यस्तो कहिल्यै भएको थिएन

च्याम्पियन्स लिगको आधुनिक सिजनको २७ औं र समग्रमा ६४ औं फाइनल जुन १ मा मड्रिडको वान्डा मेट्रोपोलिटानो रंगशालामा हुनेछ । युरोपा लिगको आधुनिक सिजनको १० औं र समग्रमा ४८ औं फाइनल अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा मे २९ मा हुनेछ ।
कुशल तिमल्सिना

 यस सिजन युरोपका दुई ठूला फुटबल प्रतियोगितामा अविश्वसनीय र सनसनी नतिजा निस्किए  । परिणामतः युरोपमा इंग्लिस फुटबलको प्रभुत्व कायम गरी इंग्ल्यान्डका चार क्लबले दुई युरोपेली प्रतियोगिताको फाइनलमा पुगेर कीर्तिमान कायम गरे  ।

फुटबल पण्डितहरूले यसलाई युरोपमा इंग्लिस क्लबको वर्चस्वका रूपमा परिभाषित गर्न थालेका छन् ।सन् १९५५/५६ मा युरोपियन कपको नामबाट सुरु भएको च्याम्पियन्स लिगले ६३ संस्करण पूरा गरेको छ । १५ सिजनपछि यूईएफए कपको नामबाट युरोपा लिगको अवधारणा सुरु गरियो । पहिलोपल्ट च्याम्पियन्स लिगमा लिभरपुल र टोटनह्याम तथा युरोपा लिगमा आर्सनल र चेल्सी गरी फाइनलम इंग्लिस क्लबमात्र देखिने भए ।


त्यतिमात्र होइन यूईएफए सुपर कपमा पनि इंग्लिस टोलीमात्रै हुने निश्चित भइसक्यो । जुन खेल अगस्टमा टर्कीको इस्तानबुलमा हुनेछ । सन् १९७२ को यूईएफए कप र सन् २००८ को च्याम्पियन्स लिगको फाइनलमा दुवै इंग्लिस टोली आमनेसामने भएका थिए ।च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुल र टोटनह्याम दुवैले अविश्वसनीय नतिजा निकाले । पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले घरेलु मैदानमा शानदार पुनरागमन गरी ४–० ले नतिजा उल्टायो । त्यसको अर्को दिन दोस्रो सेमिफाइनलमा टोटनह्यामले नेदरल्यान्ड्सको आयाक्सलाई उसैको मैदानमा ३–२ गोलको हार चखायो । पहिलो लेगमा टोटनह्याम घरेलु मैदानमा १–० ले हारेको थियो ।


युरोपा लिग सेमिफाइनल दोस्रो लेगमा आर्सनलले स्पेनिस टोली भ्यालेन्सियालाई उसकै मैदानम ४–२ ले हराउने क्रममा उसका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङले ह्याट्रिक पूरा गरे । इमिरेट्स रंगशालामा भएको पहिलो लेगमा पनि आर्सनल ३–१ ले विजयी भएको थियो । चेल्सीले जर्मन टोली फ्र्यांकफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । उसले दुवै लिगमा १–१ गोलको बराबरी खेलेको हो । च्याम्पियन्स लिगको आधुनिक सिजनको २७ औं र समग्रमा ६४ औं फाइनल जुन १ मा मड्रिडको वान्डा मेट्रोपोलिटानो रंगशालामा हुनेछ । युरोपा लिगको आधुनिक सिजनको १० औं र समग्रमा ४८ औं फाइनल अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा मे २९ मा हुनेछ ।


