२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

यस्तो कहिल्यै भएको थिएन

च्याम्पियन्स लिगको आधुनिक सिजनको २७ औं र समग्रमा ६४ औं फाइनल जुन १ मा मड्रिडको वान्डा मेट्रोपोलिटानो रंगशालामा हुनेछ । युरोपा लिगको आधुनिक सिजनको १० औं र समग्रमा ४८ औं फाइनल अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा मे २९ मा हुनेछ ।
कुशल तिमल्सिना

 
यस सिजन युरोपका दुई ठूला फुटबल प्रतियोगितामा अविश्वसनीय र सनसनी नतिजा निस्किए  । परिणामतः युरोपमा इंग्लिस फुटबलको प्रभुत्व कायम गरी इंग्ल्यान्डका चार क्लबले दुई युरोपेली प्रतियोगिताको फाइनलमा पुगेर कीर्तिमान कायम गरे  ।

यस्तो कहिल्यै भएको थिएन

फुटबल पण्डितहरूले यसलाई युरोपमा इंग्लिस क्लबको वर्चस्वका रूपमा परिभाषित गर्न थालेका छन् । सन् १९५५/५६ मा युरोपियन कपको नामबाट सुरु भएको च्याम्पियन्स लिगले ६३ संस्करण पूरा गरेको छ । १५ सिजनपछि यूईएफए कपको नामबाट युरोपा लिगको अवधारणा सुरु गरियो । पहिलोपल्ट च्याम्पियन्स लिगमा लिभरपुल र टोटनह्याम तथा युरोपा लिगमा आर्सनल र चेल्सी गरी फाइनलम इंग्लिस क्लबमात्र देखिने भए ।


त्यतिमात्र होइन यूईएफए सुपर कपमा पनि इंग्लिस टोलीमात्रै हुने निश्चित भइसक्यो । जुन खेल अगस्टमा टर्कीको इस्तानबुलमा हुनेछ । सन् १९७२ को यूईएफए कप र सन् २००८ को च्याम्पियन्स लिगको फाइनलमा दुवै इंग्लिस टोली आमनेसामने भएका थिए ।च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुल र टोटनह्याम दुवैले अविश्वसनीय नतिजा निकाले । पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले घरेलु मैदानमा शानदार पुनरागमन गरी ४–० ले नतिजा उल्टायो । त्यसको अर्को दिन दोस्रो सेमिफाइनलमा टोटनह्यामले नेदरल्यान्ड्सको आयाक्सलाई उसैको मैदानमा ३–२ गोलको हार चखायो । पहिलो लेगमा टोटनह्याम घरेलु मैदानमा १–० ले हारेको थियो ।


युरोपा लिग सेमिफाइनल दोस्रो लेगमा आर्सनलले स्पेनिस टोली भ्यालेन्सियालाई उसकै मैदानम ४–२ ले हराउने क्रममा उसका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङले ह्याट्रिक पूरा गरे । इमिरेट्स रंगशालामा भएको पहिलो लेगमा पनि आर्सनल ३–१ ले विजयी भएको थियो । चेल्सीले जर्मन टोली फ्र्यांकफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । उसले दुवै लिगमा १–१ गोलको बराबरी खेलेको हो । च्याम्पियन्स लिगको आधुनिक सिजनको २७ औं र समग्रमा ६४ औं फाइनल जुन १ मा मड्रिडको वान्डा मेट्रोपोलिटानो रंगशालामा हुनेछ । युरोपा लिगको आधुनिक सिजनको १० औं र समग्रमा ४८ औं फाइनल अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा मे २९ मा हुनेछ ।


पछिल्ला केही सिजन युरोपियन प्रतियोगिताको फाइनलमा स्पेनिस टिमको वर्चस्व थियो । सन् २०१३/१४ र २०१५/१६ को सिजनमा दुई प्रतियोगिताको फाइनलमा तीन स्पेनिस टिम पुगेका थिए । सन् १९९० को दशकमा इटालियन टोलीहरूले पनि यस्तै सफलताको स्वाद लिए । सन् १९८० को सिजनमा जर्मनीका तीन क्लबले दुई प्रतियोगिताको फाइनल खेलेका थिए ।यस सिजनको फाइनलिस्ट क्लबसमेत जोड्दा युरोपा लिग स्थापना भएपछि युरोपेली प्रतियोगिताको फाइनलमा इंग्लिस टोलीले ३७ पल्ट प्रतिस्पर्धा गरेका छन् । यो संख्या स्पेन र इटलीको भन्दा एक बढी हो । फ्र्यांकफर्टलाई पराजित गरी युरो लिगको फाइनलमा पुगेपछि चेल्सीका प्रशिक्षक माउरिसियो साररीले अन्य टिमको तुलनामा इंग्लिस प्रतिद्वन्द्वीसँग खेल्न असहज हुने भन्दै इंग्लिस प्रिमियर लिग विश्वकै उत्कृष्ट र कठिन लिग भएको दाबी गरेका थिए ।


‘हाम्रो स्तर नै उच्च छ । सिजनको अन्तिम महिनामा कुनै पनि इंग्लिस टोलीका खेलाडी शारीरिक रूपमा तन्दुरुस्त हुन सक्दैनन्, हामीले अन्य देशको तुलनामा धेरै खेल्नुपर्छ, लिगको स्तर अन्यको भन्दा धेरै छ,’ फेब्रुअरीमा लिग कप फाइनलमा म्यान्चेस्टर सिटीसँग पराजित चेल्सीका प्रशिक्षक साररीले थपे, ‘लिग कपको फाइनलमा पुग्न हामीले लिभरपुल र टोटनह्यामलाई पछि पार्‍यौं, उनीहरू च्याम्पियन्स लिग फाइनल खेल्दैछन्, हामी युरोपा । प्रिमियर लिग विश्वकै उत्कृष्ट लिग हो ।’चेल्सीका प्रशिक्षक सररीको भनाइलाई प्रिमियर लिगको उपाधि रक्षा गरेपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रतिक्रियाले पनि पुष्टि गर्छ । बार्सिलोना र बार्यन म्युनिखमा उत्कृष्ट समय गुजारेका ग्वार्डिओलाले आफ्नो प्रशिक्षण करिअरकै सबैभन्दा कठिन सिजनका रूपमा चित्रित गरेका छन् ।

[email protected]

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?