१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजनीतिसँगै इलम

विमल खतिवडा

काठमाडौँ — बाजुराका नरेशबहादुर शाही ३७ वर्षका भए  । पढाइले उनी राजनीतिशास्त्रका विद्यार्थी हुन्, पहिचानले उनी युवा संघका केन्द्रीय महासचिव हुन्  ।

राजनीतिसँगै इलम

उनीहरूले आफ्नो फार्मको नाम एभरेस्ट वाइल्ड लाइफ एग्रो एन्ड रिसर्च सेन्टर राखेका छन् । उनीसँग व्यवसाय साझेदारी गरिरहेका सबै साथीहरू एउटै संगठनका हुन् । उनीहरूको राजनीतिक सोच मात्रै मिलेन, व्यावसायिक सोच पनि मिलेकाले यो व्यवसाय जन्मियो ।


दक्षिणकाली नगरपालिकास्थित उनीहरूको कालिज पालन स्थल पुग्न काठमाडौंको बल्खुबाट ९ किलोमिटरको दूरीमा पर्छ । कालिज पाल्ने स्थान भए पनि यहाँ पर्यटकस्थलको जस्तो माहोल छ । यहाँ आउनेमध्ये केही कालिज पालनबारे जानकारी लिन आएका हुन्छन् भने ग्राहकका रूपमा ।


इटालीमा १८ वर्ष बसेका पाल्पाका बाबुराम श्रेष्ठ र १२ वर्ष बसेका चितवनका ज्ञानेन्द्र तिमल्सिना कालिज पालनकै योजना बुनेर स्वदेश फर्किएका हुन् । कालिज पालकको यो समूहमा यी तीनसहित अर्घाखाँचीका सुशील भट्टराई, धादिङका दीपक दुवाडी र पोखराकी दिलकुमारी पन्तको लगानी छ । भट्टराई र दुवाडी युवा संघका केन्द्रीय सदस्य हुन् भने पन्त नेकपाको केन्द्रीय सदस्य हुन् ।


२०६९ सालमा कार्यक्रमको सिलसिलामा इटाली पुग्दा शाहीले कालिज पालनबारे थाहा पाए । उतै रहेका बाबुराम र ज्ञानेन्द्रसँग सल्लाह गरे । सबै मिलेर कालिज पाल्ने सहमतिपश्चात् बाबुराम र ज्ञानेन्द्र स्वदेश फर्किन तयार भए । फ्रान्सबाट १० हजार अण्डा ल्याए । त्यसबाट ४ हजार ५ सय मात्र चल्ला निस्किए । लगानी मात्र सवा करोड नाघिसकेको उनीहरूले सुनाए । उनीहरूले कालिज मात्रै पालेका छैनन्, कालिज बिक्रीको उपाय पनि सुझाएका छन् । उनीहरूको आफ्नै रेस्टुरेन्ट पनि छ जहाँको विशेषता हो–कालिजको मासु । फार्मको नेतृत्व श्रेष्ठ र बागबजारमा रहेको कालिज रेस्टुरेन्टको नेतृत्व तिमल्सिनाले गरेका छन् । बजार माग थामी नसक्नु छ । फार्ममा र रेस्टुरेन्टमा १०/१० जनाले रोजगार पाएका छन् । रेस्टुरेन्टमा पुग्नेले कालिजको सुप, ग्रेभी, फ्राई, छोइलाको स्वाद लिन पाउने छन् ।


