कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चुलाचुली रंगमञ्च

 
दक्षिणी इलामको चुलाचुली भन्ने एउटा सानो गाउँ  । जुन गाउँ विकासका हिसाबले साह्रै पछौटे छ  ।

चुलाचुली रंगमञ्च

स्थानीय भन्छन्, ‘इलामले हेपेको, झापाले नदेखेको ठाउँ हो यो ।’ यहाँ भौतिक विकास नभएर के भो त ! साहित्यिक सांस्कृतिक विकास छँदै छ । चुलाचुलीमा एउटा रंगमञ्च छ, चुलाचुली थिएटर । यसको अगुवाइ गरेका छन् युवा रंगकर्मी चेतन आङथुपोले । रंगमञ्च त्यो पनि पछौटे गाउँमा ? साह्रै दुःख गरेर बचाएको छ चेतन र उनको टिमले ।


‘गाउँमा रंगमञ्च चलाउनु भनेको फलामको चिउरा चपाउनुजत्तिकै गाह्रो छ,’ ३२ वर्षीय चेतन भन्छन् । बेलाबेला उनको टिमले नाट्य उत्सवहरू आयोजना गरिरहन्छ । यसपटक ‘पाठशाला बाल नाट्य उत्सव’ आयोजना गरे, जेठ ३२ र असार १ मा भयो । सुरुका दिनमा नाटकमा जम्न चेतनलाई गाह्रो भयो । उनलाई परिवार, समाजले पागल ठाने । बेकामे, अल्छे, अरूका छोराछोरी बिगार्ने फटाहा बनाइए । आफूलाई पढेलेखेको ठान्नेहरूले पनि अनुत्पादक क्षेत्रमा किन समय बर्बाद गरेको भनेर गाली गरे । एक शिक्षकले उनलाई उपनाम नै दिएका थिए ‘भुराका राजा’ भनेर ।


चेतनले समाजका अपजस कति सहे कति । अझै पनि सहिरहेका छन् । तर, हरेस खाएका छैनन् । रंगमञ्चवाट आफ्नो गाउँको पहिचान गराउने उनको ध्येय छ । ‘सुरुका दिनदेखि नै मैले नयाँ पुस्तालाई केन्द्रमा राखेर काम गर्दै आएका छु,’ उनले भने । एकताका यिनले चरम आर्थिक संकट बेहोरे । विदेश जानलाई पासपोर्ट बनाए । भिसा पनि लाग्यो । अचानक यिनको मन बदलियो । तर वाचा गरे, ‘जस्तो दुःख हुन्छ बेहोर्छु तर विदेश जान्न ।’ त्यसयता चेतन नाटकमा निःस्वार्थ लागिपरेका छन् । लाहुर जाने, जागिर खाने सोच कहिल्यै पलाएन यिनको मनमा । यिनले नाटकमात्रै सोचे । ‘मेरो मनमस्तिष्कले सधैं भन्थ्यो गाउँमा कसरी रंगमञ्चलाई दिगो रूपमा स्थापित गर्ने ?’ उनले सुनाए ।


चाहेको भए चेतन काठमाडौं छिर्न सक्थे । राजधानीमा मज्जाले जमेर बस्न सक्थे । तर, काठमाडौंलाई यिनले कहिल्यै केन्द्र ठानेनन् । ठाने त केवल मात्र चुलाचुलीलाई । ‘मेरो काठमाडौं भनेकै मेरो गाउँ हो,’ उनको तर्क छ, ‘गाउँलाई नै काठमाडौं बनाउन लागेको छु ।’विगत दुई वर्षदेखि स्थानीय सरकार कछुवा गतिमै भए पनि गाउँको विकासमा जुटेको छ । तर, स्थानीय सरकारको बुझाइ के छ भने विकास भनेको सडक, पुल, बत्ती, पानी पुर्‍याउनु मात्रै हो । चेतन आक्रोश पोख्छन्, ‘गाउँमा रंगमञ्च बनाउनुचाहिँ विकास होइन ?’ रंगमञ्चप्रति स्थानीय सरकार र समाजका अगुवाहरूको दृष्टिकोण ज्यादै दया लाग्दो रहेको उनले अनुभव गरेका छन् । नाटकलाई नौटंकी ठान्नु समाजको दुर्भाग्य हो भन्छन् उनी ।


चुलाचुलीमा केही दिन नाटक मञ्चन गर्न खोज्दा व्यवस्थित हल पाएनन् । सामुदायिक हलमा साह्रै दुःखका साथ प्रदर्शन गर्नुपर्ने । किपोट (२०७०), चेतनले निर्देशन र लेखन गरेको पहिलो नाटक हो । सुवीउ चरी (२०७१), देवाङ्सी राजा (२०७३), खाल्डो (२०७४) र माङ्गेना (२०७६) नाटक गरे । यी नाटकहरू क्षेत्रीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरिएको थियो । गत वर्ष मण्डला थिएटरले आयोजना गरेको समकालीन नाटक र युवा निर्देशन वर्कसपमा देशभरका १४ जना युवा निर्देशकहरूमा छानिएर प्रशिक्षणसमेत गरेका चेतन त्यसपछि थप खारिएर आएका छन् । ‘नाटक मेकिङ, निर्देशन कार्यशालाले थप हौसला मिल्यो,’ उनी भन्छन् ।

[email protected]

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?