कमाइका सात सूत्र

सुशील पौडेल

फिल्म कहिल्यै कुनै अवार्डमा उत्कृष्ट नहुने, व्यक्तिगत रुपमा पनि कहिल्यै उत्कृष्ट अभिनेताको अवार्ड नपाउने, समीक्षकले कहिल्यै तारिफ नगर्ने, नाच्न र अभिनयमा खासै अब्बल नभएका सलमान खान बक्सअफिसमा कसरी ॅकिङ मेकर’ बनिरहेका छन् ? के तत्वले उनलाई लोकप्रिय अभिनेता बनाएको छ ? कोही किन उनका जबरजस्त फ्यान बन्न तयार छन् ? सलमान सबैका लागि रहस्यमयी र शक्तिशाली सुपरस्टार हुन्  । उनको फिल्मी कमाइ सूत्रबारे सुशील पौडेल लेख्छन् :

सलमान खान नाच्न खासै जान्दैनन् । अभिनय त उनको कामचलाउ मात्रै हो । नत्र ३० वर्षको फिल्मी करिअरमा पहिलो फिल्म ‘मैंने प्यार किया’ बाट डेब्यु हिरोको फिल्मफेयर जितेका उनले त्यसपछि अभिनेताका रुपमा कुनै पनि अवार्ड जितेका छैनन् । भारतीय समीक्षक मयंक शेखरले त एकपटक कटाक्ष गर्दै भनिदिए, ‘सलमानका फिल्मको समीक्षा गर्नु र अन्डरवेयरमा आइरन लगाउनु उस्तै हो । दुवै बेकाम ।’


सलमानका फिल्मको बक्सअफिस रिपोर्ट भने माथिका तर्कसँग कुनै तारतम्य राख्दैनन् । कम्तीमा भारु. एक करोड कमाउने ‘करोड क्लब’ प्रवेश अन्य कलाकारका लागि ठूलो उपलब्धि हुने गर्छ, तर उनको दौड करोड कटेपछि मात्र सुरू हुन्छ । फोर्ब्सले गत वर्ष निकालेको विश्वका ‘सर्वाधिक पारिश्रमिक पाउने सेलेब्रिटी’ मा सलमान ३ करोड ७७ लाख डलर कमाइसहित भारतका पहिलो र विश्वको ८२ औं स्थानमा अटाएका थिए । सर्वाधिक कमाइ गर्ने भारतीय फिल्ममा आमिरको ‘दंगल’ र प्रभासको ‘बाहुबली २’ पछि उनकै फिल्म ‘बजरंगी भाइजान’ पर्छ ।


सन् १९८९ को डेब्यु फिल्म ‘मैंने प्यार किया’ बाटै उक्त वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म दिन सफल सलमानका त्यसपछि साजन (१९९१), हम आपके है कौन (१९९४), हम साथ साथ हैं (१९९९), नो इन्ट्री (२००५), दबंग (२०१०), बडिगार्ड (२०११), एक था टाइगर (२०१२), बजरंगी भाइजान (२०१५) र टाइगर जिन्दा है (२०१७) का घरेलु बक्सअफिसमा त्यस वर्षका सर्वाधिक कमाइ गर्ने फिल्म बने । सर्वकालीन चर्चित दस फिल्मको सूचीमा सलमानका तीन फिल्म पर्नुले उनको बक्सअफिस शक्तिलाई झल्काउँछ । यतिबेला उनकै फिल्म ‘भारत’ ले पाँच दिनमै भारु. डेढ सय करोड संकलन गरिसकेको छ । उनको फिल्मको कमाइका कारण :

व्यक्तित्व
५३ वर्षीय सलमानको व्यक्तित्व उँचो छ । पटकथाकार सलिम खानका छोरा सलमान फिल्ममा मात्रै अभिनेताको भूमिका खेल्दैनन्, बरु सामाजिक रूपमा पनि आफूलाई नायक साबित गर्ने काममा लागिपर्छन् । विइङ ह्युमन फाउन्डेसनमार्फत गरिब तथा बालबच्चाका लागि सहयोगी बन्दै आएका उनी बलिउडमा धेरैका गडफादरसमेत हुन् । प्रायः कालो पहिरनमा हिंड्न रुचाउने सलमान सुगठित शरीरका कारण पनि लोकप्रिय छन् । आफू कपडा लगाउँदा भन्दा ‘टपलेस’ मा बढी सहज अनुभव गर्ने बताउने उनले फिल्म ‘प्यार किया तो डरना क्या’ को गीत ‘ओ ओ जाने जाना’ मा पहिलो पटक टपलेस भई देखिएका थिए । उनको उक्त अवतारलाई यति रुचाइयो कि त्यसपछि सलमानले हरेकजसो फिल्ममा बडी देखाउने बहाना पाए ।


