कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

'हिट र फ्लप हातमा हुन्न'

अर्पण थापाले जति फिल्म खेले/बनाए, सोही अनुपातमा सफलता पाएका छैनन् । तैपनि फिल्म खेल्ने, लेख्ने, बनाउने र हेर्नेबाहेक अरू केही गर्दैनन् ।
गोकर्ण गौतम

 
महाबौद्धमा विदेशी फिल्मका डीभीडी बेच्थे, अर्पण थापा  । मुम्बई पुगे  ।

'हिट र फ्लप हातमा हुन्न'

फिल्म एक्टिङ र डिरेक्सन पढे । फर्किएपछि प्रस्ताव आयो, सिक सिटीबाट । मुर्रे केर निर्देशित यस फिल्मको बजेट थियो, जम्माजम्मी अढाई लाख । त्यो पनि सर्ट होइन, फिचर फिल्म नै । अर्पणलाई आफ्नो क्षमता पस्कनु थियो, त्यसैले बजेट र ब्यानर हेरेनन् । सानो लगानीको सिक सिटीले उनको करिअरमा ठूलो भूमिका खेल्यो । कम्तीमा फिल्मको अभाव भएन । आफ्नै मर्जीले नखेल्नु त अलग कुरा ।
अभिनेताका रूपमा उनलाई नेपाली फिल्मले स्विकारिसकेको छ । त्यसो त अर्पणको परिचय अभिनेतामा मात्र सीमित छैन । लेखन र निर्देशनमा पनि सक्रिय छन् । उनी निर्देशित चौथो फिल्म घर साउन ३ गते प्रदर्शन हुँदै छ । उनी नेपाली फिल्मका लागि ‘आउटसाइडर’ हुन् । यहाँ चिनजानको कोही थिएनन् । जति पहिचान बनाए, आफ्नै बलबुतामा । यसबीच अनेक आरोह–अवरोह झेल्नुपर्‍यो । तर यात्रा रोकिएन । घरको पोस्ट प्रोडक्सनमा व्यस्त अर्पणले बडो आत्मविश्वासका साथ सुनाए, ‘र, कहिल्यै रोकिने पनि छैन ।’ भनिन्छ नि, आत्मविश्वास नै आधा जित हो । बाँकी समय र संघर्ष ।
संयोग कस्तो भने, असाध्यै कम बजेटको फिल्मबाट डेब्यु गरेका अर्पणले दोस्रो फिल्मचाहिँ ठूलो बजेटको पाए, ब्याच नम्बर १६ । आठ वर्ष अगाडि प्रदर्शित यस फिल्ममा करिब डेढ करोड लगानी भएको थियो । प्रचार उस्तै धमकेदार । केन्द्रमा अर्पण नै थिए तर बक्सअफिसमा चिप्लियो । यसको अपजसको भार स्वाभाविक रूपमा अर्पणको थाप्लोमा पनि पर्ने भइहाल्यो । यही कारण हुनुपर्छ, त्यसपछि अठार महिना फिल्मी गतिविधिबाट टाढिए । के उनलाई डिप्रेसन भएको थियो ? अर्पण झट्ट भनिहाल्छन्, ‘होइन तर किन–किन फिल्म खेल्न मन लागिहालेन । बरु विदेश जाउँ–जाउँ जस्तो भएको थियो ।’ धन्न ! विदेश गएनन् । बरु वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा हुने ठगीमाथि फिल्म लेखे । नाम थियो, धन्दा ।
धेरैलाई थाहा नहुन सक्छ, अर्पण कवि पनि हुन् । हिरो बन्नु अगावै उनका कविता राष्ट्रिय अखबारहरूमा छापिएका थिए । कवि हजुरबुबा विनोद अश्रुमालीको प्रभाव थियो । साहित्यिक चेत र लेखनप्रतिको लगावले अर्पणलाई स्क्रिप्ट लेख्न खास समस्या भएन । धन्दा निर्देशन गरे, सुदर्शन थापाले । मुख्य भूमिकामा चाहिँ अर्पण नै । अनुहारभरि दागैदाग र स्टिच गरिएको अर्पणको लुक्सले त्यतिबेला खुब चर्चा पाएको थियो । आफू आम अभिनेताभन्दा अलग भएको छनक दिए । भयो पनि त्यस्तै, त्यसपछिका प्रायः फिल्ममा अर्पणले केही नयाँ गर्ने प्रयास गरे । छड्केमा ज्यादै हिंस्रक गुन्डा बने, बधशालामा सेनाको मेजर । आफैंले लेखेको मौनमा बोल्न नसक्ने पात्रका रूपमा देखापरे । अर्पण भन्छन्, ‘मलाई सोकल्ड हिरोभन्दा ‘डार्क’ क्यारेक्टर नै मन पर्छ ।’ उनलाई मनपर्ने अभिनेता नै द डार्क नाइटका हेथ लेजर हुन् ।
