३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गुणको बदला गुण

बालमन्दिरमा हुर्किएका तीन युवाले द ट्वीन ओटर्स फाउन्डेसन स्थापना गरी चार वर्षयता असहाय र सडक बालकहरूलाई उद्धार गर्दै खाने, बस्ने र पढाइको बन्दोबस्त गरिरहेका छन् ।
गोविन्द पोखरेल

 
कुनै बेला मलाई पनि कसैले सहयोग गरिदिएका कारण म यो अवस्थामा छु  । अहिले त्यही मानवीय नाताले सडक र असहाय बालबालिकाहरूलाई उद्धार गर्न लागिपरेको छु,’ खेमराज पुरीले भने  ।

गुणको बदला गुण

सडकबाट साथीहरूसँगै उनको उद्धार गरिएको थियो । साथीहरू बाल आश्रमबाट भागे । उनी आश्रममै बसे र १२ कक्षासम्म पढे । अनि लागेका थिए अस्ट्रेलिया । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि उनी फर्किएका हुन् । उनी हाल एक होटलमा व्यवस्थापकको रूपमा कार्यरत छन् ।
सोलुखुम्बुका शिवराज बस्नेतले डेढ वर्षको छँदै बुबाआमा गुमाएका थिए । अनि उनी बाल मन्दिरमा हुर्किए । सहयोगीकै भरमा उनले १२ कक्षा उत्तीर्ण गरे । हाल उनी राजधानीकै एक विद्यालयमा खेलकुद शिक्षक छन् । ‘मलाई कसैले उद्धार नगरिदिएको भए मलाई यो अवस्थामा देख्न पाइँदैन थियो होला,’ ३० वर्षीय उनी भावुक भए ।
प्रेमबहादुर बोगटीले ६ वर्षको उमेरमा बुबाआमा गुमाएका थिए । डोटीका उनी बुबाआमाको देहान्तपछि भाँडा माझ्ने काम गर्दै जहाँ पायो त्यहीं बस्न थाले । नेपाल बाल संगठनले उद्धार गरेर उनलाई बालमन्दिर ल्यायो । स्नातकोत्तर सकेका ३० वर्षीय उनी हाल राजधानीको एक स्कुलमा संयोजक छन् । भन्छन्, ‘अरूले पढाइदिएर हामी यो अवस्थामा आएका छौं । हामीले पनि केही गर्नुपर्छ भन्ने भावना थियो । त्यसैले संस्था खोल्ने निर्णयमा पुग्यौं ।’
अस्ट्रेलियामा चार वर्ष बिताएर खेम गृहनगर उर्लाबारी फर्किए । त्यहाँ १४ जना सडक बालक देखेपछि उनले यस्ता बालकहरूको उद्धार गर्ने संस्था खोल्ने प्रस्ताव बालमन्दिरमा सँगै पढेका साथीहरू शिवराज र प्रेमसँग राखे । त्यसले मूर्त रूप लियो र द ट्वीन ओटर्स फाउन्डेसनको स्थापना भयो ।
सडक बालक हुँदाका दिनहरू कति कठिन हुन्छ भन्ने उनीहरूले भोगेका छन् । त्यसैले हुन सक्छ, यी तीनले सुकुदेव लामिछानेको सहयोगमा राजधानीस्थित कपनमा ट्वीन ओटर्स फाउन्डेसनमार्फत असहाय तथा सडक बालबालिकाको उद्धार गर्दै बालगृह सञ्चालन गरिरहेका छन् । उनीरूसँग अहिले १२ बालक छन्, जसको भविष्य बनाउन उनीहरू खुबै मिहिनेत गरेर लागेका छन् ।
......
सडक बालबालिकालाई सडकबाटै झ्याप्प समातेर किताब हातमा थमाइदियो भने उनीहरू पढ्न मान्दैनन् । त्यसैले त धेरै सडक बालकहरू उद्धार गरिए पनि फेरि सडकमै आइपुग्छन् । उनीहरूलाई उद्धार गरेपछि पहिला बाल सुधार गृहमा राखेर आनीबानी फेरिएपछि मात्र हातमा किताब दिनुपर्छ, जसले उनीहरूलाई जीवन परिवर्तनका अक्षरहरू पढ्ने बानी बसाल्न सक्छ ।
शिवराज बस्नेत भन्छन्, ‘सडक बालकहरूलाई पैसा दिनुहुन्न । पैसाले गर्दा पनि कुलतमा फसेका छन् । एकचोटि पैसा खेलाउने लत लागेपछि उनीहरू किताब हातमा लिन मान्दैनन् । त्यसैले पैसाको विकल्पमा खानेकुरा दिनुपर्छ ।’ प्रेमले थपे, ‘कार्यक्रमहरू सञ्चालन गर्दैमा सचेतना हुने पनि होइन । बाल गृह सञ्चालन गरेर सडक बालकहरूको जीवनमा सकारात्मक परिवर्तन गर्न सकिन्छ ।’ यी दुईको कुरामा खेमराज
सहमत छन् ।



