कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'असफलताले औकात देखाइदिन्छ'

भोजपुरका दयाहाङ राई घरमा विदेश जाने सपना देखाएर हिँडेका थिए । यसबीच उनले आफूलाई स्वदेशमै नाम र दाम कमाउने अग्रपंक्तिको अभिनेताका रूपमा स्थापित गरेका छन् ।
सुशील पौडेल

 
घरमा विदेश जाने गफ दिएर २०५८ सालमा भोजपुरबाट राजधानी आएका दयाहाङ राईलाई खासमा घुम्नु थियो, नयाँ ठाउँ हेर्नु थियो  । सत्र वर्षमा पहिलो पटक गाडी देखेका उनी २०–२१ वर्षको छँदा राजधानी हेर्न हान्निएका थिए  ।

'असफलताले औकात देखाइदिन्छ'

पढाइ पनि खास थिएन, आईएमा ब्याक लागेर बसेका थिए । विदेश जाने भनेपछि घरकाले पनि नाइँनास्ती गरेनन् तर दुई वर्ष उनले काठमाडौंमै गोलचक्कर लगाइरहे । उनी २०६० सालमा काठमाडौंको राष्ट्रिय नाचघरमा नाट्य कार्यशाला खुलेको थाहा पाए । जोसमा पुगे । देशभरबाट छानिएका अनुभवी कलाकारहरू आएको थाहा पाएपछि हच्किए । ‘मैले त्यसअघि कतै अभिनय गरेको थिइनँ । सिधै गएर जीएम हरिहर शर्मा सरलाई म अभिनय सिक्न आएको भनें । त्यो बेला उहाँसमक्ष कोही पर्न पनि डराउने अवस्था थियो । ममा के देख्नुभयो, उहाँ मान्नुभयो । नाम निस्कियो । कार्यशालामा सबैभन्दा नयाँ सदस्यका रूपमा भित्रिएँ,’ दयाहाङले अभिनयको पहिलो खुड्किलोबारे सम्झिए ।


बीस दिने कार्यशालामा दयाहाङ प्रायः अरूका कुरा सुन्थे र खुबै अवलोकन गर्थे । कार्यशालापछि नाटक गर्नुपर्ने थियो, ‘शिरुमा रानी’ । निर्देशक थिए, अनुप बराल । दयाहाङ ब्याक स्टेजमा काम गर्न चाहन्थे । स्टेज चढिहाल्ने आँट थिएन, होस् पनि कसरी ? २० दिनको सिकाइले उनलाई औकात देखाइदिएको थियो तर निर्देशक अनुप बरालले दयाहाङलाई स्टेज उकालिछोडे । ‘प्रकाश (घिमिरे) दाइको साथी, खगेन्द्र लामिछानेको बुबाको भूमिका गर्नुपर्ने भयो । सबैले उक्साएपछि गरेँ,’ भोलिपल्ट दैनिक पत्रिकामा आफ्ना मात्र फोटा छापिएको देखेपछि दयाहाङलाई कस्तो भयो होला ? ‘बडा खुसी भएँ,’ त्यो बेलाको कुराले आज पनि चम्किलो अनुहार पार्दै भन्छन्, ‘त्यसपछि चाहिँ मलाई अभिनयको साँच्चै भोक जाग्यो । म अभिनयकै लागि जन्मेको रहेछु भन्ने अनुभूत भयो ।’ त्यसपछि उनले छिटफुट काम पाउन थाले ।‘दलन’ टेलिसिरियल, ‘अनागरिक’ फिल्म खेले तर रिलिज भएन । त्यसपछि फेरि अनुपकै एक्टर्स स्टुडियोमा नौ महिनाजति काम सिके । आत्मविश्वास बढ्यो । अनि पहिलो पटक ‘मेरो एउटा साथी छ’ मार्फत फिल्म दर्शकमाझ देखिए । त्यसयताका नौ वर्षमा उनी ४० बढी फिल्ममा देखिइसकेका छन् । गत शुक्रबार रिलिज भएको ‘आप्पा’ उनको ४१ औं फिल्म हो ।


दयाहाङलाई ‘दासढुंगा’ ले भने करिअरमै ढाडस दिएछ । भने, ‘मजस्ता कलाकारका लागि पनि फिल्म बन्न थाले, अब एक्टर हुन्छु भन्ने जोस पलायो,’ त्यसो त ‘दासढुंगा’ मा उनले डिमान्ड गरेअनुसार पारिश्रमिक पाएपछि भने अभिनय गरेरै जहान परिवार पाल्न सक्छु भन्ने उनलाई लाग्यो । किसान परिवारमा जन्मेका दयाहाङ साथीको नागरिकता लगेर एकपटक ब्रिटिस आर्मीका लागि पनि भिडेछन् । ‘तर आफ्नै हेलचेक्र्याइँले गर्दा फेल भएँ,’ उनले भने । यदि उनी त्यसमा पास हुन्थे भने आज ‘लुट’, ‘तान्द्रो’, ‘सेतो सूर्य’, ‘कबड्डी’ वा ‘हाइवे’ जस्ता फिल्म कति खल्लो लाग्थे होलान् ?


