साम्बा शैली

राजु घिसिङ

काठमाडौँ — बीचमा अलि लामो कपाल । साइडतिर निकै छोटो । बीचको लामो कपाललाई खैरो बनाइएको छ, जसलाई जेल लगाएर खेलको बेला ठाडो पारिन्छ । यो हो सावित्रा भण्डारीको हेयर स्टाइल ।

साम्बा शैली

यो हेयर स्टाइल गत वर्ष ब्राजिली स्टार नेयमरमा देखिएको थियो । सावित्रा नेयमरकी समर्थक होइनन् । यो लुक्समा उनी विश्वकप विजेता फ्रेन्सेली प्लेमेकर पाल पोग्बाजस्तै देखिन्छिन् । उनी पोग्बाकै समर्थक पनि होइनन् । उनी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोकी समर्थक हुन् । खास समर्थक । उनी आफ्नो गोलको खुसियाली पनि रोनाल्डोकै शैलीमा मनाउँछिन् । विराटनगरमा गत साता सम्पन्न पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा त्यस्तै देखियो ।


‘मेरो हेयर स्टाइल यही भन्ने छैन,’ नेपाली महिला फुटबलकी स्टार फरवार्ड सावित्राले हाँस्दै भनिन्, ‘युट्युब, गुगलमा हेर्दा राम्रो लाग्यो र त्यस्तै बनाएँ ।’ उनी सशस्त्र प्रहरी बल (एपीएपफ) की जवान हुन् । त्यसैले उनलाई राष्ट्रिय टिमको प्रशिक्षण वा प्रतियोगितामा सहभागी हुँदाबाहेक अरू बेला त्यसरी कपाल रंगाउने अवसर हुन्न । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले पनि उनका लागि सुहाउँदो भएकाले मात्रै कपाल काट्न र रंग लगाउन दिइएको बताए ।


‘यो हेयर स्टाइलमा उनलाई कन्फिडेन्ट देखिन्छ, जसले विपक्षीलाई पनि मानसिक रूपमा दबाब दिन्छ,’ प्रशिक्षक खड्काले भने । उनलाई यो स्टायलले ‘ब्वाइज लुक्स’ पनि दिएको छ । ‘सानैदेखि यसरी हिँड्थें । फ्रक लाएर, कपाल पालेर हिँड्ने मन कहिल्यै भएन । यो लुक्सलाई अहिले परिवर्तन गर्न पनि सुहाउँदैन,’ खेलाडी र समर्थकमाझ साम्बाको नामले चर्चित सावित्राले भनिन्, ‘कहिलेकाहीँ दाइ भनेर बोलाइदिन्छन् ।’


पामचोक, लमजुङकी सावित्राको परिवारमा चार दिदी, दुई भाइ र बाआमा छन् । ‘घरमा खाना पकाउनेलगायत छोरीको काम कहिल्यै गरिनँ,’ उनले पामचोकमा गरेका काम सम्झिइन्, ‘घाँस काट्थें । रोपाइँलाई पानी लाउन जान्थे । आली लगाउँथें । गोरु जोत्थें । हल गोरु लिएर अरूकोमा जोत्न पनि निस्कन्थें ।’


उनी सानैदेखि फुटबल र भलिबल खेल्थिन् । फुटबल रहरले । भलिबल बाध्यताले । उनी केटाहरूसँगै फुटबल खेल्थिन् । केटाहरूसँग झगडा भइरहन्थ्यो । ‘छोरीले खेल्नु हुन्न भन्थे तर म बाल दिन्नथें,’ उनले भनिन्, ‘खेल्नका लागि कुरेर बस्नुपर्थ्यो । बल्लबल्ल मौका आउँथ्यो । तैपनि सेकाइदिन्थें (शरीरमा लाग्ने गरी सशक्त रूपमा बल प्रहार गर्नु) । त्यसैले केटाहरूलाई पनि कुटेर हिँड्थें । कुटाइ खानेका बाआमा बेलुका मेरो घरमा आउँथे । मलाई आमाले फेरि कुटेर आइस् भनेर कराउनुहुन्थ्यो । तर, वास्तै गर्दिनथें । त्यस्तो नियमित नै हुन्थ्यो ।’


