१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

“माकुरी”

१९ वर्षकी पञ्चमाया तामाङ चट्टानी पहाड चढ्न माहिर छिन् । अजङ्गका पहाडमा चढ्न सिपालु भएकाले उनलाई केहीले माकुरी उपनामले चिन्छन् । यी क्लाइम्बरलाई अब अन्तर्राष्ट्रिय पदक जित्ने रहर छ ।
विमल खतिवडा

उनी हँसिली छिन् तर कठोर चट्टानहरूसँग उनको मित्रता छ  । १९ वर्षीया पञ्चमाया तामाङ जब चट्टानी पहाड उक्लन थाल्छिन्, पहिलोपटक देख्नेहरू आश्चर्यमा पर्छन्  ।

“माकुरी”

उनले ठूला चट्टानहरूसँग कुस्ती खेलेझैं लाग्छ, उनी चट्टानसँगै रमाउँछिन् । ठूला चट्टानमा बडो मेहनतका साथ उक्लने उनको यो कला देख्ने कमै छन् । जसले देखेका छन् तिनीहरूमाझ उनी क्लाइम्बरका रूपमा परिचित छिन् । दाजुको प्रेरणामा १३ वर्षको उमेरदेखि क्लाइम्बिङ सिक्न थालेकी उनले उपनाम पाएकी छन्– माकुरी ।


ठमेलको एस्ट्रिक क्लाइम्बिङमा पहिलो पटक अभ्यास गरेकी हुन् उनले । सिक्ने धित नमर्दै दाइको आग्रहमा क्लाइम्बिङको ‘स्पिड’ कम्पिटिसनमा भाग लिइन् । २०१३ फेब्रुअरीमा प्रतिस्पर्धामा सहभागिता जनाएर प्रथम भइन् । क्लाम्बिङ सिकेको केही महिनामै प्रतियोगिता जित्दा हौसला थपियो । उनले एक वर्षका लागि क्लाइम्बिङ सिक्ने निःशुल्क पुरस्कार पाइन् । कपनदेखि ठमेलको यात्रा त्यसपछि दिनहुँ सुरु भयो । त्यसयता राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको अविरल सहभागिता रहँदै आएको छ । जेभिएर इन्टरनेसनल स्कुल कालोपुलबाट कक्षा १२ को परीक्षा दिएर बसेकी उनी अहिले भने आफैं इन्स्ट्रक्टर बनेकी छन् । आफ्नो अभ्याससँगै छिमेकी २ जना बहिनीलाई क्लाइम्बिङ सिकाउने उनको दैनिकी भएको छ । आफ्नै दिदी लक्ष्मीको पनि गुरु बनेकी छन् उनी । उनकी दिदी माउन्टेनेरिङ गर्छिन् । उनी आफैं भने अभ्यासका लागि दैनिक ठमेल पुगिरहेकी हुन्छिन् । यही बीचमा उनले कोरिया पुगेर क्लाइम्बिङको १० दिने तालिम लिइन् । अधिकांश राष्ट्रिय प्रतियोगिता जित्न सफल उनले एसियाली स्तर र विश्वस्तरीय प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी छन् ।