आफ्नै आँखाले भन्दा अघि नै दयाहाङलाई फिल्मले गाडी देखायो । न पढाइ न त खेतीकिसानीमै मन लगाउन सकेका उनलाई खलासी देख्दा अचम्मैको आकर्षण आउँथ्यो रे । ‘खलासीको भूमिकाले खुब तान्थ्यो । रुमाल हल्लाउँदै गाडीमा हिँड्ने त्यो खलासीको शक्ति देख्दा हुरुक्कै हुन्थेँ । फिल्ममा हेर्दा पूरा गाडी नै उसैले कमान्ड गरेको जस्तो लाग्थ्यो,’ खलासीमा उनी आफूलाई नै राखेर सोच्थे रे, ‘फिल्म हेर्दा पनि मैले आफूलाई हिरो बनेर कहिल्यै सोचिनँ । हिरोको जसरी नाच्न पनि आउँदैनथ्यो । सायद मेरो अनुहार, जीउडाल पनि औसत भएर पो हो कि ?’ उत्तर दयाहाङलाई पनि थाहा छैन तर यत्ति थाहा छ, उनलाई पृथक् मान्छेले बढी तान्थ्यो । ‘अनुहारले कसैले नचिनोस् तर नामले सबैले चिनोस्जस्तो लाग्थ्यो । जासुसजस्तो । मलाई त्यो बेलै पनि केवल दयाहाङ मात्रै भएर पुगेको थिएन । मान्छेले चिनोस् भन्ने महत्त्वाकांक्षा थियो,’ आखिर यही हुटहुटीले नै उनलाई अहिलेको गतिलो अभिनेता बनाइदिएको छ ।


२०५८ को जनगणनामा दयाहाङले गणक भएर ८–९ हजार रुपैयाँ कमाएका थिए । त्यसबाट २५ सय रुपैयाँ खल्तीमा हालेर पासपोर्ट बनाउँछु र विदेश जान्छु भनेर घरमा ठूलो सपना देखाएर हिँडेका थिए । त्यसको १८ वर्षमा दयाहाङ स्वदेशमै नाम र दाम कमाउने अग्रपंक्तिको अभिनेतामा आफूलाई उभ्याउन सफल भएका छन् ।‘दासढुंगा’ पछि दयाहाङ फेरि अभिनयको प्रशिक्षण लिन अनुपको एक्टर्स स्टुडियो पुगे र नौ महिना सिके । ‘क्लास लिन थालेपछि अभिनेताको महत्त्व बुझेँ । कलाकार ठूलो, सानो हुन सक्ला तर भूमिका हुँदैन । हरेक भूमिकाको उत्तिकै महत्त्व हुन्छ भन्ने बुझेँ । फेरि बिस्तारै फिल्म पढेका र बुझेका मान्छे पनि आइरहेका बेला भूमिकाको खडेरी पर्दैन भन्ने लाग्यो,’ उनले भने । कुनै बेला आफूलाई अभिनेता भनी परिचित गराउँदा हाँसोको पात्रसमेत बनेका दयाहाङको करिअरको टर्निङ प्वाइन्ट बनिदियो, ‘लुट’ ।‘लुट’ पछि उनलाई अभिनेताका रूपमा आमदर्शकले स्वीकार गरिदिए । चल्तीमा रहेका हिरोको मान्यतामा दयाहाङ र सौगात मल्लले दह्रो लात मारिदिए ।


‘देशमा राजनीतिक परिवर्तनसँगै सायद सामाजिक चेतमा पनि विकास भइसकेको थियो कि ?’ दयाहाङ आफ्नै उदयको कारण खोतल्छन् । ‘लुट’ को सफलतापछि दयाहाङलाई परिचयको समस्या त परेन तर नयाँ समस्या थपियो । ‘व्यक्तिगत जीवनमा ठूलो समस्या भयो । सामान्य मान्छे भएर हिँड्नै गाह्रो भयो,’ जिन्दगीमा पहिलो अटोग्राफ उनले नेपाल यातायातमा यात्रा गर्ने क्रममा दिए । ‘खासमा मलाई मेरो नामको खोजी होस् तर मलाई नचिनोस् भन्ने लागिरहन्थ्यो तर ‘लुट’ पछि गाह्रो भयो । मलाई आफ्नो जीवन सकियो जस्तो लाग्यो ।’ सफलताकै कारण पनि दयाहाङ फेरिएनन् । अहिले पनि उनी सामान्य जीवनशैलीमै आफूलाई टिकाइरहेका छन् । भन्छन्, ‘मलाई हिजो देख्नेले आज पनि देखिरहेका छन् र भोलि पनि देख्नेछन् । म वास्तविकताभन्दा टाढा गएर ढोंग गर्न सक्दिनँ ।’


‘लुट’ को गोफ्लेलाई दयाहाङले यति जीवन्त बनाइदिए कि त्यसपछिका अधिकांश प्रस्ताव उनलाई यस्तैयस्तै आइरहे । ‘त्यस्ता फिल्म मैले कटाउन खोज्दाखोज्दै पनि सायद सकिनँ । त्यसैले पनि मलाई स्टेरियोटाइप कास्टको आरोप लाग्ने गर्छ,’ तर उनलाई आफूले गरेका फिल्मप्रति कुनै पछुतो भने रहेनछ । हरेक फिल्मले कहीं न कहीं आफ्नो प्रभाव छोड्नेमा उनी विश्वास राख्छन् ।सफलता पाउनु कठिन हुन्छ वा सफलता टिकाइरहनु ? यतिबेला सफलताको शिखरमा रहेका दयाहाङबाट यसको जवाफ खोज्नु अन्यथा नहोला तर दयाहाङ भन्छन्, ‘सफलतालाई बुझ्नु सबैभन्दा कठिन । धेरै सफलतामा सन्तुष्ट हुन्छन् तर म सन्तुष्टिमा सफलता महसुस गर्छु ।’ असफलतासँग त दयाहाङको पुरानैदेखिको मित्रता भएकाले डर लाग्दैन रे । ‘किनभने मैले धेरै असफलता पचाइसकेको छु । असफलताले बरु मलाई मेरो औकात देखाइदिन्छ,’ उनी भन्छन् ।

[email protected]

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?