सलमान अभिनयका अलावा चित्रकला, गायन र खाना पकाउनमा विशेष रुचि राख्छन् । सलमानको डान्सको सिग्नेचर स्टेप उनकै पूर्वप्रेमिका संगीता बिजलानीले सिकाएकी थिइन् ।सलमान हतपती सेल्फी खिच्न रुचाउँदैनन् । उनीसँग खिचेकै सेल्फी देखाएर एक युवतीले गर्लफ्रेन्ड दाबी गरेर हंगामा गरेकी थिइन् भने अर्का एक युवकले आफू सलमानको कास्टिङ एजेन्ट बताएर दुरुपयोग गरेका थिए ।


बलिउडमा सलमान, शाहरूख र आमिर गरी तीन खानमा को ठूलो भन्ने बहस चर्को छ । फ्यानहरूबीच यसै विषयलाई लिएर दन्तबझान चलिरहन्छ । तर सलमान आफ्ना फ्यानलाई यस्ता बहसमा लागेर समय र ऊर्जा खेर नफाल्न सल्लाह दिन्छन् । उनी आफूलाई सधैं दर्शकको माया भए पुग्ने बताउँछन् । सलमान मोहम्मद रफी, किशोर कुमारलगायतका गीत सुन्न बढी रुचाउँछन् । एकपटक उनले आफ्नो रुचिका गीतमा ‘चुरालिया है’ र ‘मेरे सपनोकी रानी’ भनी उल्लेख मात्र के गरेका थिए, फ्यानले ती गीतलाई एकाएक ट्रेन्डिङमा ल्याइदिए ।

आचरण
सलमान कुनै बेला ‘ब्याड ब्वई’ का रूपमा बढी चिनिन्थे । खासगरी अभिनेत्री ऐश्वर्या रायसँगको उनको प्रेम सम्बन्ध सुमधुर हुन छोडेपछि सलमान आक्रामक बनेका थिए । स्वयं ऐश्वर्याले सलमानविरुद्ध सुरक्षाको कारण देखाउँदै उजुरी दिएकी थिइन् । पछि ऐश जुन युवकसँग नजिक हुन्थिनँ, उसलाई समेत सलमानले तनाव दिन छोड्दैनथे ।
तिनै सलमानपछि युवतीका मामिलामा भलाद्मी निस्किए । यतिसम्म कि उनी फिल्ममा को–एक्टरसँग किस सिनसमेत राख्दैनन् भने नायिकालाई भड्किलो पोसाकमा खेल्न पनि दिँदैनन् । धेरैलाई नायिका बनाएको श्रेय पनि सलमानलाई नै जान्छ । बलिउडमा कसैलाई आपतविपत पर्दा सबैभन्दा पहिले सहयोगी हात सलमानकै हुन्छ । आफ्नो
आचरण एकाएक बदलेका सलमानलाई यही कारण पनि सबैले रुचाउँछन्, डराउँछन् पनि । उनी फिल्मी चरित्रले भन्दा आफ्नै चरित्रका कारण बढी प्रसिद्ध छन् र त उनका फिल्ममा उनलाई मात्रै हेर्न भए पनि फ्यान हलसम्म पुग्ने गर्छन् ।

सहानुभूति
सलमानले लोकप्रियता पाउनुमा उनीप्रतिको सहानुभूति पनि हो । सडक पेटीमा सुतिरहेकाहरूमाथि रक्सी पिएर सवारी चलाई भागेको ‘हिट एन्ड रन’ काण्ड र कालो हरिणको अवैध सिकार गरेको आरोप खेपिरहेकाले उनी सामाजिक रूपमा अलोकप्रिय हुनुपर्ने हो । तर यही मुद्दाका कारण उनले फ्यानबाट सहानुभूति बटुले । उनलाई निर्दोष साबित बनाउनका लागि व्रत बस्नेदेखि धर्ना दिएर दबाब दिने ठूलै पंक्ति छ ।

