२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लोभलाग्दो छलाङ

सार्क फिल्म फेस्टिभलमा स्पेसल जुरी अवार्ड जितेको एक साताभित्रै स्वस्तिमा खड्का राष्ट्रिय अवार्डमा उत्कृष्ट अभिनेत्री घोषित भइन् । यससँगै उनले आफूलाई विशेष कलाकार साबित गरेकी छन् । बुलबुलमा जीवन्त अभिनयबाट यी दुई अवार्ड जितेकी उनको सफलताका कथा :

लोभलाग्दो छलाङ

सार्क फिल्म फेस्टिभलमा आफू अभिनीत फिल्म बुलबुल छानिँदा दंग थिइन्, स्वस्तिमा खड्का । फेस्टिभलमा सहभागी हुन श्रीलंका जाने पक्कापक्की भएपछि उत्साहको ग्राफ अझ उकालो लाग्यो । दक्षिण एसियाका फिल्म र तिनका प्रवृत्तिलाई नियाल्ने मौका थियो यो । तर सार्क फेस्टिभल उनका लागि थप विशेष बन्यो, जब बुलबुलका लागि स्पेसल जुरी अवार्ड जितिन् । यो अवार्ड निर्णायक मण्डलले फेस्टिभलमा सहभागी फिल्ममध्ये उत्कृष्ट अभिनय गर्ने एक कलाकारलाई दिने गर्छ ।


स्वस्तिमाले खुसी हुँदै सुनाइन्, ‘मैले पाउँछु जस्तो लागेकै थिएन, कति राम्रो अभिनय गरेका कलाकारका फिल्म पनि थिए । मेरा लागि सरप्राइज नै भयो ।’ फिल्मी करिअरको पहिलो अवार्ड, त्यसमा पनि सार्कजस्तो प्रतिष्ठित फेस्टिभलमा । स्वस्तिमाका लागि साँच्चै स्वर्णिम पल थियो त्यो । उनले हाँस्दै भनिन्, ‘पहिलो अवार्डचाहिँ अवार्ड समारोहमा ननाची कला प्रदर्शन गरेरै मात्र लिने सपना थियो, पूरा भयो ।’ उनलाई यसअघि नेपालका कतिपय अवार्डमा आयोजकले नाच्न बोलाउँथे, अवार्डको लोभ देखाउँथे, जब नाच्न इन्कार गर्थिन्, अवार्ड नाच्ने हिरोइनले पाउँथिन् । त्यसैले ननाची अवार्ड लिने प्रण गरेकी रहिछन् ।


श्रीलंकाबाट फर्किएको एक साता बितेको थिएन, बुलबुलले उनलाई खुसीको नयाँ बहार ल्याइदियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७५ सालमा रिलिज भएका फिल्ममध्येबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड पाइन् । चलचित्र विकास बोर्डले प्रदान गरेको यस अवार्डका अन्य कतिपय विधा विवादित बने । स्वस्तिमाले पाएको अवार्डको भने चौतर्फी प्रशंसा भयो । २४ वर्ष लाग्दै गरेकी स्वस्तिमाको बुलबुल छैटौं फिल्म हो । यहाँसम्म आइपुग्दै प्रतिष्ठित दुई अवार्ड चुमिसकिन् । यो वर्ष वितरण हुने अवार्डमा पनि उनको हालीमुहाली हुने निश्चित छ । ‘अवार्डकै लागि काम गरेको त हैन, तर अवार्डले प्रोत्साहन पक्कै दिन्छ । कलाकारका रूपमा चुनौती थपिएको आभास भएको छ,’ उनले भनिन् ।


बुलबुल प्रदर्शन भएबाटै मिडियामा प्रायः एउटै स्वर सुनिएको थियो, यसपटक स्वस्तिमा नै अवार्डको हकदार हुन् । उनको चरित्र र अभिनय साँच्चै जीवन्त थियो । अझ स्वस्तिमाबाट त अपेक्षा नै नगरिएको काम । बुलबुल अगाडि उनका पाँच फिल्म प्रदर्शन भएका थिए । सबै फिल्ममा उनको लगभग एकै प्रकारको भूमिका थियो । हिरोइनको परम्परागत मानकभन्दा माथि उठ्न सकेकी थिइनन् ।

उनकै शब्दमा, चाहेजस्तो न चरित्र पाएकी थिइन्, न त अभिनय नै गर्ने माहोल मिलेको थियो तर जब बुलबुलको स्क्रिप्ट पढिन्, उनलाई छुट्टै ऊर्जा आयो, विदेश गएका पतिको पर्खाइ र टेम्पो चलाएर छोरी अनि ससुरा पालिरहेकी रणकलाको चरित्र उनको मनमा गड्यो । त्यतिबेलै उनलाई लागेको थियो रे, ‘यो चरित्रमा बाँच्न सकें भने कलाकारका रूपमा मैले चर्चा पाउनेछु, मेरो करिअरको टर्निङ प्वाइन्ट हुनेछ ।’ त्यस्तै भयो ।


