१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जापानीको गाऊँ सिकाइ

माधव अर्याल

काठमाडौँ — जापानको सुविधा सम्पन्न क्याम्पसमा पढ्ने विद्यार्थी हुन्, साइतो सोया  । उनलाई नेपाली परिवेश खुब मन पर्छ  ।

जापानीको गाऊँ सिकाइ

दुई वर्षअघि पनि उनी नेपाल आएकी थिइन् । पाल्पाको दुर्गम निस्दी गाउँपालिकाको मित्याल भीरपानीमा साता बढी श्रमदान गरेर फर्किएको अनुभव बेग्लै छ । उनी पुनः यही गाउँ आएकी छन् । दुई वर्षअघि उनले यहाँको विद्यालय भवन निर्माणमा मदान गरेकी थिइन् ।


‘मलाई नेपालको ग्रामीण परिवेश खुब मन पर्‍यो,’ उनले प्रतिक्रिया दिइन्, ‘यस्तो आनन्द लाग्यो कि म के कुरा गरूँ खोइ ?’ उनी मगर भाषा सिक्दै छिन् । जाप्च (मीठो) छ । छो (भात) खान्छु । छा (नुन) दिनुस् । यस्ता शब्द उनलाई बोल्न पनि आउँछ । जापानका विभिन्न सहरमा अध्ययनरत उनीजस्ता ३५ जनाको टोली मित्यालको भीरपानीमा १० दिनसम्म श्रमदान गरेर फर्कियो । ११ वटा घरमा उनीहरूले गोबर ग्यासका लागि खाल्डा खने ।


खान्साई युनिभर्सिटीका विद्यार्थी इमाइसी ताकुयाले नेपाली रहनसहन, संस्कृति बुझ्न मन पराउने बताए । उनले भने, ‘पहिला आउँदा विद्यालय बनाएका थियौं, अहिले गोबर ग्यासका लागि श्रमदान गरियो ।’ हातमा ठेउला उठेको देखाउँदै उनले थपे, ‘यस्तो अनुभव जापानमा कहिल्यै गर्न पाइँदैन ।’ उनले क्याम्पसमा गएर साथीहरूलाई सुनाउँदा यहाँ गरेका दुःख सबै बिर्सने बताए । उनलाई नेपाली समाजको सामाजिक कामको व्यावहारिक अनुभव गर्न पाएकामा खुसी लाग्छ । ‘यस्तो काम गर्न पाउँदा हातमा उठेका घाउ पनि सञ्चो भएजस्तो लाग्छ,’ उनले भने, ‘अहिले हामी सबै जना धेरै खुसी छौं ।’


पाल्पा सदरमुकाम तानसेनबाट चार घण्टाको सडक यात्रामा यो गाउँ पुगिन्छ । जापानबाट गाउँ सिक्न आएका विद्यार्थी १० दिन रहे । यहाँ पानीको दुःख छ । पानी बोकेर झन्डै आधा घण्टा ओरालो र एक घण्टा उकालो बाटो हिड्नुपर्छ । जापानी युवाहरूले यहाँ बसुन्जेल स्थानीयलाई पानी बोक्न पनि सघाए । बिहानै उठेर नुहाउन र धुनका लागि धारामा पुग्ने उनीहरू रमाउँदै फर्किन्थे । मगर बस्तीमा उनीहरू केटाकेटी, बूढाबूढी, अधबैंसेसँग खुबै रमाए । साँझ–बिहान समूहमा खाना पकाउँथे । आफै भाँडा माझ्थे । जापानको सुख र सुविधामा हुर्केका साइतो सोयाले भनिन्, ‘मलाई निकै रमाइलो लागेको छ । यस्तो जापानमा देख्न पाइँदैन ।’


उनीहरू घाँस काट्न पनि पछि परेनन् । दाउरा बोके । उनीहरूको लक्ष्य भनेको ११ वटा गोबर ग्यास प्लान्ट बनाउन सहयोग गर्नु हो । ‘म दुई वर्षअघि पनि यही गाउँमा आएको थिएँ,’ विद्यार्थी सोयाले भनिन्, ‘पहिला दुई कोठाको विद्यालय भवन बनाएर गयौं । अहिले गोबर ग्यास प्लान्ट निर्माण गर्‍र्यौं ।’ दिउँसो १० बजेदेखि ५ बजेसम्म गोबर ग्यासका लागि खाल्डा खनेका थिए । प्रत्येक घरलाई गोबर ग्यासका लागि १५ हजार रुपैयाँ पनि दिने घोषणा गरे । ‘जापानमा यस्तो काम हामीले कहिल्यै गरेका थिएनौं,’ अर्की विद्यार्थी मिसिमा रिहोकोले भनिन्, ‘हामीलाई कलेजमा गएर साथीहरूसँग अनुभव साट्दा निकै खुसी लाग्छ ।’