अविवाहित ह्यान्डसम
सलमानका फ्यान बच्चादेखि वृद्धसम्म छन् । उनका फिल्म ‘बिग स्क्रिन’ देखि ‘सिंगल स्क्रिन’ थिएटरसम्मका दर्शक माझ उत्तिकै लोकप्रिय हुन्छन् । जबरजस्त फ्यान फलोइङ पाएका सलमानलाई खासगरी युवतीहरूले अधिक चाहन्छन् । अहिलेसम्म अविवाहित हुनु र उत्तिकै ह्यान्डसम भइरहनुले पनि युवतीको नजरमा अन्य अभिनेताको तुलनामा सलमान माथि छन् ।

दबंग शैली
सलमान ‘मैनें प्यार किया’ बाट जबरजस्त सफलता पाएर पनि ६ महिना कामविहीन भएका थिए । पछि उनले पछि फर्केर हेर्नुपरेको छैन । कुनै बेला ‘लभर ब्वाई’ को भूमिकामा बढी देखिएका सलमान कमेडी भूमिकामा पनि खेले । तर उनलाई फ्यानले बढी मात्रामा दबंग शैलीमै रुचाए ।
‘दबंग’ र ‘टाइगर’ सिरिजले सलमानका फ्यान ह्वात्तै बढे । यस्ता फिल्ममा अभिनयले भन्दा पनि शक्तिशाली र रिसाह देखिएको रूप बढी चल्ने भएकाले सलमानका लागि उपयुक्त बन्यो । अभिनय नै देखाउनुपर्ने ‘ट्युबलाइट’, ‘वीर’, ‘जय हो’ जस्ता फिल्म खेल्दा उनी चिप्लिएका थिए । उनलाई फ्यानले ‘लार्जर द्यान लाइफ’ चरित्रमा नै हेर्न रुचाउने गर्छन् ।

बिकाउ एक्टर
सलमान त्यस्ता सुपरस्टार हुन्, जसका फिल्मले सुरुमै धुमधडाका व्यापार गरिदिन्छ । पछिल्लो फिल्म ‘भारत’ ले त एकै दिन साढे ४२ करोड भारु कमाइको कीर्तिमान नै राखिदियो । फ्लप भनिएका उनका ‘जय हो’, ‘ट्युबलाइट’ ले पनि सय करोड माथिको व्यापार गरेका थिए । त्यसो त सलमानका फिल्मले रिलिजअघि नै आफ्नो लगानी सुरक्षित गरिसकेका हुन्छन् । पछिल्लो पटक स्याटेलाइट राइट्समा पनि सलमान सबैभन्दा अघि छन् । एक टीभी कम्पनीले उनका चार फिल्मका लागि मात्रै चार करोड भारु तिरेर स्याटेलाइट राइट्स किनेको थियो ।

शाहरूख र आमिरभन्दा अलग
बलिउडमा शाहरूख र आमिरको प्रभाव पनि उत्तिकै छ । खासगरी शाहरूख लभर ब्वाईको भूमिकामा खुबै जम्छन् र त्यस्तै खालका फ्यान कमाएका छन् । आमिर भने उत्कृष्ट फिल्म खेलेर उपल्लो वर्गका दर्शकलाई आफूतर्फ तानिरहेका छन् । यस्तोमा सलमानले बीचको बाटो अपनाएका छन्, ‘मास हिरो’ बनेर ।


सलमान उडन्ते भूमिकामा समेत आफूलाई फिट बनाउँछन्, हिट देखिने चरित्र रोज्छन् र फिल्ममा ताली र सिट्ठी बज्ने इन्ट्री मार्छन् । कतिपय त सलमान र आमिरलाई क्रिकेटर सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागसँग पनि तुलना गर्छन् । सचिन टेक्निकल्ली ब्याटिङ गर्नेमा चिनिन्छन् भने सेहवाग निडर भई खेल्छन् र विस्फोटक ब्याटिङ गर्छन् । रेकर्ड सचिनको बन्छ तर मनोरञ्जन सेहवागले गराउँछन् । त्यसैले सलमान सेहवाग हुन् भन्ने धेरै छन् । त्यसबाहेक उनी बिग बोसको होस्ट बनेर टीभीमार्फत दर्शकको घरघरसम्म पनि पुगेका छन् । यसले उनको फ्यान सर्कल निकै बढाइदिएको छ ।

