१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हिमालमा नेपाली फिल्म

सीमित वृत्तचित्रबाहेक व्यावसायिक नेपाली चलचित्र सगरमाथा क्षेत्रमा पुगेकै छैनन् । नेपाली हिमाल आरोहीकै कथालाई लिएर फिल्म बनाउने हो भने हामीसँग प्रशस्त विषयवस्तु छन् ।
कुम्भराज राई

काठमाडौँ —  
हालै समुद्री सतहदेखि ४ हजार ८ सय मिटरको उचाइमा अवस्थित सोलुखुम्बुको गोक्योमा ‘ए मेरो हजुर ३’ को छायाँकन भयो  । अनमोल केसी र सुहाना थापा अभिनीत ‘जिन्दगी नै भन्दिन म’ गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएलगत्तै निरन्तर ट्रेन्डिङमा छ  ।

हिमालमा नेपाली फिल्म

यसमा धेरैजसो दृश्य गोक्यो र मनाङको तिलिचो आसपासको छ । केही दृश्य न्युयोर्कको ।


सगरमाथा (खुम्बु) क्षेत्रको गोक्योमा पुगेर व्यावसायिक नेपाली फिल्मले छायाँकन गरेको सम्भवतः यो पहिलो फिल्मको दृश्य हो । जहाँ विदेशी फिल्महरूले धेरैपल्ट छायाँकन गरिसकेका छन् । ए मेरो हजुर फिल्म निर्माता मनाङको तिलिचो पुग्ने पहिलो नेपाली फिल्मकर्मी आफैं भएको दाबी गर्छन्, जुन समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा छ ।


नेपाल हिमालयको देश हो । नेपाल अग्ला हिमालहरूको धनी देश हो । नेपालका हिमाली दृश्य कैद गरेर संसारका ठूला भनिएका मिडियाहरू नेसनल जिओग्राफी, एनिमल प्लानेट, डिस्कभरीलगायतले आफ्नो लोकप्रियता कमाउने गरेका छन् । नेपालका हिमालमा खिचिएका सयौं वृत्तचित्र विश्वमै प्रख्यात छन् । तर, सगरमाथाको देश नेपालमै हिमाललाई केन्द्रित गरेर कुनै व्यावसायिक फिल्म बनेका छैनन् ।


अहिले झन् प्रायः कलाकार र निर्देशकहरू विदेशी भूमिमा छायाँकन गर्न लालायित हुन थालेको ए मेरो हजुर ३ का निर्माता सुनीलकुमार थापाले बताए । ‘हामीले बनाएको प्रत्येक फिल्ममा नेपालका नयाँ गन्तव्य खोजेर छायाँकन गरिरहेका छौं,’ उनले भने, ‘हामीले खुम्बु क्षेत्रमा अर्को फिल्मको छायाँकन गर्ने योजना बनाइसकेका छौं ।’ आवश्यक सबै सामग्री जुटाउनसके युरोपेली स्तरकै फिल्मको दृश्यजस्तै खिच्न सकिने उनले बताए ।


वास्तविक घटनामा आधारित ‘एभरेस्ट’ जस्ता अंग्रेजी चलचित्र सगरमाथा क्षेत्रमा छायाँकन भएको थियो । सीमित वृत्तचित्रबाहेक व्यावसायिक नेपाली चलचित्र सगरमाथा क्षेत्रमा पुगेकै छैनन् । नेपाली हिमाल आरोहीकै कथालाई लिएर फिल्म बनाउने हो भने हामीसँग प्रशस्त विषयवस्तु छन् । चाहे त्यो आरोहणमै ज्यान गुमाएका बाबुछिरी शेर्पा हुन् या पासाङल्हामु शेर्पा ।


फिल्मको छायाँकनले त्यसको गुणस्तर मात्र वृद्धि गर्दैन । पर्यटन प्रवर्द्धनका लागि समेत फिल्म सुटिङ गतिलो माध्यम हो । यसका लागि हिमाली क्षेत्र उपयुक्त भएको गोक्योका पर्यटन तथा होटल व्यवसायी पासाङ छिरिङ शेर्पाले बताए । युरोपेली सहरमा छायाँकन गर्दा लाग्ने खर्चले नेपालका हिमाली भेगमा दृश्य कैद गर्न सकिन्छ, जसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्छ । प्रकृतिमा हिमालको सुन्दरतालाई अत्यन्तै शक्तिशाली मानिन्छ । दुई सय वर्षको गोर्खा भर्तीको इतिहासमा ‘स्पेसल फोर्स’ को तालिम लिएका पहिलो नेपाली निर्मल पुर्जाले समेत आफ्नो अन्तर्वार्तामा आफूले हिमालमा पुगिसकेपछि अहिलेसम्म गरेको सबै काम केही हैनझैं भएको बताएका छन् ।


आकर्षक हिमाली क्षेत्रलाई वृत्तचित्रको माध्यमबाट प्रवर्द्धन गर्न ‘काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल’ (किम्फ) ले झन्डै दुई दशकयता काम गरिरहे पनि यो पर्याप्त होइन । हिमालमा फिल्म खिच्नका लागि नेपाली जनशक्ति पनि छन् । आइम्याक्स एभरेस्ट, नोभा फिल्मिङ, नेसनल जोग्राफीजस्ता दर्जनौं कम्पनीका लागि काम गरिसकेको अनुभवी नेपाली पनि छन् ।युरोपेली र हलिउडका फिल्म छायाँकनको जिम्मेवारी लिइसकेका दर्जनौं नेपाली कम्पनीहरू पनि छन् । उनीहरूसँग सहकार्य गरेर पनि काम गर्न सकिने सम्भावना उत्तिकै छ । हलिउड चलचित्र एभरेस्टमा अभिनय गरेका पेम्बा शेर्पा नेपालमा हिमालको कथालाई लिएर फिल्म बनाउन सकिने निकै सम्भावना भएको बताउँछन् । यसलार्ई फिल्म क्षेक्रमा सत्रिय मानिसले पहिल्याउनुपर्ने उनले बताए । पहिलोपटक गोक्यो पुगेका अनमोल केसीले सुटिङ स्थलमा स्थानीयसँग कुरा गर्दै प्रतिक्रिया दिएका थिए, ‘स्वर्ग खोज्न टाढा कतै जानुपर्दैन, त्यो नेपालमै छ ।’

[email protected]

प्रकाशित : वैशाख ६, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?