ट्याटु मोह

कान्तिपुर संवाददाता

हेर्दै सिरिङ्ग लाग्छ, सियोजस्तै वस्तुले खोपेर रंग भर्दै ट्याटु बनाइएको दृश्य  । यस्तै कला आफ्नो शरीरमा भर्नका लागि मरिहत्ते गर्ने धेरै छन्, जुन आइतबार सम्पन्न नवौं नेपाल ट्याटु सम्मेलनमा देखियो  ।

हेरिटेज गार्डेनमा भएको तीनदिने सम्मेलनमा रिस गोर्डोन (अस्ट्रेलिया), अलेजान्द्रो प्राडा (स्पेन), ओर्गे कालोडिमास (ग्रिस), डिलोन फोर्टे (अमेरिका), माइक अमानिता (रुस) लगायत चर्चित ट्याटु आर्टिस्टहरूले मानिसका शरीरमा कला भर्ने काम गरे । सम्मेलनकै लागि इटाली, अस्ट्रेलिया, इन्डोनेसिया, सर्विया, जर्मनी, स्विट्जरल्यान्ड, ब्राजिल, फ्रान्स, अस्ट्रिया, बेलायत, मंगोलिया, सिंगापुर र भारतबाट ट्याटु आर्टिस्टहरू आएका थिए । घरेलु आर्टिस्टहरू त थिए नै । उनीहरूको हातबाट हजारौं मानिसले आफ्नो शरीरलाई रंगाउने काम पनि गरे ।


तस्बिरहरू : इलिट जोशी

प्रकाशित : वैशाख २०, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

दर्शक पाउनै गाह्रो

सुशील पौडेल

 कुरा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हलमा लाग्नुभन्दा अघिको हो  । नेपाली फिल्मले दर्शक पाइरहेका थिएनन्  ।

वर्ष २०७५ लाई कतिले फिल्म क्षेत्रका लागि कालो वर्ष भन्न थालिसकेका थिए । केही भने किन फिल्म हेर्न दर्शक हलसम्म आइरहेका छैनन् भन्नेमा घोत्लिन थालेका मात्रै थिए । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ हेर्न हलमा दर्शक घुइँचो देखियो । त्यसपछि फेरि दर्शक खोज्ने अभियान थाती रह्यो ।


गत वर्षको चैतभित्र ११ फिल्म प्रदर्शनमा आए । हलिउडसँगको सहकार्यमा महँगो बजेटमा बनाइएको फिल्म ‘द म्यान फ्रम काठमान्डू’ देखि ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ एकै साता प्रदर्शनमा आए । विदेशी, स्वदेशी कलाकार रहेको पेमा ढुन्डुप निर्देशित ‘द म्यान फ्रम काठमान्डू’ झन्डै पाँच करोड रुपैयाँको बजेटमा निर्मित भनिएको थियो । क्यूएफएक्सकै नकिम उद्दिन निर्माता रहेको फिल्मले मल्टिप्लेक्समा पर्याप्त स्थान पायो । तर दर्शक हलसम्म आएनन् । न त बाँकी दुई फिल्ममा नै आए । दोस्रो साता पनि तीन फिल्म नै रिलिज भए, तँछाडमछाड गर्दै ‘कागजपत्र’, ‘प्रेमलीला’ र ‘ऐलान’ । व्यावसायिक अवस्था अघिल्लो साताजस्तै । ‘कागजपत्र’ ले थोरै मात्र दर्शक तान्न खोजेको जस्तो देखियो, बाँकी दुई फिल्म हलबाटै सफाचट । ज्योतिष विद्यामा राम्रै नाम कमाइरहेका हरिहर अधिकारी नै हिरो बनेको फिल्म ‘शुभलभ’ ले चाहिँ कसो पैसा नकमाउला त ? उनीसँग हात हेराउने वा उनको टीभी कार्यक्रम हेर्नेहरू मात्रै आइदिए भने पनि हलमा मान्छेको ओइरो लाग्नेछ भन्ने निर्माण पक्षको अनुमान थियो । हरिहरले पनि निकै मिहिनेत गरी ग्रह र नक्षत्रका आधारमा चैत १५ लाई शुभ दिन मानेका थिए, ‘शुभलभ’ का लागि । ज्योतिषी हरिहरले पनि हिरो हरिहरले सफलता पाउने अग्रिम ठोकुवा गरेका थिए । भनिन्छ, फिल्मको सफलता भगवान्ले पनि आकलन गर्न सक्दैनन् । आखिर हरिहर त ज्योतिषी न हुन्, उनको भविष्यवाणीलाई पनि हावा खुवाइदिए दर्शकले । ‘शुभलभ’ सँगै रिलिज भएको अर्को फिल्म ‘साइँली’ ले बरु इज्जत जोगाउने गरी दर्शक पायो ।


