कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिष्ठाको लडाइँ

कुशल तिमल्सिना

 
चार वर्षअघि लिभरपुलको जिम्मेवारी सम्हालेको पहिलो दिन प्रशिक्षक जर्गेन क्लोपले भनेका थिए, ‘यदि म चार सिजन यहाँ बसें भने मलाई विश्वास छ कि हामीसँग कम्तीमा एउटा ट्रफी हुनेछ  । ’ चार वर्षको बीचमा लिभरपुलले धेरै फाइनल खेलेको छ  ।

प्रतिष्ठाको लडाइँ

प्रिमियर लिगमा उपाधि नजिक पुगेको छ । क्लोपले भनेजस्तो ट्रफी भने एनफिल्ड भित्रन सकेको छैन । आफ्नो भनाइलाई सार्थक पार्ने अन्तिम मौका क्लबलाई शनिबार हुनेछ । जहाँ लिभरपुलले युरोपको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधिका लागि प्रिमियर लिग प्रतिद्वन्द्वी टोटनह्यामसँग खेल्दै छ ।


अक्टोबर सन् २०१५ मा लिनफिल्ड पुगेपछि क्लोपको टिमले लिग कप फाइनलमा म्यानचेस्टर सिटी, युरोपा लिग फाइनलमा सेभिया र गत सिजन च्याम्पियन्स लिगमा रियल मड्रिडसँग पराजित हुँदै उपाधि विमुख भएको थियो । यस सिजन ९७ अंक जोडेर पनि लिभरपुलले प्रिमियर लिगको उपाधिमा म्यानचेस्टर सिटीलाई माथ दिन सकेन ।


आइतबारको फाइनलपछि लिभरपुल म्यानेजर क्लोप र टोटनह्यामका म्यानेजर माउरिसियो पोचेटिनो दुवैका लागि ट्रफीको खडेरी तोड्ने अवसर हुनेछ । यी दुई विश्व फुटबलमा उच्च रेटेड प्रशिक्षकमध्येका हुन् । उनीहरूले आफू आबद्ध क्लबका लागि ट्रफीको तुलनामा खेलस्तर सुधार गरेर वाहवाही पाइरहेका छन् । सन् २०१४ मा टोटनह्याममा आबद्ध भएयता अर्जेन्टाइन प्रशिक्षक पोचेटिनोले एउटा पनि उपाधि दिलाउन सकेका छैनन् । सत्य के हो भने पोचेटिनोको आगमनअघि टोटनह्यामले इतिहासमै दुईपल्ट मात्र युरोपियन कपमा सहभागिता जनाउन पाएको थियो । उनको आगमन पनि आगामी सिजनलाई समेत गणना गर्दा टोटनह्यामले लगातार चौथोपल्ट च्याम्पियन्स लिग खेल्दै छ ।


पाँचपल्टको युरोपियन च्याम्पियनले महादेशीय प्रतिस्पर्धामा थुप्रै अविस्मरणीय क्षण कमाएको छ । तर, यही सिजन सेमिफाइनल दोस्रो लेगमा महारथी टोली बार्सिलोनाविरुद्ध ४–० को पुनरागमन जितले सबैलाई छायामा पारिदिएको छ । पहिलो लेगमा लिभरपुल ३–० ले पराजित भएको थियो । उपाधिभन्दा ठूलो उत्कृष्ट प्रबन्धन भन्ने भनाइलाई क्लोपले प्रमाणित गरेकोमध्ये पछिल्लो उदाहरण हो त्यो ।
क्लोपले लिभरपुललाई पुरानो विरासततर्फ लगेका छन् । त्योभन्दा धेरै पोचेटिनोले टोटनह्यामलाई यस्तो उचाइमा पुर्‍याएका छन् कि जुन उसले अहिलेसम्म देख्न/भोग्न पाएको थिएन । टोटनह्यामले पहिलोपल्ट महादेशीय प्रतियोगिताको फाइनल खेल्दै छ । घरेलु कपलाई त्यति ध्यान नदिएकामा पोचेटिनोको आलोचना हुने गर्छ । तर, टोटनह्यामलाई कस्तो बनाउने र केमा महत्त्व दिने भन्नेबारे उनी प्रस्ट छन् ।


यो सिजन लामो समयसम्म सम्झनका लागि दुई कारण छन् । एक– टोटनह्यामको पहिलो च्याम्पियन्स लिग फाइनल र दोस्रो– ६२ हजार दर्शक क्षमताको अत्याधुनिक नवनिर्मित रंगशालामा हुन लागेको उपाधि भिडन्त ।गत वर्षको रुस विश्वकप र त्यसपछिको व्यस्त कार्यतालिकाका कारण खेलाडीहरू थकित छन् र केहीमा इन्ज्युरीको समस्या छ । टोटनह्यामका मुख्य हतियार इंग्लिस सुपरस्टार ह्यारी केनले इन्ज्युरीकै कारण क्वाटरफाइनल र सेमिफाइनल गुमाउनुपरेको थियो ।मुख्य खेलाडीको अनुपस्थितिका बाबजुद टोटनह्यामले सामुन्नेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै आएको छ । आम्स्टर्डममा दोस्रो हाफमा लुकास मोउराले ह्याट्रिक गरेपछि अयाक्सलाई ३–० ले हराउँदै फाइनल यात्रा तय गरेको नतिजाभन्दा उत्कृष्टचाहिँ अरू कुनै छैनन् । सेमिफाइनल पहिलो लेगमा टोटनह्याम पनि १–० ले पछि परेको थियो ।‘हामी फाइनलमा पुग्छौं भनेर कसैले सोचेका थिएनन् तर, हामी आफ्नै बलबुताले यहाँ आइपुग्यौं, मेरा खेलाडीले मेरो विश्वास खेर जान दिएनन्,’ फाइनल यात्रा तय गरेपछि पोचेटिनोले भनेका थिए । स्पेनको राजधानीबाट ट्रफी उठाउने संकेत पनि पोचेटिनोले दिइसकेका छन् ।


सन् २००८ को सिजनपछि पहिलोपल्ट दुई इंग्लिस टिम च्याम्पियन्स लिगको उपाधि भिडन्तमा उत्रिँदै छन् । सन् २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले फाइनल खेलेका थिए । यसले च्याम्पियन्स लिगमा स्पेनिस क्लबको प्रभुत्व पनि तोडेको छ । पछिल्लो पाँच सिजनमा फाइनल खेल्ने कम्तीमा १ टिम स्पेनका थिए । जहाँ चारपल्ट रियल मड्रिड र एकपल्ट बार्सिलोनाले उपाधि जितेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?