११ रोपनी जग्गामा फैलिएको फार्मको भाडाबापत उनीहरूले वार्षिक २ लाख तिर्छन् । ‘अहिले राजनीतिमा निराशा छ, श्रमप्रति लगाव छैन, कसैमा उद्यम गर्नुपर्छ भन्ने नै छैन,’ शाही भन्छन्, ‘राजनीति त एउटा पाटो भयो, तर अब युवालाई उद्यमसँग जोड्न जरुरी छ ।’ उनको सिंगो टिमले कामको बाँडफाँट गरेको छ । आफ्नो जिम्मेवारी पूरा गर्न उनी फुर्सद मिलाएर फार्ममा पुग्छन् । ‘पहिला नेपालमा यसको व्यावसायिक पालन गर्न मिल्ने कानुन थिएन,’ उनी भन्छन्, ‘अहिले पाल्न मिल्ने भएको छ, जेठसम्म ४० हजार कालिज पुर्‍याउने लक्ष्य छ ।’ अहिले उनीहरूसँग साढे तीन हजार कालिज छन् । फार्ममै चल्ला उत्पादनका लागि ह्याचरी सुरु गरेका छन् । कालिज पालनबारे श्रेष्ठले ७ महिना विदेशमै अध्ययन गरेर आए । टिमको लक्ष्य ७ वटै प्रदेशमा फार्म खोल्नेछ । ‘युवाहरूलाई श्रमप्रति गर्व गर्ने बनाउनुपर्छ,’ उनी भन्छन्, ‘अब उत्पादनशील काम गर्न जरुरी छ ।’ राजनीतिलाई आम्दानीको स्रोत नबनाई व्यवसायमा हात हालेका उनीहरू चिनेजानेकाका लागि उदाहरणीय छन् । तर, आफूले गर्ने जस्तो उद्यमशील काममा सरकारले चासो नदिएकामा खिन्न पनि छन् ।

िधादिङ गजुरीकी २८ वर्षीया गीता रिजालले काठमाडौंमा टिक्न निकै संघर्ष गरिन् । एसएलसी दिएर राजधानी छिरेकी उनले सुरुका केही वर्ष गैरसरकारी संस्थामा काम गरिन् । यसले कृषिसम्बन्धी काम गर्थ्यो । जागिरकै क्रममा उनले कृषिबारे धेरथोर बुझ्ने मौका पाइन् । घरमा हुँदा तरकारी किसान बुवालाई सघाएकी उनले यसैलाई व्यवसाय बनाउने निधो गरिन्, जुन पढेलेखका सन्तानले विरलै छान्ने विकल्प थियो । गोदावरी पुगेर उनले टनेलमा टमटर फलाएको हेरिन् । खेती गर्ने विधिबारे थाहा पाइन् । उनले भक्तपुरको सूर्यविनायक १ स्थित सिरुटारमा टमाटर खेती थालेकी छन् । २०७१ वैशाखबाट सुरु भएको टमाटरसँगको सम्बन्ध अहिले निकै झाँगिएको छ । उनले सञ्चालन गरेको दिदीबहिनी कृषि फार्म भक्तपुरको कौशलटारबाट ५ किलोमिटरको दूरीमा छ ।


आफन्तबाट १८ लाख सापटी लिएर खेती सुरु गरेको उनी बताउँछिन् । सुरु गरेको २ वर्षमै उनले सापटी तिरिसकेकी थिइन् । ६ रोपनीबाट सुरु भएको उनको टमाटर खेती अहिले १० रोपनीमा फैलिएको छ ।व्यवसाय सुरु गर्नेबित्तिकै सफलताको स्वाद चाल्ने थोरै भाग्यमानीमा पर्छिन् उनी । टमाटर खेती सुरु गरेको पहिलो वर्षमै १४ लाख रुपैयाँ आम्दानी भएको उनी बताउँछिन् । गत वर्ष उनले ५० हजार किलो टमाटर बिक्री गरेकी थिइन् । लगाएको ११ महिनासम्म ३ पटक टमाटर टिप्न सकिन्छ । तरकारी खेती थाले पनि उनको पढाइ र राजनीति अघि बढिरहेको छ । उनी नेपाल विद्यार्थी संघकी सदस्य हुन् । आफ्नै बारीमा व्यस्त हुने उनी संगठनको ठूला कार्यक्रम भने छुटाउँदिनन् ।यही उद्यमबाट उनले गजुरीमा जग्गा किनेकी छन् । ७ दिदीबहिनीमध्येकी उनी माइली हुन् । पद्मकन्या बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा एमए गरेकी उनले एक बहिनी र भाइलाई आफूसँग राखेर पढाएकी छन् । दुई जनाले उनलाई फुर्सदमा सघाउँछन् । टमाटर फलाउन मिहिनेत परे पनि बिक्रीका लागि दुःख छैन । कालीमाटीका व्यापारी फार्ममै किन्न आइपुग्छन् ।


