संकटमा लेगेसी

मृत्युको एक दशकपछि माइकल ज्याक्सनबारे चर्चा भइरहेको छ । मृत्युको यति धेरै वर्षपछि पनि उनी लगातार समाचारमा छन्, तर सबै गलत कारणले । ज्याक्सनमाथि लाग्दै आएको बाल यौन दुराचारको आरोप अहिले ऊत्कर्षमा छ ।
हिमेश

काठमाडौँ — किङ अफ पप’ नरहेको पनि धेरै वर्ष भइसकेको छ  । सन् २००९ को जुनतिर माइकल ज्याक्सनको निधन भएको थियो  ।

संकटमा लेगेसी

मृत्युको यति धेरै वर्षपछि पनि उनी लगातार समाचारमा छन्, तर सबै गलत कारणले । पछिल्लो समय समाचारमा उनको नाम लगातार आइरहेको छ । उनी जिउँदै हुन्थे त, उनका लागि आजभोलिका दिन निकै कष्टकर नै हुन्थे । जिउँदो छँदै उनी अनेक विवादमा फसिसकेका थिए । अहिले उनीसँग जोडिएका विवाद चरण उत्कर्षमा पुगेको छ ।


उनकी छोरी पेरिस ज्याक्सनले आत्महत्याको लागि गरेको प्रयास समाचार बनिरहेको छ । त्यसो त पेरिसले आफ्नो नाम जोडिएर आएका सबै हल्लाको खण्डन गरेकी छन् । तर उनको नजिकका सबै लगभग के मान्न तयार छन् भने पेरिसले आत्महत्याका लागि प्रयास गरेकै हुन् । माइकल ज्याक्सनमाथि आफ्ना बच्चाहरूलाई राम्रोसँग हुर्काउन नसकेको गम्भीर आरोप सुरुदेखि थियो । उनका तीन सन्तान छन् र सबैको बाल्यकाल सुखद रहन सकेन ।


यसको स्पष्ट कारण अरू कोही होइन, स्वयं माइकल ज्याक्सन नै हुन भनिन्छ । यसबीच भर्खरै आएको समाचार हो, युरोपका केही प्रमुख रेडियो स्टेसनले माइकल ज्याक्सनका गीत नै बजाउन छाडेका छन् । एक प्रकारले उनका गीतमा प्रतिबन्ध नै लागेको छ । त्यसबीच यस्तै अर्को समाचार पनि आयो, अमेरिकाको इन्डियानापोलिसमा रहेको बच्चाहरूको म्युजियमले माइकल ज्याक्सनसँग जोडिएका तीन ‘आइकोनिक’ वस्तुलाई हटाएको छ, प्रदर्शनबाट ।


माइकल ज्याक्सन भनेपछि उनीसँगै जोडिने गर्छ, उनको विशिष्ट शैलीको ह्याट । अनि सेतो पञ्जा । लाइभ कन्सर्टतिर यी दुवै उनकै परिचयका रूपमा रहने गरेका थिए । अनि सँगै उनको अटोग्राफ गरिएको पोस्टर पनि थियो, म्युजियममा । केही वर्ष अगाडि विश्वकै सबैभन्दा ठूलो बच्चाहरूको त्यस म्युजियमले ती सामान खरिद गरेका थिए, लिलामीमा । अहिले म्युजियमले यी तीनै वस्तुलाई प्रदर्शनमा राखेको छैन । यी समान हटाउन म्युजियममाथि ठूलो दबाब थियो ।
यस्तो किन भयो त ? माइकल ज्याक्सन किन यति साह्रो बदनाम भएका हुन् त ? बीसौं शताब्दीका सबैभन्दा ठूला र प्रभावशाली सांगीतिक व्यक्तित्वको छवि पछिल्लो समय निकै धुलमलिएको छ र उनको ‘लेगेसी’ नै संकटमा परेको छ । उनीमाथि लगातार लाग्दै आएको आरोप हो, बाल यौन दुराचारको । उनी जिउँदो भएकै बेला उनीमाथि यस्तो आरोप लाग्न सुरु भएका थिए । अहिले यो क्रम अझ बढ्दो छ । केही समय मात्र भयो, एचबीओको एउटा डकुमेन्ट्री निकालेको ।


त्यसको नाम थियो, ‘लिभिङ नेभरल्यान्ड’ । क्यालिफोर्नियाको सान्टा बारबरा काउन्टीमा अवस्थित रहेको भव्य घर र त्यससँगै जोडिएको एम्युजमेन्ट पार्क हो, नेभरल्यान्ड । लामो समय माइकल ज्याक्सन त्यहीं रहे । उनको सफलतम समयका बेला यही नेभरल्यान्डको पनि निकै चर्चा हुन्थ्यो । केही समय त्यस घरमा माइकल ज्याक्सनसँगै वेड रोबिनसन र जेम्स सेफचक पनि रहन्थे । जति बेला उनीहरू त्यहाँ रहे, त्यति बेला भर्खरका थिए, अहिले उनीहरू वयस्क भइसके ।
यिनै दुई जनाले माइकल ज्याक्सनले आफूमाथि गरेको यौन दुराचारको बखान नै त्यस डकुमेन्ट्रीमा समेटिएको छ । उनीहरू यौन दुराचारको सिकार त भए नै, यसले उनीहरूको परिवारमाथि पनि गम्भीर खराब प्रभाव पर्‍यो । एचबीओले यो डकुमेन्ट्री भर्खरै दुई भागमा देखाएको छ र यसले माइकल ज्याक्सनलाई हदैसम्म बदनाम गराएको छ । रोबिन्सन र सेफचक के मान्छन् भने माइकल ज्याक्सनले उनीहरूको विश्वासमाथि घात गरेका थिए ।


यो डकुमेन्ट्री रिलिज हुन केही दिन अगाडि मात्र माइकल ज्याक्सनको त्यही घर स्याहार्ने एक पूर्वकर्मचारीले पनि मानेकी थिइन्, माइकल ज्याक्सन वास्तवमै बाल यौन दुराचारी हुन् । ती कर्मचारीका अनुसार माइकल ज्याक्सन मानसिक विकृतिबाट ग्रसित थिए र उनमा बाल यौन शोषण गर्ने बानी थियो । एड्रियन म्याकमेनुसले त्यस घरमा चार वर्ष काम गरेकी थिइन् र यसक्रम आफ्नै आँखाले माइकल ज्याक्सनको विकृत स्वरूप देखिन् जुन वास्तवमै घृणित थियो ।


सन् १९९३ मै माइकल ज्याक्सनमाथि बाल यौन शोषणको अभियोग लागेको थियो । तर त्यति बेला उनले पीडित पक्षलाई चुप लाग्न ठूलो न ठूलो रकम तिरेका थिए । त्यसैले उनीमाथि कुनै प्रकारको कारबाही नै भएन् । त्यति नै बेला उनीमाथि कारबाही भएको भए, सम्भवतः माइकल ज्याक्सन अहिले जत्तिको बदनाम हुने थिएनन्, सम्भवतः उनको निधन पनि त्यति चाँडै हुने थिएन् । माइकल ज्याक्सनले एक समय लोकप्रियताको जुन शिखर चुमेका थिए, अहिले त्यो लगभग धराशायी जस्तै भइसकेको छ ।

[email protected]

प्रकाशित : चैत्र ८, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?