कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खोलाको डर

'खोलाकै सुरमा त्यसलाई पछ्याउँदै हिँड्नु वास्तवमै आनन्द रहेछ । कहीँ ठूला चट्टान, कतै गहिरो खोला । कतै ढुंगे पानी त कतै बलौटे माटो र कम गहिराइको पानी ।'
शिल्पा कर्ण

विश्वमै जलस्रोतको दोस्रो धनी देश नेपाल  । सँगै बहुसंख्यक कृषक भएपनि पानी नपर्दा कृषक छटपटाउने र उब्जनी घट्ने देश हो यो  ।

खोलाको डर

अन्य धेरै उपयोग र प्रयोग छन् नदीका । यति धेरै विशेषता भएको नेपालको पानीसँग नजिक भएर साक्षात्कार गर्ने मौका भने जीवनको अढाई दशक पार गरेपछि मात्र मिल्यो ।


झ्यालको सिट, चिसो हावा, दोहोरीका साथै हिन्दी आधुनिक गीत, उपत्यकाबाट टाढिँदा बिस्तारै दुईतिर हरियाली देखिने साँघुरो सडक र त्यसमाथि थोरै गाडीले झनै सुन्दर बनाइरहेको थियो द लास्ट रिोर्टतिरको यात्रालाई । यी सुन्दर पलका बीच सिन्धुपाल्चोक प्रवेश गर्नेबित्तिकै खोलाका छेउछेउका पहेंला डोजर, एक्स्काभेटरका साथै बालुवा, गिट्टी झिकेर टिपरले ओसार्दै गरेको दृश्यले चिन्तित बनायो । सडकमा पनि नदीजन्य सामग्री बोकेका वाहन टन्नै भेटिए । चरम नदी दोहनले आउने दिनमा प्राकृतिक विपत्ति निम्त्याउने निश्चित नै छ । विडम्बना, नेपालका खोलानालाबाट पर्याप्त विद्युत् निकाल्न नसकेपनि बालुवा, गिट्टी भने धेरै नै निकालिने रहेछ ।


गाडी रोकिएपछि गाइड अच्युत गौतमले सबैलाई लुगा फेर्न आग्रह गरे । र्‍याफ्टिङ कस्ट्युम अर्थात् शरीरभरि खुकुलो कपडा लगाउनुपर्ने थियो । बाँकी सबैले हाफ पाइन्ट लगाइसकेका थिए, एउटी म भने जिन्समै देखेर गाइडले हकारे । कपडाबारे थाहा नपाएको भने होइन । जानुअघि र्‍याफ्टिङको लागि पूर्वतयारीका विषयमा इन्टरनेटतिर खोजेंकी थिए । त्यसपछि जानकारी पाएकामध्ये केही प्याक गरियो, धेरैचाहिँ बेवास्ता गरियो । जसमध्ये हाफ पाइन्ट पनि एक थियो, अर्को सजिलै सुक्ने कपडा । मैले सुतीको भेस्ट लगाएकी थिएँ, जसले भिज्नेबित्तिकै शरीर झनै चिसो बनाउने रहेछ ।


र्‍याफ्टिङ गर्ने ठाउँ पुग्न अझै १५ मिनेट लाग्ने भएकालेबीच बाटोमा पर्ने बलेफीको सानो बजारमा आवश्यक कपडा किन्नुपर्‍यो । जम्मा १६ जनाको टोलीलाई दुईवटा डुंगाबारे पढाएपछि पानीमा गर्नु हुने र नहुने कामको फेहरिस्त सुनाए गाइडले । टाउकोमा हेलमेट र खुट्टामा जुत्ता सुरक्षाका लागि आवश्यकता थिए । वरपर कायकमा सुरक्षाका लागि ४ जना तैनाथ थिए । झन्डै १५–१६ किलोमिटर भोटेकोसीलाई हामीले ३ घण्टामा पार गर्‍यौं । जीवनको सुन्दर अनुभूति रह्यो यो । खोलाकै सुरमा त्यसलाई पछ्याउँदै हिँड्नु वास्तवमै आनन्द रहेछ । कहीँ ठूला चट्टान, कतै गहिरो खोला । कतै ढुंगे पानी त कतै बलौटे माटो र कम गहिराइको पानी । खोलाका विशेषता थिए ती । तर पौडन नआउनेलाई भने खोला त्रास नै हुने रहेछ । त्यही बीचमा रमाइलोका लागि ठाउँअनुसार पौडी पनि खेले केहीले । लाइफ ज्याकेट लगाएकाले ढुक्क भएपनि अस्थिर पानीले डराइदिन्छ । पानीका ठूला पत्थरले डर पनि लाग्ने । तर अनुभव भयो, डरमै त वास्तविक मजा छ । साहसिक खेलको मजा नै त्यही हो ।


डुंगामा भएका सबैलेसँगै ‘प्याडलिङ’ गर्नुपर्ने, कहिले मिल्ने, कहिले नमिल्ने । अनुहार र शरीरमा भोटेकोसीको चिसो पानीका छालले हान्दा पनि आनन्द मिल्ने । डुंगा पानीकै छालमाथि चल्ने हुँदा त्यसैअनुसार केही स्थानमा तलमाथि भइरह्यो । सायद त्यसो नहुँदो हो त, फेवातालमा बोटिङ गरेझैं हुन्थ्यो होला । र्‍याफ्टिङ यति रोमाञ्चक बनाउन त्यही अस्थिर पानी र असमान खोला नै कारण थियो । एकातिर सडक अर्कोतिर पहाड अनि बीचमा खोलाको छालसँगै रमाइरहेका हामी ।


मलाई दुःखद लाग्यो, र्‍याफ्टिङ गर्न आउने पर्यटक शान्त वातावरण खोज्दा रहेछन् । जसलाई बालुवा उत्खनन र नदी दोहनले बिगारेको गाइडले बताए । गाइड अच्युत गौतम भन्दै थिए, नदीको प्राकृतिक स्वरूप नै उत्खननले बिगारिदिएको छ । खोला भद्रगोल भइसकेको उनको तीन दशक लामो अनुभवले भन्छ ।


फर्किने बेला एक घण्टा जतिको आरामपछि ड्राइभर दाइले सबैलाई बसमा डाके । उपत्यका फर्किने तयारीमा थियौं । गाडीबाटै एकपल्ट खोला हेरें, त्यहाँ पनि बालुवा लान तयार अवस्थामा टिपर देखिए र खोला खन्दै थिए डोजर ।

प्रकाशित : जेष्ठ २४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?