कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मःम र म्युजिक

काठमाडौँ — भनिन्छ, काठमाडौं उपत्यका प्रवेश गरेपछि मानिस थातथलो फर्कंदैन, यहीँका गल्लीमा हराइजान्छ  । महँगी चर्किएको यस बेला सहरमा बाँच्नलाई कमाउनै पर्छ  ।

मःम र म्युजिक

आफ्नो चाहना पनि भुल्न सकिँदैन । चाहना पूरा गर्न मानिसले कतिसम्म संघर्ष गर्छन् ? गायक बन्ने धुनमा अघि बढेका एउटा व्यक्तिको कथा सजना बराल लेख्छिन् :


नेपाल आइडलको पहिलो शृंखला जारी थियो । उनले ठेलामा निशान भट्टराईको पोस्टर टाँसे । मःम, ससेज खान आउनेलाई खसखस लाग्यो । झ्याप्ले दाइ आफैं पनि गीत गाउँछन् क्या हो ? तिनले सोधिहाले । उनले ‘म गायक हुँ’ भनिदिए । यो कुरा फैलिएर युट्युबसम्म पुग्यो । त्यहाँ उनको ‘मःम र म्युजिक’ राम्रै बिक्यो ।


बिक्ने भिडियो बनाउने कतिपय
युट्युबरलाई झ्याप्ले दाइले पनि राम्रै चिने । तिनले भिडियो बनाउँदै मःम खाएको पैसा तिरेनन् । त्यति त झ्याप्लेले सहेकै थिए । हालै उनले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गर्दा ती युट्युबरले बाल दिएनन् । त्यो बेलादेखि यी गायकको मन कटक्क दुखेको छ । ग्राहकका लागि झ्याप्ले दाइ भए पनि उनको नाम हो, कपिल पौडेल ।
कपिल मःम बेच्ने गायक हुन् । नयाँ बानेश्वर चोक उनको अड्डा भनौं । साँझ बढ्दै गएपछि त्यहाँ ठेलाहरू रोकिन्छन्, कपिलको पनि । उनी किमा मोल्दै नारायण गोपाल, रामकृष्ण ढकाल, सोनु निगम, शिव परियारहरूका गाना गुनगुनाउँछन् । उनका आफ्नै रेकर्ड पनि छन् । जम्मा सात वटा गीत गाएका छन् । चार वटा बजारमा आएकै छैनन् । उनी कुर्दैछन्, ती कहिले सार्वजनिक होलान् भनेर । अरूका लागि गाइदिएको हुनाले आउँछन्, आउँदैनन् पत्तो छैन । ‘स्वर आफ्नो भएकाले मेरै सन्तान जस्तो लाग्छ,’ उनी भन्छन्, ‘‘हिरो नम्बर वान’ फिल्मको शीर्ष गीत पनि गाएको छु ।’
उनले गाउन थालेको ६ वर्ष भयो । काठमाडौं आएको पनि उति नै । मलेसिया, कतार वा अरब जता मिल्छ, उतै जाउँला भनेर काठमाडौं छिरेका थिए । ‘भाग्यले यहीँ बस् भन्यो,’ हातको रेखामा विश्वास राख्ने कपिल भन्छन्, ‘पासपोर्ट हराउनु नै मेरा लागि अहोभाग्य रहेछ ।’ सरसामानसहित पासपोर्ट चोरी हुँदा उनी बागबजारको लुम्बिनी तन्दुरीमा भाँडा माझ्ने–मस्काउनेलगायत काम गर्थे । उनले त्यहीँ छँदा परिकार बनाउन जानेका हुन् ।
उनले लुम्बिनीलाई आफ्नै सम्झेर हत्ते हालेका थिए । साहुले भने आफूलाई पराइ व्यवहार गरेपछि उनी रिसाए । ‘मेरो सामान चोरी हुँदा उहाँहरूले एकसरो लुगासमेत दिनुभएन,’ कपिल सम्झन्छन्, ‘त्यही भएर अर्काकोमा काम गर्नु बेकार लाग्यो ।’ उनको विरक्ति गायन गुरु मनोजराज सिवाकोटीले प्रस्ट बुझेका थिए । गुरुकै सल्लाहमा उनले आफ्नै व्यवसाय थाले, ठेलामा मःम । मःमसँगै ससेज, ड्रमस्टिक, सेकुवा आदि बनाएर बेच्न थाले । उनले १७ सय रुपैयाँको लगानीमा सुरु गरेको व्यवसायको पहिलो दिनमै ३४ सय आर्जन गरे ।