‘सुरुमा सबैले पढेकी मान्छे लोकसेवा पढेर सरकारी जागिर खाए हुने भन्दै टिप्पणी गर्थे,’ उनी भन्छिन्, ‘अहिले राम्रो कमाइ र मिहिनेत देखेर सबैले प्रशंसा गर्नु हुन्छ, काममा हौसला दिनु हुन्छ ।’ उनका अनुसार अहिले खर्च कटाएर वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुन्छ । उनको फार्ममा टमाटर मात्रै होइन, काउली, केराउ पनि फल्छ । ५० रोपनीमा तरकारी लगाउने उनको धोको छ । सुरुमा उनले खेती थाल्दा गाउँमा तरकारी खेती गर्ने खासै थिएनन् । अहिले खेतीमा प्रतिस्पर्धा छ ।‘कलेजमा मात्र राजनीति गर्नुपर्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘खेती किसानी गरेर पनि राजनीति गर्न सकिन्छ ।’ आर्थिक पक्ष बलियो भयो भने अरूसँग मागेर होइन, अरूलाई दिएर राजनीति गर्न सकिने उनको विचार छ । ‘सँगै पढेका मिल्ने साथी अहिले अमेरिका, पोर्चुगल, अस्ट्रेलियामा छन्,’ उनी भन्छिन्, ‘म मात्र नेपालमा छु, जुन क्षेत्र रोजेको छु, त्यसमा पूर्ण सन्तुष्ट छु, विदेशमा भन्दा राम्रो कमाइ यहीँ गरेको छु ।’ उनले सरकारले दिने भनेको कृषि कर्जा भने पाउन सकेकी छैनन् । ‘बैंकमा जग्गा धितो राखेर ऋण माग्दा पाइनँ,’ उनी भन्छिन्, ‘सरकारले उपलब्ध गराउने ऋण हाम्रा लागि होइन रैछ ।’

रिजालकै छेउमा करुणा तितजु श्रेष्ठ र कृष्णभक्त दम्पतीले तरकारी खेती गर्दै आएका छन् । उनीहरूले खेती थालेको ९ वर्ष भयो । पहिला श्रीमान् कृष्णभक्त होटलमा कुकको काम गर्थे भने उनी पढाउँथिन् । ‘ससुरा बुबालाई क्यान्सर भयो, उपचार गर्न नपुगेपछि दुवैले काम गर्ने संस्थासँग सहयोग माग्यौं तर पाएनौं,’ करुणा भन्छिन्, ‘चाहिएका बेला सहयोग नपाएपछि अर्काकोमा किन काम गर्ने भनेर दुवैले जागिर छाड्यौं, त्यसपछि तरकारी खेतीमा हात हाल्यौं ।’ उनीहरूको परिवारको खर्च धान्ने मुख्य आधार तरकारी बनेको छ । सुरुमा ७ रोपनी जग्गा भाडामा लिएर खेती गरे । अहिले ३ रोपनी छ । पहिलाको जग्गामा घर बन्यो ।


‘जग्गा थप्ने सोचमा छौं,’ उनी भन्छिन्, ‘त्यसका लागि खोजी गरिरहेका छौं ।’ उनले आर्ट्समा स्नातक गरिन् । सुरुमा च्याउ र कुखुरा पालनमा हात हाले । राम्रो आम्दानी तरकारीबाट भयो । अहिले उनले टमटरसँगै बकुल्ला, काउली, बन्दा, रायो साग लगाएकी छन् । करुणाले पनि राजनीति गरिन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मा विद्यालय पढ््दैदेखि राजनीतिमा सक्रिय भइन् । अहिले पार्टीको सदस्य छिन् । पार्टीको ठूलै कार्यक्रम हुँदा सहभागिता जनाउँछिन् । नहुँदा कृषि फार्ममै व्यस्त हुन्छिन् । तरकारीको गोडमेल र बिक्री गर्दैमा उनको दिनचर्या बित्छ । ‘पार्टीमा लागेर पाउन त केही पाइएन,’ उनी भन्छिन्, ‘तर मिहिनेत गर्न सिकायो, पढ्नुपर्छ भन्ने शिक्षा दियो ।’

[email protected]

प्रकाशित : चैत्र ८, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?