लेखन र अभिनय मात्रले अर्पणको भोक मेटिएको थिएन । निर्देशन जो गर्नु थियो । सर्ट फिल्म द डिजाइनरले विदेशी फेस्टिभलमा उत्साहजनक उपस्थिति जनाएपछि थप हौसिएका थिए । त्यसकै परिणाम थियो, मुखौटा । यस फिल्ममा को थिएनन् ? राजेश हमालदेखि सुनील थापा, रवीन तामाङ, प्रशान्त ताम्राकार, सौगात मल्ल हुँदै दयाहाङ राईसम्म । अर्पण आफैं पनि खेले । ग्याङस्टारको कथा थियो । हाइप पाउने भइहाल्यो । निर्देशनमा अर्पणको डेब्यु दमदार हुने अपेक्षा थियो । तर मुखौटा फ्लप भयो । अर्को ठक्कर ! भन्छन्, ‘पोस्टको काम नसकिएर तोकिएको भन्दा दुई सातापछि रिलिज भयो । त्यहीबेला विश्वकप फुटबल सुरु भयो । नन–लिनियर कथावाचन पनि दर्शकले रुचाएनन् ।’
अर्पण निर्देशित दोस्रो फिल्म आधा लभ पनि व्यावसायिक रूपमा असफल ठहरियो । न सुनकेशरीले नै लगानी उठायो । तर आफ्नो कर्मबाट कहिल्यै हच्किएका छैनन् । अन्यथा, घरसम्म कसरी आइपुग्थे ? अर्पणकै शब्दमा, ‘रिजेक्सन’ ले ऊर्जा दिन्छ, डिप्रेसन होइन । यसको प्रमाण हो, तीन फिल्मको स्क्रिप्ट लगभग तयार हुनु, गाउँखाने कथा, बैंकक नाइट्स र मुखौटा २ । यी फिल्म क्रमैसँग बनाउने योजना बनाएका छन् । उनी अभिनीत पछिल्लो फिल्म ए मेरो हजुर ३ हिट भयो । वीरविक्रममा पनि उनलाई मन पराइयो । लप्पन छप्पन २ को सुटिङ बाँकी छ । जति आफूमा अभिनय क्षमता छ, त्यति पस्कने मेलोमेसो नमिलेको दुःखेसो छ उनको । भन्छन्, ‘चुनौतीपूर्ण रोल गर्न मन छ । तर के गर्नु, न पर्याप्त समय दिन्छन्, न पैसा र सुरक्षा । आफूले चाहेर मात्र नहुँदोरहेछ ।’
अर्पणमाथि एउटा आरोप छ, उनको अभिनय ‘लाउड’ हुन्छ । यसलाई ठाडै नकार्दैनन् । तर्क गर्छन्, ‘लाउड अभिनय गर्नु रहर होइन, बाध्यता हो । बजारले त्यही रुचाउँछ । लाउड नगरी अभिनेता स्थापित हुन सक्दैन ।’ वीरविक्रम र ए मेरो हजुर ३ मा उनैलाई आफ्नो अभिनय ‘लाउड’ लाग्छ । अगाडि थप्छन्, ‘तर के गर्नु, यिनै फिल्म हिट भए, मेरो चरित्र पनि रुचाइयो ।’ त्यसो त ‘लाउड’ को एकोहोरो आरोप लगाउनेलाई उनी आफू अभिनीत मौन र डाइङ क्यान्डलजस्ता फिल्म हेर्न सुझाउँछन् । कुरोको चुरो उही, यथार्थ अभिनय गर्न नचाहेको वा नसकेको होइन तर ‘लाउड’ गर्नुपर्ने अघोषित बाध्यता छ ।
निर्देशन होस् या अभिनय, अर्पणले जति काम गरे, सोही अनुपातमा सफलता हासिल गर्न सकेका छैनन् । तीतो–सत्य हो यो । उनी आफैंलाई आफ्नो क्रेज थाहा छैन, बाटोमा हिँड्दा कसैले चिन्यो भने अचम्म लाग्छ रे । तर फिल्म खेल्ने, लेख्ने, बनाउने र हेर्नेबाहेक अरू केही काम गर्दैनन् । यसैबाट जीवन चलेको छ । विदेश जाने सोच हराएको छ । ‘हिट र फ्लप त मेरो हातमा हुन्न,’ अर्पणको अठोट छ, ‘सर्जकका रूपमा स्तरीय फिल्म बनाउन प्रयास मात्र गर्न सक्छु । रेड क्यामेरा नपाएको दिन डीएसएलआरले खिच्छु । डीएसएलआर पनि पाइनँ भने क्यामेराले खिच्छु । तर फिल्म बनाउन कहिल्यै छोड्दिनँ ।’

अर्पणका प्रिय ५
निर्देशक
प्रदीप भट्टराई
दीपेन्द्र के खनाल
दीपक रौनियार
निगम श्रेष्ठ
नरेशकुमार केसी

अभिनेत्री
स्वस्तिमा खड्का
केकी अधिकारी
सिर्जना सुब्बा
समुना केसी
प्रियंका कार्की

अभिनेता
सौगात मल्ल
दयाहाङ राई
हरिवंश आचार्य
विपिन कार्की
रवीन तामाङ

प्रकाशित : असार १३, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?