कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

“कमिसार” किसान

विमल खतिवडा

दाङ तुल्सीपुरकी रीता सुनार अहिले द्वन्द्वकालीन कुरा सुन्न नै चाहँदिनन्  । कक्षा ६ मा पढ्दै गर्दा माओवादीको विचार मन परेर पार्टीमा सक्रिय भइन्  ।

“कमिसार” किसान

जुन विचार बोकेर पार्टीमा लागिन्, त्यो पाइनन् । पार्टीमा ‘कमिसार’ पदका रूपमा काम गर्थिन् । भनेजस्तो नभएपछि विद्रोह गरिन् । पछि जनमोर्चातिर लागिन् । पार्टीमा धेरै हन्डर खाएकाले खुलेर कुरा गर्न चाहँदिनन् ।


पहिला नेत्रीका रूपमा चिनिएकी उनले अहिले परिचय फेरेकी छन् । सबैले किसानका रूपमा चिन्छन् । उनको दैनिकी कृषि कर्म गर्दैमा बित्छ । राजनीतिशास्त्रमा मास्टर्स गरेकी उनले ललितपुरको महालक्ष्मी नगरपालिका ९ स्थित लामाटारमा १५ रोपनी जग्गा भाडामा लिई तरकारी लगाएकी छन् । जग्गाको भाडा मात्र वार्षिक २ लाख ३५ हजार तिर्छिन् । ‘राजनीतिभन्दा यो धेरै राम्रो पेसा हो,’ उनी भन्छिन्, ‘राजनीतिमा लडाउने र पछार्ने खेल बढी हुन्छ, यसमा म आफू स्वतन्त्र छु ।’

अहिले टमटर लटरम्म फलेका छन् । झालभरि काँक्रो झुन्डिएका छन् । बोडीले कोसा हाल्दै छ । ‘बैंक र साथीहरूसँग ऋण गरेर १३ लाख लगानीमा खेती थालेको थिएँ,’ उनी भन्छिन्, ‘अहिलेसम्म लगानी मात्र २५ लाख पुगिसक्यो, स्थायी रूपमा ३ जनालाई जागिर दिएको छु ।’ जति उत्पादन गर्‍यो, बजारमा त्यति नै खपत हुन्छ । बजार लग्नु पर्दैन । फार्ममै तरकारी लिन आउनेको भीड लाग्छ । ग्वार्को चोकबाट उनको सञ्जीवनी कृषि विकास फार्म ५ किमि दूरीमा छ ।


‘पढेर जागिर खाने चाहना कहिल्यै पलाएन,’ उनी भन्छिन्, ‘स्वतन्त्र पेसा अँगाल्न चाहन्थें, इन्टरनेटमा कृषि खेतीबारे हेरें, पढें, त्यहीअनुसार यो क्षेत्रमा लागें ।’ पेसाबाट सन्तुष्ट रहेको उनले सुनाइन् । उत्पादित तरकारी अहिले जडीबुटी, बानेश्वर र बल्खु मुख्य रूपमा जाने गरेको छ । वार्षिक करिब २५ लाखभन्दा बढीको तरकारी बिक्री गर्छिन् । जसबाट खर्च कटाएर ६ लाख जति नाफा हुने उनले सुनाइन् । सडक छेउमै फार्म भएकाले हेर्न आउनेको कमी हुँदैन । ‘अहिले फार्म दाइहरूका छोराछोरी पढ्ने थलो बनेको छ,’ उनी भन्छिन्, ‘दुःख गरे अनुसारको फल पाएको छु ।’ बिहान उठेदेखि राति अबेरसम्म फार्ममै व्यस्त हुन्छिन् ।


उनको एउटा गुनासो छ, वास्तविक किसानले सरकारबाट पाउने सहयोग पाउँदैनन् । जुन समस्या उनले पनि भोगिरहेकी छन् । ‘अहिलेसम्म कसैको मुख ताक्नुपरेको छैन,’ उनी भन्छिन्, ‘आफैंले मेहनत गरेर फार्मलाई यो अवस्थासम्म ल्याएँ, जति ऋण थियो, त्यो सबै तिरिसकें ।’ उनको फार्म लामाटारमा नमुना कृषि फार्मका रूपमा परिचित छ । उनीसँगै राजनीति गरेका साथीहरू अहिले सांसद र मन्त्री छन् । ‘राजनीति छाडिहालें, अहिले साथीहरू सांसद भए, मन्त्री भए,’ उनी भन्छिन्, ‘जे भए पनि उनीहरूलाई तरकारी खुवाउने त भएँ, तरकारी लिन मेरै फार्ममा आउँछन्, विषादीरहित तरकारी खुवाउँदै आएको छु ।’मास्टर्स गर्नुअघि तरकारी खेती थालिन् । ‘पढ्ने खर्च थिएन, सुरुमा तरकारी खेतीमा हात हालें,’ उनी भन्छिन्, ‘त्यसैको आम्दानीले पढाइ अघि बढाएँ ।’ उर्वर समय पार्टीमा खर्चिइन् । उमेर छँदै पढाइ पूरा गर्न पाइनन् । ‘पढाइको तिर्सना कहिल्यै मरेन,’ उनी भन्छिन्, ‘आफ्नै कमाइले पढाइ सक्छु भनेर लागिपरें, मेहनत गर्न छाडिनँ, त्यही मेहनतले पढाइ पनि पूरा भयो, कृषिमा पनि राम्रो भयो ।’ उनी रुकुममा जन्मिइन् । पछि बसाइँ सरेर दाङ झरिन् । जुन पेसा अँगालेकी छन्, सन्तुष्ट छिन् । ‘कृषिमा लागेदेखि नयाँ जीवन पाए जस्तो अनुभूति भएको छ,’ उनी भन्छिन्, ‘मिलेसम्म बिस्तारै क्षेत्रफल बढाएर रोजगारीको संख्या बढाउने सुरमा छु ।’


सुरुमा घरबाट किसान बन्नुको सट्टा मन्त्री बन्नु नि भन्नेसम्मको कुरा आयो । यसलाई उनले सहज रूपमा स्विकारिन् । आफन्तले पढेको मान्छे सरकारी जागिर नखाएर माटो खेलाएर बसेकी छ भन्दै गफिए । गाली गरे । यसको उनले कुनै प्रतिवाद गरिनन् । जब उनले तरकारीबाट राम्रो आम्दानी गर्दै गइन्, सबैको चर्चाको पात्र उनै बनिन् । सबैले प्रशंसा गर्न थाले । पहिला आफैंसँग पार्टीमा लागेका केही साथीहरू पनि तरकारी खेतीबारे बुझ्न फार्ममा आउने गरेका छन् । ‘सुरुमा खेती गर्दा गाह्रै हुन्छ, बजार बुझ्न समस्या हुन्छ,’ उनी भन्छिन्, ‘तर मेहनत गर्न छाड्नु हुँदैन, धैर्यवान भएर काम गरेपछि एक दिन अवश्य सबैको नजरमा पर्न सकिने रहेछ ।’ उनी ३ दाइ र २ दिदीबहिनी मध्येकी कान्छी हुन् । ‘राजनीति गर्नु ठीकै होला, तर नेताले युवालाई राजनीतिमा लगाएर श्रमविहीन बनाएका छन्,’ उनी भन्छिन्, ‘सबैका लागि राजनीति भविष्य हुन सक्दैन, त्यसैले युवालाई राजनीतिसँगै उत्पादनमूलक कार्यमा लगाउन जरुरी छ ।’

प्रकाशित : जेष्ठ १७, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?