हक्की स्वभावकी २३ वर्षीया सावित्रा भन्छिन्, ‘म छोरी मान्छे हो, कसरी खेल्ने, कसरी नखेल्ने भनेर लजाएर छोरी मान्छेको स्वभाव देखाउनुपर्छ भन्ने मेरो मनस्थितिमै थिएन । त्यसैले एक्ली केटी भएर पनि दाइहरूसँग खेल्न मलाई सजिलो भयो । दाइहरूले पनि मलाई साथ दिनुभयो ।’ सरस्वती निमाविको मैदानमा खाली खुट्टा फुटबल खेल्नुअघि उनी घर, आँगनमै मोजाको बलमा अभ्यस्त भइसकेकी थिइन् । स्कुलमा उनी खाजा खाने समयमा केटाहरूसँगै खेलिरहेकी हुन्थिन् । उनी नौ कक्षामा भर्ना हुन गणेश मावि पुगिन् । तर, खेलमैत्री वातावरण भएको स्कुलको खोजीमा उनी त्यहाँ छाडेर अमर उमावि पुगिन्, जहाँ उनको घरबाट अलि टाढै परे पनि फुटबल कलाले मूर्त रूप लिएको थियो । राष्ट्रपति रनिङ शिल्ड खेलिन् । उनी केटाहरूसँगै दिव्यज्योति युवा क्लबबाट फुटबल र भलिबल खेल्थिन् । उनको ध्यान भने फुटबलमै सोझिएको थियो ।


उनी खेल्नुअघि घामचोकका केही चेलीहरू फुटबल खेल्थे । तर, उनी खेल्ने बेला अरू केटी खेलाडी थिएनन् । त्यसैले उनले पहिलोपल्ट महिला फुटबल प्रतियोगिता खुदीको सिर्जनशील युवा क्लबबाट खेलेकी थिइन् । त्यहाँ तीन खेलमा नौ गोल गरेको उनलाई स्मरण छ । त्यो नै उनले फुटबल सुज लगाएर खेलेको पहिलो थियो । सँगै खेल्ने दाइको सुज मागेर लगाएकी थिइन् । २०७१ साल वैशाखमा घनपोखराले घले गाउँमा महिला फुटबल आयोजना गरेको थियो । त्यसमा पनि उनको टिम सिर्जनशील पहिलो भयो । उनले आठ गोल गरिन् । त्यस बेला राष्ट्रिय रेफ्री शुक्र लामा घले गाउँ पुगेका थिए र त्यहीँबाट उनको करिअरले उचाइ लिन थाल्यो ।

एपीएफ यात्रा
उनी शुक्रको सहयोगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा असारमा पुगिन् । साउन महिना ट्रायलका रूपमा रहेको ट्रेनिङमा बिताइन् । खर्चको बन्दोबस्त पूर्वखेलाडी गंगा गुरुङले मिलाइदिइन् । ‘मलाई फुटबलको केही ज्ञान थिएन । ट्रेनिङ के हो भन्ने पनि थाहा थिएन,’ एपीएफ पुगेपछि सुरुका दिनहरू उनले सम्झिइन्, ‘ट्रेनिङमा पानी र झोला ल्याउनुपर्छ भन्ने पनि दिदीहरूबाट सिकें ।’


नेपाली महिला फुटबलमा गोल मेसिनका रूपमा स्थापित जमुना गुरुङ र अनु लामा त्यस बेला मैदानबाट टाढा थिए । जमुनाको घुँडाको शल्यक्रिया गरिएको थियो । अनु शान्तिसेनामा देशबाहिर थिइन् । त्यसैले मासिक ५ हजार रुपैयाँको करार पाएको पहिलो महिना भदौ, २०७१ मा नै उनले नेपाली महिला फुटबलको सबभन्दा बलियो क्लब एपीएफबाट पहिलो रोजाइमा खेल्ने अवसर पाइन् । चितवनमा भएको राष्ट्रिय लिगमा टिम सेमिफाइनलमा हारे पनि उनले ६ गोल गरेकी थिइन् ।


चितवनको प्रदर्शनले सावित्रालाई राष्ट्रिय टिमको प्रशिक्षणसम्म डोर्‍यो । त्यहाँ पनि राम्रो गरेपछि उनी तेस्रो साफ वुमेन्स च्याम्पियनसिप २०१४ को टिममै छनोट भइन् । इस्लामाबादमा भएको साफको पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को जित हासिल गर्‍यो । त्यसमा ८६ औं मिनेटमा कप्तान अनु लामाको स्थान लिँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी उनले ८८ औं मिनेटमा गोल नै गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) २०१६ को रजत पदक विजेता टिमकी महत्त्वपूर्ण सदस्य रहेकी उनले चौथो साफ २०१६ समूह चरणमा भुटानविरुद्ध एक्लैले ६ गोल गर्दै सनसनी मच्चाइन् । माल्दिभ्सविरुद्ध पनि ५ गोल गरिन् । उनी च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता (१२) भएकी थिइन् ।