२०१७ मा सिंगापुरमा भएको जुनियर प्रतिस्पर्धामा तेस्रो भइन् । ‘यो एकदम च्यालेन्जिङ खेल हो,’ उनी भन्छिन्, ‘आत्मबल नभए खेल्न सकिँदैन ।’ रक क्लाइम्बिङ तालिमका बेला मात्र गरिन्छ । प्रतियोगिताहरू इन्डोरमा मात्र हुन्छन् । ‘हाम्रो देशमा खेलाडीलाई खासै प्रोत्साहन नै गरिँदैन, त्यसमा पनि क्लाइम्बिङका बारेमा बुझ्ने पनि कम छन्,’ यही क्षेत्रमा भविष्य खोजिरहेकी उनी भन्छिन्, ‘विदेशमा हुने प्रतियोगितामा राम्राभन्दा आफ्नालाई खोज्ने प्रवृत्ति छ, जसले गर्दा दुःख लाग्छ ।’ प्रतियोगिता जित्दा प्रायः नगद पुरस्कार हात लाग्छ । पुरस्कारबाट पाएको पैसाले क्लाइम्बिङमा आवश्यक पर्ने सामान जोड्छिन् । यसमा प्रयोग हुने सामानहरू महँगो पर्छ । जुत्ता, हार्नेस, चक ब्याग, रोप र क्विक ड्र आवश्यक पर्छ । उनलाई केही विदेशीले राम्रो क्लाइम्बर भनेर सामान प्रायोजन पनि गरेका छन् । इन्डोर खेलमा जुत्ता, हार्नेस, चक ब्याग भए पुग्छ । खेलका लागि घरबाट राम्रो सहयोग भएको उनी बताउँछिन् । चट्टानमा अभ्यास गर्न कहिले हात्तीवन त कहिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पुग्छिन् ।


खेलका कारण साथीहरूले साहसी भन्दा खुसी लाग्ने उनले सुनाइन् । ‘अहिले मलाई माकुरी भनेर चिन्ने पनि भेट्छु,’ उनी भन्छिन्, ‘स्पाइडर म्यानजस्तै भित्ता चढ्ने भएकाले माकुरी भने जस्तो लाग्छ, यसमा खुसी छु, फरक नामले सम्झँदा राम्रै क्षेत्र अँगाले जस्तो अनुभूति हुन्छ ।’ पढाइ र खेललाई सँगसँगै लग्ने पञ्चमाया सुनाउँछिन् । उनका दुई दिदी र एक दाइ छन् । सबैले खेलमा लाग्न प्रेरणा दिन्छन् । ‘रहरै रहरमा यो क्षेत्रमा लागें,’ उनी भन्छिन्, ‘यो पेसा जस्तो भएको छ, प्रायः प्रतिस्पर्धामा भाग लिन छुटाउँदिनँ ।’


यो खेल तीन तहमा खेल्न सकिन्छ । लिड, बोल्डरिङ र स्पिड । उनको रुचि लिडमा छ । यो विधामा आफैं डोरी हाल्दै जानुपर्छ । बोल्डरिङमा सानो उचाइको चट्टानी भित्तोमा चढ्नुपर्छ । स्पिडमा २ जनाबीच प्रतिस्पर्धा गराइन्छ । ‘सुरुमा यही क्षेत्रमा लाग्छु भन्ने थिएन, अरू केही बन्छु भन्ने सपना पनि थिएन,’ उनी भन्छिन्, ‘यो खेलमै नशा बसिसक्यो, अब यही क्षेत्रमा भविष्य खोज्नेछु ।’


मेहनत गरे यो क्षेत्रमा राम्रो छ । उनले मेहनत गर्न नछाड्ने सुनाइन् । ‘पुरस्कार पनि राम्रो छ, खेलबाट देशको नाम राख्न सकिन्छ,’ उनी भन्छिन्, ‘आँट, साहस र प्रतिभा भएपछि समस्या नै भएन ।’ उनको सोच कोच बन्नेछ । आफू जस्तै धेरै खेलाडी बनाउने सपना छ । ‘जति गाह्रो भए पनि यो क्षेत्र छोड्दिनँ,’ उनी भन्छिन्, ‘कोच बन्छु, आफूजस्तै किशोरीलाई क्लाइम्बिङ सिकाएर आत्मबल बढाउने काम गर्नेछु ।’ उनलाई सीमित मानिसले मात्र चिन्छन् । ‘बल्ल उमेर हुँदै छ,’ उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर देशलाई चिनाउनेछु ।’

तस्बिरहरु : किरण पाण्डे

प्रकाशित : जेष्ठ १०, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?