२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हिट गीतको सहारा

अहिले पुराना फिल्मका हिट गीतलाई रिमेक/रिमिक्स गरेर नयाँ फिल्ममा राख्न प्रतिस्पर्धा चलेको छ । पहिला ती गीतले जति चर्चा कमाएका थिए, रिमेक गरिएपछि त्यसअनुरूपको चर्चा भने खासै कमाऊन सकेनन् ।
विमल खतिवडा

 
हिट गीतलाई रिमेक गर्ने लहड चलेकै बेला ‘ज्वाला’ फिल्मको ‘आज हाम्रो भेट भाको दिन...’ गीत पनि अछुतो रहेन  । यो गीतलाई रिमेक गरेर ‘द ब्रेक अप’ फिल्ममा राखियो  ।

हिट गीतको सहारा

‘ज्वाला’ मा सरोज खनाल र कृष्टि मैनालीले अतिथि कलाकारका रुपमा यो गीतमा नृत्य गरेका थिए ।


‘द ब्रेक अप’ मा भने नायक आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ र पुरानै अनुहार सरोज पनि दोहोरिएका छन् । बुद्धवीर लामाको रचना रहेको यो गीत पहिला आशा भोस्ले र उदितनारायण झाले गाएका थिए । अहिले दोस्रो पुस्ताका गायक/गायिका विराज गौतम र मेलिना राईले स्वर दिएका छन् । जति फिल्ममा रिमिक्स गरेर गीत दोहोर्‍याइएको छ, अधिकांशमा मेलिनाकै स्वर छ ।


गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको ‘कुसुमे रुमाल’ कुनै बेलाको हिट फिल्म हो । अहिले पनि यो फिल्मको टाइटल सङ ‘कुसुमे रुमाल...’ जनजिब्रोमा झुन्डिन सफल छ । पहिलो फिल्ममा उदितनारायण र दीपा झाले गाएका थिए । पछि बनेको ‘कुसुमे रुमाल २’ मा भने दोस्रो पुस्ता उदित र दीपाका छोरा आदित्यले गाउने अवसर पाए । उनलाई स्वरमा गायिका मोनाली ठाकुरले साथ दिएकी छन् । अभिनयमा पनि दोस्रो पुस्ताकै कलाकार नीरज बराल, रुवि भट्टराईलगायतले अवसर पाए । अर्को चर्चित गीत हो– ‘देउता’ फिल्मको ‘पिरतीको मीठो तिर्सना... ।’ यो गीतमा राजेश हमाल, सिर्जना बस्नेतको नृत्य देख्न पाइन्छ । गीतमा पहिलो स्वर इन्द्रजित मिजार र भारती घिमिरेको छ ।


अहिले यो गीतलाई रिमेक गरेर ‘वीर विक्रम २’ मा समावेश गरिएको छ । गीतमा अहिले तारा प्रकाश लिम्बू र मेलिना राईको स्वर छ । गीतमा नायक पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन देखिएका छन् । मिलन चाम्सले निर्माण गरेको फिल्मको यो गीतले अहिले राम्रै चर्चा बटुलिरहेको छ ।


अहिले युट्युबले गर्दा दर्शकले गीतबारे धेरै थाहा पाउने अवसर पाएको वर्षाले सुनाइन् । रुचाइएकी गायिका मेलिना राईलाई आफूले गाएको फिल्मको गीतमध्ये मन परेको गीत पनि यही रहेको सुनाउँछिन् । ‘यो उबेला चर्चित गायक/गायिकाले गाउनुभएको गीत हो, सुपरहिट गीत हाम्रो जेनेरेसनमा त्यसमा पनि मैले भोकल रि गर्न पाउँदा एकदमै खुसी छु,’ उनी भन्छिन्, ‘पहिलाको गीत भनेको वल्ड इज गोल्ड हो, अहिलेसम्म सबैभन्दा बढी चित्त बुझेको गीत यही हो, राम्रो प्रतिक्रिया पाइरहेको छु ।’


‘आफ्नो मान्छे’ फिल्मको ‘चट्ट रुमाल...’ गीत अहिले ‘यात्रा’ फिल्ममा दोहोरिएको छ । पहिला यो गीतले जति चर्चा पाएको थियो । ‘यात्रा’ सम्म आइपुग्दा सोचेअनुरूपको चर्चा कमाउन सकेन । २०५५ सालमा रेकर्ड भएको यो गीतमा पहिला शम्भुजित बाँस्कोटा र साधना सरगमको स्वर थियो । अहिले मेलिना र धर्मेन्द्र सेवानको रहेको छ । ‘आफ्नो मान्छे’ मा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको अभिनय रहेको थियो भने ‘यात्रा’ मा सलिनमान बानियाँ, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, जहान्वी बस्नेतलगायतको अभिनय देख्न पाइन्छ ।


‘अहिले रिमिक्सको ट्रेन्ड चलेको छ, त्योभन्दा पनि लोकगीत बनाउन धेरै घुमियो, चित्तबुझ्दो भएन,’ फिल्मका निर्माता केशव भट्टराई भन्छन्, ‘आफ्नै प्रोडक्टलाई रिमेक गरेर हेरौं न भन्दा यसलाई रिमेक गरेको हो, जसमा पुराना बाजाहरूकै धुन, संगीत, शब्द नबिगारीकन अहिलेको मोर्डन बाजालाई त्यही धुनमा राखेर गीत बनाएका छौं ।’ जुन अपेक्षा गरेर गीत फिल्ममा राखिएको थियो । त्यो अपेक्षाअनुसार गीत नमिलेको उनको तर्क छ ।


‘सम्झना’ फिल्मको ‘उकालीमा...’ भन्ने गीतको यही शब्द ‘कृ’ फिल्ममा पनि दोहोर्‍याइएको छ । शम्भु प्रधानले निर्माण गरेको सम्झनामा भुवन केसी र तृप्ति नाडकारले अभिनय गरेका छन् । ‘कृ’ मा भने दोस्रो पुस्ता अर्थात् अनमोल केसी र अदीति बुढाथोकीले स्क्रिन सेयर गरेका छन् । गायक युवराज चौलागाईंले पनि ‘रहर’ फिल्मको चर्चित गीत ‘टुगुनाको धुन...’ लाई रिमिक्स गर्दै गाएका छन् । जुन गीतबाट उनले राम्रो प्रतिक्रिया पाए । पुरानो हिट फिल्मका हिट गीत दोहोर्‍याउँदा दर्शकले हेर्ने भन्दै फिल्म निर्माणकर्ता पुराना गीतलाई रिमिक्स दोहोर्‍याउन सक्रिय छन् ।

[email protected]

प्रकाशित : वैशाख २७, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?