‘पहिलो दिन ठेला धकेल्दै हिँड्दा लाज लागेको थियो,’ उनी भन्छन्, ‘सबैले मलाई नै हेरेजस्तो लाग्यो अनि विराज भट्ट र आमिर खानलाई सम्झिएँ । उनीहरूलाई झैं मलाई पनि माथिबाट कुनै क्यामराले खिचिरहेको छ, मेरो फिल्म बन्दैछ भन्ने सोचें । लाज हट्यो ।’ २५ वर्षे बाहुन ठिटो, कुम–कुमसम्मका कर्ली कपाल, ग्रन्ज जिन्स पहिरन ! यो उमेर र यस्तो हुलियामा ठेला पसल गर्ने कमै हुन्छन् । कोही–कोही त उनीकहाँ आउनै डराउँथे । ‘बोली सुनेपछि मात्रै म ट्यापे होइन भनेर पत्याउनु हुन्छ,’ उनले भने, ‘नियमित ग्राहक धेरै छन् ।’
कपिल बिहान एक घण्टा मनोजसँग संगीत सिक्छन् । उनी गायनको छैटौं वर्षमा अध्ययनरत छन् । विसं २०७२ मा पहिलो गीत ‘पुरानो प्रेम पत्र...’ रेकर्ड गराएका थिए । चेलाको लगाव देखेर मनोजले नै रेकर्ड गराइदिएका थिए । त्यसअघि कक्षा १० मा पढ्दा कपिलले पहिलोपटक स्टेजमा गाएका थिए । गायनको प्रभाव त्यो बेलै चाल पाए । ‘अघिपछि नबोल्ने साथीसमेत गीत गाएपछि बोल्न थाले,’ चितवन, मेघौलीका दिन उनी सम्झन्छन्, ‘गीत गाएपछि सबैले आफ्नो ठान्दारहेछन् ।’ उनलाई पार्श्वगायनमा रुचि छ, आधुनिक विधा आफ्नो ठान्छन् ।
अभिभावक र इष्टमित्रले सुरुवाती दिनमा उनलाई गायनमा प्रोत्साहन गरेनन् । तैपनि उनी एसएलसी दिएर नारायणघाट गए, संगीतको कक्षा लिए । त्यहाँ गंगाराम आचार्यलाई चिने । प्लस टु सकाएपछि विदेश जाने सुरले काठमाडौं आउँदा प्रक्रिया चलुन्जेल गुजारा चलाउन लुम्बिनी तन्दुरीमा काम गरे । उनै गंगारामले जागिर मिलाइदिएका थिए । काठमाडौं आउनासाथ मनोजसँग गायनको कक्षा लिन थालेका हुन् । मनोजले उनलाई निःशुल्क पढाइरहेका छन् ।
पहिलो शृंखलामा निशानलाई समर्थन गरेका कपिल दोस्रोमा आफैं प्रतिस्पर्धी हुन चाहे । अडिसन राउन्डमै फालिए पनि हार मानेका छैनन् । ‘त्यो बेला शरीरले साथ दिएन,’ उनी भन्छन्, ‘म छनोट नहुँदा युट्युबमा हल्ला भएको थियो । त्यहाँ जानुअघि नै युट्युबतिर चिनिए पनि आइडलको अडिसन धेरै अघि भइसकेको थियो ।’ उनी थप मिहिनेत गर्न खोज्दैछन् । ठेलाका लागि सहयोगी कामदार पाएदेखि गायनलाई बढी समय दिन सकिने ठानेका छन् । दुई/चारपटक स्टाफ राखे पनि ती लजाएर हिँडेको उनी बताउँछन् ।
‘हामी नेपाली गरिखान लजाउँछौं,’ कपिल भन्छन्, ‘महिनाको १० हजार दिन्छु भन्दा पनि स्टाफ पाइरहेको छैन । बिरामी हुँदा व्यापार बन्द गर्नुपर्छ । अशिक्षाले गर्दा हाम्रो सोच बदलिन सकेन ।’ उनी सडक व्यापारीलाई महानगरपालिका र प्रहरीले लखेटेको देखेर पनि आजित छन् । निश्चित ठाउँ मिलाइदिए सहज हुने ठानेका छन् । सटर खोलेर व्यवस्थित पाराले व्यापार गर्ने धोको छ । त्यो पूरा भएपछि उनी संगीतमा संघर्षरत युवालाई सहयोग गर्न चाहन्छन् ।

[email protected]

प्रकाशित : वैशाख ६, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?