२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बट्टाजस्ता स्याटेलाइट

अन्तरिक्षको तल्लो भागमा साना स्याटेलाइट पठाउने र त्यसैबाट द्रुत गतिको इन्टरनेट वितरण गर्ने योजनाअनुसार स्पेसएक्सले गत साता ६० वटा स्याटेलाइट्सहरू प्रक्षेपण गरेको छ । यो किन महत्वपूर्ण छ :

यो मिसन सफल भयो भने निजी रकेट कम्पनीका लागि नयाँ व्यापारको सुरुवात हुन सक्छ  । बिहीबार बेलुका स्पेसएक्सले ६० वटा इन्टरनेट कम्युनिकेसन्स स्याटेलाइट्सहरू फ्लोरिडास्थित केप कानाभेरल एयर फोर्स स्टेसनबाट प्रक्षेपण गरिए  ।

बट्टाजस्ता स्याटेलाइट

पृथ्वीको सतहभन्दा लगभग ४३५ किलोमिटर माथि अन्तरिक्षको सबैभन्दा तल्लो कक्षमा स्टारलिंक नामक स्याटेलाइटलाई रकेट तोकिएको दूरीसम्म लगेर छोडेको थियो । त्यसपछि ती सबैले आ–आफ्नो यात्रा सुरु गरेका थिए ।


स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी एलोन मस्कका अनुसार प्रक्षेपित सबै स्याटेलाइटहरूले काम गर्न सुरु गरिसकेका छन् । अर्को वर्ष स्पेसएक्सले सयौं यस्तै उपकरणहरू अन्तरिक्षको तल्लो कक्षमा छोड्ने लक्ष्य लिएको छ । यसले संसारको कुनै पनि कुनामा द्रुत गतिको इन्टरनेट चलाउन सहज हुनेछ । गत वर्ष स्पेसएक्सले यसैको दुईवटा प्रोटोटाइप ‘टिनटिन ए’ र ‘टिनटिन बी’ प्रक्षेपण गरेको थियो । यी स्याटेलाइटको वजन जम्मा २२६ किलो रहेको छ ।


अहिले पनि स्याटेलाइटकै सहयोगमा विश्वभर इन्टरनेट चलिरहेको छ । अहिले इन्टरनेट चलाउनका लागि प्रयोग हुने जियोस्टेस्नरी स्याटेलाइट पृथ्वीको सतहभन्दा ३६ हजार किलोमिटर माथि रहेको छ । उक्त स्याटेलाइटले पृथ्वीको सीमित क्षेत्रमा मात्रै इन्टरनेटको सिग्नल आदानप्रदान गर्न सक्छ । र, यिनको प्रयोग पनि निकै महँगो पर्छ । साथै धेरै माथिबाट तलसम्म सिग्नल आदानप्रदान गर्नुपर्ने कारणले त्यो केही सुस्त पनि हुन सक्छ । स्टारलिंक स्याटेलाइट अन्तरिक्षको तल्लो सतहमा रहन्छ जुन केवल ४६० किलोमिटरको हाराहारी हुनेछ । यसले इन्टरनेटको गतिमा झनै बढोत्तरी हुने छ । हालसम्म पनि इन्टरनेटको पहुँच नभएका क्षेत्रहरूमा इन्टरनेट सहज रूपमा उपलब्ध हुनेछ ।


स्पेसएक्सका सहअध्यक्ष मार्क जुनकोसाका अनुसार १२ वटा यस्तै प्रक्षेपणपछि पूरा अमेरिकाभर स्पेसएक्सले इन्टरनेट प्रदान गर्न सक्छ । २४ वटा प्रक्षेपणले अधिक जनसंख्या भएको कुनै पनि क्षेत्रमा इन्टरनेट दिन सक्नेछ । यस्तै ३० वटा प्रक्षेपणले भने विश्वभर इन्टरनेट प्रदान
गर्ने छ । स्टारलिंकको यो मिसन सफल भयो भने अन्तरिक्षमा अन्य कम्पनीहरूले पनि यस्तै स्याटेलाइटहरू प्रक्षेपण गर्न सक्नेछन् । स्टारलिंक स्पेसएक्सका लागि ठूलो महत्त्वको योजना हो । यसले इन्टरनेटको गति बढाउने मात्रै होइन, इन्टरनेट बजारमा स्पेसएक्सलाई ठूलो खेलाडी पनि बनाउनेछ । स्पेसएक्सले जस्तै केही कम्पनीले साना खालका स्याटेलाइट तल्लो अर्बिटमा राख्ने प्रयास जारी राखेका छन् ।

उसको सबै काम योजनाअनुसार भए यो अभियानमा स्पेसएक्स अरू कम्पनीभन्दा अघि बढ्नेछ ।

प्रकाशित : जेष्ठ १७, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?