उत्तेजक नयाँ पुस्ता

सामाजिक विषयवस्तुलाई हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्दै युवाहरूको केही समूह स्ट्यान्डअप कमेडीमार्फत लोकप्रिय भइरहेका छन् ।
विमल खतिवडा

कमेडी सर्कलले आफ्नो युट्युब च्यानलमा २९ जेठमा एउटा भिडियो अपलोड गरेको थियो, ‘रिलेसनसिप्स एन्ड ब्रेकअप्स’  । एक महिना नपुग्दै ३० लाख भ्युअर्स पुगिसक्यो  ।

उत्तेजक नयाँ पुस्ता

भिडियो लाइक गर्ने ९५ हजार नाघ्यो । डिस लाइक नौ हजार छन् । प्रतिक्रिया लेख्ने मात्रै ६ हजार बढी । भिडियोमा देखा परेकी छन्, विराटनगरकी सिमरन पाण्डे । भिडियो आएपछि सामाजिक सञ्जाल टिकटकदेखि फेसबुकसम्मै उनकै चर्चा छ । उनले बोलेको संवाद ‘म भन्छु नि’ सबैको जिब्रोमा झुन्डिएको छ । उनी पढाइका लागि अमेरिका उड्ने प्रयासमा छिन् ।
‘भिडियो यत्ति चर्चित होला भन्ने लागेको थिएन,’ सिमरन भन्छिन्, ‘सुरुमा नराम्रा प्रतिक्रिया आए पनि अहिले साहसी भन्नेहरू निस्किएका छन् ।’ उनले केटा र केटीको यौनांगका बारेमा बोलेको संवादले बढी चर्चा पायो । यसलाई छाडा भन्दै सामाजिक सञ्जालमा स्ट्यान्डअप कमेडीमाथि प्रश्नसमेत खडा गरियो ।
‘समाजले नस्विकारेको कुरा पस्कियो भने त्यो भाइरल हुन्छ,’ कमेडी सर्कलका फाउन्डर अनुप घिमिरे भन्छन्, ‘सिमरन जसरी बोल्ने कसैले हिम्मत गरेका थिएनन्, त्यही शब्द केटाले बोल्दा केही नहुने, केटीले बोल्दा बेठीक हुने । कतिसम्म पक्षपाती छ हाम्रो समाज ।’ उनी समयअनुसार समाज पनि परिवर्तन हुँदै जानुपर्ने तर्क गर्छन् । अहिले जमाना स्ट्यान्डअप कमेडीको छ । विभिन्न पेसा, व्यवसाय गरिरहेकाहरू स्ट्यान्डअप कमेडीतिर आकर्षित भएका छन् ।
‘हामी सन्तोष पन्तको हिजो आजका कुरा हेरेर हुर्किएका पुस्ता हौं, गाईजात्रा हाम्रो जमानादेखिको संस्कृति नै छ,’ अनुप भन्छन्, ‘कमेडी हाम्रा लागि नयाँ कुरा होइन । तर पुरानो कमेडी फरक धारको भयो । भारतमा माथिल्लो स्तरमा पुगिसकेको स्ट्यान्डअप कमेडी नेपालमा हामीले ल्याएका हौं ।’ कमेडी सर्कल नेपाली कमेडियनहरूको लागि पहिलो अवसर भएको उनको दाबी छ ।स्ट्यान्डअप कमेडी एउटा कला हो । यसमा कलाकारको काम भनेको स्टेजमा चढेर समाजको वरिपरि भएका विसंगति र समस्यालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई हँसाउने हो ।
‘१५ मिनेट उभिएर जोक्स भनेको १० हजारदेखि ३० हजार रुपैयाँसम्म लिने कलाकार हाम्रैमा छन्,’ अनुपले भने, ‘एक वर्षअघिको अवस्था त्यस्तो थिएन ।’ उनले सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् । ‘पढाइ मेरो आईटी हो, आईटीले सबै उद्योग तेरो हो भन्छ,’ उनले सुनाए, ‘चिनिने केही काम गरौं भनेर यसमा लागेका हौं ।’
‘झम्सीखेलको बियर्स एन चियर्स रेस्टुरेन्टमा प्रत्येक सोमबार साँझ हाम्रो अभ्यास हुन्छ,’ अनुप भन्छन्, ‘जहाँ रेस्टुरेन्टमा आएका पाहुनाले पनि मनोरञ्जन लिइरहेका हुन्छन् ।’ चितवन र बुटवलमा समेत कार्यक्रम गरिसकेको कमेडी सर्कलले दुई—दुई महिनामा ‘ग्र्यान्ड शो’ आयोजना गर्छ । ‘इन्टरनेटमा पाएको चर्चा एकदमै छोटो हुन्छ,’ उनी भाइरल हुने प्रसंगलाई कोट्याउँदै भन्छन्, ‘जति चाँडै पाइन्छ, त्यति चाँडै सकिन्छ ।’ फरक पेसामा आबद्धहरू समूहमा संलग्न छन् ।

