कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्नु छैन आइटम

२०१६ मा आएको सुजित सरकारको पिंकपछि भने तापसीको इमेज नै परिवर्तन भयो । अमिताभ बच्चनको मुख्य भूमिका रहेको यो फिल्मले तापसीलाई अर्थपूर्ण फिल्मको स्टार बनाइदियो ।
हेलो शुक्रबार

काठमाडौँ —  
पुरुष स्टारहरूले भरिएको बलिउडको आकाशमा बेलाबेला जूनजसरी महिला कलाकारहरू पनि चम्किन्छन्  । कहिले त्यो स्टार तब्बु हुन्छिन्, कहिले विद्या बालन त कहिले कंगना रनावत  ।

बन्नु छैन आइटम

ठूला पुरुष स्टारबिना फिल्मलाई हिट बनाउने क्षमता होस् वा महिलाका विषयमा बनेका अर्थपूर्ण फिल्मलाई लोकप्रिय खुबी, यी कलाकारले आफूलाई बारम्बार सफल सावित गरेका छन् । विद्या बालान र कंगनापछि बलिउडमा त्यस्ता कलाकारको कमि होला कि भन्ने आशंका समीक्षकहरूको थियो । त्यसलाई पूरा गर्न अहिले एक नयाँ कलाकार अघि सरेकी छन् । ती हुन्, तापसी पनु ।


५ वर्षमा १२ वटा हिन्दी फिल्ममा देखिएकी तापसी बलिउडका लागि बिग स्टार होइनन् । करिना कपुर, दिपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, आलिया भट्टजस्ता स्टारले भरिएको बलिउड अचेल सारा अली र जान्वी कपुरजस्ता स्टार किडको पछि दौडिइरहेको छ । कंगना रनावतले नेपोटिजमका नेता मानेका करण जौहरको क्याम्पबाहिर रहेर पनि बलिउडमा तरंग ल्याउन सफल कलाकार हुन् तापसी । स्टारहरूकै छोरा–नातिले भरिएको बलिउडमा तापसी पनि कंगनाजस्तै बाहिरबाट प्रवेश गरेकी हुन् ।


दिल्लीमा जन्मेकी पञ्जावी युवती भए पनि तापसीको फिल्मी करिअर तेलगु फिल्मबाट भयो । तेलगु, तमिल र मलयाली फिल्महरूपछि बल्ल उनी हिन्दी फिल्ममा आइन् । हिन्दी फिल्ममा उनको सुरुवात नै डेविड धवनको कमेडी चस्मे बुद्दुर थियो । यो रिमेकले खासै कमाल भने देखाउन सकेन । त्यसको एक वर्षपछि उनले एउटा औसत फिल्ममा सानो भूमिकामा अभिनय गरिन् । यो फिल्म थियो, बेबी । भारतीय जासुस र सुरक्षाकर्मीको बहादुरीको यो गौरव गाथामा तापसीले गुप्तचर अधिकारीको भूमिका निर्वाह गरेकी थिइन् ।


२०१६ मा आएको सुजित सरकारको पिंकपछि भने तापसीको इमेज नै परिवर्तन भयो । अमिताभ बच्चनको मुख्य भूमिका रहेको यो फिल्मले तापसीलाई अर्थपूर्ण फिल्मको स्टार बनाइदियो । यौन दुर्व्यवहारको विषयमा बनेको यो फिल्ममा अमिताभ बच्चन वकिलको भूमिकामा थिए भने तापसी पीडितको भूमिकामा । उनको अभिनयलाई समीक्षकहरूले निकै सराहना गरे । सानो बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गर्‍यो ।


२०१७ मा तापसीका चार फिल्म आए । रनिङ शादी, जुडवा २, नाम सबाना र गाजी अट्याक । यीमध्ये गाजी अट््याक तेलगु भाषामा पनि थियो । डेविड धवनको जुडवा २ मा तापसी वरुण धवन र ज्याकलिन फर्नान्डिससँग थिइन् । डेविडकै पुरानो हिट फिल्मको यो रिमेकलाई तापसीले आफू एउटै इमेजमा नबाँधिनका लागि गरेको कमर्सियल फिल्म मानिन्छ । यसले उनलाई बक्स अफिस सफलता दिलायो । यसपछि नै तापसीले सो पिसका रूपमा मात्र उभिने फिल्ममा अभिनय नगर्ने बताइन् । हालैको अन्तर्वार्तामा पनि उनले आफूले सबैखाले भूमिकामा अभिनय गरे पनि सेक्स कमेडी फिल्म नखेल्ने बताएकी छन् । महिलालाई वस्तुका रूपमा प्रस्तुत गरिने सेक्स कमेडीमा म कुनै हालतमा अभिनय गर्दिनँ, उनले भनेकी छन् । उनले आइटम गीतमा डान्स पनि नगर्ने बताएकी छन् । मलाई अनेक किसिमका आइटम गीत अफर हुन्छन्, म त्यस्ता निर्माता निर्देशकलाई आइटममा मलाई लिने सोच कसरी आयो भनेर सोच्छु, कसैले उत्तर दिँदैनन्, उनले भनेकी छन् ।


