२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फैलँदो माकुरी जाल

हेलो शुक्रबार

‘स्पाइडर म्यान : फार फ्रम होम’ ले रिलिज भएको ६ दिनभित्र ५ सय ७७ मिलियन डलर कमायो  । अमेरिकाबाहिर कमाएको ३ सय ९२ मिलियनले स्पाइडर म्यान विश्वमै लोकप्रिय भएको मात्र देखाउँदैन, हलिउडको बजार संसारमा कसरी विस्तार भइरहेको छ भन्ने पनि देखाउँछ  ।

फैलँदो माकुरी जाल

स्पाइडर म्यान, न्युयोर्क सहरको लोकल हिरो । अग्ला–अग्ला भवनमा आफ्नो जालको बलमा झुन्डिँदै लहराउने हिरो । सुपरहिरोको यो मार्बल जमानामा स्पाइडर म्यान सामान्य मानिसको सबभन्दा नजिकको सुपरहिरो, जोसँग घरपरिवार, प्रेमिका र असफलता छ । सानो कदका ठिटो औसत देखिने पिटर पार्कर नामक किशोर कसरी सुपरहिरो स्पाइडर म्यान बन्यो भन्ने कथाले धेरैको मन जित्यो । कमिक्सका पानाबाट निस्किएर सिनेमाको पर्दामा आएको यो जाल बुन्ने हिरोले धेरैलाई आफ्नो फ्यान बनायो ।
मार्बलको संसार भने बेग्लै छ । एभेन्जर्स– इन्ड गेमको ह्याङ अझै कतिपय दर्शकको दिमागबाट उत्रिएको छैन । सर्वशक्तिमान बन्नका लागि विभिन्न धातु र मणिका औंठीहरू जम्मा गर्दै हिँडेको भिलेन र उसलाई रोक्न लागिपरेका सुपरहिरोहरूको कथा धेरै भागसम्म चल्यो । आइरन म्यान, हल्क, डक्टर स्ट्रेन्ज, थोर, ब्ल्याक प्यान्थरजस्ता मार्बलका सुपरहिरोको यो गाथाले बक्स अफिसमा पनि अनेक रेकर्ड राख्यो ।
बक्स अफिसमा स्पाइडर म्यानको पनि कमाइ कम छैन । बक्स अफिस मोजोका अनुसार मार्बल र सोनीको ‘स्पाइडर म्यान ः फार फ्रम होम’ ले पहिलो ६ दिनमा संसारभरमा ५ सय ७७ मिलियन डलरको कमाइ गर्‍यो । यसको लागत १ सय ६० मिलियन डलर छ । यो कमाइमा अमेरिकाभित्र गरेको भन्दा बाँकी विश्वमा गरेको कमाइ धेरै छ । अमेरिकामा यसले १ सय ८५ मिलियन कमाउँदा बाँकी विश्वबाट ३ सय ९२ मिलियन कमाइ गर्‍यो । यसबाट स्पाइडर म्यान संसारभर लोकप्रिय भएको मात्र देखाउँदैन, हलिउडको बजार संसारमा कसरी विस्तार भइरहेको छ भन्ने पनि देखाउँछ ।
ब्याटम्यानको ‘डार्क नाइट’ शृंखला होस् वा सुपरम्यानका सिरिज हलिउडले यस्ता शृंखलाहरूबाट संसारभरको फिल्म बजारमा आफूलाई विस्तार गरिरहेको छ । पछिल्लो समय एनिमेसन र सुपरहिरो फिल्मले नै बजारको ठूलो हिस्सा ओगटेका छन् । टोय स्टोरी होस् वा पेट स्टोरी एनिमेसन फिल्मले आफ्नै दर्शक उत्पादन गरिरहेको छ ।
यस्तोमा मानवीय गुणले भरिएको ‘स्पाइडर म्यान’ एभेन्जरको युनिभर्समा विस्तारै घुस्दै गइरहेको छ । टम होलान्डको अघिल्लो स्पाइडर म्यान : होम कमिङमै टोनी स्ट्रक (रोबर्ट ड्राउनी जुनियर) लाई ‘फादर फिगर’ का रूपमा पेस गरिएको थियो । तर, ‘इन्ड गेम’ मा आइरन म्यानको मृत्यु हुन्छ । यो फिल्ममा संसारलाई नयाँ आइरन म्यान आवश्यक छ भनेर स्पाइडर म्यानले भन्छ । हाईस्कुल पढ्ने एउटा ठिटो, जो आफ्नै क्लासमेटको प्रेममा छ, ऊसँगै युरोप घुम्न उत्सुक छ । युरोपका केटीहरूले अमेरिकनलाई साह्रै मन पराउँछन् भन्ने मान्यतासहित युरोप टुरमा हिँडेको स्पाइडर म्यानले यही यात्रामा टोनीको अत्याधुनिक सुविधा र टेक्नोलोजीले भरिएको चस्मा हात पार्छ । पानीमाथिको सहर भेनिसमा पुगेपछि यसले भेट्छ, अर्को सुपरहिरो मिस्टेरियो । अघिल्ला फिल्ममै उल्लेख भएको मल्टिपल युनिभर्सवाला फन्डा यसमा पनि देखापर्छ । र, कुनै अर्कै ब्रह्माण्डको सुपरहिरो मिस्टेरियो भिलेनसँग लड्न भेनिसमै आइपुग्छ । चाँडै नै यसको यो कुरा गफ भएको र मिस्टेरियो खासमा भिलेन भएको भेद खुल्छ ।
फिल्मको कथा केही ‘ट्वीस्ट’ का साथ सिधा रेखामा हिँडेजस्तो देखिन्छ । आफ्नो परिचय नखुलेको किशोर सुपरहिरो छ, जो युरोप यात्रामा आफूलाई मन परेकी केटीलाई प्रेम प्रस्ताव राख्न चाहन्छ । आम प्रेमकथामा जस्तै यसमा पनि यो बाटोमा केही अवरोध देखा पर्छन् । तिनलाई पार गर्दै हिरो कसरी ‘हिरो’ बन्छ भन्ने नै यसको कथा हो । तर, दर्शकहरूलाई अचम्ममा पार्ने कामचाहिँ फिल्मपछिको ‘क्रेडिट’ सँग आउने दृश्यहरूले गरिरहेका छन् । यसमा देखाइएका दृश्यहरूले नयाँ–नयाँ रहस्य जन्माउने र खोल्ने काम गरेको दर्शकहरूले बताइरहेका छन् । ट्वीटरलगायतका सामाजिक सञ्जालमा मानिसले यसलाई अनौठो मान्दै प्रतिक्रिया जनाइरहेका छन् । इन्ड क्रेडिटमा भिलेनले पिटर पार्कर नै स्पाइडर म्यान भएको भेद खोलिदिन्छ । एभेन्जरको दुनियाँमा स्पाइडर म्यानको परिचय गोप्य नै थियो । यसमा कथाका अरू पनि ट्वीस्टबारे नयाँ रहस्य खडा गरिएको छ ।

प्रकाशित : असार २७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?