१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्याडम एक्स

अमेरिकी गायिका म्याडोनाको हालै रिलिज भएको १४ औं स्टुडियो एल्बम ॅम्याडम एक्स’ ले बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको छ ।
हेलो शुक्रबार

 
म्याडोना सायद अब अमेरिकी रहिनन्  । कानुनी रूपमा के हो, त्यो उनका प्रशंसकका लागि रुचिको विषय भएन  ।

म्याडम एक्स

भावनात्मक रूपमा त उनी पक्कै अमेरिकी रहिनन् । केही वर्ष भयो, उनी पोर्चुगलमा बस्न थालेको । सन् २०१७ देखि त उनी लगातार लिस्बनमै छिन् । त्यसको जबरदस्त प्रभाव उनमा पर्ने भयो नै, अनि त्यसको प्रभाव उनको संगीतमा पनि । यसकै सबैभन्दा राम्रो प्रमाण हो, म्याडोनाको १४ औं स्टुडियो एल्बम ‘म्याडोना एक्स’ ।
भर्खरै रिलिज भएको एल्बम भन्दा हुन्छ, जुनको मध्यमा । र, यसले भर्खर बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको छ । म्याडोना फेरि शीर्ष स्थानमा ? धेरैका लागि खुसी तुल्याउने समाचार हो, यो । सबभन्दा पहिले यो एल्बमको पृष्ठभूमितिर जाऔं । सबैलाई थाहा छ, उनी आफ्ना छोरा डेभिडका लागि पोर्चुगल गएका हुन् । डेभिड फुटबलर बन्न चाहन्छन् र उनी अहिले त्यहाँकै एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् ।
त्यत्तिकै लागि म्याडोनाले पोर्चुगल रोजेकी हुन् । त्यहाँ आएयता उनको संगीत पनि त चुप लागेर बस्ने भएन । त्यसैले लिस्बनका कलाकारसँग हेलमेल बढाइन् । त्यसैक्रममा जनवरीमा नयाँ एल्बमको योजनाबारे घोषणा पनि गरिन्, इन्स्टाग्रामबाट । जुनसम्म आइपुग्दा एल्बम बजारमा आइहाल्यो ।
अहिले नम्बर १ को स्थानमा समेत पुगेको छ । एल्बमको प्रचारका लागि सुरुमा जारी टिजरमा म्याडोनाले आफूले आफैंलाई भनेकी छिन्, ‘म हुँ म्याडम एक्स’ ।
के हो त यो म्याडम एक्स ? म्याडोनाको कल्पनामा म्याडम एक्स सेक्रेट एजेन्ट हुन् । म्याडम एक्सले पूरा विश्व आफ्नो परिचय लुकाएर भ्रमण गर्छ र उनको काम हो, स्वतन्त्राका लागि लड्ने । उनी डान्सर हुन्, प्रोफेसर पनि हुन् । अझ कुनै अज्ञात देशका प्रमुख पनि । फेरि उनी साधारण गृहिणी पनि हुन् । हुँदा हुँदा उनी कसैको आमा पनि हुन् अनि कसैका लागि अरू रूप । म्याडम एक्स एउटा यस्तो परिकल्पना हो, जसले कुनै पनि बेला जस्तै भूमिका पनि निभाउन सक्छ ।
खासमा भएछ के भन्दा लिस्बन आएयता म्याडोना कतै नृत्य सिकाउने काम गर्थिन्, सोखले । त्यहाँ उनी प्रत्येक दिन नयाँ–नयाँ रूप धारण गरेर जान्थिन्, कहिले के त कहिले के । रमाइलो के भने प्रत्येकपल्ट उनलाई नृत्य सिक्न आउनेहरूले यिनै हुन्, म्याडोना भन्न सक्दैन थिए । रमाइलो छैन र ? त्यसैबाट प्रभावित भएर म्याडोनाले त्यही एउटा पात्र तयार पारिन्, म्याडम एक्स । अनि त्यसकै वरिपरि रहेर एल्बम पनि तयार गरिन्, म्याडोना एक्स ।
अहिले एल्बम रिलिज भएयता यसलाई धेरैले रुचाएका छन् । उनका १४ स्टुडियो एल्बममध्ये नम्बर १ मा पुगेको यो नवौं हो । यसले पनि देखाउने गर्छ, म्याडोना वास्तवमै कति धेरै लोकप्रिय छिन् भनेर । यो एल्बम अमेरिकी स्वादको कम भए पनि यसलाई अमेरिकीले भने उत्तिकै मन पराएका छन् । एल्बम सबैभन्दा बढी लोकप्रिय अमेरिकामै देखिएको छ । त्यसैले पनि यसलाई बिलबोर्डमा नम्बर १ सम्म पुर्‍याउन मद्दत गरेको हो ।
म्याडोनाका नम्बर १ पुगेका अरू एल्बम हुन्, एमडीएनए, हार्ड क्यान्डी, कन्फेसन अन ड डान्स फ्लोर, अमेरिका लाइफ, म्युजिक, लाइक अ प्रेयर, ट्र्यु ब्लु र लाइक अ भर्जिन । लाइक अ भर्जिन भनेपछि पछि सन् १९८५ पुग्नुपर्छ, जति बेला उनी भर्खर नयाँ थिइन् । त्यसयता उनले निकै लामो यात्रा तय गरेकी छिन् । यति धेर समयमा पनि आफूलाई उत्तिकै लोकप्रिय राख्न सक्नु म्याडोनाको खुबी हो । म्याडम एक्सका रूपमा अहिले पनि उनी गज्जब छिन् ।

प्रकाशित : असार १३, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?