उनीहरूको सानैमा उद्धार गरिएको थियो । त्यसैले राम्ररी पढ्ने अवसर पाए । पढे । अचेल उनीहरू राम्रै जागिर खाइरहेका छन् । आफ्नो जीवन फेरिदिएको त्यही गुण फर्काउनका लागि अहिले उनीहरू असहाय तथा सडक बालबालिकाको उद्धार गर्दै शिक्षा दिलाउनका लागि सक्रिय छन् । यस बालगृहमा उर्लाबारी (मोरङ), काठमाडौं र खोटाङबाट उद्धार गरिएका दर्जन बालक छन् । त्यसमा असहाय, अभिभावकविहीन भएका र सडकबाट उद्धार गरिएका बालकहरू छन् । ९ देखि १५ वर्षसम्म यी बालकहरू चाबहिलकै एक निजी विद्यालयमा अध्ययनरत छन् ।
उनीहरूले २०७२ सालमा चार जना बालकहरूको उद्धार गरी बालगृह सुरु गरेका थिए । उद्धार गर्दै थप्दै जाँदा १२ पुगेको हो । ‘उद्धार गरेपछि बाल सुधार गृहमा केही समय राखेर सुधार गृहमा ल्याउने गरिएको छ । त्यसपछि उनीहरूलाई खाने–बस्ने र पढाइको व्यवस्था गरेका छौं,’ खेमराजले भने । उनीहरूले टच फाउन्डेसन आयरल्यान्डको सहयोगमा टहरा निर्माण गरेर बालकहरूलाई राख्ने बन्दोबस्त गरिएको छ ।
ट्वीन ओटर्स टच फाउन्डेसन, हिमाली बोर्डिङ स्कुलकी साधना लामा, सुकुदेव लामा र क्रिएटिभ नेपालले विशेष सहयोग गरिरहेको उनले बताए ।

आदर्श, भ्रम र सडक
ट्वीन ओटर्सको सुरुका दुई वर्षसम्म उनीहरू आफैंले मासिक ५ हजार रुपैयाँका दरले उठाएर खर्च टारेका थिए । प्रेम भन्छन्, ‘पहिला चार जना बालक थिए र थोरै पैसाले पुग्थ्यो । त्यसपछि सात जना भयो र गाह्रो पर्न थाल्यो । बालकहरू ११ जना भएपछि धेरै गाह्रो भएकाले सहयोग माग्न थाल्यौं ।’
उनीहरूलाई लागेको थियो, संस्था खोलेपछि सहयोगी पाइहाल्छ । ट्वीन ओटर्स स्थापना गरेपछि ठीक उल्टो भयो । ‘हामीमा संस्था खोलेपछि डोनर पाउँछौं भन्ने थियो । तर त्यस्तो होइन रहेछ । व्यावहारिक रूपमा धेरै गाह्रो रहेछ । आफैंले खर्च जुटाएर बालबालिकाहरूलाई हेर्नुपर्छ । चाडपर्वअनुसार उनीहरूलाई अरू सहयोग पनि गर्नुपर्छ । सहयोगी खोज्न धेरै गाह्रो रहेछ,’ प्रेमले सुनाए, ‘खेमे, शिवे र प्रेमेले धेरै राम्रो काम गरे भनेर धेरैले भने तर व्यवहारमा ती बालकहरूलाई सहयोग गर्ने धेरै कम निस्किए ।’
‘हामीले कसैको माध्यमबाट शिक्षा पायौं भने हामीले पनि अरूलाई शिक्षा दिनुपर्छ भन्ने अनुभूति भयो । कमसेकम १२ कक्षासम्म पढाउनुपर्छ भन्ने हामीमा भावना छ । हामीले पाएजस्तै आफैंले पनि अरूलाई दिन सक्यौं भने सन्तुष्टि मिल्छ,’ खेमले भने । हाल डोटीबाट एक जनाको उद्धार गर्ने तयारी भइरहेको उनीहरूले सुनाए । शिवराजले भने, ‘हाम्रो संस्थाको अवस्था हेरेर उद्धार गर्छौं । हामीले पाल्न नसके अन्य संस्थालाई सिफारिस गर्छौं ।’
काठमाडौंको जीवन महँगो छ । तीनैले भने, ‘यहाँ (काठमाडौं) एक जना बाँच्न त मुस्किल छ । झन् १२ जनालाई पाल्ने, पढाउने जिम्मेवारी लिँदा कस्तो चुनौती र समस्याहरू होलान् आफैं सोच्नुहोला । हामीलाई कसैले उद्धार गरिदियो, शिक्षा दियो । त्यसैको पाठ हो, हाम्रो यो सहयोगी भावना र कार्य ।’
बालबालिकाहरूको नाममा डलरमा खेती गर्ने संस्था धेरै भएकाले साँच्चिकै काम गर्नेलाई गाह्रो भएको खेमराजले बताए । संस्था दर्ता प्रक्रियाबाटै धेरै समस्या झेल्नुपरेको उनको अनुभव छ । ‘हामीजस्तै अन्य युवाहरूले पनि असहाय, सडक बालबालिकाहरूलाई उद्धार गर्न गरेको चाहन्छौं,’ उर्लाबारीका ३२ वर्षीय खेमराजले चाहना व्यक्त गरे, ‘आदर्शको कुरा वास्तवमै यथार्थमा लागू गर्न गाह्रो रहेछ । सडक बालकहरू बाध्यताले आइपुग्छन् । हाम्रो समाजले उनीहरूलाई बहिष्कार गरिदिन्छ । त्यसो गर्नु हुँदैन ।’

प्रकाशित : असार १३, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?