टायरको खजाना
थोत्रा टायरबाट के–के बन्न सक्छ ? उपयोग गरे यसबारे धेरै काम लाग्ने सामान तयार पार्न सकिन्छ । कुपन्डोलस्थित टायर ट्रेजर्सले भने यसबाट आकर्षक फर्निचर र सजावटका सामान बनाइरहेको छ ।
ओजस्वी वैद्य र लुनिभा तुलाधरको संयुक्त प्रयासमा यो काम सुरु भएको हो । सन् २०१६ मा आयोजित ग्रीन इनोभेसन च्यालेन्जमा सहभागी ओजस्वी र लुनिभा मिलेर थोत्रा टायरबाट सामान बनाउन सकिने परिकल्पना गरेका थिए । दुवैले प्रस्तुत गरेको आइडिया विजयीमध्ये एक बन्यो र काम सुरु गर्नका लागि सुरुआती बजेट ‘सिड मनी’ पनि पाए ।
काठमाडौं विश्वविद्यालयबाट एमबीए सकाएकी वैद्य र वातावरण विज्ञानमा स्नातक सकेकी तुलाधरले पढाइ पूरा गर्नेबित्तिकै २०१७ सेप्टेम्बरदेखि यसलाई कम्पनीको रूप दिएर काम सुरु गरेका थिए । हालसम्म टायर ट्रेजर्सले ७ सय बढी टायर पुनर्प्रयोग गरी विभिन्न सामानहरू बनाइसकेको छ । उनीहरूले बनाएका टेबल, कुर्सीसहित सजावटका सामान विशेषतः घर र रेस्टुरेन्टमा प्रयोग हुन थालेका छन् । दराज अनलाइनसँग सहकार्यका कारण अहिले काठमाडौंबाहिर चितवन, हेटौंडा र धरानलागयत मोफसलका स्थानहरूबाट पनि टायरका फर्निचरको माग आउन थालेको वैद्य बताउँछिन् ।आफ्ना डिजाइनहरू घरमा प्रयोग हुन थाल्नु भनेको थोत्रा टायरबाट बनेको सामानलाई सबैले स्विकारेको संकेत भएको वैद्यको धारणा छ । उनी भन्छिन्, ‘घरमा प्रयोग भए बढी स्वीकार्य हुन्छ र अन्यत्र पनि प्रयोग बढ्न थाल्छ ।’
थोत्रा टायर प्रयोग गरी बनाइएका भए पनि टायर ट्रेजर्सले तयार पारेको सामान आकर्षक देखिन्छ, यो प्लास्टिकका सामानहरूभन्दा धेरै बलियो हुने वैद्यको दाबी छ । मूल्यको हिसाबले आफ्ना फर्निचरहरू प्लास्टिकका सामानहरूभन्दा केही महँगो पर्ने भए पनि काठ वा अन्य धातुका सामानको तुलनामा सस्तो भएको उनले दाबी गरिन् । टायर ट्रेजर्सको सामान १८ सयदेखि साढे १३ हजार रुपैयाँसम्म पर्छन् ।
काठमाडौंका घरसहित केही चल्तीका रेस्टुरेन्टहरूमा समेत टायर ट्रेजर्सको डिजाइनका फर्निचर देख्न पाइन्छ । थापापालीस्थित रेडमड क्याफे, मंगलबजारको पासा क्याफेसहित अन्य केही रेस्टुरेन्टहरूमा अहिले यसका फर्निचर प्रयोग भएका छन् । नयाँ खुल्न लागेका रेस्टुरेन्टहरूले यसप्रति बढी चासो देखाएको वैद्यले बताइन् । टायर ट्रेजर्सले सामान किन्न चाहनेको डिजाइन वा आफैंले तयार पारेको डिजाइनअनुसार सामानहरू तयार पार्छ । उनीहरू सामान राख्ने ठाउँअनुसार आकार–प्रकारका सामग्रीहरू पनि तयार पार्छन् । यस्ता सामानका लागि आवश्यक पर्ने पुराना टायर कुपन्डोल वरपरका रिकन्डिसन र मर्मत केन्द्रहरूबाट खरिद गरी ल्याउने, सफा गर्ने र रङ लगाइने वैद्य बताउँछिन् ।
फर्निचरका डिजाइनरदेखि हरेक काम गर्नेहरूलाई आवश्यकताअनुसार काम दिइरहेको उनले बताइन् । टायरको सामान भए पनि तिनले फरक–फरक नाम पाएका छन् । टायरबाट बनाइएको एउटा टेबलको नाम ढुकुटी राखिएको छ । ढुकुटी उनीहरूले बनाएको सुरुवाती डिजाइनमध्येमा पर्छ । टेबलमा प्रयोग भएको टायरभित्र अन्य सामानहरू पनि राख्न मिल्ने भएकाले यसको नाम ढुकुटी राखिएको वैद्यले बताइन् । यस्तै, सरिता र जयन्ती नाम गरेका महिलाहरूको सीप प्रयोग गरी बनाइएको टायरबाट निर्मित कुर्सीको नाम सरजयन्ती राखिएको छ । वैद्य टायर ट्रेजर्सलाई रिसाइकल ब्रान्ड बनाउन चाहन्छिन् । ‘टायरबाट मात्रै होइन, अन्य सामानलाई पनि पुनः प्रयोग गर्न सकिने सम्भावना हेर्दै छौं,’ उनी भन्छिन्, ‘चाँडै नै सिसाका ग्लास पुनः प्रयोग गरी बोतलहरू बनाउन सकिन्छ कि भन्नेबारे अध्ययन गर्दैछौं ।’