उमेश गौतम (यूकेजी) नेप ग्याजमका कलाकार हुन् । नेप ग्याजम सेलेब्रिटी म्यानेजमेन्ट नेपालसँग आबद्ध एउटा स्ट्यान्डअप कमेडी युट्युब च्यानल हो । नेप ग्याजमले प्रत्येक बिहीबार एक जना कलाकारको भिडियो बनाएर युट्युबमा रिलिज गर्दै आएको छ । उमेशको युट्युबमा ‘सोझो बुबा र नाम’ शीर्षकमा अपलोड भएको भिडियोको ‘हेर केटा हो, मेरो लाइफको ४० प्रतिशत ब्याट्री सकिसक्यो’ निकै हिट छ । टिकटकमा उनको संवाद राखेर छोटो भिडियो बनाउनेको प्रतिस्पर्धा नै चल्यो ।
‘पहिलाको कमेडीमा दालभात तरकारी मात्र हुन्थ्यो,’ उमेश भन्छन्, ‘हामीले त्यसमा अचार थपिदिएका छौं, अचार थपिएपछि स्वाद राम्रो भएको छ ।’ पहिलाको कमेडीमा प्रायः हुलिया परिवर्तन गरेर हँसाउने गरिन्थ्यो । ‘यो स्ट्यान्डअप कमेडी पूरा फरक छ,’ उनी भन्छन्, ‘उभिएर शरीरको हाउभाउ देखाउँदै बोलेर मान्छेलाई हँसाउने नयाँ माध्यम हो ।’ उनले थपे, ‘छाडा शब्द बोलेको कमेडी हिट हुन्छ, नहुने होइन । हामीले जिन्दगीमा परिवारसँग बसेर हेर्न नमिल्ने कुराबाटै बढी रमाइलो लिइरहेका हुन्छौं, सबैसामु पो भन्न सक्दैनौं ।’ उनी आफैंले भने कमेडीमा छाडा शब्द प्रयोग नगरेको बताए ।
नेप ग्याजमको सिर्जना बिहीबार साँझ ७ बजे युट्युबमा अपलोड हुन्छ । यो टिमले होटल तथा रेस्टुराँमा कमेडी प्रस्तुत गर्दैन । ‘आफ्नै शो गर्छौं,’ उमेशले सुनाए, ‘रेस्टुरेन्टमा जाँदा दर्शक व्यस्त हुन्छन् । उनीहरूले हामीले के माथि व्यग्यं गरिरहेका हुन्छौं, ध्यान दिएका हुँदैनन् । यस्तोमा सुन्ने र कमेडी प्रस्तुत गर्ने दुवैलाई मज्जा आउँदैन ।’
कमेडी टुकटुकका संस्थापक आयुष श्रेष्ठ पेसाले कम्प्युटर इन्जिनियर हुन् । उनी फुर्सदको समय कमेडीमा लगाउँछन् । ‘स्ट्यान्डअप कमेडी साधारण मानिसको धारणाबाट प्रस्तुत गर्ने भएकाले मन पराउनेको जमात् बढेको छ,’ उनले भने, ‘यसको भारतमा बजार ह्वात्तै बढ्यो । हाम्रोमा सुरु भएको २ वर्ष पनि भएको छैन ।’ चार जनाबाट सुरु गरिएको यसमा कलाकार एक दर्जन भइसकेका छन् । ‘कमेडी सर्कल र नेप ग्याजम बढी युट्युबमा केन्द्रित भए,’ उनी भन्छन्, ‘हामीले लाइभ शो र बार रेस्टुरेन्टहरूमा बढी ध्यान दिएका छौं ।’
