कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेतीका माछा

बझाङको चैनपुर पुग्नेहरूका लागि परिकारका रूपमा सेतीका माछा विशेष मानिन्छ । त्यहाँ खानेमात्रै होइन, कोसेलीका रूपमा माछाको सुकुटी बोक्नेहरू पनि धेरै छन् । यसबारे विद्या राई र वसन्तप्रताप सिंह लेख्छन् :

चिटिक्क परेको चैनपुर  । चारैतिर पहाडै पहाडले घेरिएको  ।

सेतीका माछा

सेती नदी र बाहुलीगाड खोलाको काख पाएको । बाह्रैमास कञ्चन अनि कलकल बगिरहने सेती नदीमा पाइने थरीथरीका माछा । स्थानीय मसला र रैथाने पकाउने शैली । माछाका अनेक परिकार । माछाको स्वादसँगै चैनपुर उपत्यकाको दृश्यपानमा रमाउनुको बेग्लै मजा ।


बझाङमा कामविशेष तथा घुमघामका सिलसिलामा आउने प्रायः ले सेतीका माछा नखाई फर्कंदैनन् । स्थानीय भनाइ नै छ, ‘सेतीका माछा नचाखी बझाङको स्वाद बुझिँदैन ।’ यहाँका माछाको विशेष प्रकारको स्वाद स्थानीयका लागि आगन्तुक लोभ्याउने माध्यम बनेको छ । रैथाने स्वाद भएकाले पनि बझाङीहरू नयाँ पाहुनालाई चखाएरै पठाउँछन् । एकपटक स्वाद लिइसकेकाहरू फेरि आउँदा परिकारमा माछा नै खोज्छन् । ‘छाकैपिच्छे मासु खानेहरू चैनपुर आएपछि सेतीका माछा नपाए अरू मासु खोज्दैनन्, बरु सब्जीमै चित्त बुझाउँछन्,’ माछाका लागि प्रख्यात तमैल बजारका साहुजी बालु गिरी भन्छन्, ‘बाहिरबाट आएकाहरूले सबभन्दा बढी खोज्ने माछाकै परिकार हुन् ।’


सेतीका माछा भनेपछि जोकोहीका मुख रसाउँछन् । चिसो पानीमा पाइने माछाका स्वाद र बनावट छुट्टै । देशैभर प्रख्यात छन् सेतीका माछा । यहाँ असला, चिँउ, गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (सहर) राडी, च्याउँटे, थाले, चिम्टीलगायत जातका माछा पाइन्छन् । असला र चिँउ जातका माछा अधिक मन पराइन्छन् । सट्टो (सहर) जातको माछा पनि ग्राहकका रोजाइमा पर्छ । यो जातको माछा तौलका हिसाबमा ठूलो मानिन्छ । सट्टो माछा खाँदा गर्मी र लामखुट्टेको टोकाइबाट हुने रोगहरू मलेरिया, औलो निको हुने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिन्छ ।


माछा पकाउने आफ्नै शैली छ यहाँ । पकाइएको माछा जिब्रोमा पर्दा सबैले आहा भन्छन् । फ्राई गरेर, तारेर, झोल हालेर माछा पकाइन्छ । तोरीको छोप र दही हालेर पकाएको झोल माछा सबैभन्दा स्वादिष्ट हुने गर्छ । स्वाद मात्रै होइन, यसबाट आउने बास्ना पनि लोभलाग्दो हुन्छ । आलो माछाभन्दा सुकुटी माछाको स्वाद र बास्ना तिख्खर हुन्छ । यसको ‘सुप’ स्वादिलो हुन्छ । जाडोका बेला सेतीका माछाको सुकुटीको झोलले चिसो भगाउन काम गर्छ । सदरमुकामसँग जोड्ने जयपृथ्वी मार्गको चैनपुरदेखि बागथलासम्मका सडक छेउका बजारमा माछाका परिकारको राम्रो व्यापार चल्छ । भूस्वर्गका नामले परिचित खप्तडको गेटवे तमैल बजारमा अरूभन्दा बढी माछाको खोजी हुन्छ । यहाँ सेतीबाट ल्याएका माछा हप्तौंसम्म जिउँदै राखेर बेच्ने पनि गरिएको छ । खप्तड जाँदै गरेका र फर्कंदै गरेकाहरू तमैल बजारमा माछा र रोटीको परिकार खान छुटाउँदैनन् ।


आगन्तुकहरू घर फर्कंदा सुकुटीको रुपमा माछा कोसेली लिएर फर्कन्छन् । सहरबजार तथा विदेश पठाउने गतिलो कोसेली पनि हो यो । आलो माछालाई हप्तौंसम्म आगोमा सेकाएर सुकुटी बनाइन्छ । आलो माछाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँदेखि ३ सय ५० सम्म छ । पकाएको माछा प्लेटको दुई सय रुपैयाँ पर्छ । सुकुटी माछा प्रतिकिलो २ हजार ५ सयदेखि ३ हजारसम्म पर्छ । जिल्लाबाहिर लैजानेले माछालाई महँगो मूल्य तिर्न तयार हुन्छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याई हुन्छ ।


पछिल्लो समय सेतीमा माछा कम हुँदै गएपछि माग धान्न भने हम्मे परेको छ । अव्यवस्थित रुपमा भइरहेका विकास निर्माण र मानवीय गतिविधिका कारण सेतीका माछा संकटमा परिरहेका छन् । करेन्ट लाएर, जैविक विष प्रयोग गरेर तथा साना आँखा भएका जालको प्रयोग बढ्दै गएका कारण माछाको संख्या घट्न थालेको स्थानीयको अनुभव छ । मछुवार (माछा मारेर आम्दानी गरिरहेका व्यक्ति) हरूकै अनुभवमा केही वर्ष पहिलासम्म प्रशस्त मात्रामा पाइने र स्वादका हिसाबले प्रख्यात असला र चिँउ माछाको संख्या अचेल घट्दै छन् । गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (सहर) राडी, च्याउँटे, थाले, चिम्टीलगायत जातका माछाहरू पनि कमै पाउन थालेका छन् । पाँचदेखि ६५ किलोसम्मको सट्टो माछा पाइन छाडेको छ । माछा कम पाउन थालेपछि मानिसहरू बगरमै हारालुछ गर्छन् ।


माछाको संख्या घट्न थालेपछि सेती किनारमा बसोबास गर्ने र माछा मारेरै जीविका गर्नेलाई समस्या हुन थालेको छ । मछुवार करन कामी भन्छन्, ‘पहिला माछा फालाफाल हुन्थे । किन्ने मान्छे हुन्थेनन्, अहिले किन्नेको हारालुछ छ तर पहिले जस्तो माछा पाइँदैनन् । नदी तथा खोलाहरूमा सिसा लगायतका फोहोर मिसाउने काम बढी भएका कारण पनि माछाको बासस्थान मासिँदै गएको र संख्या घटेको उनको अनुमान छ ।

प्रकाशित : वैशाख १३, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?