पछिल्ला केही सिजन युरोपियन प्रतियोगिताको फाइनलमा स्पेनिस टिमको वर्चस्व थियो । सन् २०१३/१४ र २०१५/१६ को सिजनमा दुई प्रतियोगिताको फाइनलमा तीन स्पेनिस टिम पुगेका थिए । सन् १९९० को दशकमा इटालियन टोलीहरूले पनि यस्तै सफलताको स्वाद लिए । सन् १९८० को सिजनमा जर्मनीका तीन क्लबले दुई प्रतियोगिताको फाइनल खेलेका थिए ।यस सिजनको फाइनलिस्ट क्लबसमेत जोड्दा युरोपा लिग स्थापना भएपछि युरोपेली प्रतियोगिताको फाइनलमा इंग्लिस टोलीले ३७ पल्ट प्रतिस्पर्धा गरेका छन् । यो संख्या स्पेन र इटलीको भन्दा एक बढी हो । फ्र्यांकफर्टलाई पराजित गरी युरो लिगको फाइनलमा पुगेपछि चेल्सीका प्रशिक्षक माउरिसियो साररीले अन्य टिमको तुलनामा इंग्लिस प्रतिद्वन्द्वीसँग खेल्न असहज हुने भन्दै इंग्लिस प्रिमियर लिग विश्वकै उत्कृष्ट र कठिन लिग भएको दाबी गरेका थिए ।


‘हाम्रो स्तर नै उच्च छ । सिजनको अन्तिम महिनामा कुनै पनि इंग्लिस टोलीका खेलाडी शारीरिक रूपमा तन्दुरुस्त हुन सक्दैनन्, हामीले अन्य देशको तुलनामा धेरै खेल्नुपर्छ, लिगको स्तर अन्यको भन्दा धेरै छ,’ फेब्रुअरीमा लिग कप फाइनलमा म्यान्चेस्टर सिटीसँग पराजित चेल्सीका प्रशिक्षक साररीले थपे, ‘लिग कपको फाइनलमा पुग्न हामीले लिभरपुल र टोटनह्यामलाई पछि पार्‍यौं, उनीहरू च्याम्पियन्स लिग फाइनल खेल्दैछन्, हामी युरोपा । प्रिमियर लिग विश्वकै उत्कृष्ट लिग हो ।’चेल्सीका प्रशिक्षक सररीको भनाइलाई प्रिमियर लिगको उपाधि रक्षा गरेपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रतिक्रियाले पनि पुष्टि गर्छ । बार्सिलोना र बार्यन म्युनिखमा उत्कृष्ट समय गुजारेका ग्वार्डिओलाले आफ्नो प्रशिक्षण करिअरकै सबैभन्दा कठिन सिजनका रूपमा चित्रित गरेका छन् ।

kushalsarjak@gmail.com

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आईपीएलका अनौठो र विवादास्पद घटनाहरू

कान्तिपुर संवाददाता

 हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ औं संस्करणको आईपीएल फाइनलको अन्तिम बलमा लसिथ मालिङ्गाले चेन्नईका शार्दूल ठाकुरको विकेट लिएसँगै मुम्बईले चौथो पटक उपाधि उचाल्यो  ।

समग्रमा हेर्दा अघिल्ला संस्करणभन्दा यो संस्करणमा बढी प्रतिस्पर्धात्मक खेलहरू भए । प्रतिस्पर्धात्मक खेलका अलावा यस संस्करणमा विभिन्न विवादास्पद तथा अनौठा घटनाहरू पनि घटे ।

अश्विन–बटलर माङकडिङ विवाद
सम्भवतः यस आईपीएल सिजनकै सबैभन्दा बढी चर्चामा आएको विवाद हो यो । आईपीएल इतिहासमै पहिलोपटक कुनै खेलाडी यसरी आउट भए । आउट हुने ब्याट्सम्यान थिए, राजस्थान रोयल्सका जस बटलर । निकै राम्रो लयमा देखिइरहेका बटलरको विकेट पतनसँगै राजस्थानको इनिङ्स धर्मराउन थाल्यो र अन्त्यमा १४ रनले खेल पञ्जाबलाई सुम्पियो । क्याचले म्याच जिताउँछभनेझैं बटलरको त्यो विकेटपश्चात् पञ्जाबले खेल आफ्नो पक्षमा पार्दै माङकडिङले पनि म्याच जिताउन सक्छ भन्ने सावित गर्‍यो ।


