कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पौडी बन्यो पेसा

नेपालमा नदीको आडमा बनेका राजमार्गमा दिनहुँजसो गाडी दुर्घटना हुन्छन्। ताल, खोला र नदीमा मान्छे बग्ने र डुब्ने पनि भइनै रहन्छन् । यस्ता विपद्मा उद्धार गर्ने थोरै गोताखेर (डाइभर) नेपालमा छन् । तीमध्ये एक हुन्, शिरबहादुर थापा ।
रमेशकुमार पौडेल

काठमाडौँ — गोताखोरसँग सीपका साथसाथै साहस पनि चाहिन्छ  । शिरबहादर थापाको अनुभवले यही भन्छ  ।

पौडी बन्यो पेसा

नदी वा पानीमा उद्धारको उद्देश्यले डुबुल्की मार्नु गोताखोर (डाइभर) को काम हो । थापा सशस्त्र प्रहरीको सहायक हवल्दार हुन् । ३७ हजार सदस्य रहेको सशस्त्र प्रहरी बलमा शिर यो वर्ष शीर्षस्थानमा परे ।


उत्कृष्ट कामले उनलाई सशस्त्र प्रहरी संगठनभित्रको ७५ सालको ‘वर्ष जवान’ को उपाधि दिलायो । शिरले गर्ने काम खतरनाक नदी, खोला र ताल तलैयामा डुबुल्की लगाउने हो । उनको डुबुल्की उद्धारका लागि हो । दुर्घटना वा विपद्का बेला बगेका र डुबेकाहरूलाई खोज्ने उनको काम हो । उनी नेपालमा थोरै संख्यामा रहेका गोताखोरका एकजना सदस्य हुन् । सशस्त्र प्रहरीसँग तालिम प्राप्त १८ जना गोताखोरहरू छन् ।


बाग्लुङ रायडाँडाका हुन् शिरबहादुर थापा । उनी विसं २०६३ सालको कात्तिकमा सशस्त्र प्रहरीमा जवानका रूपमा भर्ती भए । विपद् व्यवस्थापनको तालिम लिएपछि उनलाई खोला वरपर हुने उद्धारमा रुचि बस्यो । गाउँमा पैरेनी, केसे जस्ता ठाडा खोलाहरू थिए । गोठालो जाँदा मन फुकाएर पौडी खेल्थे । पौडिन जानेका कारण जागिरका क्रममा नै एउटा अवसर आयो । विसं २०६९ सालको वैशाखमा उनी बंगलादेश गए । त्यो वर्ष बंगलादेशमा वैशाख ३१ गतेदेखि गोताखोरको तालिम हुँदै थियो । ‘पौडीमा रुचि भएका कारण जान पाए हुन्थ्यो भन्ने चाहना थियो । तर छनोट हुनुपर्दथ्यो । पछि छनोट हुँदा निकै खुसी लाग्यो,’ शिरबहादुरले भने । शिक्षालयबाट २५ जनाको टोली बंगलादेश गयो । तालिम सुरु भएपछि उनले थाहा पाए ‘गोताखोर हुनु भनेको सामान्य काम हैन रहेछ ।’


पौडीमा पारंगत हुन दिनमा लगातार चार घण्टासम्म पौडिनुपरेको थियो । तालिम दुई महिनाको थियो । तालिम पूरा गरेपछि नेपालका लागि पहिलो गोताखोर टोली तयार भयो । टोली नेपाल आयो तर उपकरणहरू थिएनन् । त्यसैले दुई वर्ष त्यसै बसे । ‘उपकरणहरू आए पनि हामीले बंगलादेशमा जमेको पानीमा तालिम गरेका थियौं, यहाँका ठाडो खोला र नदीमा पस्न त हिम्मत नै चाहिने’ थापाले भने ।


नेपालमा नदीको आडबाट गएका राजमार्गमा दिनहुँजसो गाडी दुर्घटना हुन्छन्् । ताल, खोला र नदीमा मान्छे बग्ने र डुब्ने पनि भई नै रहन्छन् । ‘जब उद्धार गर्न सुरु गरियो, त्यसपछि नदीको धारा जतिसुकै तेज किन नहोस्, जतिसुकै गहिरो किन नहोस् डर भाग्न थाल्यो,’ थापाले भने । अहिलेसम्म कति उद्धार गरे थापालाई हेक्का छैन । तर उनले जीवितै उद्धार गर्न भने एकजनालाई मात्रै सकेका छन् ।


‘एकपटक चितवन महोत्सवमा प्यारा मोटर उडाउने कार्यक्रम पनि थियो । तर उड्दाउड्दै प्यारा मोटर नारायणी नदीमा खस्यो । हामी त्यो बेला तयारी अवस्थामा त्यतै थियौं । घटना देख्नेबित्तिकै गएर प्यारा मोटरका चालक नेदरल्यान्डका नागरिकलाई जीवितै उद्धार गर्‍यौं । जीवित उद्धार गरेको यो नै हो,’ थापाले भने । उद्धारमा खट्ने थापाको सम्मान गर्दै सशस्त्र प्रहरी बलले माघ १६ गते उनलाई ‘वर्ष जवान’ घोषणा गर्‍यो ।


‘डुबेपछि जीवितै उद्धार गरे त्योभन्दा राम्रो केही हुँदैन तर त्यसरी उद्धार गर्ने अवस्था अल्लि छैन । एक त खबर अबेला आउँछ । खबर आएपछि पनि जानुपर्ने ठाउँ टाढा हुन्छ, समय घर्की सकेको हुन्छ,’ थापाले भने । गएको साउन २३ गते उनीहरू सोलुखुम्बुको गोक्यो तालमा डुबेका तीनजना विद्यार्थीको उद्धारमा गए । समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको तालको तापक्रम पाइनस पाँच डिग्री सेल्सियस थियो ।


‘४३ मिटर गहिरो तालमा तीनजना विद्यार्थी हराए भनेपछि हामी चारजना गोताखोर र अरूसमेत गरेर नौजना गयौं । खोज्दा खोज्दा एकजना मात्रै भेटिए अरू फेला परेनन्,’ थापाले भने । गोताखोरले धादिङ गजुरीमा बस दुर्घटना हुँदा ३४ वटा शव निकाले भने जाजरकोट दुर्घटनामा ३२ । गोताखोर नभएको भए यी घटनाहरूमा शव निकाल्न लगभग असम्भव जस्तै थियो । गोताखोरहरू ४० मिटर गहिराइसम्म पुगेका छन् । उच्च धारमा बग्ने नदीमा उद्धार कार्य निकै कठिन छ । नेपाली गोताखोरहरूले साहसपूर्ण काम हो ।


थापाकै साथी अर्का गोताखोर ओमबहादुर सलामी लुगा, ग्यास सिलिन्डर र अन्य उपकरणहरूले गर्दा गोताखोरहरू फरक देखिने तर काम गर्न गाह्रै हुने बताउँछन् । ‘हामीहरू ९/१० प्रकारका औजार उपकरणहरू बोकेर झर्दछौं । अक्सिजन सिलिन्डर र उपकरणहरूसमेत हामी २४/२५ किलो भारी बोकेर नदीमा हेलिन्छौं । तर नदीको धार धेरै तगडा हुन्छ । काम गर्न कठिन छ । तर पनि गरेकै छौें । जिउँदो नभेटे पनि किरिया गर्न लास कुरेर बस्ने चलन छ । लास नै बुझाउन पाउँदा पनि परिवारलाई केही राहत हुन्छ । यसो हुँदा हामी कामको दुःख बिर्सन्छौं,’ सलामीले भने ।

प्रकाशित : चैत्र १, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?