यसै पनि अघिल्ला फिल्म ‘रोज’, ‘होमवर्क’, ‘लिलिबिली’ बाट अभिनेता प्रदीप खड्कालाई असफलताको झट्का लागिरहेको थियो, उनको स्टारडममाथि प्रश्नचिह्न उठाइरहेका बेला आएको ‘लभ स्टेसन’ ले पनि धमाका दिन सकेन । विदेशी दुई फिल्मका दृश्य शृंखलाबद्ध उठाइएकाले पनि फिल्मलाई चोरीको आरोपले ठूलो धक्का लाग्यो । निर्देशक उज्ज्वल घिमिरेदेखि अभिनेता खड्का चोरीको पक्षमा वकालत गर्दै हिँडे । तर दर्शकले उनीहरूका कुरामा टेरपुच्छर लगाएनन् । दार्जिलिङमा राम्रै खर्च गरेर खिचिएको ‘लभ स्टेसन’ लाई लगत्तै आएका अनमोलको ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले पनि मल्टिप्लेक्समा माथि उठ्न दिएनन् ।


झन्डै सयको हाराहारीमा गत वर्ष नेपाली फिल्म आए । तर दसैंको छेकोमा रिलिज गरिएका ‘छक्कापञ्जा ३’ र ‘जय भोले’ ले बाहेक अन्य फिल्मले घरेलु बक्सअफिसबाटै मुनाफा गर्न पाएनन् । दाम नकमाए पनि एकाध फिल्मले नाम कमाएकैमा सन्तोष माने । स्वदेशी फिल्मप्रति दर्शक भड्किएको मुद्दाको वर्षैभरि फिल्मकर्मी, सञ्चारकर्मीमाझ बहस चलिरह्यो । फैसला हुनुअघि नै चैतको अन्तिम साता दुई फिल्म चलिदिएपछि बहस मत्थर भयो । फिल्मकर्मीको आत्मसमीक्षा रोकियो । नेपाली फिल्मले दर्शक नपाउनुका केही सम्भावित कारण :


कमजोर फिल्म
जति बहस र माथापच्ची गरे पनि दर्शक हलसम्म नआउनुको मुख्य कारण फिल्मले आकर्षित गर्न नसक्नु नै हो । दर्शकले टेलरबाटै फिल्म कस्तो बनेको होला भन्ने नाडी छामिसकेका हुन्छन् । टेलरमा कुनै मुद्दा भेटिएन वा नयाँ कथाको सुगन्ध भेटिएन भने दर्शकले त्यहींदेखि उक्त फिल्मलाई हेर्नुपर्ने सूचीबाट हटाइदिन्छ । कुनै बेला थियो, हिरो वा स्टारले फिल्मको कन्टेन्ट बिकाउँथे । जमाना फेरिएको छ । कन्टेन्टले हिरो जन्माइरहेको छ । कलाकार बिकाइरहेको छ । दर्शकहरू फिल्ममा नयाँ विषय, घटना, पात्र खोजिरहेका छन् । सँगसँगै त्यस्ता विषय, घटना वा पात्रलाई कत्तिको मिहिन ढंगले कतै नबहकिन पस्किइएको छ भन्ने अर्को चासोको विषय बन्न थालेको छ ।


बलिउडमा त अहिले जति नै भव्य सेटमा भव्य कलाकार राखेर भव्य बजेटमा बनाइएको फिल्म भए पनि स्क्रिप्लेमा चिप्लियो भने बक्सअफिस कलेक्सनमा पनि चिप्लिन थालेका छन् । नेपाली दर्शक पनि त्योभन्दा भिन्न छैनन् । पछिल्लो समय फिल्म चल्न कन्टेन्टभन्दा स्क्रिप्ले मजबुत हुनुपर्ने देखिएको छ । निर्माता, निर्देशकले स्टारका लागि मात्रै पैसोको खोलो बगाउने तर निर्देशन, स्क्रिप्लेदेखि अन्य प्राविधिक पक्षमा खर्च कटौती गर्दा पनि फिल्म निर्माणको सन्तुलन बिग्रन जान्छ । व्यस्त कलाकारको समय तालिकामा फिल्मको सुटिङ तय गरिँदा पनि प्रि–प्रोडक्सनका लागि जति समय चाहिने हो त्यो नपुग्दै हिरो छोपेर फिल्म खिच्न हतार हुन्छ ।


