कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रजनीको उदय

जिमसँगै उनको शरीरका गाँठो हराउँदै गयो । अहिलेसम्म त्यस्तो कुनै समस्या उनलाई देखा परेको छैन । उनी यस क्षेत्रमा लागेको पाँच वर्ष भइसकेको छ ।
नुमा थाम्सुहाङ

 
उनलाई लागेको पनि थिएन कि उनी एक दिन बडिबिल्डिङमा यसरी उदाउँछिन् भनेर  । सुरुमा आफू फिट बस्नलाई मात्र यो क्षेत्रमा प्रवेश गरेकी अहिले भने उनी यसैमा डुबेकी छिन्  ।

रजनीको उदय

यो फरक कथाकी पात्र हुन्– रजनी श्रेष्ठ । आफ्नो १९ वर्षीय छोरालाई डाक्टर पढाउन उनी आफ्नो श्रीमान्सँगै मोरङबाट काठमाडौं आइन् । मोरङको घरमा सासू, ससुरा, देवर, देवरानी र उनको एक छोरा बस्छन् । यहाँ उनी आफ्नो श्रीमान् र छोराका साथ चार वर्षदेखि बस्दै आएकी छिन् ।


घाँटीमा सानासाना गाँठा देखिन थालेपछि उनलाई क्यान्सर भएको आकलन गरियो । जँचाउँदा जँचाउँदै सात–आठ वटा गाँठो छब्बीस पुगिसकेको थियो । क्यान्सर हो कि होइन भनेर उनको एक वर्ष त्यसै बित्यो । त्यसपछि हो उनले नेपाल व्यायाम मन्दिरमा नियमित जिम जान थालेको । जिमसँगै उनको शरीरका गाँठो हराउँदै गयो । अहिलेसम्म त्यस्तो कुनै समस्या उनलाई देखा परेको छैन । उनी यस क्षेत्रमा लागेको पाँच वर्ष भइसकेको छ ।
उनी भन्छिन्, ‘म आफ्नो शरीर फिट राख्नका लागि आएको थिएँ । जिम गर्दै गएपछि शरीर राम्रो हुँदै आयो । त्यसपछि एकचोटि बडिबिल्डिङ प्रतिस्पर्धामा प्रयास गरौं भन्ने भयो । घरबाट पनि सबैले एकचोटि प्रयास गर भनेर साथ दिनुभयो । अनि म यसमा लागेकी हुँ ।’


अनुभवका लागि स्टेज चढेकी उनको नाम विजेताका रूपमा आयो । ‘मैले जित्दा श्रीमान् र ससुरा एकदमै खुसी हुनुभयो ।’ मिस्टर काठमाडौंमा २०७४ मा ११ जना सहभागीलाई पछि पार्दै उनी प्रथम भएकी थिइन् । श्रीमान् समीरको हौसलाले यहाँसम्मको यात्रा तय भएको उनको बुझाइ छ । ‘ससुराले पनि एकदमै प्रेरणा दिनुभयो,’ उनी भन्छिन् ।


‘मेरो श्रीमान् नै मेरो पहिलो ट्रेनर हो । किनभने मोरङमा आफ्नै जिम हाउस थियो, त्यो हामीले पाँच वर्ष चलायौं । त्यतिबेला पनि हल्का व्यायाम गर्थें,’ उनी भन्छिन्, ‘त्यो बेलाबाट नै मेरो ससुराले मलाई सपोर्ट गर्नुहुन्थ्यो । उहाँ पनि यस क्षेत्रमा धेरै रुचि राख्नुहुन्थ्यो । त्यसैले पनि उहाँको एउटा सपना नै थियो कि कसैले यो क्षेत्रमा अघि गएर केही गरे हुन्थ्यो भन्ने र आज म यो स्थानसम्म आइपुगेकी छु ।’


उनी आफ्नो स्टेजमा जानुभन्दा अगाडिको अनुभव सुनाउँछिन् । ‘२४ घण्टा अगाडि नै क्लिन बस्नुपर्छ । सबै कुरा उमालेको मात्र खानुपर्छ,’ ‘दिनमा १५ देखि २० वटासम्म अण्डा खानुपर्छ । अण्डाको पनि सेतो भाग मात्र खान मिल्छ । नुन, तेल, चिनी जसले शरीरमा फ्याट दिन्छ, त्यस्तो खानु हुँदैन ।’ पछिल्लो पटक उनले मिस्टर हिमालयमा महिला एथ्लेटिक्स फिजिक्सका उपाधि जितेकी छन् । ‘यो पटक उपाधि जित्छु भन्ने विश्वास थियो,’ उनी भन्छिन्, ‘घरको काम छाडेर बिहान र बेलुका २ घण्टा मेहनत गरेकी थिएँ ।’


‘बडिबिल्डिङ भनेको आराम चाहिने खेल हो,’ उनी भन्छिन्, ‘यसमा अनुशासन एकदम महत्त्वपूर्ण हुन्छ । खानेकुरामा विशेष ध्यान दिनुपर्छ । बाहिरको खानेकुराबाट टाढा रहनुपर्छ । समयमा निदाउने र उठ्ने गर्नुपर्छ ।’ अभ्यासमा भन्दा स्टेजमा पोजिङ गर्दा गाह्रो हुने उनको अनुभव छ । जति गाह्रो भए पनि पोजसँगै मुहारमा मुस्कान ल्याउनु अनिवार्य छ । उनको अबको योजना भनेको अन्तर्राष्ट्रियस्तरमा स्वर्ण जित्नु हो ।


साउथ एसियन च्याम्पियनसिप पहिलोपल्ट नेपालमै हुँदै छ । यसका लागि नेपालका तर्फबाट उनी एक्ली प्रतिस्पर्धी हुन् । मिस्टर हिमालय विजेता नेपालबाट यो खेलमा प्रतिनिधित्व जनाउन सक्छन् । जिम गरेर पाक्कपुक्क फुलाउनुपर्छ भन्ने अनिवार्य नभएको उनको सल्लाह छ । स्वस्थ बन्नका लागि नियमित जिम गर्न उनको सल्लाह हुन्छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?