विज्ञान बुझाउँदै विद्यार्थी

“जब हामीले विज्ञानलाई बुझाउन कलाको सहारा लियौं । सामान्य मान्छेले पनि छर्लंग हुने गरी गहन कुराहरू बुझ्न थाले ।”
वसन्तप्रताप सिंह

बझाङ–जुम्ला रारालिङकी शान्ति रावत मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा विज्ञान संकायमा स्नातक गरिरहेकी छन्  । उनी आफूले पढेको विज्ञानको व्यावहारिक ज्ञान सबैलाई बाँड्न चाहन्थिन्, जुन सहज थिएन  ।

विज्ञान बुझाउँदै विद्यार्थी

विज्ञान नपढेका मानिसका लागि यस विषयका सूत्रहरू बुझ्न गाह्रो हुन्छ । उन्नाइस वर्षीया शान्तिको रुचि वातावरण क्षेत्रमा थियो । मानवीय गतिविधिका कारण वातावरणमा पुर्‍याएको क्षति देखेर उनी चिन्तित हुन्थिन् । अव्यवस्थित विकासले कसरी हाम्रो धर्ती कुरूप हुँदै छ, विकास कसरी विनाशको कारक हुँदै छ भन्ने कुरा उनी सम्बन्धित निकाय र सर्वसाधारणमा छर्लंग पार्न चाहन्थिन् ।


मध्यपश्चिम विश्वविद्यालयले एकीकृत जलस्रोत व्यवस्थापन (आईडब्लूआरएम) सम्बन्धी अतिरिक्त कक्षा सञ्चालनमा ल्यायो, जहाँ यस विश्वविद्यालयमा समाजशास्त्र, ग्रामीणशास्त्र, सामाजिक कार्यलगायत विषय पढिरहेका विद्यार्थीले पनि विज्ञान बुझ्ने मौका पाए । उनीहरूले सर्वसाधारणलाई विज्ञानका जटिल कुरा बुझाउने सरल तरिका पनि सिके । ‘विज्ञान भन्ने बित्तिकै यो जटिल विषय हो भन्ने धारणा छ । मलाई पनि त्यस्तै लाग्थ्यो,’ शान्तिले भनिन्, ‘जब हामीले यसलाई बुझाउन कलाको सहारा लियौं, सामान्य मान्छेले पनि छर्लंग हुने गरी गहन कुराहरू बुझ्न थाले ।’


चैतको तेस्रो साता दैलेखको राकमस्थित कर्णाली किनारमा भएको तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलनमा उनीहरूले आफूले सिकेका विज्ञानका ज्ञान सर्वसाधारणलाई सिकाउने पहिलो प्रयास गरे । आईडब्लूआरएम अध्ययन गरेका शान्तिसहित मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विभिन्न विषय पढिरहेका विद्यार्थीसँगको सहकार्यमा कार्यक्रम स्थल रहेको आठबिसकोट नगरपालिकाको जलाधारको नमुना तयार गरे ।


गुगल अर्थको सहयोग लिएर उनीहरूले जुक्ताको सोल, काठको धूलो र टुत्रा, माटो, डोरी, धागो, विभिन्न किसिमका रंग, काठका टुक्रा आदिलाई फेबिकोल र गमले जोडेर सानो प्लाइउडको टुक्रामा सिंगो नगरपालिकाको दुरुस्त चित्र उतारे । यो कला उनीहरूले राकमका स्थानीय युवालाई पनि सिकाए । स्थानीय विमल बोहराले भने, ‘म यहीं बस्ने मान्छे भएर पनि यहाँका पानीका स्रोत कसरी सकिँदै छन् भन्ने जानेको थिएन । हाम्रो जीवनको आधार पानीमाथि हामीले कसरी अन्याय गरिरहेका छौं भन्ने कुरा सरल तरिकाले सिक्ने र बुझ्न पाएँ ।’


नदी सम्मेलनमा देशी/विदेशी वैज्ञानिकहरूले कर्णालीको जलाधार र जलीय जैविक विविधतामाथिका चुनौतीहरूका बारेमा बहस गर्दा उनीहरूले कार्यक्रम स्थलबाहिर त्यही नक्साचित्र देखाएर सर्वसाधारण र जनप्रतिनिधिहरूलाई कर्णाली नदीमा विकास र मानवीय गतिविधिको असरबारे बुझाएका थिए । मानिसले जथाभावी फाल्ने फोहोर कसरी नदीमा पुगेको छ ? विकास निर्माणले सुरु गरेको पहिरोका कारण जंगलको विनाश र पानीका स्रोतहरूमाथि कसरी समस्याहरू पैदा भइरहेको छ भन्ने कुरा विद्यार्थीले देखाएका थिए ।


विद्यार्थीको विज्ञान बुझाउने कलाको प्रशंसा गर्दै आठबिसकोट नगरपालिकाका मेयर खड्गराज उपाध्यायले भने, ‘विज्ञानका झर्को लाग्ने शब्दहरूको प्रयोग नै नगरी कुरो बुझाउने यो कला साँच्चै प्रशंसायोग्य छ । यसले विज्ञान बुझाउने मात्र हैन, अनुभूतसमेत गराएको छ ।’ विकासे कामका कारण कसरी वातावरण बिग्रिरहेको छ भन्ने कुरा देखेर चिन्ता लागेको मेयर उपाध्यायले बताए ।


‘यो एउटा उदाहरण मात्र हो । विज्ञानका अरु धेरै कुराहरू सामान्य मानिसहरूलाई बुझाउन सक्ने थुप्रै तरिकाहरू हामीले थाहा पाएका छौ,’ मध्यपश्चिम विश्व विद्यालयकै अर्की छात्रा निमा थापाले भनिन् ‘कलाको सहायता लिएर, विभिन्न रोगको संक्रमण फैलिने प्रक्रिया, वातावरण, जलवायु परिर्वतन जस्ता जटिल भन्दा जटिल विषयहरू सजिलै बुझाउन सक्ने तरिकाहरूको बारेमा हामी खोजी गरिरहेका छौ ।’


मध्यपश्चिम विश्वविद्यालय अर्न्तगतको विज्ञान तथा प्रविधी केन्द्रिय क्याम्पसका उपप्राध्यापक शिवराज घिमिरेले विषेशगरी पानी र जलवायुको प्रयोग र यसको संरक्षणसम्बन्धी वैज्ञानिक र व्यवहारिक ज्ञान सिकाउनको लागि कार्यक्रम सञ्चालन गरिएको बताए । ‘यसले जलश्रोतमाथि बढ्दो चुनौतीलाई न्युनीकरण गर्न सहयोग गर्नेछ,’ उनले भने, यसमा हामी विज्ञान मात्र पढाउदैनौ । नागरिक वैज्ञानिकको अवधारणाका आधारमा विज्ञानका विषयबस्तुलाई कसरी सरलिकृत गर्न पनि सिकाऊछौ ।’

प्रकाशित : वैशाख २०, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?