सलमानका सर्वाधिक कमाउने दस फिल्म
टाइगर जिन्दा है (२०१७) भारु ३३९.१६ करोड
बजरंगी भाइजान (२०१५) भारु ३२०.३४ करोड
सुल्तान (२०१६) भारु ३००.६७ करोड
किक (२०१४) भारु २३१.६३ करोड
प्रेम रतन धन पायो (२०१५) भारु २१०.१६ करोड
एक था टाइगर (२०१२) भारु १९८.७८ करोड
रेस ३ (२०१८) भारु १६६.४० करोड
दबंग २ (२०१२) भारु १५५ करोड
बडिगार्ड (२०११) भारु १४८.८३ करोड
दबंग (२०१०) भारु १३८.८८ करोड
ट्युबलाइट (२०१७) भारु १२३.८० करोड
रेडी (२०११) भारु ११९.७८ करोड
जय हो (२०१४) भारु ११६ करोड

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

सोचाइको ‘प्यासन’

देवेन्द्र भट्टराई

तीन युवती र एक युवा मिलेर दुई वर्षअघि सुरु गरेको सामाजिक परिवर्तनको एउटा साधारण 'आइडिया' ले गत साता संसारकै उत्कृष्ट पुरस्कार जित्यो  । पोषणमालाको प्रतिस्पर्धामा एक सय देशका १२ सय प्रतिस्पर्धीलाई उछिनेर ५० हजार अमेरिकी डलर हात पारेका यो समूहको आइडिया के हो त ? सोचाइ र यसको कामबारे देवेन्द्र भट्टराई लेख्छन् :

काठमाडौं उपत्यकामा जन्मे–हुर्केका बोनिता, नेहा, मन्जिता र आशुतोष पढाइका आधारमा अलग दुनियाँका पात्र हुन् । बोनिताले खाद्यान्न तथा पोषणमा मास्टर्स गरेकी छन् भने मन्जिता राजोपाध्याय (२६) चाइल्ड डेभलपमेन्टमा मास्टर्स गर्दैछिन् । नेहा मल्ल (२९) फार्मेसी पृष्ठभूमिकी हुन् भने आशुतोष फिल्म मेकिङका विद्यार्थी हुन् । तर, एकअर्कामा टाढैका चिनारु भए पनि यी चारैजनामा एउटा साझा ‘प्यासन’ भेटियो— पोषण र पौष्टिकताको ‘प्यासन’ ।


यो अभियानमा अगुवा रहिन्— बोनिता शर्मा (२७) । खाद्यान्न तथा पोषणमा पद्मकन्या क्याम्पसबाट मास्टर्स गरेकी बोनिता दुई वर्षअघिसम्म कुनै एनजीओमा काम गर्थिन् । पोषणबारेको पढाइका कारण यस सम्बन्धमा स्थलगत बुझाइ र अनुभव बटुल्न उनी काठमाडौंका छेउभित्ता चहार्ने गर्थिन् । देशभरको कुपोषण इन्डेक्स हेर्दा अघिल्ला दसभित्र ललितपुर जिल्ला पनि रहेको उनले थाहा पाइन् । ‘एक दिन घुमफिरमै ललितपुरको लुभु पुगेका थियौं,’ बोनिताले सुनाइन्— ‘एउटी आमाले आफ्नो २ महिनाको दुधे बालकलाई काजु घोटेर ख्वाउँदा काजुको टुक्रा अट्केर बच्चाको मृत्यु भएको रहेछ । त्यसपछि त्यो आमालाई घरपरिवारबाटै निकाला गरिएको रहेछ । यही कुराले खानेकुराको चेतनामा काम गर्ने आँट पलायो ।’


विश्व स्वास्थ्य संगठनले पनि जन्मदेखि ६ महिनासम्म आमाको दूधमात्रै ख्वाउनुपर्छ भनेर निर्देश गरेकामा कति उमेरका बालबच्चालाई के ख्वाउने, गर्भवती वा सुत्केरीका हकमा के गर्ने भन्ने सामान्य ‘चेतना’ समेत नरहेको धरातलमा बोनिता उभिएकी थिइन् । त्यही धरातलमा उभिएर सोसल चेन्जमेकर्स एन्ड इन्नोभेटर्स (सोचाइ) भन्ने संस्था जन्मिएको थियो । यहींबाट ‘पोषणमाला’ जन्मिएको थियो, यसैले अहिले आएर अन्तर्राष्ट्रिय पहिचान पाएको हो ।