पाँचौं साफमा नेपाललाई उपाधिको दाबेदार मानिएको थियो । पहिलोपल्ट नेपालमा भएको प्रतियोगितामा घरेलु टिम फाइनलमा चुक्यो । भारतले ३–१ को जित रच्दै लगातार पाँचौंपल्ट उपाधि कब्जा गर्‍यो । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा नेपालले भारतलाई पहिलोपल्ट हराएको थियो । त्यसलाई सहिद मैदानमा निरन्तरता दिन सकेन । त्यसैले सातौंपल्ट फाइनल खेलेर पनि नेपाल फेरि उपविजेतामै सीमित भयो ।


गोलको लक्ष्य
टिम च्याम्पियन नभए पनि पाँचौं साफ साविक्राका लागि व्यत्तिगत रूपमा उपलब्धिमूलक रह्यो । चारै खेलमा गोल गरेकी उनी कुनै पनि प्रतियोगिताका सबै खेलमा गोल गर्ने पहिलो नेपाली बनिन् । चार गोलसहित भारतकी इन्दुमथी काथेरसनसँगै सर्वाधिक गोलकर्ता भइन् । उनी नेपालको सर्वाधिक गोलकर्ताको सूचीमा जमुनालाई उछिन्दै दोस्रो नम्बरमा पनि पुगेकी छन् । उनले २७ खेलमा २६ गोल गरेकी छन् । जमुनाले २५ । यसमा अब सावित्रा अनु लामा (३५ गोल) भन्दा मात्रै पछाडि छिन् ।
‘जमुना दिदीलाई भेटाएँ । अब अनु दिदीको रेकर्ड तोड्ने प्रयास गर्नेछु,’ सावित्राले भनिन् । उनले राष्ट्रिय टिममा पनि सुरुमा अनुकै स्थान लिन निकै संघर्ष गर्नुपरेको थियो । भन्छिन्, ‘अनु दिदी त्यस बेला नाम चलेका खेलाडी हुनुहुन्थ्यो । सबैको मुखबाट अनु–अनु आउँथ्यो । त्यो स्तरमा पुग्न मैले कति मिहिनेत गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । तर, दिदीको उमेर ओझेलमा परेको घामजस्तै ढल्किरहेको थियो । उहाँको प्रदर्शन पनि अलि खस्किरहेको थियो । म उत्साहित थिएँ । उहाँको स्थान मैले लिनुपर्छ भनेर मिहिनेत गरिरहें । आत्मविश्वास बढाउँदै लगें ।’


शारीरिक खेलमा पनि अब्बल सावित्रालाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मान्छन्, प्रशिक्षक हरि खड्का । साथै उनी आफ्नो चेलीमा सुधार गर्नुपर्ने थुप्रै ठाउँ पनि देख्छन् । ‘महिला फुटबलको सबै रेकर्ड उनले बनाउन सक्छन्,’ खड्काले भने । पाँच वर्षअघिको तेस्रो साफ पनि ८ सय रुपैयाँमा आउने फुटबल सुजले खेलेकी सावित्राले यसपालि आफैंले १० हजारमा किनेको सुजले विराटनगरमा चार गोल गरिन् । उनका बुबा मनाङको चामेस्थित हेल्थपोस्टमा कार्यालय सहायक छन् । आर्थिक रूपमा घरमा बुबालाई पनि साथ दिने भएकी छन् उनी ।


उनी फुटबल खेल्न काठमाडौं आउँदा सुरुमा परिवारले ठूलै खप्की बेहोरेको थियो । ‘तेरो छोरी घर छोडेर गई । तेरो त इज्जत छैन, हामीजस्ताको इज्जत पनि बिग्रिने भयो भनेर आमालाई धेरैले भनेका थिए । तर, मैले वास्ता गरिनँ,’ मैदानमा एकदमै मिहिनेती देखिने उनले भनिन्, ‘अचेल म घर जाँदा गाडीबाट झर्दा सबैले राम्रै मान्छन् । म सबैलाई सम्मान नै गर्छु । म यस्तो हो भनेर हिँडिनँ, हिँड्दिनँ । त्यसैले उनीहरूले गर्ने व्यवहार अहिले सकारात्मक भएको छ । गाउँका भाइबहिनीहरूलाई पनि मजस्तै खेलाडी बनाउन लैजान सिफारिस गर्छन् ।’

twitter: @rghising

प्रकाशित : चैत्र १५, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?