क्रिकेटको नियम हेर्ने हो भने पनि बलर
आफ्नोडेलिभरी स्ट्राइडमाजानु अगाडि नै रनरले आफ्नो क्रिज छोडेको खण्डमा बलरले विकेटमा बलले हानेर आउट गर्न पाउने प्रावधान छ । अश्विनको सन्दर्भमा हेर्दा विकेटमा बलले हान्नुभन्दा अगाडि अश्विन एकछिन रोकिएको देखिएको थियो जुन अवस्थामा बटलर आउट नहुनुपर्ने थियो । यस घटनाले सामाजिक सञ्चालमा ठूलै बहस सिर्जना गरेको थियो । एमसीसीले अन्ततः अश्विनको सो कार्य खेल भावनाविपरीत भएको भन्ने प्रतिक्रिया दियो । यस घटनालाई मध्यनजर गर्ने हो भने क्रिकेटमा माङकडिङका लागि नियम नै अझ स्पष्ट पार्नुपर्ने देखिन्छ ।

अम्पायरसँग बहस गर्न धोनी मैदानमा
चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी सामान्यतः मैदानमा शान्त स्वभावका लागि चिनिने गर्छन् । त्यसैले त उनलाई ‘क्याप्टेन कुल’ पनि भनिन्छ । राजस्थान रोयल्सविरुद्धको खेलमा धोनी विपरीत देखिए । आउट भएर पवेलियन फर्किसकेका धोनी अम्पायरले नोबल नदिएको विषयलाई लिएर अम्पायरसँग बहस गर्न मैदान प्रवेश गरे । अम्पायरले गलत निर्णय नै दिएको खण्डमा पनि कुनै खेलाडी मैदानभित्र प्रवेश गरेर अम्पायरसँग बहस गर्नु हरेक कोणबाट खेल भावनाविपरीत नै हो । त्यसमाथि धोनीजस्तो शान्त स्वभावको छवि बनाएका अनुभवी खेलाडीबाट यस्तो कार्य हुनुलाई धेरैले नकारात्मक कार्यको संज्ञा दिए । खेल भावनाविपरीतको यस कार्यका लागि धोनीलाई म्याच फिको ५० प्रतिशत जरिवाना लगाइएको थियो ।

मालिङ्गाले अन्तिम बलमा गरेको नोबल
सिजनको सातौं खेलमा आमनेसामने थिए रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई । १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरलाई जितका लागि अन्तिम बलमा ७ रनको जरुरत थियो । मालिङ्गाले गरेको सो बलमा बैंगलोरका शिवम दुवेले मात्र १ रन जोड्न सके र मुम्बईले ६ रनले खेल आफ्नो पक्षमा पार्‍यो । खेल यतिकैमा सकिए तापनि बहसचाहिँ तब सुरु भयो जब रिप्लेमा मालिङ्गाको सो बल नोबल भएको देखियो । जितका लागि ७ रन आवश्यक भएको अवस्थामा सो नोबल दिइएको र अर्को बलमा छक्का हानेको भए खेल बैंगलोरको पक्षमा जाने थियो । सो नोबल अम्पायरले दिएको भए मालिङ्गाको अन्तिम ओभरको पहिलो बलमा एउटा छक्का प्रहार गरिसकेका शिवम दुवेले अर्को बाउन्ड्री प्रहार गर्ने मौका प्राप्त गर्ने थिए । खेलपश्चात् बैंगलोरका कप्तान विराट कोहलीले आईपीएल जस्तो अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा अम्पायरबाट यस्ता गल्ती हुन नहुने प्रतिक्रिया दिए ।

