क्रोमको खराब दिन

गुगलअन्तर्गतको क्रोम ब्राउजरलाई प्रयोगकर्ताको गोपनीयतामा र तथ्यांक सुरक्षामा ध्यान नदिएको आरोप लाग्न थालेको छ । प्रयोगकर्ताका लागि अन्य विकल्प के हुन सक्छन् ?
हेलो शुक्रबार

 
एक दशकअघि सुरु भएको गुगल क्रोम ब्राउजर अहिले प्रयोगकर्ताको माझ सबैभन्दा चर्चित छ भन्दा फरक पर्दैन  । सफल कम्पनीको यो सफल ब्राउजर सन् २०१९ सुरु भएयता विवादमा छ  ।

क्रोमको खराब दिन

अघिल्लो महिना क्रोम आफैंले ब्राउजरमा सुरक्षा समस्या देखिएको स्विकारेको थियो । अघिल्लो साता मात्रै क्रोमले आफ्ना प्रायेगकर्ताको डिभाइसमा ११ हजार बढी ट््रयाक कुकिज रहन दिने गरेको खुलासा भएको छ । यस्ता कुकिजको काम प्रयोगकर्ताको डिभाइसमा रहेर त्यहाँ भएका ब्राउजिङ गतिविधिको तथ्यांक संकलन गर्नु हो ।


वेबसाइट सञ्चालकले प्रयोगकर्ताको डिभाइसमा पठाउने कुकिजको उद्देश्य ब्राउजिङ गतिविधिको तथ्यांक संकलन गरी प्रयोगकर्तापिच्छे फरक अनुभूति दिलाउने भनिएको हुन्छ । पछिल्लो समय यस्ता कुकिजलाई रोकेर आफ्नो गतिविधि अरूलाई जानकारी नदिनु प्रयोगकर्ताको ध्याउन्न छ । गुगलजस्तो विश्वसनीय कम्पनीअन्तर्गत सञ्चालित ब्राउजर नै प्रयोगकर्ताको तथ्यांक संकलनका लागि मतियार भएपछि प्रयोगकर्तालाई घात त हुने नै भयो । यसको खुलासा भएसँगै धेरैले क्रोमको सट्टामा मोजिल्ला फायरफक्स वा अन्य प्राइभेट ब्राउजर नै प्रयोग गर्ने सल्लाह दिन थालेका छन् ।


गुगलका प्रोडक्टहरू प्रयोगकर्ता बढी सहज हुने भएकाले धेरै प्रयोगकर्ताले क्रोमलाई रोज्ने गरेका छन् । झन् यसको पासवर्ड म्यानेजर नामक एक्सटेन्सनले प्रयोगकर्तालाई पासवर्ड सम्झिनुपर्ने झन्झटबाट मुक्त गरेको छ । अहिले सञ्चालनमा भएका अन्य ब्राउजर पनि फिचरका हिसाबले कम छैनन् । त्यस्ता ब्राउजरले प्रयोगकर्ताको गोपनीयतालाई पहिलो प्राथमिकतामा राखेका छन् । एक अध्ययनअनुसार अहिले सञ्चालनमा रहेका ९२ प्रतिशत ब्राउजरले थर्ड पार्टी कुकिजलाई प्रयोगकर्ताको डिभाइसमा बस्ने अनुमति दिन्छ ।आफ्नो गोपनियतालाई ध्यान दिने प्रयोगकर्ताका लागि क्रोमको विकल्पमा अन्य ब्राउजर प्रयोग गर्ने विकल्प पनि खुला छ । मोजिल्ला फायरबक्स, ब्रेभ, सफारी, यूसी ब्राउजर यसका केही उदाहरण हुन् । क्रोम प्रयोगकर्ताले अन्य ब्राउजर प्रयोग गर्न सुरु गर्दाको एउटा समस्या भनेको बुकमार्क, ब्राउजर हिस्ट्रीजस्ता तथ्यांक सार्नु पनि हो । चल्नीका हरेक ब्राउजरमा अर्को ब्राउजरको हिस्ट्री तथा बुकमार्क इम्पोर्ट गर्ने सुविधा हुन्छ ।


फायरफक्समा पनि यो सुविधा छ । ब्राउजरको दायाँपट्टि माथिल्लो कुनामा ड्रप डाउन मेनुमा क्लिक गरी बुकमार्कमा गएर शो अल बुकमार्कमा क्लिक गर्दा अर्को विन्डो खुल्छ । उक्त विन्डोको सबैभन्दा माथि गएर अर्को ब्राउजरको डाटा इम्पोर्ट गर्न सकिन्छ । अहिले सुरक्षित ब्राउजिङका लागि सर्वाधिक रुचाइएको अर्को ब्राउजर ब्रेभले पनि यसतै खालको सुविधा दिन्छ । ब्रेभले कुकिज ब्लक गर्ने मात्रै नभई एड ब्लकरको सुविधा पनि दिन्छ ।ब्रेभ ब्राउजरमा पनि क्रोमको हिस्ट्री तथा बुकमार्क अपडेट गर्न मिल्छ । ब्राउजरको टप मेनुमा रहेको ब्रेभ मेनुमा क्लिक गरी इम्पोर्ट बुकमार्क एन्ड सेटिङमा गएर क्रोम ब्राउजरमा रहेको सबै तथ्यांक ब्रेभ ब्राउजरमा ल्याउन सकिन्छ । ब्रेभमा तथ्यांक इम्पोर्ट गर्नुअघि क्रोम भने बन्द गर्नुपर्छ । यसबाहेक ब्रेभ ब्राउजर इन्स्टल गर्नेबित्तिकै पनि यसले प्रयोगकर्तालाई अर्को ब्राउजरबाट विभिन्न तथ्यांकहरू इम्पोर्ट गर्ने सुविधा दिन्छ ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?