जापानमा यस्तो काम र यसरी बसाइ दैवीप्रकोप आउँदा मात्र हुने अनुभव विद्यार्थीको छ । अभिभावकबाट टाढा रहेर कलेज पढ्ने गरेको उल्लेख गर्दै मिसिमाले भनिन्, ‘कलेज पढ्दै काम गरिन्छ ।’ उनीहरूले आफूहरूले खान लगेका सामग्री स्थानीयलाई दिने र स्थानीय खाना खाने पनि गरे । ‘भुटेको मकै, कोदोको रोटी अनि मोही जाप्च लाग्यो,’ रिहोकोले भनिन्, ‘यस्तो रमाइलो जापानमा हुँदैन । त्यसैले हामी खुसी छौं ।’ नेपाली समाज, संस्कृति, भाषासँग उनीहरू रमाए । उनीहरू स्वयम्सेवी विद्यार्थीहरूको संस्था इभुसामार्फत आएका हुन् ।


इभुसाका प्रतिनिधि सुतोमु यामाजाकीका अनुसार प्रत्येक दुई वर्षमा यसरी विद्यार्थीलाई विभिन्न देशमा लगेर त्यहाँको संस्कृति, रहनसहन सिकाउने गरिन्छ । ‘हामीले समाजसेवा गर्न र गाउँ सिक्न जान सूचना आह्वान गर्छौं,’ उनले भने, ‘त्यसपछि सहभागी हुन चाहनेहरू आउँछन् ।’ समाजसेवा र गाउँले रहनसहनमा घुलमेल हुने वातावरण सिर्जना गर्न विद्यार्थी ल्याउने गरेको उल्लेख गर्दै उनले भने, ‘खानेपानी योजना, सिँचाइ कुलो, विद्यालय भवन, गोबर ग्यासलगायतमा श्रमदान र नगदसमेत सहयोग गर्ने गर्छन् ।’ जापानको सहरमा बसेर यस्तो गाउँको परिवेश सिक्न नपाइने पनि उनले बताए । किताबको सिकाइ र खाली समयमा काम गर्ने उनीहरू काम र पढाइ सँगै गर्छन् ।


‘हामीले नेपाली दुर्गमको समाज बुझेका छौं,’ यसअघि पनि आएकी विद्यार्थी फुकुत सोताले भने, ‘मगर भाषासँगै रहनसहन अध्ययन गरेका छौं ।’ उनीहरू केही समय यहाँको संस्कृति, वेशभूषा, रहनसहनमा समेत छलफल गर्ने र रमाउने गरेका छन् । जापानका कक्षाकोठा र सहरमा सीमित हुँदा केही नबुझेको उनले बताए । तर यहाँ आइसकेपछि समाज बुझेको उनले बताइन् । नयाँ ठाउँ, परिवेश नयाँ, समाज नयाँ भए पनि कसरी घुलमेल हुने भन्ने सिकेको उनले बताए ।


जीवनमा आइपर्ने समस्यासमेत कसरी समाधान गर्ने भन्ने विषयमा ज्ञान लिइन्छ । रमाइलो गर्ने, खानपिन, रहनसहन, गाउँको परिवेश बुझाउन सहयोग पुगेको स्थानीय गोरखनाथ आधारभूत विद्यालयका शिक्षक पूर्णबहादुर सोमैले बताए । घरबास बस्ने र परिवारलाई काममा सघाउनसमेत खोज्ने जापानका विद्यार्थी धेरै मिजासिला भएको स्थानीय ताराबहादुर थापाले बताए । उनका अनुसार जापानका विद्यार्थीहरू कुनै पनि कुराको विषयमा सकारात्मक मात्र विश्लेषण गर्ने गर्छन् । जिल्लामा ओकेबाजेको नामले चर्चित जापानी नागरिक काजुमासा काकिमी २५ वर्षयता समाजसेवामा सक्रिय छन् । उनकै सल्लाहनुसार जापानी स्वयम्सेवक र सहयोग यहाँ आऊने गरेको छ ।

[email protected]

प्रकाशित : चैत्र २२, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?