुष्ट छु ।’ उनको पहिलो फिल्म ‘मञ्जरी’ हो । बिजनेस मार्केटिङमा ग्र्याजुएसन सकेर उनले भारतको पुनेमा एक्टिङसम्बन्धी अध्ययन गरेका छन् ।

संयम पुरी निर्देशक नारायण पुरीका छोरा हुन् । संयम पनि बालकलाकारकै रूपमा फिल्मी क्षेत्रमा उदाएका हुन् । ‘सुरुमा बाबाकै कारणले यो क्षेत्रमा लागेको हो,’ उनी भन्छन्, ‘७ वर्षको उमेरमा पहिलो फिल्म बाबाले नै बनाएको ‘आगो’ मा अभिनय गरें, त्यसपछि अरूअरू निर्देशकसँग पनि बालकलाकारकै रूपमा १९ वटा फिल्ममा अभिनय गरें ।’


उनी हिरो भएर देखा परेको फिल्म ‘सायद’ हो । अहिले उनी ‘सरकारी जागिर’ को सुटिङ सकेर बसेका छन् ।
‘पहिला नेपाली फिल्मभन्दा नाक खुम्च्याउने दर्शक अहिले कुन फिल्म हलमा लागिराखेको छ भनेर अपडेटेड हुनुहुन्छ,’ उनी भन्छन्, ‘बजार पनि विस्तारै फराकिलो बन्दै गइरहेको छ ।’ उनी बुबाकै नामले यो क्षेत्रमा चिनिएको सुनाउँछन् ।


‘यो क्षेत्रमा लागेर पहिलाभन्दा अहिले परिपक्व भएको छु । रेस्पोन्सीबल भएको छु,’ उनी भन्छन्, ‘कोसँग कसरी डिल गर्नुपर्छ भन्ने कुरा प्राक्टिकल्ली बुझेको छु ।’ मास एन्ड मिडिया कम्युनिकेसनमा एडभान्स डिप्लोमा सकेका उनी आफ्नो पेसाबाट सन्तुष्ट रहेको सुनाउँछन् ।

[email protected]

प्रकाशित : चैत्र १, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?