पोषणका लागि युवा
एकदमै साधारण तरिका र बुझाइमा पौष्टिक खानेकुराको ‘चार्ट’ बनाउने र बुझाउने काममा ‘सोचाइ’ का युवायुवती लागिपरेका छन् । ‘सुरुमा मोबाइल–एप्स बनाउने कि भन्ने थियो । तर, गाउँमा आमाहरू मोबाइल चलाउनै मुस्किल मानिरहेको पायौं । त्यही भएर साधारण मालाको अवधारणा आयो,’ नेहा भन्छिन्— ‘मालाको रंगअनुसार खानेकुरा छनोट र तोकिएको अवधि (२४ महिना) भित्र बच्चालाई ख्वाउनुपर्ने खानाको चार्ट यसमा छ । अहिले लुभु, आमा समूहसहितमा गरेर नौ सयजना आमाहरू हाम्रो पोषण चेतनाको अभियानमा जोडिनुभएको छ ।’


यो कलरफुल (पोषण) माला हरेक आमालाई दिइएको हुन्छ । सेतो, खैरो, पहेंलो, हरियो र नीलो रंगको मालाले खानेकुराको समूह, अवस्था र समयलाई निर्धारण गर्छ । यही पोषण मालाको नवीनतम आइडियालाई ‘युनिसेफ एसिया–प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज’ ले ‘उत्कृष्ट ३’ ठहर गर्दै सन् २०१६ मा ५ हजार डलरसहित पुरस्कृत गरेको थियो । उक्त स्पर्धामा विश्वका ६ सयवटा यस्ता ‘आइडिया’ आएका थिए ।


'केटाकेटी काम' को चिनारी
अहिले सोचाइ समूहले राष्ट्रसंघले तोकेको दिगो विकास लक्ष्यका १७ मध्ये १० वटा लक्ष्यमा आधारित रहेर नवीनतम काम गर्ने शैली र उपाय निकालेको हो । बेलायतस्थित च्यारिटी संस्था ‘वन यङ वर्ल्ड’ ले आफ्नो कार्ययोजनामा पारेको यो दिगो विकास लक्ष्य पूरा गर्ने नवीनतम आइडिया खोज्नुपर्ने एक शीर्षक थियो— ‘भोकमरीको अन्त्य’ । आशुतोषध्वज कार्की (२७) का अनुसार, यही शीर्षकलाई समातेर केही सिर्जनात्मक काम देखाउने उपायमा ‘पोषणमाला’ जन्मिएको थियो ।


सोचाइकी प्रमुख संस्थापक बोनिताका अनुसार, कुपोषण सूचकांकमा ५ वर्षमुनिका बालबच्चालाई मात्रै हेर्ने गरिन्छ । तथ्यांकअनुसार, नेपालमा २८ लाख ५ वर्षमुनिका बालबच्चामध्ये ३८ प्रतिशतमा पुड्कोपना छ, २७ प्रतिशतमा ‘कम तौल’ रहेको अवस्था छ । युनिसेफका अनुसार, कुपोषणसँग जोडिएका रोगहरूकै कारण ४५ प्रतिशत बालबच्चाको निधन हुने गरेको छ ।


‘सुरुमा सरकारी अड्डा–कार्यालय धाउँदा पनि यी केटाकेटीले के पो गर्लान् र ? यो माला बोक्दैमा के हुन्छ र (?) भन्थे,’ मन्जिताले सुनाइन्— ‘खासमा हामीले चालेको कुनै क्रान्तिकारी कदम थिएन, खानपिनको सामान्य सूत्र मात्रै बनाएका थियौं । तत्काल उपलब्धि हेर्ने बेला होइन तर, ज्ञान र सूचना बाँड्नमा हामी सफल भएका छौं ।’ उनका अनुसार, झन्डै २ वर्षदेखि ललितपुर, लुभुका आमा र अन्य आमा समूहबाट ९ सय जना आमाहरू यो पोषण विधिमा समेटिएका छन् ।