तापसी आफूलाई भयंकर सुन्दरी ठान्दिनन् । सुन्दरी प्रतियोगिताबाटै मोडलिङ हुँदै फिल्ममा आएकी भए पनि उनी भन्छिन्, ‘म ठीकै माक्र राम्री छु र त्यो नै मेरो शत्ति हो । जब–जब ठीकै मात्र राम्री तर बलियो चरित्रका लागि कलाकारको खोजी हुन्छ, मान्छेले मलाई सम्झिन सक्छन् ।’


२०१७ कै नाम शबाना भने बेबीको प्रिक्वेल थियो । अर्थात्, जहाँबाट बेबीको कथा सुरु हुन्छ, त्यसभन्दा अघिको कथा । यसमा भने तापसी मुख्य भूमिकामा थिइन् । अक्षय कुमार र मनोज बाजपेयीजस्ता स्टारहरू सहायक भूमिकामा थिए । यो खासमा हिरोइनले लिड गरेको एक्सन थ्रिलर थियो । यसले पनि सफलता पायो ।


२०१८ मा पनि तापसीका चार फिल्म आए । राष्ट्रियताको सवालमा बनेको ऋषि कपुर र तापसीको फिल्म मुल्कले निकै राम्रो प्रशंसा बटुल्यो । यो फिल्ममा उनले वकिलको भूमिका गरेकी छन् । दिल जंगली र सुरमा औसत रहे । यसै वर्ष अनुराग कश्यपले सञ्जयलिला भन्सालीको फिल्म हम दिल दे चुके सनमको अहिलेको रिमेक मनमर्जिया बनाए । अभिषेक बच्चन र विक्की कौशलका साथ तापसी यसमा मुख्य भूमिकामा थिइन् । यो म्युजिकलले बक्स अफिसमा खासै गतिलो व्यापार गरेन । हार्ड हिटिङ फिल्मका लागि चिनिएका अनुरागको यो सफ्ट फिल्मलाई दर्शकले स्वीकार गरेनन् । तर, तापसी भने आफूले अहिलेसम्म यो फिल्म असफल हुनुको कारण पत्ता लगाउन नसकेको बताउँछिन् । मनमिर्जयाभन्दा पहिले म फिल्मबारे सही अनुमान लगाउन सक्छु भन्ने लाग्थ्यो, यसपछि मैले अनुमान गर्न छोडिदिएँ, उनले अन्तर्वार्तामा भनेकी छन् ।


अहिले चलिरहेको बदलाले पनि तापसीको नो ननसेन्स हिरोइनको इमेजलाई झन् बलियो बनाइदिएको छ । पिंकपछि फेरि यो फिल्ममा अमिताभ वकिल र तापसी पीडितको भूमिकामा छन् । एउटा स्पेनी फिल्मबाट बनाइएको यो क्राइमथ्रिलर पिंकभन्दा निकै भिन्न छ । न त यो महिला हिंसाका बारे बनेको हो, न तापसी कमजोर महिला । अनेक टर्न र ट्वीस्ट भएको यो फिल्मले बक्स अफिसमा पनि सफलता पाइरहेको छ । राधिका आप्टे र भूमि पेडनेकरजस्ता प्रयोगवादी फिल्मका लागि तयार रहने नयाँ छिमलका हिरोइनको लिस्टमा तापसीको नाम निकै छिटोछिटो पहिलो नम्बरतिर बढिरहेको छ । संयोग के छ भने यसै वर्ष तापसी र भूमि एउटै फिल्म साड की आँखमा सँगै देखिँदैछन् ।

[email protected]

प्रकाशित : चैत्र १, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?