महँगा कलाकार, सस्तो काम
फिल्मको घोषणादेखि नै सुरु हुन्छ, फलानो हिरो, हिरोइनलाई महँगो पारिश्रमिक दिएको प्रचारबाजी । जबकि दर्शकलाई यस्ता प्रचारसँग सरोकार नै हुँदैन । हुन्छ त बरु कस्तो भूमिकाका लागि कुन कलाकारलाई छनोट गरिएको हो ? त्यस भूमिकाका लागि ऊ कत्तिको योग्य होला ? हिरो र हिरोइनको जोडी पर्दामा कस्तो देखिएला ? तर दर्शकको चासोतिर न निर्माता, निर्देशकको ध्यान गएको छ न त कलाकारको नै ।


निर्माता, निर्देशकलाई सामाजिक सञ्जालमा भाइरल भएकै कारण वा फ्यान फलोइङ धेरै देखेकै कारण तिनलाई लिँदा दर्शक पनि सोहोरिएर हलमा आउने ठूलो भ्रम छ । ज्योतिष विद्याका कारण बनेका हरिहरका फ्यान उनको फिल्म हेर्न पनि आउँछन् भन्ने सोच्नु गलत हो । के कारणले सर्वसाधारणले उक्त पात्रलाई पछ्याएका हुन् भन्ने हेक्का राख्नुपर्छ । नत्र तरकारीवालीका नाममा सामाजिक सञ्जालमा भाइरल भएकी कुसुम श्रेष्ठले खेलेको फिल्म पनि सफल हुनुपर्ने हो । फिल्म खेलेर तरकारीवालीको छवि पनि उनले मेटाइन् ।


अर्कोतिर, फिल्मकै माध्यमले स्टार बनेका कलाकार पारिश्रमिकचाहिँ कसेर लिन्छन् तर काम भने फितलो गर्छन् । यसले पनि फिल्म बजारलाई खुम्चाइरहेको छ । महँगा कलाकारहरू बढी पैसामुखी हुँदै जाँदा कामप्रतिको सम्मान र मिहिनेत हराउँदै गएको छ । आफू कुन चरित्र र भूमिका निर्वाह गर्दैछु भन्ने कलाकारले न हेक्का राख्छन्, न त मिहिनेत नै गरेका हुन्छन् । बरु फिल्म सुटिङमा जान दुई दिन बाँकी छ भने त्यस अवधिमा दुईवटा म्युजिक भिडियो खेल्न भ्याइसक्छन् । केही भएन भने टिकटक भिडियो नै बनाएर होस् वा फेसबुक लाइभमा आएर आफूलाई सस्तो बनाइरहेका हुन्छन् ।


प्राविधिक कमजोरी
यो प्रविधिको जमाना हो । प्रविधिले मान्छेलाई निकै एड्भान्स बनाइदिएको छ । युट्युबमै टूके फर्म्याटमा फिल्म हेर्न पाइने भइसक्यो । व्यवस्थित होम थिएटरको प्रविधि आइसक्यो । तर हाम्रा हलको अवस्था भने अझै गएगुज्रेको छ । मोफसलका हलको के कुरा ? राजधानीकै मल्टिप्लेक्स भनिएका गोपीकृष्ण, अष्टनारायण वा गुणको प्राविधिक गुणस्तर विरक्तलाग्दो छ । फिल्म मात्रै हेर्ने दर्शकलाई त जसोतसो यस्ता हलले काम दिइरहेकै होला तर फिल्मभित्र गहिरिएर हेर्न चाहनेहरू दोहोर्‍याएर जाने अवस्था छैन । फिल्मकै प्राविधिक पक्ष पनि दयनीय छ । मोबाइलमै विदेशभरका फिल्म हेर्न पाइने अहिलेको अवस्थामा नेपाली फिल्मका लागि प्रविधि ठूलो चुनौती पनि हो । फिल्म निर्माणमा प्राविधिक पक्ष कमजोर हुंदा पनि नेपाली फिल्मले उल्लेख्य दर्शक पाउन सकेका छैनन् । केही अपवादमा कन्टेन्ट वा स्क्रिप्लेका कारण मात्रै फिल्म सफल भएका हुन् ।

sushilpaudel2@gmail.com

प्रकाशित : वैशाख २०, २०७६ ११:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्