यस्तै, पोषण विधि र उपायका बारे जानकारी गराउन यो समूह सलम्बु (काभ्रे), शिखरापुर (फर्पिङ), इन्द्रेश्वरी (सिन्धुपाल्चोक) लगायत ठाउँका सरकारी विद्यालयमा पनि पुगिरहन्छन् । पोषणयुक्त खानेकुराको प्रदर्शनी गरिरहेका हुन्छन् । ‘हामी खानेकुरामा गरिब छैनौं । तर, व्यवस्थापन मात्रै नजानेको हो,’ बोनिता भन्छिन्— ‘पौष्टिकताको वर्ग हेरी अनार वा सुन्तला नै चाहिन्छ भन्ने होइन, बरु गाउँमा पाइने हलुवावेद, नास्पातीजस्ता फलफूल मेनुमा राखे पनि हुन्छ ।’


यसैगरी, पछिल्ला वर्षहरूमा आमाहरूमा बढेको रक्तअल्पताका बारे पनि यो समूह सचेत भएर खाद्य चेतना विस्तारमा लागिपरेको छ । सोचाइ समूहले पोषणमालासँगै नवयौवना र किशोरीका लागि ‘महिनावारी माला’ को आइडिया पनि तयार पारेको छ जसबाट महिनावारीको शारीरिक प्रक्रिया र अवस्थाबारे चेतना बाँड्न सकिन्छ । यो माला र महिनावारीबारेको सचेतना अभियान लिएर ‘सोचाइ’ का युवायुवती विभिन्न अस्पताल, सामुदायिक केन्द्र, विद्यालय जाने गरेका छन् ।


१०० देश, १२०० आइडिया
सोचाइको पृष्ठभूमिमा अमेरिका ग्लोबल बिजिनेस पढेर आएकी इभा ज्ञवाली पनि छिन् जो कुनै अभियानको ‘आइडिया’ निकाल्न र ‘डिजाइन’ तयार गर्न सहयोगी रहँदै आएकी छन् । मानिसलाई बीचमा राखेर आइडिया निकाल्ने प्रक्रिया ‘डिजाइन–थिङ्किङ’ बाट प्रभावित रहेर ‘सोचाइ’ मा नयाँ अवधारणा निकाल्ने गरिएको आभाले सुनाइन् ।


यो साता ५० हजार डलरसहित पुरस्कृत पोषणमाला (आइडिया) को स्पर्धामा विश्वका १ सय देशबाट प्रतिस्पर्धी आएका थिए । सहस्राब्दी लक्ष्यको नम्बर २ अर्थात् ‘भोकमरीको अन्त्य’ शीर्षकमा १२ सयवटा आइडियाहरू प्रतिस्पर्धामा थिए । ‘यही स्पर्धामा हाम्रो सोचाइअन्तर्गत पोषणमालाले उत्कृष्ट आइडिया बन्ने अवसर पायो,’ बोनिता भन्छिन्— ‘खासमा हामीले सोचेभन्दा ठूलो अवसर र उपलब्धि भएको छ, हाम्रो यो आइडिया ।’


अबको अर्को चरणमा भने पोषणयुक्त खानेकुराको खाद्य चार्टअनुसार ‘प्याकेज’ बनाएर सहुलियतमा बेच्ने योजना पनि सोचाइले राखेको रहेछ । सोचाइ समूहका लागि हिजोसम्म ‘साइड ड्युटी’ जस्तो मात्रै रहेछ— यो काम । सबैजना प्यासन–ड्राइभन भएकैले आइडिया रस अभियान अघि बढेको रहेछ ।

‘तर अब भने सबै सपना र योजना यसै अभियानमा लगाउने भएका छौं,’ अनामनगरभित्रको गल्लीमा भेट्नै मुस्किल पर्ने अफिसको छतमा बसेर बोनिताले भनिन्— ‘अब यो पोषण अभियानलाई खाद्य चेतना र आवश्यकताका आधारका सबै (१० जिल्ला) मा विस्तार गर्ने आँट पलाएको छ । यति छिट्टै यसरी कुनै ‘रिकग्निसन’ पाइएला भन्ने थिएन, हामी खुसी र अचम्ममा एकैचोटि परेका छौं ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्