कमेडी टुकटुकले पहिला जोक्स बनाउँछ । ‘प्रायः प्रत्येक हप्ता कुनै न कुनै रेस्टुरेन्ट तथा बारले कार्यक्रम गर्न निम्ता दिन्छन्,’ आयुष भन्छन्, ‘निम्तो स्विकार्छौं, सकेसम्म बढी आम्दानी चाहन्छौं ।’ पुरानो भइसकेपछि मात्र यसको भिडियो युट्युबमा राख्ने गरिन्छ । ‘युट्युबमा हामी पछि नै छौं,’ उनी भन्छन् । यो समूहले आफ्नो भिडियो कमेडी सर्कल र अरूकै युट्युब च्यानलबाट अपलोड गरिरहेका छन् ।
सर्लाहीस्थित हरिवनका २६ वर्षीय अपूर्व क्षितिज सिंह पेसाले सीए हुन् । दिनभर जागिरमा व्यस्त हुन्छन् । साँझ भने कमेडी स्ट्यान्डअप कमेडीमा जुट्छन् । चौधरी ग्रुपमा कार्यरत उनी लोकप्रिय छन् । उनको ‘पोर्न ब्यान्ड इन नेपाल’ खुबै हिट भयो । ‘दिल्लीमा सीएको परीक्षा दिएर फर्किनुअघि नै नेपालमा स्ट्यान्डअप कमेडी सुरु भइसकेको थियो । मेरो रुचि थियो, अडिसनमा पास भए र कार्यक्रममा पनि राम्रै गर्न थाले । अचेल भिडियो कहिले आउँछ भनेर सोध्दा साह्रै खुसी लाग्छ,’ उनले सुनाए ।
झापाकी योजना थापा मगर बी—फार्म सकेर लाइसेन्सका लागि परीक्षा दिन डेढ वर्षअघि काठमाडौं आएकी थिइन् । यही बीचमा उनी स्ट्यान्डअप कमेडीमा जोडिन पुगिन् । अहिले स्क्रिप्ट लेख्न र कमेडी प्रस्तुत गर्न व्यस्त छिन् । ‘पढाइअनुसारको काम गर्ने सोचेकै छैन, यसैमा रमाइलो भइरहेको छ,’ कमेडी टुकटुकमा आबद्ध उनी भन्छिन्, ‘कार्यक्रम पनि पाइरहेकी छु । यसैको आम्दानीले काठमाडौंमा टिकिरहेकी छु ।’

कमेडी सर्कल
२०७४ पुस १४
युट्युब सब्सक्राइबर : ३,६३,०४६ (सोमबारसम्म)
कलाकार : अपूर्व क्षितिज सिंह, सुजन जिम्बा, हिमेश पन्त, धिमान्त अधिकारी, क्षितिज केसी, सञ्जु कटुवाल, नमुना गिरी, सिमरन पाण्डे, कुशालसिंह राठौर

कमेडी टुकटुक
२०७४ फागुन २५
युट्युब सब्सक्राइबर : आफ्नै युट्युब च्यानल छैन
कलाकार : आयुष श्रेष्ठ, रजिना श्रेष्ठ, अस्तिवा अधिकारी, फेडोर इकलार, आदर्श मिश्र, सजन श्रेष्ठ, एलनजंग थापा, योजना थापामगर, श्रद्धा बर्मा

नेप ग्याजम
२०७४ फागुन ५
युट्युब सब्सक्राइबर ३,१२,४०९ (सोमबारसम्म)
कलाकार : उमेश गौतम, लेखमणि त्रिताल, डोरेश खतिवडा, सरोज भण्डारी, विवेक उप्रेती

प्रकाशित : असार २७, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?