प्रायः ‘लभर गर्ल’ मा सीमित स्वस्तिमा बुलबुलमा टेम्पो चालक बनेकी छन् । आम नेपाली फिल्मले हिरोइनबाट खोज्ने ‘ग्ल्यामर’ पटक्कै छैन । न उनको चरित्र ‘शो–पिस’ मा खुम्चाइएको छ । फिल्मको मेरुदण्ड उनी नै हुन् । चरित्रलाई जीवन्तता दिन टेम्पो चलाउन सिकिन्, पात्रका बारेमा अनेक खोज गरिन् । जसको परिणाम फिल्मका हरेक दृश्यमा उनी पुरापुर रणकला लाग्छिन् । बुलबुलबाट वाहवाही कमाएकी उनको अघिल्लो वर्ष जय भोले व्यावसायिक रूपमा सफल भयो । ब्लकबस्टर छक्का–पञ्जा ३ मा पनि झुल्किएकी उनलाई यिनै विविध कारणले नम्बर १ हिरोइन बनाएको छ । भलै उनी भन्छिन्, ‘हरेक फिल्ममा अझ राम्रो काम गर्न मन पर्छ, त्यसकै लागि प्रयासरत छु । नम्बरको दौडप्रति रुचि छैन ।’


जब २० वर्षको उमेरमा स्वस्तिमाले निश्चल बस्नेतसँग विवाह गरिन्, धेरैको भनाइ एउटै हुन्थ्यो, ‘करिअरको सुरुमै बिहे गर्‍यौ अब अगाडि बढ्न सक्दिनौ । विवाहित हिरोइनको चार्म हुन्न ।’ तर स्वस्तिमाले यी अनुमान चिर्दै गइन् । खासमा विवाहपछि नै उनको करिअर चम्किएको हो । भन्छिन्, ‘विवाहले अभिनयमा बाधा पुग्छ भन्नेहरूका लागि मैले पाएका अवार्ड जवाफ हो । अभिनय अब्बल भयो भने वैवाहिक स्थिति, बाहिरी सुन्दरताको ह्रास, उमेरजस्ता कुराले केही फरक पर्दैन ।’


फिल्ममेकर र दर्शकको हिरोइनप्रतिको सोचाइ फराकिलो हुँदै गएको बुझाइ छ उनको । पहिले हिरोइनको भूमिका परिभाषित नै गरिएको हुँदैनथ्यो, कामचलाउ मात्र हुन्थ्यो, मुख्य भूमिकामा पुरुष कलाकार हुन्थे । तर अहिले टेम्पो चलाउने रणकलाहरूले फिल्मको भार बोक्न थालेका छन् । पर्दामा महिलाको बदलिँदो तस्बिरको प्रतिनिधि पात्र हुन पाएकामा स्वस्तिमा दंग छिन् ।
राष्ट्रिय अवार्डपछि स्वस्तिमालाई धेरैले सोधेको प्रश्न हो, अब कस्तो फिल्म खेल्नुहुन्छ ? उनको जवाफचाहिँ यस्तो हुने गर्छ, ‘मलाई हरेक शैलीका फिल्म खेल्न मन छ । पात्र चयनमा अझ सजक हुनेछु । पटकथाभन्दा टिम हेरेर फिल्म रोज्छु ।’ घामट शेरे र हजार जुनीसम्म रिलिजको प्रतीक्षामा रहेकी उनी मीन भामलाई ‘ड्रिम डाइरेक्टर’ मान्छिन् ।

स्वस्तिमाको करिअर
फिल्म चरित्र
होस्टेल होस्टेल बसेर इन्जिनियरिङ गरिरहेकी केटी ।
लभ लभ लभ मुख्य भूमिका भएको पहिलो फिल्म । विदेश जाने तयारीमा रहेकी । लभर गर्ल ।
छक्का पञ्जा २ नक्कली विवाह गरेर अस्ट्रेलिया जाने चक्करमा रहेको चरित्र ।
नाई नभन्नु ल ५ इलामकी केटी, जो पछ्याइराख्छिन् । दोहोरो चरित्र ।
जय भोले आफूभन्दा उमेरले पाको केटाले मन पराउने युवती ।
बुलबुल टेम्पो चालक, विदेश गएका पतिको प्रतीक्षामा रहेकी ।

प्रिय पाँच
अभिनेत्री
दिया मास्के
मेनुका प्रधान
लक्ष्मी बर्देवा
केकी अधिकारी
गौरी मल्ल

अभिनेता
विपिन कार्की
सौगात मल्ल
दयाहाङ राई
रमेश बुढाथोकी
नाजिर हुसैन

निर्देशक
निश्चल बस्नेत
विनोद पौड्याल
मीन भाम
हेमराज बीसी
दीपाश्री निरौला

प्रकाशित : श्रावण ३, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?