कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्वास्थ्यका लागि साइक्लिङ

काठमाडौँ —  
गण्डकी बोर्डिङ स्कुल पोखराका प्रशासकीय अधिकृत लोकबहादुर थापा साइक्लिङ गर्न हुरुक्कै हुन्छन्  । साइक्लिङलाई नै यत्ति बढी माया गर्नुको कारण हो स्वास्थ्य  ।

स्वास्थ्यका लागि साइक्लिङ

०६८ सालमा उनी मधुमेहका बिरामी भए । उनको मधुमेह ४ सय ६० एमजी/डीएल बढी पुग्यो । चिन्तित बने । चिकित्सकले औषधि सेवन गर्न सुझाए । कता–कता पढेका थिए, साइक्लिङले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भनेर । त्यसपछि उनी साइकल चलाउन निस्किन थाले । दैनिकजसो साँझ उनी पोखराको पामे, लेकसाइड र शान्तिद्वीपतिर ३५ किमि साइक्लिङ गर्छन् । काठमाडौं जान परे प्रायः साइक्लिङ गर्दै जान्छन् । ७ दिनमा मेची–महाकाली पनि साइक्लिङ गरेर भ्याए । अहिले उनको मन चंगा भएको छ । खुसी छन् । मधुमेहले समस्या भएन । गुलियो पनि खान्छन् । त्यसैले साइक्लिङलाई जीवनको महत्त्वपूर्ण अंग बनाएको छन् । ४० वर्षमाथिको स्पर्धामा बुद्धस्थल लुम्बिनीमा आयोजित ५५ किलोमिटरको साइकल दौडमा उनी चौथो भए ।


उनी जस्तै काठमाडौंका अनुज पराजुली पनि साइकल चलाउँदा धेरै आनन्दित महसुस गरेको बताउँछन् । ‘शरीरमा स्फूर्ति आउँछ,’ उनले भने, ‘मन खुसीले चंगा हुन्छ । आफूलाई खुसी राख्न सक्नु नै जीवन सुखद पक्ष हो ।’ उनी पेसाले साइकल मेकानिक हुन् । २२ वर्षे उनले जीवनै पहिलोपटक साइक्लिङ गरेर राम्रै पुरस्कार जिते । यसले उनलार्य थप उत्साहित बनाएको छ । उनले भने, ‘शारीरिक तन्दुरुस्ती पनि भयो । अब साइक्लिङलाई करिअर बनाएर अघि बढ्छु ।’ उनले बुद्धस्थलको पर्यटन प्रवर्द्धन गर्न आयोजित ग्रेट बुद्धिस्ट ट्रेल माउन्टेन बाइक टुरअन्तर्गत मायादेवी मन्दिरको ७ फन्को (७७ किमि) लामो साइक्लिङ दौडको उपाधि जिते । उनले सिद्धार्थ गौतम बुद्ध अर्नर उपाधिसँगै ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरे । उनले २ घण्टा ३० मिनेट १७ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए ।


उनी जस्तै लक्ष्मी मगर पनि साइकल हुइँक्याउन हुरुक्कै हुन्छिन् । ‘यसले शारीरिक फिटनेस पनि राम्रो हुन्छ,’ उनले भनिन्, ‘साइक्लिङ गरेको दिन छुट्टै आनन्द लाग्छ ।’ काठमाडौंकी २२ वर्षीया उनी ७७ किमि लामो दौडमा दोस्रो भइन् । उनले उक्त दूरी ३ घण्टा १६ मिनेट ४७ सेकेन्डमा पूरा गरेर मर्दर प्रजापति अर्नर पुरस्कारस्वरूप ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारिन् । साइकल दुईपटक पञ्चर्ड भएर पनि उनी दोस्रो भएकी थिइन् ।


‘साइक्लिङ आध्यात्मिक र साहसिक खेल गतिविधि हो,’ ग्रेट बुद्धिस्ट ट्रेलका परिकल्पनाकार तथा बुद्धिस्ट सर्किट्स डट कमका संस्थापक विक्रम पाँडेले भने, ‘यसले लुम्बिनी–कपिलवस्तुलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन राम्रो योगदान गर्छ । त्यसैका लागि साहसिक खेल आयोजना गरिएको हो ।’ साइकल वातावरणमैत्री साधान पनि हो । यसले मानिसको स्वास्थ्यलाई सधैं तन्दुरुस्त राख्न सहयोग गर्छ ।

रमनोज फौडेल
[email protected]

प्रकाशित : चैत्र २२, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?