कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अघि बढ्दै ओयो

सजना बराल

काठमाडौँ — युवा खर्बपतिको अहिले चर्चा छ  । काइली जेनर (२१) र मार्क जुकरबर्ग (३४) हरू आफ्ना नव उद्यमले खर्बपति बने  ।

अघि बढ्दै ओयो

भारतका रितेश अग्रवाल (२५) फोर्ब्सको खर्बपति–सूचीमा त छैनन् तर उनले त्यो लक्ष्य प्राप्तिका लागि आफूसँग राम्रो अवसर भएको बताउन थालेका छन् । उनी ‘ओयो होटल्स एन्ड होम्स’ का संस्थापक हुन् । यसले मध्यमस्तरका होटलको विश्वव्यापी सञ्जाल निर्माण गरिरहेको छ ।


‘हामीसँग ग्लोबल ब्रान्ड हुने गतिलो अवसर छ,’ ओयोले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा यसका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भनेका थिए, ‘भारतका थुप्रै ब्रान्ड स्थापित छन् तर ओयोसँग विश्वका कुनाकाप्चा पुग्ने अद्भुत अवसर छ ।’ हुन पनि सञ्चालनमा आएको छ वर्षभित्रमै ओयो विश्वका ५ सयभन्दा बढी सहरमा १२ हजार होटलका साढे तीन लाख कोठामा फैलिसकेको छ । यसको वार्षिक उन्नति पाँच गुणाले बढिरहेकाले आदित्यका कुरा पत्याउन अप्ठ्यारो मान्नु पर्दैन । नेपालमा सन् २०१७ बाट ओयोले आफ्नो शृंखला सुरु गरेको थियो । काठमाडौं, भक्तपुर र पोखराका गरी हाम्रा करिब पाँच सय होटल ओयोसँग आबद्ध छन् । यसपालिको गर्मीमा ओयोले नेपालका थप पन्ध्र सहरमा आफूलाई विस्तार गर्दैछ । ‘नेपाल हाम्रा लागि उचित बजार हो,’ रितेशले भने, ‘अहिले पाँच सय एसेट वनर छन् । अबको दस महिनाभित्र १५ सहरका एक हजार होटलमा हामी पुग्दैछौं ।’ उनका अनुसार नेपालमा ओयोसँग जोडिएपछि छुट्टिने होटलको संख्या वर्षमा १ प्रतिशतभन्दा कम छ ।


ओयो भारतको सर्वाधिक ठूलो होटल शृंखला हो भने चीनको चौथो ठूलो र विश्वको सातौं ठूलो होटल अपरेटर रहेको रितेशले बताए । यसले भारतका २ सय ५९ सहरमा सञ्जाल विस्तार गरेको छ । ओयो रुम्समा रात बिताउनेको संख्या प्रतिदिन ४ सय ५० हजार जना रहेको कार्यक्रममा जानकारी दिइयो । जापान, मलेसिया, बेलायत, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया जस्ता देशमा ओयो होटल भेटिन्छन् । यसमार्फत रितेशको कुल आम्दानी २६ सय करोड रुपैयाँ पुगेको छ ।

स्तरोन्नतिपछिको आकर्षण
ओयोले अबको तीन सय दिनभित्रमा भारत र दक्षिण एसियामा १४ करोड भारु लगानी गर्ने घोषणा गरेको छ । उक्त रकम होटलका पूर्वाधार निर्माण र प्राविधिक स्तरोन्नतीमा लगाउने ओयोका लागि भारत तथा दक्षिण एसिया प्रमुखसमेत रहेका आदित्यले जानकारी दिए । ‘सुलभ मूल्यमा सफा, सुरक्षित, आरामदायी बासस्थान निर्माण गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने, ‘सबै सस्ता चीज सस्तो गुणस्तरका हुँदैनन् भन्ने प्रमाणित गर्दैछौं ।’ नेपालमा ओयो होटलका कोठाहरू ९ सय ९९ रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । यसका ४५ कर्मचारी नेपालमा कार्यरत छन् । ओयोको विशेषता भनेकै यसले मध्यमस्तरका होटलको सुधार र प्रविधि विकासमा जोड दिन्छ भन्ने हो । यसमा आबद्ध हुन होटलवालाहरूले केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । प्रत्येक कोठामा टीभी, निःशुल्क वाईफाई, ट्वाइलेट्रिज किट, ताजा सुगन्ध आदि राख्नैपर्छ । तिनले निःशुल्क ब्रेकफास्ट समेत प्रदान गर्नुपर्छ ।