अश्विनले एक ओभरमा ७ बल गर्दा
बटलरसँगको माङकडिङ विवादलाई लिएर मात्र अश्विनको चर्चा भएन यस सिजनमा । मुम्बईविरुद्धको खेलमा एक ओभरमा ७ बल गरेर अर्को अनौठो घटनामा पनि मुख्य पात्र बन्न पुगे अश्विन । मुम्बईसँगको खेलको पहिलो ओभर पञ्जाबका कप्तान अश्विनले गरेका थिए र उनका सामु थिए मुम्बईका ओपनर रोहित शर्मा तथा क्विन्टन डी कक । खेलको पहिलो ओभरमै अश्विनले ७ बल फालेका थिए । ती ७ बलमध्ये कुनै पनि बल वाइड, नोबल वा कुनै पनि अतिरिक्त बल थिएन । अन्ततः शर्माले खेलेको अश्विनको पहिलो बललाई डेड बल दिइएको थियो । ख्याल गर्नुपर्ने के हो भने, अश्विनले गरेको अतिरिक्त सातौं बलमा डी ककले चौका प्रहार गरेका थिए भने रोहितले खेलेको पहिलो बलमा कुनै पनि रन बनेको थिएन ।

जब अम्पायरले ढोका भत्काए
बैंगलोरको चिन्नास्वामी रंगशालामा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीचको खेलमा अम्पायर नाइजल लोङले गलत नोबल दिए । टीभी रिप्ले हेर्दा बैंगलोरका उमेश यादवको गोडाको पछिल्लो भाग क्रिजमै थियो तर अम्पायर लोङले त्यसलाई नोबल दिएपछि कप्तान विराट र बलर उमेश दुवैले मैदानमै यसको विरोध गरे पनि अम्पायरले निर्णय फिर्ता लिएनन् । हैदराबादको इनिङ सकिएपछि लोङ अर्का अम्पायरका साथ पेभिलियन आए र रिसको सुरमा अम्पायर रूमको ढोका भत्काए । पछि लोङले कर्नाटक क्रिकेट एसोसिएसनलाई क्षतिपूर्तिस्वरूप पाँच हजार भारु तिरे ।
बैंगलोर र चेन्नईबीचको पहिलो खेलमा पिचको अवस्था
१२ औं संस्करणको पहिलो खेलमा बैंगलोर र चेन्नई आमनेसामने हुँदा पहिले ब्याटिङ गरेको बैंगलोर मात्र ७० रनमा समेटियो । ब्याटिङ बलियो मानिएको बैंगलोर सस्तोमै आउट भएको यस खेलमा पिचले स्पिनरलाई ज्यादा नै सहायता दिएको देखिन्थ्यो । आईपीएलको इतिहासमा एक स्पिनरले औसतमा एक बलमा २.७ डिग्री टर्न प्राप्त गर्छन् । तर यो खेलमा भने बलरले औसतमा नै ७.२ डिग्री टर्न प्राप्त गरिरहेका थिए । सामान्य लक्ष्य पछ्याएको चेन्नईले पनि खेल जित्न ३ विकेट गुमाएको थियो । खेलपश्चात् दुवै टोलीका कप्तान कोहली र धोनीले पिचको आलोचना गरे । चेन्नईको गृह मैदान भए तापनि धोनीले पिचको सो अवस्था सही नभएको प्रतिक्रिया दिए ।

उतारचढावले भरिएको फाइनल खेल
मुम्बई तथा चेन्नईबीच हैदराबादमा भएको फाइनल खेल पनि उतारचढावले भरिपूर्ण थियो । ब्राभोले गरेको बल अम्पायरले वाइड नदिएपछि पोलार्डले देखाएको असन्तुष्टिका लागि उनलाई म्याच फिको २५ प्रतिशत जरिवाना लगाइयो । त्यस्तै अम्पायरले धोनीलाई रनआउट दिएको विषयले पनि राम्रै चर्चा पायो ।

रीतेश घिमिरे
Twitter : @ReeteshJee

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT