कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काठमाडौंमा “काउमान्डु”

विमल खतिवडा

 
सुमन पाण्डेसहित ५ जनाको समूह हरेक बिहान दूध बोकेर घरघर पुर्‍याउन जान्छन्  । दूध पुर्‍याउन हिँडेका उनीहरूको भेट फेरि अर्को दिन नभई हुन्न  ।

काठमाडौंमा “काउमान्डु”

उनीहरू सबैको दिउँसो गर्ने काम फरक–फरक छ । काभ्रे तेमाल गाउँपालिका ७ चापापोखरीका ३३ वर्षीय पाण्डेले फेसबुकमा ‘काउमान्डु’ नामक फेसबुक पेज खोलेर यो काम सुरु गरेका हुन् । अहिले उनीहरू यसैबाट सम्पर्क झएका व्यक्तिलाई दैनिक १ सय ५० लिटर दूध बित्री गर्छन् । ‘दूध राम्रो छ भन्दै फेसबुक पेजमै उपभोक्ताले प्रतिक्रिया दिनु हुन्छ,’ सुमन भन्छन्, ‘नराम्रो हुँदा र ढिलो दूध आए पनि प्रतिक्रिया दिन भुल्नु हुन्न, उहाँहरूले दिएको सुझावबाट हामीले कमजोरी सुधार गर्दै अघि बढ्ने गरेका छौं ।’


होटल म्यानेजमेन्टमा मास्टर्स गर्न बेलायत पुगेका सुमन बिहान यसैगरी दूधसँग रमाउँछन् । र, दिउँसो बानेश्वरस्थित कन्सल्टेन्सीमा व्यस्त बन्छन् । बेलायतबाट फर्किएलगत्तै उनले द्वारिकाज होटलमा सुपरभाइजरको पदमा काम पनि गरे । त्यही बेला काँडाघारीमा गाई फार्म बिक्रीमा रहेको थाहा पाएपछि उनले आफ्नो रुचिलाई निरन्तरता दिने सोच बनाए । ‘सुरुमा सबैले विदेशमा पढेर आएको मान्छे गाई गोठालो बन्यो भन्दै उडाए,’ उनी भन्छन्, ‘अहिले काम राम्रो हुँदै गएपछि पहिला गोठालो भन्नेहरू मेहनती भन्न थालेका छन् ।’


उनले केही वर्षअघि १५ लाख लगानीमा फार्म किने । त्यो बेला १० वटा गाई थिए । अहिले १६ वटा छन् । दुहुना ११ वटा छन् । ०७२ सालमा उनी एक्लैले फार्म सुरु गरे । व्यस्तताले गर्दा द्वारिकाको काम छाडे । फार्ममै व्यस्त बने । बिहान ५ बजेदेखि ९ बजेसम्म उनी फार्ममै व्यस्त हुन्छन् । मासिक १५ हजार भाडा तिरेर ८ रोपनी जग्गा भाडामा लिएका छन् । फार्ममा अर्ग्यानिक तरकारी पनि लगाएका छन् । दूधको माग बढेपछि एक्लैले सबैको घरघरमा दूध पुर्‍याउन सकेनन् । ४ महिनाअघि नयाँ टिम बनाए ।


सबैले दूध वितरण गर्ने रुट बनाएर टिममा काम सुरु गरे । साढे ८ बजेभित्र सबैको घरमा दूध पुगिसक्छ । दूध लिटरको १ सय रुपैयाँमा बिक्री गर्छन् । थोरैमा आधा लिटर र बढीमा ६ लिटरसम्म एउटै घरमा खपत हुन्छ । मासिक करिब साढे ४ लाखको दूध बिक्री हुन्छ । प्लास्टिकको पोकोमा काउमान्डु लेखेको स्टिकर टाँसेर मात्र उपभोक्ताको घरसम्म दूध पुर्‍याउँछन् । गोठमा होलिस्टन, जर्सी र स्थानीय जातका गाई छन् । ४ जनाले गोठमा रोजगारी पाएका छन् । दूधको आम्दानीले डेलिभर गर्न ३ वटा बाइक किनेका छन् । बाइकमा दूध डेलिभरी गर्दा लाग्ने पेट्रोल खर्च कम्पनीले नै बेहोर्छ ।


‘सुरुमा १० हजार तलब दिएर ४ घण्टाका लागि दूध डेलिभरी गर्ने मान्छे खोज्दा कोही पाइएनन्, फुड डेलिभरी गर्न तयार भएकाहरू दूध बोक्न तयार भएनन्,’ उनी भन्छन्, ‘तर अहिले समस्या छैन, सबै टिम मिलेर काम गरिरहेका छौं ।’ अधिकांशले बिहानको समय दूध डेलिभरीमा खर्चिए पनि दिउँसो आआफ्नो व्यापार व्यवसायमा व्यस्त हुन्छन् । सुमनले मध्य बानेश्वरमा कन्सल्टेन्सी खोलेका छन् ।
उनको दिउँसोको समय यतै बित्छ । त्यस्तै आफैं पालेका गाईबाट घिऊ, आइसक्रिम बनाएर बित्री गर्न बानेश्वरमा डेरी सुरु गरेका छन् । यहाँ विजय मैनाली र कुमार पाण्डे खटिएका छन् । दुवैजना तेमालकै हुन् । दुवैले स्नातक तहसम्मको पढाइ सके । ‘दिउँसो गोश्वारा हुलाक सुन्धारामा कम्प्युटर अपरेटरका रूपमा काम गर्छु,’ तेमाल ८ का २४ वर्षीया रवीन्द्र थपलियाले भने, ‘बिहानको समय दूध डेलिभर गर्न सदुपयोग गर्दै आएको छु ।’ कोटेश्वर बहुमुखी क्याम्पसमा ब्याचलर तेस्रो वर्षमा अध्ययनरत छन् उनी ।


टिममा तेमालकै हरिशरण पाण्डे, दुर्गा पाण्डे, साँगाका सुरेन्द्र राउत र जडीबुटीका सुवास बुढाथोकी छन् । सुरेन्द्र साँगाबाटै बिहान दूध डेलिभरका लागि आइपुग्छन् । भक्तपुर खण्डमा माग भए पनि टिमले वितरण गर्न सकेको छैन । काठमाडौंको धेरै ठाउँमा ‘काउमान्डु’ को दूध पुग्छ । वितरण पेप्सीकोलादेखि चाबहिल, नक्साल, कालीमाटी, सानोभर्‍याङ, कलंकीसम्म पुग्ने गरेको छ । अहिले २ सय जनाले नियमित दूध लिने गरेका छन् । ‘माग धेरै छ, दूध कम छ,’ सुमन भन्छन्, ‘त्यसैले फार्मलाई अझै व्यवस्थित गरेर गाईको संख्या ५० वटा पुर्‍याउने लक्ष्य छ ।’


उनले यो वर्ष गाईको संख्या बढाएसँगै ५ सय लिटर दूध उत्पादन गरेर बिक्री गर्ने तयारीमा छन् । मासिक रूपमा उपभोक्ताबाट बिल दिएर दूधको पैसा लिने गरेका छन् । एपमार्फत नै दूधको पैसा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने योजना उनको छ । त्यति मात्र होइन, दूध अर्डरका लागि छुट्टै एप बनाउने सोचमा उनी छन् । गाईको मल बिक्रीबाट समेत आम्दानी गर्न सकिने गरी काम गरिरहेको उनले बताए ।
‘पहिला गोठालो भन्दा दुःख लागे पनि अहिले गर्व महसुस हुन्छ,’ उनी भन्छन्, ‘धेरै उत्पादन गरेर सबैलाई बिनामिसावटको शुद्ध दूध खुवाउन मन छ ।’

[email protected]

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?