पहिलोपटक नेपाल आउँदा यहाँका ८०/९० प्रतिशत होटल खङरङ्ग देखेको र तिनमा सुधार गर्न पाए हुन्थ्यो लागेर सञ्जाल विस्तार गरेको रितेश सम्झन्छन् । उनले सन् २०१७ मा तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबाट ज्ञानेश्वरको होटल प्रिन्स प्लाजामार्फत नेपालमा ओयो भित्र्याएका थिए । आफ्ना ९३ प्रतिशत ग्राहक मौखिक प्रचारमार्फत वा दोहोर्‍याएर आउनेहरू भएको रितेशले बताए । उनी भारत वा अन्य कुनै देशमा रेडियो, टीभी वा पत्रपत्रिकामा विज्ञापन दिने गर्दैनन् । धेरैले बेवास्ता गरेका साना होटललाई ओयोले आफ्नो बिजनेस प्लानमा ल्यायो । रङरोगन, सरसफाइदेखि अन्य सुधार गरेर तिनलाई आकर्षित बनाउने गरेको छ । ओयोमा आबद्ध हुनुअघि र पछिका होटलका तस्बिर देखाउँदै रितेश भन्छन्, ‘पहिले मान्छेहरू यी होटल हेर्थे र बेवास्ता गर्थे । अहिले हेर्छन् तर बेवास्ता गर्न सक्दैनन् ।’ हरेक आम मान्छेका लागि ‘बेटर लिभिङ स्पेस’ उपलब्ध गराउन चाहेको उनले बताए ।

एपमा आधारित
पछिल्लोपटक धनाढ्यको सूचीमा परेका जति पनि युवा छन् उनीहरू प्रविधिमार्फत माथि उक्लिएको देखिन्छ । ओयो पनि प्रविधिमैत्री छ । यो एपमा आधारित हस्पिटालिटी कम्पनी हो । ग्राहकले एपबाटै कोठा बुक्ड गर्न सक्छन् । यसको एसओएस फिचरले प्रहरी र ओयोको सेफ्टी रेस्पोन्स टिमसँग ग्राहकलाई जोडिदिने आदित्यको भनाइ छ ।


होटल सञ्चालकहरू ग्राहक भित्र्याउन सिपालु भएकाले नेपालमा आफूहरूले प्राविधिक सुविधा र क्षमता अभिवृद्धिमा मात्रै जोड दिइरहेको आदित्यले बताए । रितेशका अनुसार यहाँ अत्यन्तै सुन्दर ठाउँमा होटलहरू खुलेकाले तिनलाई प्रविधिसँग जोड्न पाए सहजै बजार विस्तार हुन्छ । ‘नेपालमा इन्टरनेट प्रयोगकर्ता उल्लेख्य रूपमा बढेका छन्,’ उनले भने, ‘ओयोको माग धेरै छ । चीन र भारतबाट जानेहरू पनि हाम्रा सम्भावित ग्राहक हुन् ।’


इन्डिगो एयरलाइन्सका पूर्वअध्यक्ष समेत रहेका आदित्य आफैं पनि टाटा कम्पनीको जागिर लत्याए ओयोमा आएका थिए । उनको यो कदमले पनि ओयोलाई स्टार्टअप कम्पनीका रूपमा कम आँक्नबाट रोकिदियो । यसलाई अमेरिकी हस्पिटालिटी कम्पनी एयरबीएन्डबीसँग पनि दाँजिन्छ । कतिले त आयोलाई भारतीय एयरबीन्डबीसमेत भनेका छन् तर यसका मालिकहरू आफूहरूलाई ‘फुल स्केल होटल चेन’ भन्न रुचाउँछन् । अर्थात्, यसले बेड एन्ड ब्रेकफास्ट मात्र होइन पूर्णतया होटलको सुविधा दिन्छ ।

[email protected]

प्रकाशित : चैत्र ८, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?