१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अफ्रिकाका लागि बोल्दै सान्ताना

हिमेश

 
जति–जति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल लगाउने कुरा गर्छन्, सान्ताना त्यसमा त्यसै पनि जोडिएर आउँछन्  । भनिरहनु पर्दैन, सान्ताना ट्रम्पका सबैभन्दा ठूला आलोचकमध्ये एक हुन्  ।

अफ्रिकाका लागि बोल्दै सान्ताना

कार्लोस सान्तानाको गितारबाट निस्केको धुनमा आफूलाई खुसी नपाउने विरलै होलान्, त्यस्तो बेजोड प्रभाव छ, उनको । पश्चिमेली संगीतका महान् गितारिस्टहरुको नाम लिँदा उनी कहिल्यै छुट्ने छैनन् । हाम्रोतिर पनि उनी उत्तिकै लोकप्रिय छन्, कम्तीमा लगभग सबैले कुनै न कुनै बेला ‘ब्ल्याय्क म्याजिक वुमन’ त सुनेकै होला । सन् १९७० को यो गीत त्यति बेला जति रूचाइएको थियो, अहिले पनि यसलाई मन पराउनेको संख्या कम छैन ।


यसमा स्वर दिने गायक हुन्, ग्रेग रोली । यो गीतको प्रसङ्ग आउँदा उनलाई सम्झने कम होलान्, तर सबैलाई थाहा हुन्छ, यो सान्ताना ब्यान्डको गीत हो अनि यो ब्यान्डका फ्रन्टम्यान हुन्, तिनै कार्लोस सान्ताना । सान्तानाले आफ्नै नाममा ब्यान्ड बनाए, सन् १९६६ तिर र यो अझै उक्तिकै सत्रिय छ । रमाइलो के भने उनी आफ्नो ब्यान्डका लागि गायक एकपछि अर्को गरेर फेरिरहन्छन् । अझ भनौं, एल्बमपिच्छे उनको गायक पनि फरक हुन सक्छ ।


तर ब्यान्डमा उनको उपस्थिति र गितारको धुनको मादकता पनि उही हो । केही दिनयता उनी फेरि चर्चामा छन् र यसको दुई कारण छ । पहिलो कारण, जति जति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल लगाउने कुरा गर्छन्, सान्ताना त्यसमा त्यसै पनि जोडिएर आउँछन् । भनिरहनु पर्दैन, सान्ताना ट्रम्पका सबैभन्दा ठूला आलोचकमध्ये एक हुन् । ट्रम्पलाई देख्नै नसक्नेमा एक हुन्, सान्ताना ।
र, यसको कारण पनि छ, उनी आफै मेक्सिकोका हुन्, अमेरिकामा बस्छन्, अमेरिकी पनि भइसकेछ, धेरै अगाडि नै । सान्ताना अमेरिकाले बनाउने भनेको त्यो पर्खालको घोर विरोधी हुन् । अमेरिकाले सन् साठीतिरै यस्तै पर्खाल बनाएको भए, के सान्ताना अमेरिका पुग्न थिए त ? अनि पुगेको हुने थिएन भने विश्व रक संगीतमा ल्याटिन ज्याजको प्रभाव कसरी पर्न सक्थ्यो र ? उनी मेक्सिकोबाट अमेरिका नपुगेको भए, विश्व रक संगीत यति मीठो हुने थिएन् कि ?


उनको चर्चाको दोस्रो कारण भने सुखद छ र केही दिनमै उनको नयाँ एल्बम आउँदैछ र त्यसको शीर्षक रहेको छ, ‘अफ्रिका स्पिक्स’ । अर्थात भनौं, यसपल्ट सान्तानाले अफ्रिकाका लागि बोल्न लागेका छन् । जुन ७ मा रिलिज हुँदैछ, यो एल्बम । यसका केही प्रमुख गीत भने अहिले नै सुन्न सकिन्छ र यी यु ट्युबमै उपलब्ध छन् । जस्तो, ‘ब्रेकिङ डाउन द डोर’ । सान्तानाकै भाषामा यसमा अफ्रिकी संगीतको शब्द र संगीत हुनेछ, यसले अफ्रिकाको भाषा बोल्नेछ ।


यो एल्बमका लागि सान्तानाको स्वरको जिम्मा दिएका छन्, बुइकालाई । बुइका तिनै गायक हुन्, जले तीन पल्ट ल्याटिन ग्रायमी अवार्ड जितिसके र उनी हुन्, स्पेनको मार्लोकाबाट । सान्ताना खुबै व्यस्त भइरहनुपर्ने संगीतकर्मी पनि हुन् । त्यसैले त सन् २०१९ मै आउन लागेको उनको यो दोस्रो एल्बम भन्दा हुन् । जनवरीतिर उनले ‘इनसर्च अफ मोनालिसा’ निकालेका थिए । पेरिमा सान्तानाले यसो उसो के घुम्न पाएका थिए, एल्बम तयार भइहाल्यो ।


अहिलेको ‘अफ्रिकी स्पिक्स’ भने सन् २०१७ यताको फुल–एल्बम हो । यस एल्बमकै प्रचारका लागि सान्ताना चाँडै वर्ल्ड टुरमा पनि निस्कन लागेका छन् । अहिले तत्काल सान्तानाको बाक्लो चर्चा भएको एउटा अलगै कारण ‘उडस्टक’ ले पनि हो । उडस्टक संगीत महोत्सव भएको पनि अब ५० वर्ष पुगेको छ । यो महोत्सवले पूरा पश्चिमेली संगीतलाई नै सधैंका लागि परिवर्तन गरेको मानिन्छ र त्यसकै एक सदस्य थिए,
सान्ताना पनि । उनी आफ्नो नयाँ एल्बमका गीत पनि यही अवसरमा सबैसामु पस्कन चाहन्छन् ।

twitter : @himeshratna

प्रकाशित : वैशाख २७, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?