१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रोकिएला लहडी प्रतिस्पर्धा ?

भारतबाट सञ्चालित युट्युब च्यानल टी सिरिज र स्वीडेनका युट्युबर पिउडाइपाईबीच सबभन्दा धेरै सब्सक्राइबर कसको हुने भन्ने अघोषित होड नै चलेको छ ।
हेलो शुक्रबार

काठमाडौँ —  
प्रतिस्पर्धा पनि कस्तो ? जसले प्रतिस्पर्धा गरिरहेका छन्, उनीहरूलाई मतलब छैन  । जसले हेरेर मजा लिनुपर्ने हो, ऊ नै जुध्न तम्सिएको छ  ।

रोकिएला लहडी प्रतिस्पर्धा ?

यो प्रतिस्पर्धा हो भारतबाट सञ्चालित युट्युब च्यानल टी सिरिज र स्वीडेनका युट्युबर पिउडाइपाईको । एउटाले बलिउड फिल्मको ट्रेलर र गीतको भिडियो हाल्छ अर्कोले अनलाइन गेमसम्बन्धी जानकारी दिन्छ । एउटा च्यानल संस्थागत रूपमा चलेको छ अर्को व्यक्तिगत लोकप्रियताको भरमा ।


यी दुई च्यानलबीच कसको धेरै सब्सक्राइबर भन्ने लहड चलेको झन्डै एक वर्ष पुग्न लाग्यो । यो बीचमा कहिले एउटा पहिलो बन्ने त कहिले अर्को पहिले बन्ने भई नै रह्यो र आ–आफ्नो च्यानलका प्रशंसकबीच हल्लीखल्ली भइरह्यो । गत साताको तथ्यांक हेर्ने हो भने टी सिरिजको सब्सक्राइबर ९ करोड २४ लाख नाघेको छ भने पिउडाइपाईका सब्सक्राइबर ९ करोड २६ लाख नाघेका छन् । खासमा यो तथ्यांकको दौड मात्रै थियो । यसमा कोही पहिलो र कोही दोस्रो भएर हानि कसैलाई थिएन । तर, पछिल्लोपटक पिउडाइपाईका प्रशंसकहरूले गर्नुसम्म गरे । केही प्रशंसकले ५० हजार प्रिन्टर ह्याक गरेर त्यसबाट प्रिन्ट हुने बिलमा टी सिरिज अनसब्सक्राइब गर्न र पिउडाइपाईलाई सब्सक्राइब गर्न सन्देश लेखे । यसले विश्वभर हंगामा मच्चियो । आखिर, यी दुई बीचको प्रतिस्पर्धालाई धेरै मानिसको ध्यानमा खिच्ने काण्ड पनि यही थियो ।


पिउडाइपाईलाई सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबर बनाउने दौडमा सामान्य प्रशंसक नलागेर अर्का चर्चित युट्युब जिमी (मिस्टर बिस्ट) पनि लागे । उनले त पिउडाइपाईलाई सब्सक्राइब गरौं भनेको सन्देश लेखिएको टिसर्ट लगाएर आफ्ना साथीहरूसँग सार्वजनिक स्थानमा पुग्न थाले । विशेषतः १८ देखि २४ वर्षसम्मका उमेर समूहमा लोकप्रिय पिउडाइपाई सुरुवाती समयमा यस्ता विषयमा निकै रमाइरहेका थिए । उनी आफ्ना प्रशंसकलाई भन्थे– मलाई पहिलो नम्बरमा राख्ने प्रयासले म खुसी भएको छु । उनी आफूलाई पहिलो नम्बरमा राख्न गैरकानुनी उपाय नलगाउन पनि आफ्ना प्रशंसकलाई भनिरहन्थे । तर, लहडी प्रशंसक सबैले उनले भनेको किन मान्थे र ?


मार्च दोस्रो साताको कुरा हो । न्युजिल्यान्डको एक मस्जिद अगाडि अन्धाधुन्ध गोली चलाएर एक २८ वर्षीयाले ४९ जनाको ज्यान लिए । फेसबुकमा लाइभ गर्दै ऊनले गोली चलाएका थिए । आक्रमणका त्रममा उनले पिउडाइपाईलाई सब्सक्राइब गर्न आह्वान पनि गरे । प्रशंसकको यस्तै हर्कतले उनी फेरि सब्सक्राइबरको संख्यामा टी सिरिजभन्दा माथि पुग्ने त कहिले फेरि केही अंकले दोस्रो बन्थे । यो लडाइँमा टी सिरिजले पनि केही मार्केटिङ रणनीति लियो । एक अर्ब बढी जनसंख्या भएको र विश्वका धेरै देशमा लोकप्रिय बलिउड फिल्मसँग सम्बन्धित टी सिरिज पनि चर्चामा नरहने कुरै थिएन । टी सिरिजका मालिक भूषण कुमारले यो दौडमा आफूलाई कुनै रुचि र वास्ता नभएको बताइरहेका छन् । तर, उनका कम्पनीका वरिष्ठ कर्मचारीहरूले लगाएको जुक्ति पनि रोचक छ । पिउडाइपाईका प्रशंसकले आफ्नो च्यानललाई धेरै सब्सक्राइबर भएको पहिलो नम्बरमा आउन नदिन अनेक तिकडम गरेपछि उनीहरूले पनि जुक्ति निकाले– राष्ट्रवाद । टी सिरिजका कर्मचारीहरूले भनिरहे– संसारमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल हाम्रो देशमा हुनु हाम्रो गौरवको कुरा हो । यस्तै यस्तै कुराले संसारभर छरिएका भारतीयहरू पनि खोजीखोजी टी सिरिज सब्सक्राइब गर्न थाले । बलिउड फिल्मबाट प्रभावित नेपालसहित श्रीलंका, भुटान, माल्दिभ्ससहित विश्वका धेरै देशमा टी सिरिज आफैं पनि चर्चित नै थियो ।


टी सिरिजसँगको करिब एकवर्षे लामा प्रतिस्पर्धापछि पिउडाइपाईले यसै साता एक भिडियोमा सार्वजनिक हार स्विकारेका छन् । उनले यो दौडमा टी सिरिजको प्रशंसा पनि गरेका छन् । ‘एउटै बलिउड गीत बनाउन पनि कति धेरै खर्च हुने रहेछ,’ उनले भनेका छन् । उनको यो स्विकारोक्तिपछि यो लहडी प्रतिस्पर्धाको दौड रोकिने धेरैको विश्वास छ । पिउडाइपाईले हार स्वीकारे पनि उनका प्रशंसकले यसलाई स्विकार्लान् ?
–एजेन्सीको सहयोगमा

[email protected]

प्रकाशित : चैत्र २२, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?